यादव हुमागाई
बिहिवार, आश्विन २५, २०७५
709

व्यस्त दैनिकीमा जीवनलाई कसरी सजिलो र स्मार्ट बनाउन सकिन्छ भन्नमै प्रयासरत छ मानिस । मानिसको यही चाहनालाई सहजीकरण गरेको स्मार्ट होम अप्लाएन्सका सामानले । मानिसको चाहना र आवश्यक्ताअनुसार दैनिक जीवन सहज बनाउनका लागि बजारमा विभिन्न कम्पनीका टेलिभिजन, साउन्ड सिस्टम, रेफ्रिजेरेटर, हिटर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, वासिङ मेसिन, भ्याकुम क्लिन, राइस कुकर, किचेनका सामग्री बजारमा उपलब्ध छन् ।
आधुनिक होम अप्लाएन्सका कारण मानिसले घरको किचेनमा खाना बनाउन, लुगा धुनलगायत घरायसी सरसफाइ गर्न मानिसले आधुनिक होम अप्लाएन्सका सामान प्रयोग गर्ने क्रम बढेको छ । हाल नेपाली बजारमा एक दर्जनभन्दा बढी ब्याण्डका घरायसी सामान उपलब्ध रहेको व्यवसायीहरू बताउँछन् । विषेशगरी बजारमा फिलिप्स, सामसुङ, कलर्स, सीजी, एलजी, यासुदा, वर्लपुल, शार्प, भिडियोकन, गोदरेज, हिमस्टार, बाल्टा, सामसुङलगायत ब्रान्ड नेपाली उपभोक्तामाझ लोकप्रिय रहेका छन् । उपभोक्ताले आफ्नो रुचि र बजेटअनुसारको सामान उपभोग गर्न पाउने अवस्था छ ।

कम्पनीहरूले प्रतिस्पर्धी रूपमा नयाँनयाँ मोडल तथा प्रविधिमा सामान बजारमा ल्याएका छन् । पछिल्लो समयमा हरेक सामानमा स्मार्ट प्रविधिको प्रयोग हुन थालेको र यसको प्रयोगबाट सर्वसाधारणको दैनिक जीवन सहज भएकाले सर्वसाधारणहरू यसतर्फ आकर्षित छन् । बजारमा विभिन्न मूल्य र गुणस्तरका सामान उपलब्ध भएकै कारण पनि न्यून वर्गका सर्वसाधारणसम्ममा यसको पहुँच छ । सर्वसाधारणहरूले आफ्नो आवश्यक्ता र बजेटअनुसार बजारमा होम अप्लाएन्समा सामान किन्न सक्छन् ।

