एजेन्सी
आइतवार, जेठ २७, २०७५
484

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानडाबाट सीधै सिंगापुर जाने ह्वाइट हाउसले जनाएको छ ।
क्यानडामा चलिरहेको जी–७ को सम्मेलनमा भाग लिन क्यानडा गएका राष्ट्रपति ट्रम्प सीधै त्यहाँबाट सिंगापुर जाने भएका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे साताको मंगलबार हुने शिखर वार्ताका लागि उनी क्यानडाबाट सीधै सिंगापुरतर्फ जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
ह्वाइट हाउसका प्रवक्ता सनडेर्सका अनुसार क्यानडामा हुने जी–७ को सम्मेलनका लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानडाको क्युबिकमा आइतबार जी–७ को बैठकमा उनी सहभागी हुनेछन् ।
ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।
सिंगापुरमा कति दिनका लागि बस्ने भन्नेबारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन । राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको सञ्चार माध्यमलाई बताए ।
उनले संवाददाताहरूसँग भने, “एक, दुई वा तीन जति दिन पनि हुन सक्छ, तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ ।”
उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरूले सो वार्ताका लागि आफूहरूले अन्तिम तयार गरेको जनाएका हुन् ।
यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गरेका छन् ।
उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रूपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पर्सि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।
अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय–समयमा द्विपक्षीय भेटवार्ता जारी नै रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरूसँग फोनवार्ता गरेका छन् ।
ती वार्तामा आगामी शिखर वार्ताका बारेमा अमेरिकाले विभिन्न देशको धारणा बुझ्ने काम गरेको पनि समाचारमा बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापानसँग महिना दिनयता यो दोस्रो पटक उक्त वार्ताका बारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरिया तथा अमेरिका मात्र नभएर विश्वले नै बडो चासोपूर्ण रूपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकाले पनि यसरी हेरिएको हो ।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्ना अनेकौँ ट्विटमा यो वार्तालाई एक अभूतपूर्व बैठक भन्ने गर्दै आएका छन् ।
यस वार्ताका लागि अमेरिका र उत्तर कोरिया पनि निकै सकारात्मक देखिएका छन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ताअघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गरिसकेका छन् । त्यस्तै राष्ट्रपति ट्रम्पले पनि समय–समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गर्दै आएका छन् ।