कारोबार संवाददाता
बुधवार, असार २७, २०७५
1645

आजको युग सामाजिक सञ्जाल (सोसल मिडिया) को युग हो भन्दा अत्युक्ति नहोला । सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको एक अभिन्न अंग भइसकेको छ । हामीले चाहेर वा नचाहेरै पनि सामाजिक सञ्जालले हाम्रो जीवनशैली र सोच्ने तरिकालाई प्रभावित पारिरहेको छ । व्यक्तिगत छवि निर्माणमा सामाजिक सञ्जाल अनिवार्य भएको छ भने कसैको चरित्र हत्या गर्नेदेखि घृणा तथा हिंसा फैलाउनमा समेत प्रयोग भएको पाइएको छ । जे भए पनि सामाजिक सञ्जाल आजको यथार्थ हो तथा यसको प्रयोग व्यापार–व्यवसायको सबै क्षेत्रमा विज्ञापनको एक प्रभावकारी तथा भरपर्दो माध्यमका रूपमा हुँदै आएको छ । नेपालमा पनि सबै व्यापारिक–व्यावसायिक प्रतिष्ठानलगायत बैंक तथा वित्तीय संस्थाहरूले केहि हदसम्म संगठित रूपमा सामाजिक सञ्जालको प्रयोग गरे तापनि लघुवित्त क्षेत्रमा सामाजिक सञ्जालहरूको प्रभावकारी प्रयोग हुन सकेको देखिँदैन, जबकि सामाजिक सञ्जालको भूमिका तथा महत्व अन्य क्षेत्रको तुलनामा लघुवित्त क्षेत्रमा अझ बढी रहेको छ ।

सामान्यतया लघुवित्त भन्नासाथ हाम्रो आँखाअगाडि ‘विपन्न’, ‘ग्रामीण’, ‘दुर्गम’, ‘अशिक्षित’ जस्ता तस्बिरहरू नाच्छन्, जुन धेरै हदसम्म सत्य पनि हुन् । तर, हाम्रो यही पूर्वाग्राही मान्यताले गर्दा लघुवित्तको क्षेत्रमा पनि सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न सकिन्छ तथा यसबाट लघुवित्त सेवाप्रदायक संस्थाहरूका साथै सेवाग्राहीहरू पनि लाभान्वित हुन सक्छन् भन्ने कल्पना पनि गर्दैनौं । लघुवित्तको क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग कति व्यावहारिक तथा सम्भव छ भनेर विश्लेषण गर्नुपूर्व केही तथ्याङ्कतर्फ ध्यान दिऊँ । हाल नेपालमा २८ लाखको हाराहारीमा लघुवित्तका सदस्यहरू रहेका छन् तथा करिब–करिब सबै सदस्य महिला नै हुन् । ११ औं जनगणनाअनुसार नेपालमा महिलाको जनसंख्या १३६.४५ लाख छ, जसको अर्थ करिब २० प्रतिशत महिला लघुवित्तमा आबद्ध रहेका छन् । त्यसैगरी नेपालमा ग्रामीण जनसंख्या ८३ प्रतिशत (करिब २ करोड २० लाख) छ तथा लघुवित्त सेवा मुख्यतया ग्रामीण क्षेत्रमै केन्द्रित रहेको मान्ने हो भने कुल ग्रामीण जनसंख्याको करिब १३ प्रतिशत जनसंख्या लघुवित्तमा आबद्ध भएको मान्न सकिन्छ । त्यस्तै महिला साक्षरता दर ५७ प्रतिशत रहेको छ भने कुल जनसंख्याको ६४ प्रतिशत तथा ग्रामीण जनसंख्याको ६० प्रतिशतले मोबाईल फोन प्रयोग गर्छन् । उक्त जनगणनाअनुसार नेपालका १२ प्रतिशत सहरिया तथा १.२४ प्रतिशत ग्रामीण जनसंख्याको इन्टरनेटमा पहुँच रहेको छ ।

