भगवान खनाल
आइतवार, असार २४, २०७५
1374

शिक्षाको बहुआयामिक चरित्र हुन्छ । बदलिँदो विश्व परिवेशमा कामयावी शिक्षाको माग र आवश्यकता चुलिँदो भएकाले नेपालमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षा, पाठ्यक्रम तथा सिकाइ प्रक्रियालाई समयसापेक्ष बनाउँदै लगिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा त झनै बजारको मागअनुसारको ढाँचामा तिनका पाठ्यक्रमलाई रूपान्तरण गरिरहेका हुन्छन् नै । ज्ञान तथा सीपार्जनका छोटाछोटा अवधिका तालिमहरू पनि शिक्षाको नवीनतम चिन्तनको दर्शनमा आधारित छ । परम्परागत शिक्षाको तुलनामा आधुनिक शिक्षा नवीनतम चिन्तनहरूले युक्त देखिन्छ । भलै तोकिएको सक्षमताको प्राप्ति कुन रूपमा भइरहेको छ भन्नेमा चाहिँ ढुक्क हुन सकिरहेको छैन ।
शिक्षाको बदलिँदो अवधारणा र मागले गर्दा शिक्षामा नवीनतम चिन्तनहरूको विकास हुदैं गएको हो । नेपालको विद्यालय तहको शिक्षामा शिक्षाको नवीनतम चिन्तन घुलित बनाउने कार्य भइरहेको छ । पाठ्यक्रममा भनौं या शिक्षक तालिममा, विषयवस्तुमा भनौ या शिक्षण विधिमा, शिक्षाका नवीनतम चिन्तनलाई पस्किने काम खास गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायहरूबाट हुँदै आएको हो । मुलुकमा संघीय संरचना कार्यान्वयनको घनिभूतता रहेसँगै शिक्षाको नवीनतम चिन्तन विद्यालयभित्रका साथै विद्यालयबाहिर पनि पु¥याउने दायित्वमा प्रादेशिक सरकार र स्थानीय सरकारमा समेत पुगेको छ । यसैले बहुकिसिमका निकायबाट शिक्षामा नवीनतम चिन्तनको प्रयोग, कार्यान्वयन, अनुगमन, मुल्यांकन गरिने भएको छ । अर्कातिर शिक्षामा नवीनतम चिन्तनको विकास, कार्यान्वयन र प्रयोगमा सीमित सरकारी निकाय मात्र नभई राजनीति, सामाजिक, आर्थिक, औद्योगिकलगायतका औपचारिक तथा अनौपचारिक निकायबाट पनि उत्तिकै हुने गर्छ । यसैले यो चिन्तन वृहद्तर क्षेत्र र विषयवस्तु समेटिएको आफैंमा सर्वव्यापी अवधारणाका रूपमा आइरहेको छ । उदाहरणका रूपमा भन्ने हो भने विश्व भूमण्डीकरण र यसको असर तथा प्रभाव शिक्षामा स्वाभाविक रूपमा परिरहेको छ । विश्वव्यापी रूपमा ज्ञान आर्जन तथा सीप आर्जनका लागि भएका वा हुने कुनै पनि अभिसन्धि, सम्मेलनबाट पारित कानुनी तथा नीतिगत प्रावधान वा कुनै पनि अन्तर्राष्ट्रिय शैक्षिक अभियान, नारा वा कुनै अन्य प्रकारका सामाजिक न्याय, लैङ्गिक समता र समानता, समावेशीताका बहुविषयहरू नै शिक्षाका नवीनतम चिन्तन हुन् । उता कप्युटरको विकास र यसको प्रयोग, विभिन्न सूचना तथा सञ्चार प्रविधिसम्बद्ध तौरतरिकाहरू औपचारिक या अनौपचारिक शिक्षामा प्रवेश पाएसँगै शिक्षाको आधुनिक चिन्तनको दायरा यति नै हो भनेर भन्न सकिन्न किनकी यो अझै विस्तारित हुदै पनि छ ।

विश्व शिक्षाको इतिहासमा सन् १९९० बाट थालिएको सबैका लागि शिक्षाको महाअभियानसँगै शिक्षाको आधुनिकीकरणमा थुप्रै कदम विश्वव्यापी रूपमा चलेको पाइन्छ । सबैका लागि शिक्षाको २५ वर्षे यात्रा सन् २०१५ मा सकिएको भए पनि त्यहाँ किटान गरिएका लक्ष्य, प्रतिबद्धता तथा उद्देश्यहरूलाई अन्य खालका सामाजिक तथा विकासका महाअभियानले पनि कुनै न कुनै रूपमा बोकिरहेको छ । उदाहरणका लागि दिगो विकास लक्ष्यको १७ वटा लक्ष्यहमध्ये लक्ष्य नम्बर ४ मा गुणस्तरीय शिक्षा र लक्ष्य नम्बर ५ मा लैंगिक समानताले प्रश्रय पाएको छ भने सहस्राब्दी विकास लक्ष्यमा पनि केही प्रावधान राखिएका छन् । शिक्षा आधारभूत आवश्यकता भएकाले त्यसको प्राप्तिमा विश्व समुदाय सचेत छ । उता, मानवअधिकार, बालअधिकारलगायत नेपालको संविधान, शिक्षा ऐन तथा नियमावलीलगायतका कानुनी पक्षबाट विश्लेषण गर्दा अधिकारमा आधारित शिक्षा शिक्षाको आधुनिक चिन्तनका रूपमा देखा परेको छ । बालमैत्री विद्यालय, विद्यालय शान्ति क्षेत्रले शिक्षामा नवीनतम चिन्तन भिœयाएका छन् । विद्यालय भनेको बालबालिकाको करियर बनाउने स्थल भएकाले हरेक क्रियाकलाप उनीहरूको हित हुनुपर्छ । नेपालमा विगतमा जे–जे भए पनि आगामी दिनमा विद्यालयलाई शान्ति क्षेत्र बनाउनु समाज, सामाजिक संघ संस्था, राजनीतिक दल र सरकार सबैको उत्तिकै प्रयास हुनुपर्छ । विद्यालयलाई द्वन्द्वस्थल बनाएमा बालअधिकार, मानवधिकार, संवैधानिक हक तथा अधिकारजस्ता पक्षहरू लागू नहुने भएकाले यसमा सबैको उत्तिकै ध्यान जानुपर्ने देखिन्छ ।
