कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
317

नेपाल टेलिकमले जनकपुरमा फाइवर टु दी होम (एफटीटीएच) सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी कम्पनीले एफटीटीएच सेवा सुरु गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन गरी सेवाको औपचारिक सुरुवात गरेका छन् ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउँदै राष्ट्रको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्नका लागि टेलिकमले सधैं सरकारलाई साथ दिनुपर्ने बताए । उनले आगामी वर्ष धेरै आयोजनाहरू सम्पन्न गर्नुपर्ने भएकाले टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहकमुखी हुँदै जानुपर्नेमा जोड दिए ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल बनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताए । उनले कम्पनीका सेवाहरूको विस्तारसँगै बजारीकरणलाई पनि थप मजबुत बनाउँदै लगिने बताएका छन् ।
सोही अवसरमा टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार कार्य समयमा नै सम्पन्न गरिने प्रतिबद्धता जनाए । जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २ सय ४० लाइन वितरण भइसकेको र छिट्टै थप लाइन जडान र वितरण गर्ने कार्यक्रम छ ।
जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराइनेछ । वित्तीय संस्थाहरूलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइनेछ । एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइनेछ । यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ । नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराइने छ । सुरुमा यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगर सम्म उपलब्ध गराइनेछ । यस्तै जनकपुर चुरोट कारखाना पूर्व गेटदेखि पिडारी चोक पूर्वसम्म परिक्रमा सडकमा र जनकचोकदेखि भानुचोकसम्म मूलरोडमा उपलब्ध छ । निकट भविष्यमा अरु क्षेत्रमा पनि नेटवर्क विस्तार गर्ने कार्यक्रम रहेको छ । टेलिकमले मुलुकका विभिन्न सहरी क्षेत्रमा एफटीटीएच सेवाको बृहत् विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।