कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
1180

सानो छँदा यो चिज भने अरूका लागि बनाएको हो, उहाँहरूले मात्र पिउने हो जस्तो लाग्थ्यो । २०–२५ वर्षअघिसम्म यो चिज त के पिइएला र भन्ने पनि सोचियो । बिस्तारै त्यो सोचाइ परिवर्तन गर्ने अवसरका रूपमा सुरुमा कलेज भर्ना भएपश्चात चिनजानकै दाइले यसको स्वाद लिएको देख्दा रहर लाग्न थाल्यो र एक बिर्को पिउँदा कस्तो होला भनेर आँट गरियो । स्वादिलो त खासै थिएन, अलि–अलि गन्ध, टर्रो–टर्रो भएजस्तो लागेको थियो ।
अर्को पटक पनि त्यस्तै सिपालु साथीहरूको भेट भयो । बियर रक्सी होइन भन्ने थाहा पाइयो र एक–दुई गिलास पिउन खासै समस्या परेन, अलि–अलि तीतो–तीतोजस्तो लाग्थ्यो । अब यसै थालियो, उसै थालियो, अरू पनि केके हुँदा रहेछन् ती पेय पदार्थ भनेर विभिन्न गुणस्तर चाख्न थालियो र अब जुनसुकै पिए पनि हुने अवस्थामा पुगियो । अब सबै साथी सँगै रहँदा त्यो नभएको भेटघाट नै खल्लो लाग्ने भइयो । खै के भयो, के भयो ?
हाम्रो पारिवारिक संस्कार जे थियो, त्योभन्दा फरक बाटोमा हिंड्न थालियो । यसैलाई सही विश्लेषण गर्न थालियो । जिन्दगी नै यही हो भन्ने किसिमले झनै पहिल्यै सुरु गर्नुपर्ने काम ढिला थालियो कि भन्ने पनि लाग्यो । आज हाम्रो यही सोचाइले गर्दा हो कि के हो, हाम्रा सन्ततिले आज हामीले जे अपेक्षा राखेका छौं, त्यो नगरिरहेजस्तो लाग्दछ । यसो गर्नु राम्रो होइन भन्दा सुन्या नसुनेझैं गरेर त्यही गरिरहेका छन् । पढ्यो भने भविष्यमा राम्रा अवसरहरू प्राप्त हुन्छन् भन्दा पनि सुन्ने आँट गर्दैनन् । मानौं, हाम्रो भनाइमा कुनै गहनता छैन । हामी भनेका अब बूढो हुँदै जाने मानिस मात्र हौं र हाम्रो खासै महŒव छैन । आज नेपाली समाज सजिलैसँग जीवनयापन गर्ने, आफूलाई जे मन लाग्यो त्यही गर्न खोज्ने, आफ्ना साथीले जे गरेका छन् त्यही सही हो भन्ने बिना योजना अगाडि बढ्ने आदि–इन्यादि ।
बाहिरी मुलुकमा त उमेर पुगेपश्चात् यसो मिलाएर नियमित सेवन गर्नेहरूको संख्या नगर्नेहरूको भन्दा धेरै छ भन्ने सुनिन्छ । तर, हाम्रो जस्तो जातीयताको इतिहास रहेको समाजमा अन्य मुलुकमा जस्तो पिउनका लागि त्यति सहज छैन तथापि यस्मा भुल्ने हामीहरूको संख्या भने बढिरहेको छ र हामी पनि यसमा रमाइरहेका छौं । तर, दुःखको कुरा जुन वर्षको बजेट भाषणमा पनि सुरुमा यिनै हामीले पिउने पेय पदार्थको मूल्य मात्र धेरै बढ्ने गरेको छ । के हामी पिउनेहरूलाई सजाय दिन यसो गरिने हो ? तपाईंहरू पिउनु हुन्न ? कि अब रोग लागेर पिउन छोड्नु भएको हो ? यो देशको पेय पदार्थको मूल्य विकसित देशको भन्दा बढी हुँदा पनि अझै कति बढाउन खोजेको हो ? यसमा विरोध गर्नेहरूलाई त तपाईंहरूले निकम्मा भन्नु होला विचरा ! एक क्वाटर नमठो र गुणस्तरहीन पेय पदार्थको मूल्य रु. ६५–७० बाट रु. १२०–१३० बनाउँदा ती तमाम दिनभरि गाह्रो काम गर्ने श्रमिक साथीहरूलाई मर्का पर्दैन ? अनि हामी नेपालमा बसेर विकसित राष्ट्रको भन्दा महँगो रकम तिरेर ती पेय पदार्थ सेवन गरिरहनुपर्ने हो ? नेपालमा विदेशी पर्यटक भित्र्याएर डलर कमाउने आँटमा छौं । उहाँहरू यस्ता पेय पदार्थको पारखी हुनुहुन्छ । भियतनाम, थाइल्यान्ड, चिली, जापान, गणतन्त्र कोरियाको मध्यपान सेवनका लागि उत्पादन र बिक्री हुने पेय पदार्थसाग तुलना गरौं न हो । यो त अति नै भयो त, अब यसरी नै यी पदार्थमा मूल्य बढाउँदै जाने हो भने अबका केही वर्षमा एक बोतल कुनि के बियरको रु. १ हजारमा पिउनुपर्ने अवस्था आइरहेको छ ।
हामीलाई धेरै नै मर्का भयो सरकार !
शिवप्रसाद पोखरेल