रमेश भट्टराई
शुक्रवार, असार २२, २०७५
485

प्राकृतिक परिवर्तन हुन्छ, प्रकृतिले अप्ठ्यारो स्थिति पैदा गर्छ तर मानवले सकेसम्म जोगिने उपाय अपनाउनैपर्छ ।

मनसुन सुरु भएसँगै वर्षातको वितण्डाले सहयोगको चित्कारलाई फेरि विगतमा जस्तै हृदयविदारक बनाइरहेकै छ । पहाडमा पहिरोको भय र तराईमा डुबानको पीडा छ । वर्षा नभई खेती र कृषिबाली सञ्चालनको आधार बन्दैन । कतै वर्षा नभएर किसानले भ्यागुताको बिहेसम्म गर्ने गरेका समाचार पनि सुन्नुपरेकै हो । प्रकृतिलाई रोक्न र आफ्नो वशमा राख्न सकिँदैन । तर, सम्भाव्यता भएका स्थान र सरकारले गर्न सक्ने व्यवस्था तथा आवश्यक पूर्वसचेतनामा बेलैमा ध्यान नपुराइए त्यसको ठूलो क्षतिको सिकार बन्नुपर्दो रहेछ ।
हरेक वर्ष वर्षातसँगै पीडाको पराकाष्ठाका दर्दनाक जलन सुनिरहनुपरेकै छ । बचाउ, गुहारको चित्कारलाई कसले सुन्ला त जहाँ आफै बाँच्ने आधार हुँदैन । सराहनीय पक्ष हो, अहिले पूर्वसचेतनाका लागि सतर्कता जगाउने कार्य भइरहेका छन् । यद्यपि जोखिम अध्ययन तथा पुनर्वासको व्यवस्था तथा क्षति न्यूनीकरणका लागि द्रुत व्यवस्थापन त्यति सक्रिय छैन । आगो लागेपछि इनार खन्ने प्रवृत्तिका कारण धेरै धनजनको क्षति भइरहेको हुन्छ । घटना घटिसकेपछि तात्तिनेभन्दा सतर्कतामा लगानी गर्न यतिखेर सरकार सचेत बन्नुपर्ने हो । कमसेकम पुनर्वासको व्यवस्थाप्रति सजग बन्नुपर्ने हो । वनफँडानी गर्ने, जोखिम क्षेत्रमा गृहनिर्माण गर्ने जस्ता कुरामा अब विज्ञ टोलीको सजगता आवश्यक छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पुराना, जीर्ण अवस्थाका घर, जोखिमयुक्त स्थानका बारेमा सचेत भएर विकल्प अध्ययनमा सघाउ पुराउनु उचित हुन्छ । यसमा पनि बाटाघाटा बन्द हुने, यात्रामा बालवृद्ध, रोगीले सास्ती बेहोर्नुपर्ने जटिलतामा सरकार चनाखो बन्नुपर्ने देखिन्छ ।

गत वर्ष पनि अविरल वर्षाले देशभरि ठूलो सङ्ख्यामा जनधनको क्षति मात्र नभई बेपत्ता हुँदा वा पहिरोले पुर्दाका पीडाले सिङ्गो मुलुक नै शोकमग्न बन्न पुग्यो । अब सरकारले क्षति भइसकेपछि उपचारमा जुट्ने मात्र होइन, जोखिमपूर्ण बस्तीको अध्ययन गरी बस्ती व्यवस्थापन गर्ने, सचेतना अभियान चलाउनेजस्ता पक्षमा ध्यान पुराओस् । पछिल्ला सात वर्षमा बाढीपहिरोबाट १ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ भने गत वर्षको साउनदेखि केही दिन अघिसम्म २ सय ७५ भन्दा बढीको मृत्यु भइसकेको पीडादायी समाचार सुनिरहनुपरेको छ । लक्ष्मणपुर, सप्तकोसीलगायतका बाँधलाई छिमेकी मुलुक भारतले थुनेर नेपाली भूमिमा फर्काइदिँदा पनि हजारौँ नेपालीको घरबास उठीबास भएको दृश्यमा हामीले आखिर के नै गर्न सक्यौँ र ? कैयौँ गरिब, पिछडा, अक्षम वर्ग वा राम्रो पहुँच नभएका सुकुम्बासी, आदिवासी वर्गमा बाढीको