दसैं केन्द्रित बजार
नेपालमा वार्षिक कति होम अप्लायन्सको कारोबार हुन्छ भन्ने आधिकारिक तथ्यांक कुनै निकायसँग छैन । तर, व्यवसायीको दाबीलाई मान्ने हो भने एउटा ब्राण्डले अधिकतम ५० करोडसम्मको वार्षिक कारोबार गर्ने र नेपाली बजारमा वार्षिक रूपमा साढे २ अर्ब रुपैयाँ बराबर यस्ता सामग्रीको कारोबार हुने गरेको छ । पछिल्लो समयमा नेपालमा लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय उपकरणको माग उच्च भएको हो । तर, विदेशमा काम गर्न र घुम्न जाने नेपालीको संख्या वृद्धिसँगै विदेशबाटै यस्ता सामग्री ल्याउने प्रचलन बढेकाले व्यवसाय वृद्धि कम भएको व्यवसायीको भनाइ छ ।
नेपालीहरूको ठूलो पर्व दसैँ तिहार नजिकिएसँगै होम अप्लाएन्स कम्पनीहरू विभिन्न आकर्षक योजनासहित बजार विस्तारमा लागेका छन् । चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारणले सपिङमा खर्च गर्ने र त्यसमा दैनिक उपभोग्य सामान पनि पर्दछ । चाडपर्वको अवसरमा आफूलाई आवश्यक नयाँ सामान खरिद गर्ने कार्य नेपालीहरूको संस्कृतिझैं बनिसकेको छ । यही अवसर पारी कम्पनीहरूले होम अप्लायन्समा छुट तथा उपहार योजना ल्याएका छन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीले दसैंमा बोनस पाउँछन् । त्यस्तै, रोजगारीको सिलसिलामा विदेश गएकाहरू पनि प्रायः यही समयमा स्वदेश फर्किने तथा आफ्ना परिवारजनले दसैं हर्सोल्लासका साथ मनाऊन् भनेर केही रकम घर पठाउने गर्छन् । सामान्य उपभोक्ताहरूले पनि दसैंका लागि केही समय अगाडिबाटै खर्चको जोहो समेत गर्छन् । यस्तै कारणले दसैंको समयमा उपभोक्ताको खर्च गर्ने क्षमता पनि बढ्ने भएकाले दसैँ लक्षित गरी कम्पनीहरूले बिक्री प्रवद्र्धनमा फोकस हुने गरेका हुन् ।
घरायसी प्रयोजनका टेलिभिजन, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, वासिङ मेसिन, होम थिएटर, राइस कुकर, भ्याकुम क्लिनरलगायत सामानको खरिदमा ग्राहकले विभिन्न उपहार तथा नगद छुट पाउने भएका छन् । यसले ग्राहकलाई आफूले चाहेको होम अप्लायन्सका सामान कम मूल्यमा उपहारसहित खरिद गर्ने रमाइलो तथा सजिलो अवसर जुराएको छ । सिजी, एलजी, फिलिप्स, यासुदा, वर्लपूल, भिडियोकन, पानासोनिक, सामसुङ, हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा ल्याएका छन् । उपभोक्ता पनि छुटमा आफूलाई आवश्यक सामान किन्न पाउने र सँगसँगै विभिन्न उपहार पनि पाउने भएकाले यो मौकामा सपिङ गर्ने गर्छन् ।
छुटमा प्रतिस्पर्धा
दसैँमा उपभोक्तालाई आकर्षित गर्नका लागि कम्पनीहरूले आकर्षक योजना ल्याएका छन् । उनीहरूले उपभोक्तालाई नगदै फिर्ता गर्ने ‘क्यास ब्याक’ योजनादेखि विभिन्न उपहार योजना सार्वजनिक गरेका छन् । यसैगरी सामानमा पनि छुट दिएका छन् ।
नेपाली बजारमा आफूलाई पहिलो नम्बरको दाबी गर्दै आएको एलजीले ‘शुभ सम्बन्ध ः पर्व र प्रविधिको, उमंग र उपहारको’ योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठको अवसरमा सार्वजनिक योजनामा एलजीको सामान खरिदमा ३६ प्रतिशतभन्दा बढी क्यास ब्याक अफर ल्याएको छ । यसैगरी विभिन्न सामान खरिदमा अर्को सामान उपहार पनि दिने कम्पनीले जनाएको छ ।
यसैगरी युनिभर्सल इलोक्ट्रोनिक्सले कलर्स ब्राण्डका होम अप्लाएन्सहरुमा ‘चट्ट क्यास’ योजना ल्याएको छ । दसैँदेखि छठसम्म सञ्चालनमा रहने यस योजनामा कम्पनीका विभिन्न होम अप्लाएन्स खरिदमा ग्राहकले नगदै फिर्ता हुने र योजनाको अन्तिममा एक ग्राहकलाई गोला प्रथाबाट ५५ इन्चको स्मार्ट टिभी उपहार प्रदान गर्ने उल्लेख गरेको छ ।
नेपाली उपभोक्ताले रुचाएको अर्को ब्राण्ड होम ग्लोरीले पनि आफ्ना विभिन्न होम अप्लाएन्सका उत्पादनमा २० प्रतिशतभन्दा बढी क्यास ब्याक योजना ल्याएको छ । यसैगरी कम्पनीका फ्रिज, माइक्रोओभन, वासिङ मेसिनलगायतका उपकरणमा नगदै छुट दिनेसमेत जनाएको छ ।
सिजी ब्राण्डले पनि आफ्ना स्मार्ट टिभी तथा म्युजिक सिस्टम किन्ने ग्राहकलाई थाइल्याण्ड घुम्ने अवसर दिने बताएको छ । कम्पनीले ‘यसपालीको चाडमा सिजी लाग्यो घर—घरमा’ भन्ने योजना ल्याएको हो । स्काईवर्थ होम अप्लाएन्सले कम्पनीका सामान किन्दा विभिन्न उपहार दिने योजना सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट टिभी खरिदमा म्युजिक सिस्टम, रेफ्रिजेनेटरको खरिदमा माइक्रो वेभ ओभन, वासिङ मेसिनको खरिदमा राइस कुकर दिने स्किम ल्याएको छ ।