रत्न प्रजापति
सोमवार, चैत्र ४, २०७५
2442

लगानी गर्ने भनेको प्रतिफलकै लागि हो । प्रतिफल नआउने ठाउँमा लगानीका लागि हौस्याउनु र हौसिनु दुवै गलत हो ।

फागुन २ गते कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमको सुरुवात गरे । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ नारा दिइएको उक्त कार्यक्रम सुरु भएपछि नेपालका सबै जनतालाई जलविद्युत्को सेयरधनी हुने अवसर प्राप्त भएको छ ।
एक समय जलविद्युत् आयोजनामा सेयर हाल्यो भने मालामाल भइन्छ भन्ने थियो । १ सय रुपैयाँमा किनेको सेयरको मूल्य त्यसको दसौं गुणासम्म बढ्छ भन्ने अफवाह जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूले मात्रै होइन, सेयर लगानीकर्ताहरूले नै फैलाए । साना जलविद्युत् आयोजनाहरूको कुरा छाडेर ठूलो आयोजना मानिएको अपर तामाकोसी जलविद्युत् आयोजनाको कुरा गर्दा त्यतिखेर बजारमा यो आयोजनाको सेयरमूल्य प्रतिकित्ता ५ हजार रुपैयाँसम्म पुग्ने हल्ला चलेको वा चलाइएको थियो । त्यही भएर सञ्चयकोषका कर्मचारी, सञ्चयकर्ता र ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरूले चर्को ब्याजदरमा ऋण लिएर पनि आयोजनाको सेयरमा आवेदन दिए । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले कानको ढुंग्री, मुन्द्री, नाकको फुली र घरमा पालेका पाठापाठी बेचेर र यतिले पनि नपुगे साहूसँग चर्को ब्याजदरमा ऋण लिएर पनि सेयर किने, तर अहिले आयोजनाको सेयरमूल्य हल्ला फैलाइएजस्तो प्रतिकित्ता ५ हजार रुपैयाँ पुगेको छैन । उक्त आयोजनाको सेयरमूल्य अहिले साढे २ सयको हाराहारीमा छ । यही एउटा उदाहरण पर्याप्त छ, सर्वसाधारणले जलविद्युत् आयोजनामा सेयर किनेर मालामाल भइँदैन भन्ने कुरालाई पुष्टि गर्न ।

आजका दिनमा हिजो सय रुपैयाँमा किनिएका दर्जनौं जलविद्युत् आयोजनाको मूल्य सय रुपैयाँभन्दा तल छ । जलविद्युत्को सेयर किनेर मालामाल भइन्छ भन्ने सपना देखेका सेयरधनी जनता अहिले ट्वाँ परेको अवस्था छ । सेयर बजारमा खेल्न पल्केका दुई चार जना धूर्त सेयर–दलाल वा ठूला लगानीकर्ताको बहकाउमा परेर हौसिएका अन्य धेरै सेयर लगानीकर्ता पनि पछुताइरहेको अवस्था छ । सेयर बजारलाई प्रभावित पार्न सक्ने र ठूलो लगानी गरेर धैर्य गर्न सक्ने केही सेयर–दलाल वा सेयर लगानीकर्ताले मात्रै सेयर बजारमा लुट मच्चाइरहेका छन् । एकपटक लगानी गरेर भविष्यमा त्यसको लाभ लिउँला भनेर बस्ने सेयर लगानीकर्ता उल्टै घाटा बेहोर्न बाध्य छन् । जलविद्युत् आयोजनामा लगानी गरेको दसौं वर्षसम्म पनि एक पैसा प्रतिफल नपाएका साना लगानीकर्ता ‘ब्याजको लोभमा साँवा नै डुब्ने’ चिन्तामा छन् । सेयर बजारको घट्दो प्रवृत्तिले यस्तो चिन्ता दिन–प्रतिदिन बढिरहेको छ । ऋण लिएर सेयर किन्ने जनता ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
