प्रकाश शर्मा ढकाल
आइतवार, जेठ २७, २०७५
346

के हो डार्क टुरिजम ?
विगतको अँध्यारो इतिहाससँग सम्बन्धित क्षेत्र वा घटनाहरूलाई मुख्य आधार बनाएर पर्यटक आकर्षित गर्ने माध्यम डार्क टुरिजम हो । यस्ता क्षेत्रहरू ऐतिहासिक एवं राजनीतिक हिसाबले विशेष महत्व राख्ने खालका हुने गर्छन् । युद्धभूमि, नरसंहार, प्राकृतिक विपत्ति, आतंककारी हमला, विभिन्न प्रकारका दुर्घटनामा परी मृत्यु भएका राजनेताहरूको मृत्युस्थल, जनक्रान्ति/आन्दोलनका क्षेत्रहरूमा त्यसको इतिहासको जानकारी दिने तथा आमजनमानसमा सचेतना फैलाउने उद्देश्यले पर्यटकीय दृष्टिकोणबाट विकास गरिन्छ । त्यति मात्र नभई सामाजिक परिवर्तन कसरी हुँदै आइरहेको छ भन्ने कुरालाई समेत उजागर गर्नुका साथै मानिसको जीवन र जीवनयापनसमेतको जानकारी प्राप्त गर्न आधारहरूसमेत दिने गर्छ ।

कहिलेदेखि सुरु भयो डार्क टुरिजम ?
यसलाई नयाँ विश्वको लागि पुरानो अवधारणाका रूपमा लिने गरेको पाइन्छ । प्राचीन रोमन तथा मेडियाभेल युगमा योद्धाहरूको खेल तथा सार्वजनिक रूपमा देशद्रोहको नाममा दिइने मृत्युदण्ड दिइएका स्थानहरूमा मानिसलाई तर्साउनको लागि लैजाने प्रचलन थियो । यसलाई डार्क टुरिजमको अभ्यासका रूपमा लिन सकिन्छ, भलै त्यसबाट पर्यटकीय गतिविधिको विकास गर्ने सोच देखिँदैन । बेलायतमा सन् १८३८ मा हत्याराहरूलाई झुन्ड्याइएको ठाउँ देखाउने उद्देश्यले गरिएको रेलयात्रालाई पहिलो व्यवस्थित डार्क टुरिजमका रूपमा लिने गरिन्छ ।

विश्वका चर्चित डार्क टुरिजम गन्तव्य
आणविक क्षेप्यास्त्रबाट ध्वस्त जापानको हिरोसिमा, जहाँ १ लाख ४० हजार बढी मानिसको ज्यान गएको थियो, स्थित शान्ति पार्क, सेप्टेम्बर ११ को आतंककारी हमलासँग जोडिएको न्यूयोर्कको ग्राउन्ड जिरो, १७ लाख मानिस मारिएको खमेरुज शासनसँग सम्बन्धित कम्बोडियाको म्युजियम, रुवान्डा जहाँ सन् १९९४ मा भएको जातीय नरसंहारका क्रममा ८ लाख बढी मानिसले ज्यान गुमाएका मात्र थिएनन्, लाखौं महिला बलात्कृतसमेत भएका थिए, तिनै नरसंहारका क्रममा मृत्यु भएकाहरूको हस्तीहाडहरू संकलन गरी बनाइएको स्मारक केन्द्र, सन् २००८ मा चीनको सिचुवान प्रान्तमा गएको विनाशकारी भूकम्पमा भएको जनधनको स्मरणमा बनाइएको मिति र समयसहितको स्मारक डार्क टुरिजमका महत्वपूर्ण गन्तव्यहरू हुन । यसै गरी नेल्सन मण्डेला तथा उनका अनुयायीहरूलाई कडा सुरक्षा घेराभित्र राखिएको कारागार रहेको रोविन आइल्यान्ड, जापानको सुसाइड फरेस्ट, श्रीलंकाको याला राष्ट्रिय निकुञ्ज, इटलीको पोम्पेली, जर्मनीको हामवर्ग तथा बर्लिनलगायतका क्षेत्रसमेत पर्यटकको रोजाइमा परेका देखिन्छन् ।

