नयाँ आन्तरिक विमानस्थल कति आवश्यक छ ?
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
661

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि दैनिक २१ घण्टा सञ्चालनमा ल्याएर उदाहरणीय कार्य गरेको छ । हाल निर्माणको अवस्थामा रहेका भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई गति दिएर समयमा सम्पन्न हुने वातावरण मिलाउन सके अवस्य यसको उच्च मूूल्याङ्कन हुनेछ । ताकि कसैले पनि लगानीका लागि तत्पर नभएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माण गर्ने भन्ने सुनिएको नयाँ आन्तरिक विमानस्थलको सम्बन्धमा भने विज्ञको राय लिनुपर्ने आवश्यकता देखिन्छ । मेरो अध्ययन र बुझाइमा कुनै पनि देशमा विमानस्थल धेरै भएर विकास भएको भन्ने उदाहरण कहीं–कतै पनि देखेको छैन ।
ठूला विमानस्थलको उदाहरण लिनुपर्दा भारतको इन्दिरागान्धी विमानस्थल जुन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको सफल विमानस्थलका रूपमा परिचित छ । यस विमानस्थलको प्रमुख आम्दानीका रूपमा विमानस्थल क्षेत्र नजिकै निर्माण गरिएको होटल, सपिङ मललगायतका सुविधामार्फत हुने आम्दानी उल्लेख्य हिस्सा रहेको भन्ने बुझिएको छ । विमानस्थल सञ्चालन गर्नाले मात्र आम्दानी हुन नसक्ने विषयमा त हामीहरू थोरबहुत जानकार छौं नि । लगानी गरेर आम्दानी गर्नका लागि त अन्य सेवा–सुविधामा ध्यान दिनुपर्छ । हामी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने र यात्रुहरूलाई त्यहाँ उतारे पश्चात् सीधै काठमाडौँमा भित्र्याउनका लागि द्रुतमार्ग बनाउन खोज्दै छौं । तर, त्यो निजगढ विमानस्थल बनाएर टाट पल्टनका लागि संसारको कुनचाहिं लगानीकर्ता तयार हुन्छन् होला ? मेरो विचारमा हाल निर्माणधीन अवस्थामा रहेका पोखरा र भैरहवाको विमानस्थल निर्माण पूरा गरेर सञ्चालनमा ल्याऊँ र त्यसपश्चात् पनि नेपालमा हवाईजहाज आवागमनमा समस्या देखिए अर्को ठूलो विमानस्थल बनाउँदा राम्रो होला कि ? हाल सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति तथा सेवासुविधा थप गर्न ध्यान दिनु खर्चका हिसाबले पनि मनासिब देखिन्छ । हाल सञ्चालनमा रहेका विमानस्थल प्रयोग गर्ने यात्रुले मात्र हवाईजहाज चढ्नका लागि विमानस्थलमा टेक्ने गरेका छन् । त्यहाँ उनीहरूले अर्थतन्त्रमा गर्ने योगदान भनेको सम्बन्धित विमान सेवा कम्पनीलाई केही रकम भुक्तानी गर्ने मात्र हो ।
त्यसैगरी सञ्चालनमा रहेका अन्य विभिन्न आन्तरिक विमानस्थलबाट नेपाल सरकारलाई कति आम्दानी भइरहेको छ ? त्यो पनि सरकारलाई अवगतै होला । एउटा आन्तरिक विमानस्थल निर्माणका लागि लाग्ने खर्च कति हो, त्यो पनि लेखा जोखा गरौं र अन्य नयाँ विमानस्थल निर्माणका बारेमा योजना बनाउँदा उचित हुनेछ ।
विकसित देशका केही आन्तरिक विमानस्थलको पनि अध्यन गरौं न । विकसित देशका आन्तरिक विमानस्थलहरू धेरै बन्द भैसकेका छन् र केही सञ्चालनमा आए पनि त्यति सन्तोषजनक अवस्थामा छैनन् । विकसित देशमा पनि राम्रो अवसर र सुविधाका लागि सहर केन्द्रित जनसंख्याको वृद्धिले गर्दा स्थानीय क्षेत्रमा मानिसको बसोबास निकै पातलो भइसकेको छ । हामी बहुसंख्यक नेपाली जनता पनि सहरकेन्द्रित भैसकेका छौं र हुने क्रममै छौं । सहरकेन्द्रित हुनुको कारण हेर्दा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य, खाने पानी आदिको उचित व्यवस्थापन नहुनु नै मुख्य भूमिका खेलेको देखिन्छ । हाल सातवटा प्रदेश सरकार गठन भएको हाम्रो देशको परिवेशमा प्रदेशको राजधानी भएको स्थानमा सञ्चालनमा रहेका विमानस्थलको सेवासुविधामा ध्यान केन्द्रित गर्दा उचित हुन्छ जस्तो लाग्छ । यसका बारेमा पनि विज्ञको राय लिने र निर्णय गर्दा उचित हुनेछ । आवेगमा आएर कुनै निर्णय गरियो भने यसले हाम्रा भावी सन्ततिलाई पनि बोझ थप गर्न जानेछ ।
नेपालमा सञ्चालनमा रहेका आन्तरिक विमानस्थल दैनिक यात्रुको चापले गर्दा धान्न नसकिने गरी उडान भर्नुपर्ने विमानस्थल कहीं–कतै देखिएको छैन । मात्र काठमाडौँमा यसको चाप देखिएको छ । नेपाली जनता विमानबाट झरेपश्चात् एकदेखि तीन दिन पैदल हिंड्नुपर्ने अवस्थामा छौं । हामीलाई तत्काल विमानस्थलको संख्या थप गर्नभन्दा पनि सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति गर्दै जाने र दूरदराजसम्म पैदल यात्रा गर्नुपर्ने नागरिकको बाध्यतालाई ध्यानमा राखेर राम्रो, सुविधासम्पन्न बाटो निर्माण गर्नु उचित देखिन्छ । न त नयाँ विमानस्थल बनाएर हामी नेपालीको जीवनस्तर उकास्न सकिन्छ, न सरकारले नयाँ आन्तरिक विमानस्थल थप गरेर यसबाट उचित फाइदा नै लिन सक्नेछ ।
शिवप्रसाद पोखरेल