नेपाल जलस्रोतमा धनी देश हो । यसमा कुनै शंका छैन । जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने र त्यसको बिक्री गरी ठूलो परिमाणमा आर्थिक लाभ लिन सकिने सम्भावनाका बारेमा पनि विज्ञहरूले बेलाबेलामा चर्चा गर्ने गरेका छन् । यस्तै चर्चा–परिचर्चाको पछि लागेर लगानीकर्ताहरू जलविद्युत्मा लगानी गर्न हौसिए । जलविद्युत् आयोजनाका प्रवद्र्धकहरू समूह–समूहमा मिलेर लगानी गर्न र जलविद्युत् आयोजना सञ्चालन गर्न एक समय निकै हौसिए । आयोजना खोज्ने र किन्नेहरूको होडले गर्दा झोलामा खोला बोकेर हिँड्ने चलन पनि केही समय रह्यो । ठूला लगानीकर्ता र जलविद्युत्का बारेमा ज्ञान भएका मात्रै होइन, जलविद्युत्का बारेमा कुनै ज्ञान नभएका व्यक्तिहरू पनि कमाउने लोभमा यो क्षेत्रमा हामफाल्न आइपुगे । एक वा दुई जना प्राविधिकलाई हातमा लिएर आयोजना हाँक्ने आँट बोकेर धेरै व्यक्तिले जलविद्युत्को क्षेत्रमा हात हाले । लगानीको क्षेत्र खोजिरहेका बैंक तथा वित्तीय संस्थाहरूले पनि सजिलै त्यस्ता आयोजनाहरूमा लगानी गर्न थाले । यसले गर्दा जोसुकैका लागि पनि सानादेखि ठूला जलविद्युत् आयोजना निर्माणमा हात हाल्न सम्भव हुन गयो । परिणामतः देशमा एउटै खोलामा पनि धेरैवटा जलविद्युत् आयोजना निर्माण हुने परिस्थिति सिर्जना भयो । तर, निर्माणको चरणमा गएका धेरैवटा जलविद्युत् आयोजनाहरूले विभिन्न समस्या देखाएर निर्माण सम्पन्न गर्न सकेका छैनन् । निर्माण सम्पन्न भएका आयोजनाहरूले पनि नियमित विद्युत् उत्पादन र राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न सकेका छैनन् । यसले गर्दा आयोजना प्रवद्र्धकहरूलाई बैंकको ऋण तिर्न समस्या मात्रै परेको छैन, सेयरमा लगानी गर्ने सबै प्रकारका लगानीकर्ताहरू पनि प्रतिफल पाउनबाट लामो समयदेखि वञ्चित भइरहेका छन् ।
टाठाबाठा र राजनीतिक तहमा पहुँच भएका दुई–चार जना व्यक्ति मिलेर पूर्ण रूपमा नाफा कमाउने र त्यस्तो नाफा आफूहरूले मात्रै हात पार्ने उद्देश्यले मात्रै जलविद्युत् आयोजनामा हात हाल्ने प्रवृत्तिले गर्दा सुरुका दिनदेखि नै जलविद्युत् आयोजनाहरूले सर्वसाधारण सेयर लगानीकर्तालाई धोकामा पार्दै आएको पाइन्छ । आयोजना निर्माणका लागि सुरुमा आफैंले जुटाउनुपर्ने बीउपुँजी र स्वपुँजी पनि साथीभाइ, आफन्त र अन्य इच्छुक लगानीकर्ताहरूबाट संकलन गरी आफू बीचमा बसेर नाफामात्रै खान खोज्ने प्रवद्र्धकहरूका कारण साना लगानीकर्ता मुनाफाबाट वञ्चित र अप्रत्यक्ष रूपमा शोषितसमेत भइरहेका छन् । चिनजान र साथीभाइको नाताले गरिएको आग्रहलाई टार्न नसकेर वा तिनीहरूले भनेझैं आकर्षक मुनाफा पाउने प्रलोभनमा परेर स्वपुँजीमै लगानी गरेका धेरै लगानीकर्ता पछुताइरहेका छन् । कहिले सञ्चालन खर्च बढेको र कहिले प्रशासनिक खर्च बढेको देखाएर सधैं नाफाजति आफ्नै खल्तीमा हाल्न पल्केका प्रवद्र्धकहरूले दस–बीस अथवा सय–दुई सय कित्ता सेयर किनेका हजारौं लगानीकर्तालाई उल्लु नै बनाइरहेका छन् र बनाउँदै पनि छन् । यसरी आफैं उल्लू हुन जलविद्युत् आयोजनाको सेयर किन्न किन लालायित हुने ? सोच्नैपर्ने भएको छ ।