कति पर्यटक जान्छन् यस्ता क्षेत्रमा ?
पछिल्लो समयमा यस्ता क्षेत्रमा पर्यटकहरू जाने क्रम बढ्दो छ । कतिपय स्थानमा पर्यटकहरू मृतकप्रति समवेदना तथा परिवारमा सहानुभूति दिनका लागि जाने गर्छन् । त्यस्ता क्षेत्रको इतिहासका बारेमा अध्ययन–अनुसन्धान कार्यका लागिसमेत हजारौं पर्यटक जाने गरेको पाइन्छ । प्राकृतिक विपत्ति भएका स्थानहरूमा त्यस्तै प्रकृतिको विपत्तिमा परेको मुलुकबाट औपचारिक भ्रमणहरूसमेत हुने गरेको देखिन्छ । चीनको भूकम्पबाट क्षतिग्रस्त स्थान, भारतको गुजरात आदि क्षेत्रमा नेपालबाट समेत अनुभव दिनका लागि धेरै भ्रमण भएका थिए । स्वतन्त्रताको सहर भनिने बर्लिनमा बर्सेनि लाखौं पर्यटक पुग्ने गर्छन् । त्यहाँ ३१ मिलियनभन्दा बढी पर्यटकले रात बिताउने गरेको तथा १२ मिलियनभन्दा बढी बाह्य पर्यटक पुग्ने गरेको तथ्यांक छ । सेप्टेम्बर ११ को हमलामा ज्यान गुमाउनेहरूको सम्झनामा बनाइएको स्मारक निर्माण गरी खुला भएपश्चात् २०१७ सम्म ३७ मिलियनभन्दा बढीले भ्रमण गरेको तथ्यांक छ । २०१७ मा मात्र ६.८ मिलियनभन्दा बढी पर्यटक त्यहाँ पुगेका छन् ।

नेपालमा सम्भावित क्षेत्र
नेपालको स्वतन्त्रतामाथि आक्रमण गर्ने अंग्रेजहरूका विरुद्ध भएका लडाइँहरूसँग सम्बन्धित क्षेत्रहरू नालापानी, अमरसिंह थापाको वीरताको गाथा बोकेको अमरगढी किल्ला, अंग्रेज युद्धको रुपन्देहिस्थित जितगढी किल्ला, मकवानपुगढी किल्ला, प्रथम सहिद लखन थापालाई झुन्ड्याएर मारिएको गोरखास्थित क्षेत्र, जनताको अधिकारका लागि राणाशासनविरुद्ध आवाज उठाएबापत चार सहिदलाई मृत्युदण्ड दिइएका स्थान, जननायक विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी लगायतका राजनेताहरूलाई बन्दी बनाइएका बन्दीगृहहरू, जननेता मदन भण्डारी र जीवराज आश्रित जिप दुर्घटनामा परी मृत्यू भएको स्थान दासढुंगा, पिस्कर काण्डका नामले परिचित सिन्धुपाल्चोकको पिस्कर, नेपाल एकीकरणको समयमा भएका युद्ध लडाइँहरूको दृष्टान्त दिने गरी नुवाकोट, राणाकालमा हत्याकाण्ड भएका कोतलगायतका क्षेत्रहरू, जेठ १९ को दरबार हत्याकाण्ड भएको नारायणहिटी, मकवानपुरलगायतका स्थान, २०७२ सालको भूकम्पबाट भएको जनधनको क्षति तथा त्यस बखतको त्रासदीपूर्ण घटनालाई जीवन्तता दिने गरी गोरखाको बारपाक, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, चितवनको बाँदरमुढे, दाङको होलेरी, तराई तथा तेह्रथुममा भएका आगलागी क्षेत्र, ठूलो जनधनको क्षति पु¥ाएको कोसी नदी तट, हिम वर्षा तथा पहिरोका कारण जनधन भएको क्षेत्र, पछिल्लो आन्दोलनका क्रममा घटेका त्रासदीपूर्ण घटनाहरू भएका स्थान, कैलालीको टीकापुर तथा अन्य क्षेत्रहरूलाई यस्ता डार्क टुरिजम साइटका रूपमा विकास गरेर आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षित गर्न सकिन्छ । कहालीलाग्दा हवाई तथा अन्य यातायात दुर्घटनासँग सम्बन्धित स्थान, विभिन्न समयमा आएका विपत्ति/महामारीसँग सम्बन्धित मुलुकका अन्य क्षेत्रहरूलाई पनि पर्यटकीय दृष्टिले विकास गर्न सके आफ्नो इतिहास जीवन्त रहने मात्र होइन, आमजनसमुदायमा सचेतना पनि सँगसँगै आउने देखिन्छ ।

