माइकल जे बोस्किन
बिहिवार, जेठ ३१, २०७५
630

वृद्धि, बेरोजगारी र मुद्रास्फीतिजस्ता सबै प्रमुख बृहत् अर्थशास्त्रीय सूचकहरूले के देखाउँछन् भने २०१७ अमेरिकी अर्थतन्त्रका लागि यस दशककै सर्वोत्कृष्ट वर्ष भएको छ र विश्व अर्थतन्त्रले मानिसको अपेक्षाभन्दा बढी व्यापक र समकालीन वृद्धि हासिल गर्यो । अब प्रश्न उठ्छ, के २०१८ मा पनि यस्तै बलियो आर्थिक सक्रियताले निरन्तरता पाउला त ?
वास्तवमा यसको जवाफ मौद्रिक, वित्तीय, व्यापार र अमेरिका र विश्वभर यससँग सम्बन्धित नीतिहरूमा यो निर्भर हुनेछ । यद्यपि २०१८ मा कस्ता नीतिगत प्रस्तावहरू उदय हुनेछन् भनी भविष्यवाणी गर्न निकै कठिन देखिन्छ । सापेक्षित रूपमा हेर्ने हो भने अमेरिका, बेलायत र फ्रान्समा नयाँ राज्य प्रमुखहरू छन् । त्यस्तै जर्मनीमा सेप्टेम्बरको आमनिर्वाचनपछि गठबन्धन सरकार गठन हुन सकेको छैन । अमेरिकी फेडरल रिजर्भमा नयाँ प्रमुखले कार्यभार सम्हालेका छैनन् । अझ, अर्जेन्टिना, साउदी अरेबिया र ब्राजिलजस्ता उदीयमान अर्थतन्त्रहरूमा प्रमुख चुनौतीहरू देखिएका छन् । यी कुराले भविष्यको दृष्टिलाई धमिलो र अस्पष्ट बनाएका छन् ।

तैपनि हामी सर्वोत्तम हुने आशा गर्नुपर्छ । पहिलो र सबैभन्दा मुख्य कुरा, हामीले २०१८ मा समकालीन विश्व आर्थिक वृद्धि ४ प्रतिशतभन्दा कमको दरमा जारी रहने आशा गर्न सक्छौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले अक्टोबरमा यसको प्रक्षेपण गरेको थियो । वृद्धिले आम्दानी मात्र बढाउँदैन, खराब बैंक ऋण र बजेट घाटाजस्ता अप्रिय समस्याहरूलाई व्यवस्थापन गर्नसमेत सहज हुन्छ । अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको प्रसिद्ध भनाइ यहाँ स्मरणीय छ । १९६३ को अक्टोबरमा उनले प्रस्तावित कर्पोरेट र व्यक्तिगत कर कटौतीका बारेमा भनेका थिए, “उर्लंदो छालले सबै डुंगालाई माथि उचाल्छ ।”
मेरो तर्फबाट भन्नुपर्दा, म विश्व अर्थतन्त्रको सुधार जारी रहनेछ भन्ने भविष्यवाणी गर्छु तर यसको दर भने करिब ३.५ प्रतिशतको हाराहारीमा सुस्त गतिमा हुनेछ । स्पष्ट रूपमा चनाखो भएर हेर्नुपर्ने दुईवटा कुरा छन् । पहिलो भनेको एउटा युरोप हो, जहाँ चक्रीय उतार रोकिन सक्छ र तेलको धनी मध्यपूर्व हो जहाँ फेरि तनाव फैलन सक्छ ।
दोस्रो कुरा, फेडका नयाँ अध्यक्ष जेरोमी जे पावेलद्वारा निर्देशित मौद्रिक नीतिको सामान्यीकरण जारी रहनेछ अथवा अझ तीव्र हुनेछ भन्ने आशा गरौं । संघीय कोषको दर वृद्धि गरेर र सुन्निएको ब्यालेन्स सिटलाई बढ्न दिएर उनले यसो गर्न सक्छन् । त्यस्तै हामीले के पनि आशा गर्नुपर्छ भने प्रमुख केन्द्रीय बैंकहरू विशेष गरी युरोपेली केन्द्रीय बैंकलाई आर्थिक अवस्थाले यी अवस्थालाई पछ्याउन दिनेछ ।
