कारोबार संवाददाता
मंगलबार, मंसिर १८, २०७५
289

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा रोजगारयोग्य जनशक्तिलाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सामेल गराएर नयाँ रोजगारीको क्षेत्र सिर्जना गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
वैदेशिक रोजगारी सरकारका लागि चुनौती र विदेश जाने संकारले संकट निम्त्याइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । सोमबार राजधानीमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको आइसिटी क्षेत्रमा रोजगारीको अवसर अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने युवालाई आइसिटीको क्षेत्रमा रोजगारीको सम्भावना रहेको बताए ।

नेपालमा रोजगारीका विभिन्न क्षेत्रमध्ये सूचना प्रविधिमा धेरै रोजगारीका सम्भावना रहेको जनाउँदै सरकारले यसका लागि अध्ययन गरेर प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ । “वैदेशिक रोजगारीका कारण स्वदेशमा काम गर्ने संस्कार हराउँदै गएका र पैसा कमाउन विदेशै जानुपर्छ भने सोच हाम्रा युवामा छ ।” मन्त्री बिष्टले भने, “यो सोच परिवर्तन गरेर युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गर्नुपर्ने जिम्मेवार श्रम मन्त्रालयका बाँधमा आएको छ ।” यो काम गर्न धेरै चुनौती भए पनि सामाना गरेर आन्तरिक श्रम बजारमा युवालाई रोजगारका अवसर निर्माण गरिने छ उनले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका सचिव खगराज बरालले देशमा माग भएको जनशक्तिका आधारमा सोही अनुसारको शिक्षा लागू गर्नुपर्ने बताए । विदेशमा उच्च शिक्षा हासिल गरेर फर्केका युवालाई योग्यताअनुसारको जिम्मेवारी दिन नसके प्रतिभा पलायन हुने उनले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले सूचना प्रविधिको क्षेत्रमा नयाँ रोजगारीका सम्भावना सिर्जना गर्ने गरी अध्ययन र अनुसन्धानका काम भइरहेको बताए । काठमाडौं विश्वविद्यालयका प्रोफेसर मनिस पोखरेलले सरकारले प्राविधिक क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको उत्पादन र बजारको मागका बारेमा उच्च शैक्षिक संस्थासँग नजिक भएर सहकार्य नगरेको भएपनि विभिन्न विश्वविद्यालयले बजारमा आवश्यक जनशक्तिको ५ वर्षपछिको मागलाई अध्ययन गरेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
श्रम मन्त्रालयले केही समयअघि सार्वजानिक गरेको आईटी क्षेत्रको रोजगारसम्बन्धी प्रतिवेदनमा नेपालमा ७५ हजार नयाँ रोजगारीको सम्भावना रहेको जनाएको थियो । नेपालका विभिन्न विश्वविद्यालयबाट वार्षिक कबिर ७ हजार आइटिसीमार्फत जनशक्ति श्रम बजारमा आउने गरेको सरकारी अध्ययनमा छ ।
कार्यक्रममा सहभागी सूचना प्रविधि क्षेत्रका विज्ञले हाल सञ्चालन भइरहेका आईटी व्यवसायमा दक्ष जनशक्ति, बिल भुक्तानी र विदेशी मुद्रा संचितिको क्षेत्रमा समस्या रहेको बताएका छन । उनीहरूले आईटी क्षेत्रका उच्च प्राविधिक जनशक्ति विदेशबाट माग गर्नुपर्ने र उनीहरूको भिसा र रोजगार अनुमतिका विषयमा झन्झटिलो कानुनी प्रक्रिया रहेको बताएका छन् ।