कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५
399

विपन्न समुदायका नागरिकलाई लक्षित गरी नेपाल सरकारले ल्याएको जनता आवास कार्यक्रम सञ्चालन हुँदा विपन्न नागरिकमा एक किसमको खुसीयाली देखिन्थ्यो, तर त्यो खुसीयाली आजभोलि साहूको ऋणमा परिणत भएको छ ।
कार्यक्रमले समेटेका सुदूर पश्चिमका बैतडी, दार्चुला र बझाङका कतिपय विपन्न नागरिकको घर निर्माण विगत डेढ वर्षदेखि अधुरै छ भने कतिपयले जेनतेन घर त निर्माण गरे, तर सरकारबाट पाउने भनेको रकम नपाउँदा उनीहरू पनि साहूको ऋण बोक्न बाध्य छन् ।
गत आर्थिक वर्ष जनता आवास कार्यक्रमअन्तर्गत बैतडीका ५ सय परिवार तथा दार्चुला र बझाङका १–१ सय परिवारको घर निर्माण सुरु गरिएको थियो, तर चार किस्तामध्ये अहिलेसम्म कतिपय लाभग्राहीले दोस्रो किस्तासमेत पाएका छैनन् । दोस्रो किस्तासमेत नपाउँदा विपन्न नागरिकले ऋण निकालेर घर निर्माण गरिरहेका छन् । मापदण्डभन्दा बढी प्रगति भइसक्दा समेत दोस्रो किस्ताको रकम नपाएको दशरथचन्द नगरपालिका–४, शाहिलेकका तामुराम भुलले गुनासो गरे । “घरको आधा काम भइसक्यो, तर पैसा जग र डीबीसी हाल्न मात्र पाएँ,” उनले भने ।
गत वर्ष बैतडीको साविकका तल्लादेही, डिलासैनी, महादेवस्थान, महारुद्र, आम्चोरा, शर्माली, न्वाली, विशालपुर, सित्तड, मेलौली, श्रीकोट र रुद्रेश्वरमा जनता आवास कार्यक्रम सञ्चालित छ । पहिलो किस्ता ५८ हजार, दोस्रो र तेस्रो किस्ता ७०–७० हजार र चौथो किस्ता ३५ हजार रुपैयाँ दिने प्रवधान छ ।
तीनवटै जिल्लामा जनता आवास कार्यक्रमको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बैतडीले लिएको डिभिजन प्रमुख प्रविन शाहले बताए । “अहिले तीनै जिल्लामा सञ्चालित कार्यक्रमका लागि सहरी विकास तथा भवन निर्माण विभागबाटै समयमै बजेट निकासा नहुँदा समस्या भएको छ,” शाहले भने । रकमका लागि विभागमा पत्र पठाइसकेकाले यसै आर्थिक वर्षमा अधिकांश लाभग्राहीको अन्तिम किस्तासमेत वितरण हुने शाहको भनाइ छ ।
कार्यक्रमको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको तर रकम निकासा नहुँदा लाभग्राही मारमा परेको डिभिजन कार्यालयले जनाएको छ । “रकम निकासा नहुँदा लाभग्राहीको काम अलपत्र छ,” उनले भने, “तर कतिपयले ऋण काढेर घर बनाइरहेका छन् ।”
बैतडीमा जनता आवास कार्यक्रम फेरि दोस्रो पटक पनि सञ्चालन भएको छ । गत आर्थिक वर्षमा ५ सय परिवारका लागि सञ्चालित कार्यक्रम आव ०७४/७५ मा फेरि थप ५ सय परिवारका लागि आएको थियो ।

थपिएका ७ सय घरको काम पनि अलपत्र
यो वर्ष पनि बैतडीका ५ सय र दार्चुला तथा बझाङका १–१ सय परिवारका लागि जनता आवास कार्यक्रममार्फत घर बनाइदिने सरकारले निर्णय गरेको थियो । गत वर्ष आवासका लागि छनोट भएका नागरिकले घर निर्माण सम्पन्न गर्न नपाउँदै थप ७ सय गरिब तथा असहाय दलित समुदायका परिवारले पनि आवासका लागि आर्थिक तथा प्राविधिक सहयोग पाउने आशा गरेका थिए, तर कार्यक्रम थपिएको महिनौं भइसक्यो, उक्त कार्यक्रमको कुनै भौतिक प्रगति भने अझै हुन सकेको छैन ।
दोस्रो पटक बैतडीमा साविकका गाविसहरू गुरुखोला, मठैराज, पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर र गिरेगडामा कार्यक्रम सञ्चालन भएको छ । यी क्षेत्रबाट निवेदन संकलन गर्नेबाहेक अन्य कुनै काम पनि अघि बढ्न सकेको छैन । विभिन्न स्थानीय तहमार्फत निवेदन संकलन गरिएको थियो । गत वर्षको कार्यक्रम नै अलपत्र भएकाले पछिल्लो समयको कामसमेत अघि नबढ्दा विपन्न नागरिक समस्यामा परेका छन् ।
नरी बडु