यही सन्दर्भमा प्रमुख केन्द्रीय बैंकहरूले वित्तीय नीतिहरूलाई आवश्यकताभन्दा बढी नै सामान्यीकरण गर्ने क्रम जारी राख्नेछन् भन्ने भविष्यवाणी गर्न सक्छु । यसो गर्दा आउने सबैभन्दा ठूलो जोखिम के हो भने बजारले नयाँ नेतृत्वको फेडलाई परीक्षण गर्न प्रयास गर्न सक्छ । उदाहरण लिऊँ : प्रत्याशितभन्दा तीव्र गतिमा मुद्रास्फीति बढ्न सक्छ ।
तेस्रो, यदि कार्यान्वयन भयो भने रिपब्लिकनहरूको कर प्याकेजले लगानी बढाउनेछ, आउटपुट बढाउनेछ, उत्पादकत्व बढाउनेछ र आगामी दशकहरूमा ब्याज पनि बढाउनेछ । यहाँनेर स्मरणीय के छ भने संसद्ले यो प्याकेज पास गर्नेछ र अमेरिकामा आगामी केही वर्षहरूका सापेक्षित रूपमा उच्च लगानी हुनेछ (यदि कुनै पनि कारबाही भएन भने) । निश्चय नै हालको तहबाट लगानी बढ्छ कि बढ्दैन भन्ने कुरा कर्पाेरेट करभन्दा पनि अन्य धेरै तŒवहरूमा निर्भर हुनेछ । तैपनि करको प्याकेजले आउटपुट, उत्पादकत्व र ज्याला बढाउने अपेक्षा गरिएको छ । यसोउसो भए के भन्ने प्रश्न नै उठ्दैन, कहिले भन्ने मात्रै प्रश्न हो ।
२०१८ अथवा २०२० को निर्वाचनअघि वैधानिक प्रभाव पूर्ण रूपमा नदेखिए यो राजनीतिक परिणामको प्रभाव हुनेछ । यसको सबैभन्दा ठूलो खतरा के भने हो यसका फाइदाहरूमा ढिलाइ हुनेछ र डेमोक्र्याटहरू पुन: सत्तामा आए भने यसका प्रावधानहरू हटाइनेछन् ।
चौथो, आशा गरौं, सबै ठाउँका सरकारहरूले सरकारी पेन्सनको बढ्दो संकट र स्वास्थ्योपचार लागतलाई सम्बोधन गर्न थाल्नेछन् । सामाजिक कल्याणका कारण महँगो हुँदै गर्दा सुरक्षाजस्ता अत्यावश्यक खर्चमा दबाब पर्छ, जसले गर्दा वृद्धिलाई रोक्ने गरी करहरू लगाउन सरकारमाथि बढी दबाव पर्नेछ ।
खास गरी युरोपले चक्रीय परिवर्तनलाई शालीनतामा परिणत हुन दिनु हुँदैन । युरोपेली युनियनका धेरै सदस्यहरूले सरकारी ऋण घटाउनै पर्ने अवस्था छ । युरोजोनले जम्बी बैंक (टाट पल्टिएर सरकारी सहयोगमा सञ्चालन भएका) संकटलाई समाधान गर्नु आवश्यक छ । यसबाहेक फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले खोजिरहेको श्रमबजारको संरचनात्मक सुधार सबैभन्दा स्वागतयोग्य हुन सक्छ ।
दुर्भाग्य, मलाई केमा डर लागिरहेछ भने संरचनात्मक सुधारहरू छिटपुटमात्रै हुन् । खतरा के हो भने सुस्त वृद्धिले पर्याप्त ज्यालाको लाभ र रोजगार सिर्जना गर्दैन । धेरैजसो देशहरूमा युवा बेरोजगारी धेरै छ, जसले निम्त्याउने विस्फोटलाई रोक्न सुस्त वृद्धिबाट सम्भव छैन । अर्को जोखिम के पनि छ भने सुधारका प्रयास राजनीतिक त्रुटिलाई सुधार्ने हल्ला मात्रै हुन सक्छ, जसले गर्दा दीर्घकालीन लगानीलाई नोक्सान गर्न सक्छ ।