कसरी विकास गर्ने ?
नेपालमा डार्क टुरिजम नयाँ अवधारणा हुने भएकाले एकैपटक यसबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगिहाल्ने भन्ने हुँदैन । यसका लागि अलग्गै गुरुयोजना तयार गर्नुपर्ने देखिन्छ । कुन–कुन क्षेत्रलाई के–कसरी विकास गर्ने भन्ने सन्दर्भमा पहिला स्पष्ट हुनुपर्छ । ती स्थानविशेषको ऐतिहासिक–राजनीतिक महत्वलाई जीवन्तता दिँदै पर्यटकीय हिसाबले थप संरचनाहरूको निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानीको आवश्यकता पर्ने देखिन्छ । राज्य एक्लैको लगानीले भन्दा यसमा निजी क्षेत्र, स्थानीय समुदायहरू, स्थानीय तह समेतको सहकार्य अत्यावश्यक देखिन्छ । यस्ता क्षेत्रका बारेमा विस्तृत खोज–अनुसन्धान पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । ती क्षेत्रसम्म पुग्नका लागि स्थलगत एवं हवाई यातायातको प्रबन्ध गर्नुपर्ने देखिन्छ । पर्यटकका लागि खाने–बस्नेको उचित प्रबन्ध, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध, निःशुल्क वाइफाइको व्यवस्था, शौचालय, स्थानविशेष हेरी पौडी पोखरी, स्नान गृह, कोसेली गृहहरूको निर्माण गर्ने, त्यस्ता ठाउँको प्रचार–प्रसार गर्ने प्रबन्ध पनि सँगसँगै लैजानुपर्ने देखिन्छ ।
यी क्षेत्रको विकास गर्दा त्यहाँ भएको जनधनको क्षति, सम्भव भएसम्म सम्बन्धित तस्बिर, इतिहासको आधारमा तयार गरिने काल्पनिक चित्र तथा भिडियोहरू, व्यक्तिविशेषसँग सम्बन्धित भएमा उसको जीवनी, युद्ध भएको क्षेत्र भए प्रयोगमा आएका हतियारहरू, सामूहिक हत्या, मृत्यु भएको भए निजहरूको सालिक, तस्बिरहरूको निर्माण, महत्वपूर्ण भग्नावशेषहरू भए तिनिहरूको संग्रह, विपत्तिपश्चात् पुनर्निर्माण भएको भए पहिले र अहिलेबीचको तुलनात्मक दृश्यहरूसमेत निर्माण गरी पर्यटकका लागि खुला राख्नुपर्छ । घटनालाई स्मरण गर्ने/गराउने (जस्तै— मिति, समय आदि) गरी विभिन्न स्मारकको निर्माण पर्यटकलाई तस्बिर लिनका लागि उत्प्रेरित गर्ने गरी खुला स्थानमा गर्ने/गराउने व्यवस्था पनि मिलाउँदै जानुपर्ने देखिन्छ ।
अन्त्यमा, समृद्ध नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा नै हुन् । यसमा पनि पर्यटन सातै प्रदेशको प्राथमिकतामा रहेको ती प्रदेशको नीति तथा कार्यक्रमबाट स्पष्टै हुन्छ । पर्यटन क्षेत्रको विकास र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान बढाउँदै लैजान जति बजारीकरणको आवश्यकता छ, त्यति नै नयाँ–नयाँ पर्यटकीय उपजहरूको विकास गर्नु पनि । पर्यटनको विविधीकरण गर्दै आन्तरिक एवं बाह्य पयटकीय गतिविधिमा गुणात्मक वृद्धि ल्याउने सरकारको नीति रहे/भएको सन्दर्भमा डार्क टुरिजमलाई पनि एक नयाँ पर्यटकीय उपजका रूपमा लिन सकिन्छ । नागरिक हक–अधिकारका लागि भएका आन्दोलन, नेपालको स्वतन्त्रताका लागि भएका ऐतिहासिक युद्धहरू, विनाशकारी भूकम्प तथा अन्य प्राकृतिक विपत्तिबाट विगतमा ठूलो धनजनको क्षति भएको तीतो विगत भएको सन्दर्भमा डार्क टुरिजमको सम्भावना राम्रो देखिन्छ । यसका लागि सरकार, निजी क्षेत्र, स्थानीय तह तथा नागरिक समाजको सहकार्य अत्यन्तै महत्वपूर्ण रहन्छ ।