वर्तमान समयमा मोबाइल (स्मार्टफोन) लाई सामाजिक सञ्जाल चलाउने प्रमुख माध्यम मान्ने हो भने नेपालको जनसंख्याभन्दा बढी ‘सिमकार्ड’ प्रयोगमा रहेको तथ्याङ्क पाइन्छ । त्यस्तै नेपालको कुल मोबाइल प्रयोगकर्तामध्ये हाल ५० प्रतिशतभन्दा बढीले स्मार्टफोनको प्रयोग गर्ने गरेको तथा यो संख्या वार्षिक १० प्रतिशतका दरले वृद्धि हुँदै गएको र नेपालका ८० प्रतिशतभन्दा बढी जनसंख्यामा मोबाइल नेटवर्कको पहुँच पुगेको अनुमान छ । अब शतप्रतिशत सहरी जनसंख्या (४५ लाख) ले स्मार्टफोन प्रयोग गरेको अनुमान गर्दा पनि ग्रामीण क्षेत्रमा करिब ४० लाख स्मार्टफोन प्रयोगमा रहेको देखिन्छ । त्यस्तै एक अनुमानअनुसार करिब ३८ प्रतिशत नेपाली सामाजिक सञ्जालमा आबद्ध छन्, जसको अर्थ नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता करिब १ करोड रहेका छन् तथा ९२ प्रतिशतले फेसबुक र ५ प्रतिशतले युट्युब प्रयोग गर्छन् । यस आधारमा पनि ग्रामीण क्षेत्रका ५० लाख बढी जनसंख्याले सामाजिक सञ्जाल (मुख्यतया फेसबुक) प्रयोग गरिरहेका छन् । यसरी माथिका सबै तथ्याङ्कका आधारमा के भन्न सकिन्छ भने नेपालको ग्रामीण क्षेत्रका जनसंख्या (मुख्यतया लघुवित्तका सदस्यहरू) सँग सामाजिक सञ्जालसँग जोडिने आवश्यक पूर्वाधारको उपलब्धता तथा सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने क्षमता हुनुका साथै तीमध्ये अधिकांश सामाजिक सञ्जालमा आबद्ध पनि रहेका छन् । यति हुँदाहँुदै पनि नेपालमा लघुवित्त क्षेत्रमा प्रभावकारी तथा उपयोगी रूपमा सामाजिक सञ्जालको प्रयोग हुन सकेको देखिँदैन ।

लघुवित्तको क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग कुनै नयाँ अवधारणा भने होइन । नाइजेरिया, केन्या, ट्युनिसिया, बंगलादेश तथा फिलिपिन्सजस्ता देशहरूले पहिलेदेखि नै लघुवित्त कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सामाजिक सञ्जालको उपयोग गर्दै आइरहेका छन् । उनीहरूले मुख्यतया आफ्ना सदस्यहरूलाई नयाँ सेवाबारे जानकारी दिन, सम्भावित नयाँ सदस्यहरूको पहिचान गर्न, सदस्यहरूबीच अनुभव आदानप्रदान तथा अन्तक्र्रिया गर्न, सदस्यहरूको शाख तथा विश्वसनीयतासम्बन्धी जानकारी लिन, सदस्यहरूले उत्पादन गरेको वस्तुका लागि बजार व्यवस्थापन गर्न, तथा वित्तीय साक्षरतालगायत अन्य विषयहरूका सम्बन्धमा जानकारी-तालिम प्रदान गर्नका लागि सामाजिक सञ्जालको प्रयोग गर्दै आइरहेको पाइन्छ । यसका अतिरिक्त सामाजिक सञ्जालबाट प्राप्त जानकारीका आधारमा, एक लघुवित्त संस्थाले अन्य प्रतिस्पर्धी लघुवित्त संस्थाहरूले के–कस्ता कार्यक्रम ल्याए, उनीहरूको सेवा प्रवाह कस्तो छ, कुन कार्यक्रम सफल वा असफल भयो, सदस्यहरूको आवश्यकता के हो जस्ता कुरा विश्लेषण गरेर सोहीअनुरूप आफ्नो सेवा परिमार्जन गरी अझ प्रभावकारी तथा प्रतिस्पर्धी बनाउनसमेत सहयोग पुगेको पाइएको छ ।

