कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५
508

कर्णाली डिजिटल बन्नेमा आशा पलायो : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश डिजिटल प्रदेश बन्नेमा आशा पलाएको बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताए । मुख्यमन्त्री शाहीले भने, “कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई डिजिटल प्रदेशका रूपमा विकास गर्ने कार्य अघि बढाएको छ । त्यसमा क्यानको साथ र सहयोग जरुरी छ ।” विज्ञान र प्रविधिको विकास बिना अन्य विकासहरू अधुरा रहने भएकाले निर्माण भइसकेका वैज्ञानिक सामग्रीहरूको प्रयोग गर्दै अब कर्णाली प्रदेशमै नयाँ अनुसन्धान गरेर नयाँ आविश्कार गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले डिजिटल प्रविधिको प्रयोग गरेर कामलाई सजिलो र छिटो बनाउनेतर्फ लाग्नुपर्ने बताए । सूचना र प्रविधिको प्रयोगमा सक्षम नभएसम्म चुनौतिहरू कायम रहने भन्दै क्यानले आयोजना गरेको यस प्रदर्शनीले कर्णालीको प्रविधिमा टेवा पुग्ने विश्वास लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने, “म आफंै पनि प्रविधि मैत्री व्यक्ति हुँ, तपाईहरू प्रविधिको विकासका लागि अघि बढ्नुहोस् कर्णाली प्रदेश साथ र सहयोग गर्न तयार छ ।”
यही फागुन २८ गतेसम्म सञ्चालन हुने क्यान इन्फोटेकको मुख्यमन्त्री शाहीले औपचारिक उद्घाटन गरेपछि स्टल स्थलको उद्घाटन नेपाली वैज्ञानिकहरूद्वारा निर्माण गरिएको रोबोर्टले रिबन काटेर गरेको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबोर्ट ल्याइएको हो । इन्फोटेक स्थलमा रोबोर्ट हेर्नेहरूको भीड लागिरहेको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा विशिष्ठ अतिथिका रूपमा आइपुग्नु भएका क्यान महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरसियाले कर्णाली प्रदेश सरकारले डिजिटल प्रदेशको निर्माण गर्ने योजना बनाएर प्रविधिको विकासका लागि खेल्न थालेको भूमिकाको चर्चा गर्दै इन्फोटेकले उक्त कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सहज, सरल र समुन्नत ढंगले अघि बढ्नका लागि प्रविधिलाई जीवनशैलीमा प्रयोग गर्नुपर्ने उनले सुझाए ।
आईएमई पे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एसोसियट प्रयोजन गरेको छ भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको छ । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरू डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । इन्फोटेकका उद्देश्यबारे स्पष्ट पार्ने क्रममा आयोजक संस्थाका अध्यक्ष प्रेमप्रकाश चन्दले भने, “यस प्रदर्शनीलाई सुर्खेतका लागि सूचना, सञ्चार र प्रविधिको ठूलो प्रदर्शनीका रूपमा लिएका छौं । यस प्रदर्शनीमा कर्णाली प्रदेश भित्रका १० वटै जिल्लाको सहभागिता रहेकाले करिब १ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिएका छौं ।” कर्णाली प्रदेशमा सूचना, संचार र प्रविधिमा जानकारी दिनुका साथै प्रचार–प्रसारमा टेवा पु-याउने, कर्णाली प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसँग जोड्न यसले मद्दत गर्ने, स्थानीय मुख्य ऐतिहासिक एवम् धार्मिक पर्यटकीय आकर्षण क्षेत्र लगायतलाई समेत प्रविधिमा जोडेर पर्यटन प्रबर्धनमा टेवा पु-याउने लक्ष्य लिएको चन्दको भनाइ थियो ।
इन्फोटेकका मुख्य आकर्षकका रूपमा सूचना प्रविधिको बृहत् प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्रबाट हरेक दिन एकजनालाई रारा भिजिट, कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाइपिङ कम्पिटिसन, नेपाली वैज्ञानिकहरूद्वारा निर्मित रोबोर्ट तथा अन्य प्रविधिहरूको प्रदर्शनी, दृष्टिविहीनहरूलाई कम्प्युटर मोबाइल चलाउन सिकाइने, सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निःशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपीएभी एन्टिभाइरस सित्तैमा प्रदान गरिने कार्यक्रमहरू छन् ।
इन्फोटेकको उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, महासचिव रञ्जितकुमार पोदार, सदस्य हर्क सेट्ठी, कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी, क्यान कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव अधिकारी, क्यानका जिल्ला शाखाहरूका अध्यक्षहरूलगायतको उपस्थिति थियो ।