युवाको क्षमतालाई सम्मान गरौं
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
335

युवा देशको मेरुदण्ड हो । युवाको क्षमता, महत्व र आवश्यकताको जानकार हुँदाहुँदै पनि स्थानीयदेखि राष्ट्रिय तहसम्मै त्यसको सदुपयोग हुन नसक्नु हामी सबैका लागि दुर्भाग्य हो । केही साताअघि मात्र पाल्पा, तानसेनबाट काठमाडौं फर्कने क्रममा म चढेको बसका यात्रुमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि काठमाडौं जाँदै गरेका थिए । उनीहरू वैदेशिक रोजगारीका लागि काठमाडौं जाँदै छन् भन्ने उनीहरूको कुराकानी, हाउभाउ तथा व्यवहारले नैै प्रस्ट देखाइरहेको थियो ।
“हाम्रो देशमा अब रोजगारीको कुनै सम्भावना छैन, व्यपार–व्यवसाय गर्न लगानी हुँदैन, वैदेशिक रोजगारीमा नगए भोकै मरिन्छ,” उनीहरू गफ गर्दै थिए । उनीहरूको गफ सुन्ने क्रममा मेरो मनमा एउटा जिज्ञासा उठ्यो, के हाम्रो देशमा साँच्चिकै रोजगारीको अवसर नभएकै हो त ?
हुनत वैदेशिक रोजगारीले युवामा आफ्नै काम गर्ने अवसर पनि दिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै व्यवसाय गरेका सयौं उदारण छन् ।
स्थानीय स्तरमा आफैं केही गर्नुपर्छ भनेर काम गर्ने युवा नभएका पनि होइनन् । विभिन्न पेसा, व्यवसाय गरेर राम्रो आम्दानी गरेका युवाहरू पनि हाम्रै समाजमा छन् । उनीहरू आफ्नै क्षेत्रमा काम गरी आफू र आफ्नो परिवारको भविस्य सुरक्षित हुनेमा ढुक्क भएर स्वदेशमै मेहनत गरी आफ्नो काममा रमाइरहेका छन्, तर अधिकांश युवाले विदेशमा मात्र रोजगारीको अवसर देखे, वैदेशिक रोजगारीमा गए मात्र आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित हुने देखे । कारण जे–जस्तो भए पनि स्वदेशमा आयआर्जन गर्ने युवाभन्दा वैदेशिक रोजगारीबाट आय आर्जन गर्ने युवाको संख्या बढी भएको पाइन्छ ।
सरकारले रोजगारी दिएन, पढाइअनुसारको जागिर पाइएन, व्यवसाय गर्ने वातावरण भएन । अधिकांश युवाको गुनासो छ । स्थानीय स्तरमा आफूले गर्दै आएको सा–सानो काम पनि छोडेर छोटो अवधिमा बढी पैसा कमाउने चाहनाले बीचैमा पढाई छाडेर युवाहरू जोखिमयुक्त कामका लागि वैदशिक रोजगारीमा जान बाध्य भएका छन् । यसरी बिदेसिने युवाहरूमध्ये धेरैलाई नेपालमै केही गर्ने मन छ, तर यहाँ अवसर छैन भन्ने भावको साझा आवाज प्रशस्तै देख्न र सुन्न पाइन्छ । दैनिक करिब १२ सय युवा रोजगारीका लागि बिदेसिने गरेको सन् २०१६/२०१७ को आर्थिक सर्वेक्षणको तथ्यांकले देखाउँछ ।
आधुनिकताको प्रभावसँगै नेपाली युवाहरूमा कमाइ गर्नका लागि अर्काको जागिरै गर्नुपर्छ भन्ने मानसिकताको विकास भएको छ । यसले समाजमा एक किसिमको खाडल (अन्तर) देखिएको छ । युवा रोजगारीको क्षेत्रमा भएका नीति तथा आवश्यक नीति परिमार्जन तथा सुधारका लागि स्थानीय सरकार, सांसद, अख्तियारी प्राप्त अधिकारी तथा अन्य सरोकारवाला निकायहरूबीच आवश्यक बहस, पैरवी गर्न जरुरी छ ।
नेतृत्वतहमा पनि युवा आवाजको प्रतिनिधित्व उचित तरिकाले पुग्न सकेको छैन । युवाले आफू र आफूजस्तै अन्य युवाका लागि चाहेर पनि नेतृत्व गर्न कठिन परिस्थिति भएको सहजै अनुभव गर्न सकिने पर्याप्त उदाहरण पनि छन् । केही दिनअघि म एउटा युवाकेन्द्रित कार्यक्रममा सहभागी भएको थिएँ । त्यहाँ युवा रोजगारी विषयक कार्यक्रम थियो । सो कार्यक्रममा युवा रोजगारीको सम्बन्धमा प्रदेश नम्बर ५ को स्थानीय, प्रादेशिक तथा संघीय गरी तीनवटा तहको तानसेन, बुटवल र काठमाडौंमा युवा रोजगारीसँग सम्बन्धित विविध पृष्ठभूमिका व्यक्तित्वहरूसँग युवा रोजगारीको आवश्यकता, चुनौती, सम्भावना र अवसर जस्ता विषयहरूमा केन्द्रित रही समूह केन्द्रित छलफलमार्फत गरिएको अनुसन्धानबाट प्राप्त जानकारीहरू प्रस्तुत गरिएको थियो ।
अनुसन्धानका क्रममा, ग्रामीण क्षेत्रमा रोजगारीका अवसर अत्यन्तै न्यून भएकाले रोजगारीको खोजी गर्दै सहरी क्षेत्रमा बढी युवा हुनु, ग्रामीण क्षेत्रमा कामदारको संख्या न्यून हुनु, सहरी क्षेत्रमा आवश्यकताभन्दा बढी कामदार हुनु, युवाहरूले योग्यताअनुसारको रोजगारी नपाउनु, रोजगारदाताले आफूलाई चाहिएजस्तो कर्मचारी/कामदार नपाउनु, काम गरिरहेका कामदार/कर्मचारीहरूले पनि उचित पारिश्रमिक तथा सेवा, सुविधा नपाउनुलगायतका मुद्दाको पहिचान गर्नु आवश्यक छ । युवाको क्षमता, सीप र दक्षताको कदर हुनुपर्छ । उनीहरूको अनुपस्थितिमा देशको चौतर्फी विकास असम्भव छ ।
सञ्जु पौडेल