बढी असर परेका समाचारबाट पनि संवेदनशील अवस्थामा निरीह वर्गकै सिकार हुनुपर्यो । त्यसमा पनि सानो झुप्रो डुब्नलाई समय लागेन । नेपालवासीलाई अप्ठ्यारो पर्ने गरी फर्काइएको यो उर्लंदो भेलसँगै छिमेकीले सङ्कट उत्पन्न गराएकै हो । यथार्थमा मानवीय बस्तीको उठीबास गर्ने गरी आफ्नो मुलुकको मात्र हितलाई ध्यानमा राखेर गरिएको व्यवहार पक्कै दादावादी र अमानवीय हेपाहा प्रवृत्ति हाबी बनेको विषय अब सुध्रिनैपर्छ । हिउँदमा पानीको बहाव कम भएका बेला टम्म थुनेर आफ्नैपट्टि मात्र पानी लिएर जाने तर भेल, बाढी आउँदा भने नेपालवासीको सर्वनाश हुने गरी पानी फर्काइदिनेजस्ता व्यवहार रोकिनैपर्छ ।
जापानमा दिनहुँजसो भूकम्प आए पनि सुरक्षाका बाटा अपनाइएका समाचार सुनिन्छ । समुद्री सतहनिकट बस्तीमा सुनामी आउने खतरासँगै बस्ती पुनर्बासका लागि सरकार कटिबद्ध बन्छ । भएका स्रोतको उचित उपयोग गर्न कन्जुस्याइँ गरिने, फास्टट्र्याक नअपनाइने, भाषा र भावकै भावनामा अड्किरहनेजस्ता हाम्रो देशका प्राचीन संस्कारलाई अब बदल्ने समय आएको छ । पुनर्बासका व्यवस्थाको पूर्वसचेतना र सुरक्षित स्थानमा शिविर स्थापना गर्ने कार्यले आवश्यक हुन सक्छ । गत वर्ष बाढीका कारणले कैयौँ विकासका संरचना ध्वस्त भएका दर्दशा छन् । बल्लतल्ल निर्माण भएका बिजुली घर, स्कुल, बाटाघाटा समेत्लाई बाढीले विनाश पारिदियो । यी र यस्ता दुःखद घटनाबाट हुने मानसिक पीडा र वेदना कति हृदयस्पर्शी बन्छन् । मनोवैज्ञानिक परामर्श सेवाको खाँचो परेको थियो । अझ भूकम्पले थिलथिल्याएको पीडाको साँवामा पहाडतिर पहिरोले ब्याज थपिदिएका दृश्य झनै हृदयविदारक बने । यसर्थ आकस्मिक सेवा र सुरक्षामा पक्कै सचेतनाको बाटो खोज्नैपर्छ ।
घटनाबाट जोगिने पूर्वसचेतना संयन्त्र निर्माणमा अब ढिलाइ नहोओस् । विपद् व्यवस्थापनका क्रममा द्रुत सहयोगमा जुट्ने जनशक्ति पनि तैनाथ होऊन् । विगतमा पनि ज्यान जोगाउनै धौधौ हुँदा भारतसँग कोसी ब्यारेज खोल्न अनुमति माग्नुपरेका वेदना अब नदोहोरिने रणनीतिगत व्यवस्थामा सोच्नैपर्छ । हिउँदमा नेपालका नालामा कमिला कुद्ने गरी थुनेर पानी लैजाने प्रवृत्तिसँग विगतका सन्धि सम्झेर भुटभुटिनु सिवाय केही बाँकी रहँदैन । यसका लागि त बरु विपद् सहयोग कोष खडा गरी मानवीय भावमा जुट्नु वैज्ञानिक कार्य हुन सक्ला । अचानाको पिर खुकुरीलाई थाहा हुँदैन । कैयौँ नदीले गरेका कटान र नदी बहाव बढेर सीमाबाट पार गरी बनाएको जोखिमका कारण मुलुक सङ्कटको पहाडले घेरिन पुग्छ । यस्ता खाले विषम परिस्थितिमा सबै वर्ग र समुदाय सेवामा जुट्न सक्नुपर्छ । गत वर्ष पनि बाढी, पहिरो वा डुबानका पीडाका कारण मानवीय पीडासँगै कैयौँ दोपाया, चौपाया जीवको सङ्कटको राम्ररी लेखाजोखा नै हुन सकेन । जङ्गली वन्यजन्तुको