लघुवित्तको क्षेत्रमा अन्य देशहरूले सामाजिक सञ्जालको प्रयोगमार्फत प्राप्त गरेको सफलता नेपालको हकमा पनि लागू हुन्छ । त्यस्तै हामीले हाम्रो सन्दर्भमा अझ परिमार्जित र परिष्कृत रूपमा लघुवित्त तथा सामाजिक सञ्जाललाई आबद्ध गरेर लान सक्छौं । सामान्यतया महिनाको एकपटक (समूह बैठकको दिन) मात्र लघुवित्तकर्मी र सदस्यहरूको भेट हुने तथा बाँकी समय उनीहरूबीच कुनै सम्पर्क-सञ्चार नहुनु आजको लघुवित्तको प्रमुख समस्या हो; तसर्थ सामाजिक सञ्जालले लघुवित्त सेवाप्रदायक र सेवाग्राहीबीचको ‘कम्युनिकेसन ग्याप’ मेटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सामाजिक सञ्जालको माध्यमले उनीहरूबीच निरन्तर सम्पर्क हुन गई आपसी सद्भाव तथा विश्वास बढाउन मद्दत मिल्छ । त्यस्तै एक समूह-केन्द्रको गतिविधिबारे अन्य समूह-केन्द्रले समेत जानकारी पाउनुका साथै कुनै लघुवित्त संस्थाको देशभर छरिएर रहेका सदस्यहरू एक–आपसमा जोडिएर आफ्ना अनुभव साट्न सक्छन् । एक–अर्काका संघर्ष तथा सफलताका कथाबारे जानकारी दिन सक्छन् । लघुवित्त संस्थाहरूले सामाजिक सञ्जालमार्फत कुनै पनि सूचना-जानकारी आफ्ना सदस्यहरूलाई छिटोछरितो रूपमा प्रवाह गर्न सक्छन् । आफ्ना सदस्यहरूको सामान्य जिज्ञासा-समस्याहरू सामाजिक सञ्जालबाटै समाधान गर्नुका साथै विभिन्न बालीमा फरक–फरक मौसममा आउन सक्ने समस्या, अपनाउनुपर्ने सावधानी तथा समाधानलगायतका विषयमा सदस्यहरूलाई अग्रिम जानकारी दिन सकिन्छ । लघुवित्त क्षेत्रका बारेमा व्याप्त विभिन्न प्रकारका भ्रम तथा नकारात्मक धारणा हटाउन पनि सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसका अतिरिक्त लघुवित्त संस्थाहरूले आफ्नो तथा सदस्यहरूको आवश्यकताअनुसार सामाजिक सञ्जालको सिर्जनात्मक र रचनात्मक प्रयोग पनि गर्न सक्छन् । वित्तीय सेवा प्रवाहमा नयाँ–नयाँ प्रविधिहरूको प्रयोग भइरहेको वर्तमान समयमा सामाजिक सञ्जालको पनि प्रभावकारी प्रयोग किन नगर्ने ? अन्त्यमा, सामाजिक सञ्जालको पक्ष वा विपक्षमा जे–जस्ता तर्क दिइए पनि, यसको सबभन्दा ठूलो फाइदा भनेकै ‘मानिसहरूलाई जोड्न सक्ने क्षमता’ हो, जसले प्रत्येक व्यक्ति तथा संस्थाको दायरा फराकिलो पार्छ । तसर्थ सामाजिक सञ्जालहरूको सकारात्मक तथा नकारात्मक पक्षहरूका बीच हामी कसरी सामाजिक सञ्जालको प्रयोग गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन गएको छ ।

 

अनन्त सदावहार