अहिले प्रधानमन्त्रीले निकै जोस्सिएर ‘नेपालीको जलविद्युत् आयोजना’ कार्यक्रम सुरु गरेको र आयोजनाको पहिलो सेयर आफैंले खरिद गर्ने घोषणा गरेर सर्वसाधारण जनतालाई जलविद्युत्मा लगानी गर्न हौस्याए पनि जनता हौसिने अवस्थामा भने छैनन् । धेरैजसो जलविद्युत् कम्पनीहरूको सय रुपैयाँमा किनेको सेयरको मूल्य अहिले सय रुपैयाँभन्दा तल छ । न्यूनतम ६२ रुपैयाँ (नेसनल हाइड्रोपावर) सम्ममा दोस्रो बजारमै जलविद्युत् कम्पनीहरूको सेयर किन्न पाइएको अवस्थामा दसौं वर्ष पर्खनुपर्ने नयाँ जलविद्युत् आयोजनाको सेयर किन्न जनताले १० पटक सोच्नुपर्ने अवस्था छ । कम्पनीको वित्तीय क्षमता र कार्यकुशलताको गहन अध्ययन र विश्लेषण गरेर सेयरमा लगानी गर्दा मात्रै प्रतिफल सुनिश्चित हुनसक्छ भन्ने स्वयं सेयर विश्लेषकहरूको ठहर छ । तर, कसैले उचालेकै भरमा वा कसैले हौस्याएकै भरमा जलविद्युत्मा लगानी गर्दा लगानी डुब्ने सम्भावना पनि उत्तिकै छ । हरेक पटक सेयरमा लगानी गर्दा यो कुरालाई ख्याल गर्नु जरुरी नै छ ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने आकर्षक नाराले सर्वसाधारण नेपाली जनतालाई आकर्षित गरे पनि त्यो आकर्षणले मात्रै लगानी जुट्ने अवस्था छैन । लामो समय धैर्य गर्न सक्ने वा जोखिम मोल्न सक्ने क्षमता भएकाले मात्रै सेयरमा लगानी गर्ने हो । हरेक नेपाली विद्युत्को सेयरधनी बन्नलाई प्रतिफलका लागि लामो समय धैर्य गर्न सक्ने वा जोखिम मोल्न सक्ने नेपाली जनता कति प्रतिशत छन् ? यही कुराले हरेक नेपाली जलविद्युत्को सेयरधनी हुने वा नहुने कुराको निर्धारण गर्छ । गरिब जनताले खाइ–नखाइ जोगाएको पैसा सेयरमा लगानी गर्दा वा कानको ढुंग्रीमुन्द्री, नाकको फुली र घरमा पालेको पाठापाठी बेचेर सय रुपैयाँमा किनेको सेयरको मूल्य अहिले जस्तै ५०÷६० रुपैयाँमा झ¥यो भने त्यसको क्षतिपूर्ति राज्यले दिन्छ कि दिंदैन ? हरेक नेपालीले विद्युत्को सेयरधनी हुनुअघि यो कुरा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । हालै पाँचथर पावर कम्पनीले स्थानीयका लागि निष्कासन गरेको सेयर ८२ प्रतिशत नबिक्नुले पनि सबै नेपाली सेयरमा लगानी गर्न इच्छुक छैनन् वा लगानी गर्न सक्ने अवस्थामा छैनन् भन्ने बुझ्न सकिन्छ । कम्पनीले निष्कासन गरेको ९ लाख ६२ हजार ५ सय सेयरमध्ये १ लाख ७४ हजार ७ सय ५० सेयरका लागि मात्रै आवेदन परेको थियो ।
लगानी गर्ने भनेको प्रतिफलकै लागि हो । प्रतिफल नआउने ठाउँमा लगानीका लागि हौस्याउनु र हौसिनु दुवै गलत हो । कसैको हौस्याइमा हौसिएर लगानी गर्नु साना लगानीकर्ताका लागि झनै जोखिमपूर्ण छ । प्रतिफलका लागि लामो समय धैर्य गर्न नसक्ने साना लगानीकर्ताको लगानी नै डुब्ने खतरा पनि हुन्छ । यसै पनि जलविद्युत् प्रवद्र्धकहरूले आफूखुसी आयोजना निर्माण गरिरहेको र त्यसको निगरानी गर्ने वा नियमन गर्ने कुनै नियामक निकाय नै नभएको अवस्थामा जनताको लगानी सुरक्षित छ भन्न सकिने कुनै आधार पनि छैन । जलविद्युत् प्रवद्र्धकहरूले जनताबाट संकलन गरेको पुँजी कहाँ, कति र कसरी खर्च गरिरहेछन् भन्ने नियमन गर्ने निकाय नहुँदा यथार्थ खर्चको पारदर्शितासमेत छैन । यस्तो अवस्थामा हरेक नेपाली विद्युत्को सेयरधनी नारा दिएर गरिब नेपालीलाई सेयर किन्न हौस्याउनु कत्तिको औचित्यपूर्ण छ ? यो सोचनीय विषय छ । केन्द्रीय बैंक नियामक निकायका रूपमा रहेको हुँदा बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी सुरक्षित छ भन्ने अनुभूति लगानीकर्तालाई भएजस्तै जलविद्युत् आयोजनामा गरिएको लगानी पनि सुरक्षित छ भन्ने अनुभूति गराउनु जरुरी छ ।