पाँचौं, हामी के आशा गर्न सक्छौं भने युरोजोनले मुद्रा संकटलाई बेवास्ता गर्न सक्छ । यो कुरा जर्मन चान्सलर एन्जेला मार्केलले गठबन्धन सरकार बनाउने र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रलाई स्थायित्व दिने काम गर्छिन् कि गर्दिनन् भन्ने कुरामा निकै भर पर्नेछ ।
छैटौं, हामीले के पनि आशा गर्न सक्छौं भने ईयू र बेलायतले ब्रेक्जिट सम्झौतामा सही सहमति गर्न सक्छन् । यसले बलियो व्यापार सम्झौतालाई राम्ररी जोगाउनेछ । यसभित्र रहेको जोखिमचाहिँ के हो भने व्यापारमा स्थानीय तहमा भएको क्षति फैलन सक्छ र व्यापक क्षतिको कारण बन्न सक्छ ।
त्यस्तै, युरोपभन्दा बाहिर हेर्ने हो भने अमेरिका र क्यानडा तथा मेक्सिकोबीच अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) हुने आशा गर्न सकिन्छ । यसले महाद्वीपीय व्यापारलाई सहजीकरण गर्ने व्यवस्था निम्त्याउनेछ । सामान्यतया व्यापारका निम्ति ठूलो जोखिम के छ भने ट्रम्प प्रशासन हारको व्यापार विवाद सुरु गर्न सक्छ । अमेरिकी म्यानुफ्याक्चरिङ कामदारहरूलाई सहयोग गर्ने आशयका साथ उसले यस्तो बखेडा झिक्न सक्छ ।
सातौं, हामी आशा गरौं, सूचना प्रविधि तथा सञ्चार प्रविधिलाई लक्षित गरी बनाइने नयाँ नीतिहरूले स्टेकहोल्डरहरूका बीच प्रतिस्पर्धा र वैधताको चासोलाई सही किसिमले सन्तुलनमा ल्याउनेछ । केही खास इन्टरनेट कम्पनीहरूमा बजार शक्ति एकत्रित हुनु एकातिर चिन्ताको कारण हो । खास गरी अनलाइनका सामग्री र वितरण तथा नयाँ प्रविधिले व्यक्तिगत गोपनीयता, कानुन कार्यान्वयन राष्ट्रिय सुरक्षामा पार्ने प्रभावबारे यस्तो चिन्ता छ । त्यस्तै अर्को पक्षमा हेर्ने हो भने नयाँ प्राविधिक विकासले असंख्य आर्थिक लाभहरू दिन सक्छ ।
अत्यधिक नियमनको परिदृश्य कल्पना गर्न सहज हुन्छ । त्यस्तै प्रमुख प्रविधि कम्पनीहरूका विरुद्ध व्यापक मात्रामा सरकारी प्रतिक्रियाको परिदृश्य कल्पना गर्नु पनि सहज नै हुन्छ । खास गरी, यदि कमजोर स्व–नीति निर्माण छ अथवा कानुन कार्यान्वयनलाई उपेक्षा गरिन्छ भने त्यसले डरलाग्दो घटना निम्त्याउन सक्छ ।
यहाँनेर म के भविष्यवाणी गर्न सक्छु भने उपयुक्त सन्तुलन नीति प्राप्त गर्न धेरै वर्ष लाग्नेछ । यदि भविष्यका केही परिघटनाले संवेगात्मक तारलाई चुडाउँछ भने जनताको मुड नाटकीय रूपमा परिवर्तन हुनेछ । निश्चय नै, मलाई शंका छ, आगामी नियमनबाट पनि प्रतिस्पर्धा र नवप्रवर्तन जोगिइरहनेछ ।
अन्त्यमा, सबैभन्दा महत्बपूर्ण कुरा, हामी आशा गरौं, आतंकवादलाई सबैलाई परास्त गरिनेछ, द्वन्द्व कम हुनेछ, लोकतन्त्र र पुँजीवादले केही गति लिनेछ र बृहत् सभ्यता र इमानदारी वार्तालाप पब्लिक डोमेनमा रहनेछ । २०१८ मा यी सबै हुन सक्छन् र साँच्चिकै यो वर्ष धेरै नै राम्रो हुनेछ ।
(माइकल जे बोस्किन स्टानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।)
स्रोत : प्रोजेक्ट सिन्डिकेट