समिर रेग्मी
आइतवार, बैशाख १, २०७६
178

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय निकायहरूले भारतको आर्थिक विकासको अवस्थाका बारेमा आशावादी प्रक्षेपण गर्दै आएका छन् । उनीहरूले आगामी २०३० मा भारतीय अर्थतन्त्र अमेरिका र चीनपछि विश्वकै तेस्रो ठूलो हुने अनुमान लगाएका छन् । भारतको १.३ अर्ब जनसंख्यामा ८० करोड मानिस युवा र मध्यम उमेरका मानिस रहेका छन् । श्रमका लागि औसत उमेर भनेको २७ हो । देशको जनसंख्याको ६५ प्रतिशतको हाराहारीमा ३५ भन्दा कम उमेरका मानिस रहेका छन् ।
पछिल्ला वर्षहरूमा भारतीय अर्थतन्त्रले तुलनात्मक रूपमा उच्च वृद्धिको दर हासिल गर्दै आएको छ । सस्ता युवा कामदारको ठूलो संख्या विदेशी लगानी आकर्षित गर्नका लागि महत्वपूर्ण तत्व रहँदै आएको छ । भारतमा कारखाना मजदुरको औसत खर्च प्रतिघण्टा २ डलरभन्दा पनि कम छ । सस्तो श्रम लागत श्रममुखी उद्योगका लागि सकारात्मक हो, किनभने भारत छिट्टै नै प्रमुख टेक्सटाइल उत्पादक हँुदैछ । यसैबीच सस्तो श्रम लागत र अंग्रेजी भाषा बोल्ने भएकाले भारत विकसित मुलुकको आउटसोर्सिङको मुलुक हुनेछ ।

यद्यपि भारतीय अर्थतन्त्रमा एक दृष्टि लगाउँदा यसको जनसांख्यिकी तत्व वास्तवमै चलायमान नभएर स्थिर देखिएको छ ।
१९९० को दशक अगाडिको लामो समयसम्म भारत विश्वकै दोस्रो सर्वाधिक जनसंख्या भएको मुलुक भएको थियो । यसले श्रम बजारमा प्रचुर मात्रामा श्रमिक प्रवाह गरेको थियो । तर, आर्थिक वृद्धि भने हासिल गर्न सकेन । विगतका दुई दशकसम्म भारतको आर्थिक वृद्धिलाई आर्थिक उदारीकरणको सुधार र विश्वका लागि गरिएको खुलापनले हाकेको थियो । विदेशी लगानी र निर्यातले भारतको प्रचुर मात्रामा रहेको श्रम बलको पूर्ण उपयोगका लागि अवसर सिर्जना गरेको छ । यद्यपि लामो अवधिलाई हेर्ने हो भने जनसंख्या आर्थिक वृद्धिलाई सहयोग गर्ने एउटा तत्वको रूपमा मात्रै रहन सक्छ ।
पूर्वाधारको सुधार शिक्षा र तालिम तथा अन्य तत्वको सुधारबिना भारतको युवा जनसंख्याले कसरी जनसांख्यिक लाभ दिन्छ भन्न कठिन हुनेछ । यो भविष्यमा टाइम बमको रूपमा परिणत हुने जोखिम रहन सक्छ ।
हालको समयमा भारतको सस्तो र युवा श्रम बल परिमाणको विषय भएको छ । भारतको कुल जनसंख्यामा ग्रामीण जनसंख्याको हिस्सा ६० प्रतिशत छ । यसका धेरैजसो श्रम बल न्यून आर्थिक क्षमताका साथ कृषिक्षेत्रमा व्यस्त रहेका छन् । केवल पर्याप्त लगानीले मात्रै सहर र म्यानुफ्याक्चरिङ क्षेत्रमा बढी उत्पादनशील रोजगारीको अवसर सिर्जना गर्न सक्छ । यसले धेरैजसो कृषि जनसंख्यालाई नाफामुखी कार्यबलमा परिणत गर्न सक्छ ।
कमजोर अवस्थाका पूर्वाधारले विदेशी लगानीको आप्रवाहमा अवरोध सिर्जना गरेको छ । पछिल्ला वर्षहरूमा भारत धेरै वैदेशिक लगानी आकर्षित गर्ने मुलुक भए पनि पुराना भइसकेका पूर्वाधारका कारण म्यानुफ्याक्चरिङ क्षेत्रमा भएको यस किसिमको लगानीको अनुपात उच्च छैन । यसले देशका लागि थप रोजगारी सिर्जनाका लागि कठिन बनाउन सक्छ । आफ्नो जनसांख्यिकी लाभको सम्भाव्यतालाई यथार्थमा परिणत गर्नका लागि भारतले आफ्नो पूर्वाधारमा सुधार गर्ने प्रयास गर्नुपर्छ । भारत सरकारले अभैm पनि केही प्रतिबन्धात्मक नीतिहरूलाई कायमै राखेको छ । जग्गा प्राप्तिका लागि पनि उच्च जोखिमका साथ लामो समय लाग्ने गरेको छ । यसले विदेशी लगानीकर्तालाई भारतको पूर्वाधारमा लगानी गर्नका लागि कम उत्साहित बनाउने गरेको छ ।
युवा जनसंख्यालाई योग्य कार्यबलका रूपमा तयार पार्न र सीपालुको समूहका रूपमा परिणत गर्नका लागि शिक्षा र तालिम आवश्यक छ । अहिले पनि भारतको असाक्षरताको दर ३० प्रतिशतको हाराहारीमा रहेको छ । महिलाको असाक्षरताको दर भने अझै पनि ४० प्रतिशतको हाराहारीमा रहेको छ । त्यसैले अंग्रेजी भाषाको ज्ञान भएका मानिसको संख्याको फाइदा पनि सानो समूहले मात्रै लिन सक्ने देखिन्छ । धेरै भारतीय व्यावसायिक तहमा अभैm पनि अंग्रेजी बोल्न सक्ने क्षमताका छैनन् । त्यसैले पनि भारतको जनसांख्यिकी लाभ टाइम बमको रूपमा परिणत हुने देखिन्छ ।