कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
722

काठमाडौं-मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने लक्ष्यसहित दसैंको पूर्वसन्ध्यामा राजधानीको सिटिसी मलमा नयाँ मोबाइल गन्तव्य सुरु हुने भएको छ । सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुइँतल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुटसहित मोबाइल मेलासमेत सञ्चालन गर्दैछ । मोबाइल किन्नेहरूका लागि नयाँ गन्तव्यका रूपमा लिइएको मोबाइल हबले दशैं धमाकासहित बजारमा उपस्थिति जनाउन लागेको हो । औपचारिक सुरुवातसँगै मोबाइल हबले असोज ३१ गतेसम्म दशैंको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशैं धमाकामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको जनाएको छ । सिटिसी मोबाइल हबमा सून्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरूलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रान्डका मोबाइल वितरण गरिनेछ । पार्किङको अभावले आजित बनेका राजधानीवासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पर्याप्त मात्रामा रूपमा उपलब्ध हुनेछ ।
मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका मोबाइल फोनहरू उपलब्ध छन् । एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआईलगायत ब्रान्डका टच एन्ड फिल काउन्टरसमेत मोबाइल हबमा रहने सञ्चालक संगम राइले बताए । यसका अलावा विभिन्न ब्रान्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य हुनेछ । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एन्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्रान्डका आधिकारिक सिर्भस सेन्टर मोबाइल हबमा छन् ।