विनाशलीला कति दर्दनाक बन्यो । बाढी वा डुबानका त्रासदी दुरवस्थाबाट तराई भूभागमा न त भागेर ज्यान बचाउने आधार छ, न कुनै जीवन रक्षाको विकल्प नै । उता पहाडी क्षेत्रमा पहिरोको जोखिमले कैयौँ परिवार बग्न पुगे । कति पीडाप्रद लाग्छ । छरछिमेकमा निद्रा, भोकको कुरा त टाढै भयो, त्यहाँ जीवन कसरी बचाउने भन्ने जीवनमरणको भयावह क्रन्दन विषादमय बनेकै हो । यस्ता बाध्यतामा पिल्सिएका नेपालीको संवेदनामा सरकारी पहलले कागजका संवेदना र समाचारमा अड्काउनु असल मानवता बन्न सक्दैन ।
वर्षात नहुँदा खेत बाँझो बने, पानी तान्ने मोटरले तानेर रोपिएका खेत धाँजा–धाँजा भएर फुटे, जेनतेन रोपिएका रोपो सुकेर किसानको मन पिरोलियो । सबैलाई अवगत छ, हाम्रो नेपाल भूमिमा बसोबास गर्ने नेपालीमाथि उत्तरदायित्व बोधको खाँचो छ । प्राकृतिक अवस्थिति, जोखिमयुक्त स्थानको पहिचान, विकल्पका बाटा, पूर्व उपाय र सचेतनामा ध्यान पुराउँदा कमसेकम यस्ता घटनाबाट हुने क्षति न्यूनीकरणको उपाय सुझाउनैपर्छ । भूकम्पका कारण आझैसम्म पनि टहरामै बसेर जेनतेन चिसोको कष्ट काटेकाहरूलाई अब वर्षायामको पीडा उसै गरी जोडिएको छ । पहाडी स्थानमा बाढी–पहिरोको त्रास, असन्तुलित जमिन भएका क्षेत्रमा बस्तीका विकल्प खोजिनु आवश्यक छन् । गरिबीको चपेटामा केवल पेट मात्र पाल्दै बसेका कैयौँ नेपालीले आझैसम्म आफ्नो जीवनस्तर तङ्ग्य्राउने मेसोमेलो पाएका नहोलान् । यसर्थ अब सामाजिक सञ्जाल, सञ्चारमाध्यम, पत्र–पत्रिकाले यी र यस्ता समस्या समाधान सचेतनाका आधार बन्न सकून् ।
प्राकृतिक परिवर्तन हुन्छ, प्रकृतिले अप्ठ्यारो स्थिति पैदा गर्छ तर मानवले सकेसम्म जोगिने उपाय अपनाउनैपर्छ । दुर्घटना भइसकेपछि योजनाका तानाबाना बुन्ने, अरूबेला राजनीतिक विचार र खेलतिर अल्झिरहने हो भने नाम मात्रको परिवर्तनले मावनता पस्कन सक्दैन । वर्षातकै कारण पहाडी भूभागमा बाढीपहिरो जाने र तराईमा डुबान हुने पीडा एक वर्षको मात्र होइन । अतः सरकार तथा सम्बन्धित सबै तहतप्काबाट यस्ता गम्भीर संवेदनशील विषयमा चनाखो बन्नैपर्छ ।
संवेदनामा समेत राल चुहाएर मानवताको धज्जी उडाउन पछि नपर्दा राहतको मौकामा वर्षभरि पुग्ने अन्न, त्रिपाल र कपडाजस्ता सामग्री सङ्कलन गरेका हिजोका लाछीपूर्ण दृश्य तथा भ्रष्टाचारी प्रवृत्तिप्रति पनि सचेत बन्नैपर्दो रहेछ । नक्कली पीडित बनेर करोडपति हुन चाहनेहरूको भीडमा निर्घिणी प्रवृत्ति हाबी बन्दो रहेछ । फलतः यस्ता घटनाले भोलि आझै बढी जनधनको क्षति हुने र घटनापश्चात् पनि स्वास्थ्यसँग सम्बन्धित महामारी, हैजा, टाइफाइड, झाडापखालाजन्य रोगको सिकार बन्नुपर्ने कुरालाई नियालेर पूर्वसचेतनाका बारेमा सरोकार सबै गम्भीर बन्ने बेला हो यो । संवेदनशील अवस्थाको मानवीय जीवनलाई आश्वासनले पुग्दैन ।