सरस्वती ढकाल
बिहिवार, आश्विन २५, २०७५
607

  • वार्षिक २५ अर्बका मोबाइल सेट नेपाली बजारमा  

मंगलबारबाट देशभर नेपाली चलचित्र छक्कापन्जा–३ को प्रदर्शनी सुरु भएको छ । यो चलचित्रको सुटिङ सुरु भएदेखि नै निकै व्यस्तता बढेको थियो निर्माता तथा कलाकार दीपाश्री निरौलालाई । त्यसो त उनी सधैंजसो नै व्यस्त भइरहने र बजारले रुचाएकी कलाकार हुन् । उनको व्यस्ततालाई सहज बनाएको छ मोबाइलले । “बरु मलाई खाना नदिए हुन्छ तर मोबाइल विना अब जिन्दगीको कल्पना पनि गर्न सक्दिन,” उनी भन्छिन् । उनी सफल हुनुमा र समयको व्यवस्थापनमा पनि मोबाइल निकै सहयोगी भएको छ । कार्यक्रममा रहँदा पनि बेला–बेला इमेल तथा म्यासेज र कलमा आँखा पु¥याइरहने दिपालाई मोबाइल साथीभन्दा पनि प्यारो छ ।
त्यस्तै निर्माता तथा कलाकार दीपकराज गिरी पनि मोबाइल बिना जिन्दगी कल्पना गर्न नसक्ने बताउँछन् । केदार घिमिरे ‘माग्ने बुढा’ ले ठट्यौलीपारामै भन्दै थिए मागेर भए पनि मोबाइल त प्रयोग गर्नुपर्ने दिन आए अब सबै सुविधा मोबाइलमै छ । राजधानीको एक ग्याजेट्ससँग सम्वन्धित कार्यक्रममा भेटिएका उनीहरू सही तरिकाले प्रयोग गरेमा ग्याजेट्सबाट मानिसको जीवन निकै खुसी र सुखी हुने बताउँछन् ।

नेपालमा मोबाइल, ल्यापटप, ट्याबलेट तथा फ्याबलेट प्रयोग दिनप्रतिदिन बढ्दो छ । बच्चादेखि प्रौढसम्मलाई अब ग्याजेट्स रहरभन्दा पनि बाध्यता भइसकेको छ । मोबाइलको प्रयोग लेखेर होस वा बोलर सञ्चार गर्नु मुख्य भए पनि पछिल्लो समयमा विकास भएका एप्सका कारण भने अब ग्याजेट्सबाट नहुने काम भने खासै छैन । एउटा मोबाइलमा भएका सुविधा प्रयोग गर्न सोहीबमोजिमको पूर्वाधार भने विकास हुनु जरुरी छ । के सहर के गाउँ स्मार्टफोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्यै छ, झन् महँगा सेटहरूमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो लागिरहेको छ । नेपालमा मोबाइलको प्रयोग सर्वव्यापी बन्दै जाँदा आयात पनि तीव्र रूपमा बढेको हो । गत वर्ष २०७४/७५ मा करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ अघिल्लो आव ०७३/७४ मा २२ अर्ब ६६ करोड रुपैयाँको मोबाइल आयात भएको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार गत वर्ष २ लाख ६८ हजार बढीको संख्यामा फोन आएको छ । चालू आर्थिक वर्षमा ३० अर्ब नाघ्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ५९ लाख ५५ हजारवटा मोबाइल सेट आयात भएकोमा गत वर्ष यो संख्या ६२ लाख २३ हजारमा पुगेको छ । नेपालमा पछिल्लो समयमा मध्यम खाले बजेटका मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ । समान्यतया १० हजारभन्दा महँगा तथा २५/३० हजारसम्म मूल्य भएका मोबाइलको बजार फैलँदो छ । सामसङ, एप्पल, हुवावे, ओप्पो, जिओनी, कलर्स, म्याक्रोम्याक्स, साओमी, एलजी, सोनी, जेटीई, सिजी लगायतका स्मार्टफोन कम्पनी नेपाली बजारमा मुख्य प्रतिस्पर्धामा छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ वैशाख १ मा मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न सुरु गरेयता झन्डै एक करोड ८० लाख आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार मासिक २० हजार मोबाइल सेट नेपाली बजारमा भत्रिन्छन् । अर्यालका अनुसार व्यक्तिगत रूपमा दर्ता भएका आईएमईआई नम्बरको संख्या ४ हजार ५ सय छ । व्यावसायिक रूपमा भित्रिएका बाहेक मुलुकमा व्यक्तिगत रूपमा र अनधिकृत बाटोबाट पनि मोबाइल सेट आउने गरेका छन् । मोबाइल सेटको पहिचान गर्न हरेक सेटमा प्रयोग हुने १५ डिजिटको नम्बर नै आईएमईआई (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) नम्बर हो । मोबाइल सेट चोरी हुने, हराउने, राजस्व छली, नक्कली सेटको प्रयोग, आपराधिक क्रियाकलाप जस्ता गतिविधि हुन नदिन आईएमईआई नम्बर दर्ता गर्नुपरेको प्रवक्ता अर्यालले बताए । 
नेपालमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात हुने गरेको छ । ५४ लाख १३ हजारवटा सेट चीनबाट भित्रिएको विभागको तथ्यांकले देखाउँछ । यो आयात १९ अर्ब ७२ करोड मूल्यबराबरको हो । चीनबाट मोबाइल भित्र्याउँदा मात्रै व्यापारीले २ अर्ब ६८ करोड भन्सार तिरेका छन् । चीनपछि नेपालमा भियतनामबाट धेरै मोबाइल आउँछ । गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै ५ लाख १० हजार मोबइल सेट नेपाल आएको देखिन्छ । भियतनामबाट ४ अर्ब ७२ करोड मूल्य बराबरको सेट आउँदा सरकारले ६४ करोड ४९ लाख राजस्व उठाएको छ । मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । एक वर्षभित्र भारतबाट २ लाख ९५ हजारवटा मोबाइल सेट नेपाल आएका छन् जसका लागि नेपाली व्यवसायीले भारतमा ३८ करोड ८६ लाख खर्चिएका छन् ।
नेपालमा साधारण टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड नजिक पुगेको छ । एकातर्फ दोहोरो सेवा लिनेको सख्या बढ्दै जानु र अर्काेतर्फ सेवा प्रदायक कम्पनीहरूले ग्रामीण भेकसम्म सेवा विस्तार गर्नुले दूरसञ्चार सेवाको पहुँच बढेको हो । पछिल्लो म्यानेजमेन्ट इन्फमेसन सिस्मट (एमआईएस) अनुसार कुल दूरसञ्चार सेवाग्राहीमध्ये ३ करोड ८० लाख अर्थात १२९.८९ प्रतिशतले मोबाइल प्रयोग गर्छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दूरसञ्चार सेवामा सिमकार्ड तथा टेलिफोन लाइन खरिद गर्ने ग्राहक संख्याका आधारमा तथ्याङ्क लिने गरिएको बताए ।
नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या समेत दिन प्रतिदिन बढ्दो छ । हातहातमा मोबाइल र शिक्षामा भएको पहुँचबृद्धिसँगै इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । एमआईएस अनुसार १ करोड ४७ लाख अर्थात कुल जनसंख्याको ५०.३२ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन । सरकारले सन् २०२० सम्म देशभर ब्रोडव्याण्ड इन्टरनेट सुविधा पु¥याउने तयारी गरेको छ ।