सरस्वती ढकाल
आइतवार, जेठ २७, २०७५
338

सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्ममा टेलिघनत्व १४० प्रतिशत पुराउने भएको छ । चालू आवको अन्त्यसम्मा १३५ पुराउने लक्ष्य राखिएकोमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १३० प्रतिशत टेलिघनत्व पुगेको छ । दूरसञ्चार क्षेत्र सधैंका वर्ष बजेटमा सरकारले अपेक्षा गरेभन्दा धेरै उपलब्धि प्राप्त गरेको क्षेत्रमा रूपमा छ । आगामी आर्थिक वर्षमा टेलिघनत्वमा सरकारले झिनो लक्ष्य अर्थात् ५ प्रतिशत मात्रै बढाउने घोषणा गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) अनुसार फागुन मसान्तसम्मको टेलिघनत्व १३० प्रतिशत छ । जसमध्ये मोबाइल १२७, फिक्स्ड टेलिफोन २.९४ र अन्यको हिस्सा ०.०१ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ विभाग (सीवीएस) का अनुसार सन् २०१६ सम्म नेपालको जनसंख्या २ करोड ८९ लाख ८० हजार छ । त्यसैका आधारमा प्राधिकरणले मोबाइल सिमकार्डको बिक्री तथ्यांकले भने ३ करोड ७२ लाख ९७ हजार नाघिसकेको छ । यही जनसंख्या र सिमकार्डलाई आधार मान्दा अहिले कुल जनसंख्याभन्दा झन्डै ८३ हजार मोबाइल सिमकार्ड धेरै छन । ल्यान्डलाइनसहित गरी नेपालमा ३ करोड ८१ लाख १६ हजार प्रयोगकर्ता छन छन ।
सेवा प्रदायक कम्पनीहरूको आधारमा हेर्दा नेपाल टेलिकम ४५, एनसेल ४३, स्मार्ट टेलिकम ५, यूटीएल १ र अन्य कम्पनीको २ प्रतिशत बजार हिस्सा छ । दुई ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेलबीच बढ्दो प्रतिस्पर्धा छ भने यिनै कम्पनीले पहिलो बन्ने भन्नेमा चर्काे प्रतिस्पर्धा छ । एमआईएसलाई आधार मान्दा नेपाल टेलिकम अगाडि छ भने सक्रिय ग्राहकका हिसाबले एनसेल अगाडि रहेको प्राधिकरणले जनाएको छ ।
नेपालमा सबै सेवा प्रदायकका ग्राहक मासिक साढे २ देखि ३ लाखसम्म थपिन्छन् । ठूला मोबाइल सेवा प्रदायक कम्पनीहरू एनसेल र टेलिकमको अन्तर नेटवर्कमा हुने कल महँगो भएकाले पनि ग्राहकहरू दोहोरो सिमकार्ड लिन बाध्य भएका छन् । शहरी क्षेत्रमा अधिकांशले दाहोरो मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकाले ग्राहक बढे पनि दुर्गम ग्रामीण क्षेत्रमा मोवाइल सेवा पुग्न अझै बाँकी छ । अन्तरनेटवर्क कल गर्दा आफ्नै नेवटर्कभन्दा बढी शुल्क लाग्नुका साथै गुणस्तरको समस्याले ग्राहक दोहोरो मोबाइल प्रयोग गर्न बाध्य भएका छन् ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव एउटै सिमकार्डबाट सेवा प्रदायक छान्न सकिने सुविधा ‘नम्वर पोर्टेबिलिटी’ लागू गर्ने तयारी भएकोले यसको प्रयोगपछि भने दाहोरो मोबाइल बोक्नुपर्ने बाध्यता हट्ने बताएका छन । अहिले एउटै व्यक्तिले दुई/तीनबाट सेवा प्रदायकका सिमकार्ड प्रयोग गर्दा ग्राहक संख्या धेरै देखिए पनि अझै मोबाइल सेवा दुर्गम क्षेत्रमा पुग्न बाँकी रहेको उनले बताए । “सेवाको गुणस्तर र अन्तरनेटवर्कमा हुने कल महसुलका कारण पनि दोहोरो सिमप्रयोग बढेको छ,” उनले भने । नम्वर पोर्टेबिलिटी लागू हुँदा ग्राहकले आफूलाई चाहेको अनुसार कम्पनी रोजेर महसुल र सेवाको गुणस्तर छनोट गर्न सकिन्छ । राम्रो सेवा दिने कम्पनीमा धेरै ग्राहक जाने र न्यूनगुणस्तरको कम्पनीमा ग्राहक घट्छन् । यसले गर्दा कम्पनीहरूलाई गुणस्तर कामय गर्न र शुल्कमा प्रतिस्पर्धा गर्न चुनौती थपिनेछ । ग्राहकले भने चाहेअनुसार सेवा रोज्न पाउने भएकोे दोहोरो मोबाइल बोक्नुपर्दैन । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम उपयोग गरी सबै स्थानीय तहसम्म अप्टिकल फाइवर बिछ्याउने उल्लेख गरेको छ ।

नेपाल टेलिकम  ५०
एनसेल  ४३
स्मार्ट टेलिकम 
अन्य २

स्रोत– नेपाल दूरसञ्चार प्राधिकरण