अहिले शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि विद्यालय तहसम्म लैजान, बालबालिका र शिक्षक सामु लैजान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लगानी बढिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । शिक्षा तथा सिकाइ प्रविधिमैत्री बन्नु र बनाउनुको विकल्प छैन । यो समयको माग हो । यसमार्फत नवीनतम चिन्तन भिœयाउँदै बालबालिकालाई साधारण तथा प्राविधिक सीपका साथै जीवनोपयोगी सीप पनि दिनुपर्ने भएको छ । समयले जति विषयवस्तुको ज्ञान, सीपको विकास गर्नुपर्ने भन्दैछ उति नै व्यक्तिको लागि प्राविधिक सीपको पनि उत्तिकै वकालत गरिरहेको छ । सामन्जस्यता, सहभागिता, सामूहिकता, व्यक्तिगत आचरण तथा गुण, संवेदनाजस्ता पक्षको विकास पनि जरुरी छ । यसले वास्तवमा सिकारुमा जीवनोपयोगी सीपको विकास गर्छ । परम्परागत रूपमा ज्ञानलाई मात्रै प्राथमिकतामा राख्दा व्यक्ति अन्य व्यावहारिक जीवनको लागि चाहिने अति आवश्यक मानवीय, नैतिक तथा पेसागत गुणहरूको अभाव हुन्छ । यसैले अहिलेको आवश्यकता भनेको व्यक्तिमा हार्ड र सफ्ट स्किल दुवैको विकास गराउन शिक्षामा नवीनतम चिन्तनले भूमिका खेल्छ ।
यतिखेर नेपालको सन्दर्भमा भन्ने हो भने शतप्रतिशत शिक्षकहरू तालिमप्राप्त छन् । हिजो तालिम नलिएकाहरूलाई विभिन्न समयमा तालिम, पुनर्ताजिगी तालिमलगायत विभिन्न नाम र मोडलका तालिमहरू दिइएको छ भने नवप्रवेशीहरू प्रायःजसो तालिम प्राप्त नै छन् । शिक्षक हुनका लागि अध्यापन पत्र लिनुपर्ने केही अघिको अनिवार्यता र अहिले केही विषयमा शिक्षा विषय अध्ययन नगरे पनि ती विषयका शिक्षक हुन सकिने प्रावधान छ । खैर, जे भए पनि युवापुस्तामा शिक्षक हुनको लागि चाहिने तालिम हो । शिक्षाशास्त्रको ज्ञान नहुनेहरू पनि सूचना तथा सञ्चार प्रविधिका गुणयुक्त छन् भन्दा अतिशयोक्ति हुँदैन । नेपालमा शिक्षकका लागि गरिएको तालिमले शिक्षकको दिमाग र व्यवहारलाई शिक्षाको आधुनिक आयाम वा चिन्तनप्रति आलोचना, समालोचना गर्न भरपुर सहयोग गरेको हुनाले शिक्षक तालिम एक आधुनिक शिक्षाको चिन्तन हो, तर यहाँ तालिम कक्षाकोठामा नपुगेको पनि उत्तिकै रुपमा उठ्ने गर्छ ।
उता अभिभावकलाई पनि सामयिक रूपमा शिक्षा प्रदान गरिएको पाइन्छ । सम्बद्ध सरकारी र गैरसरकारी तबरबाट अभिभावक शिक्षामा पनि लगानी भएको देखिन्छ । यहाँनेर स्मरणीय के छ भने विद्यालयको सर्वोच्च निकाय भनेको नै अभिभावक हुन् । अभिभावकबाट चुनिएर आएको व्यक्ति वा व्यक्तित्वहरूले विद्यालय व्यवस्थापन समितिको नेतृत्व लिने भएकाले अभिभावक पनि शिक्षाको आधुनिक चिन्तनका खम्बा हुन् । यसबाट उनीहरू कुनै पनि हिसाबले उम्किन नमिल्ने शिक्षा ऐन, २०२८ र नियमवाली, २०५९ मा स्पष्ट उल्लेख छ । अभिभावकको योजना, दूरदृष्टि, काम गर्ने इच्छाशक्ति, आत्मविश्वासले विद्यालय शिक्षाको समग्र सुशासन, उत्तरदायित्व र जवाफदेहितामा प्रभाव पर्छ ।
निरन्तर, खुला तथा वैकल्पिक शिक्षा, लैंगिक समता र समानता, समाहित शिक्षा र शिक्षामा समावेशीकरण, विद्यालय शान्ति क्षेत्रको अवधारणा तथा विभिन्न अधिकारहरू शिक्षामा देखा परेका आधुनिक चिन्तनहरू हुन् । यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा, शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, हार्ड एन्ड सफ्ट स्किल, जीवन पर्यन्त सिकाइ र जीवनोपयोगी सीप, शिक्षकका सक्षमताहरू, तालिम, अभिभावक शिक्षा पनि शिक्षाको बदलिँदो अवधारणा हुन् ।