सूचना तथा सञ्चार प्रविधि सम्मेलन–२०१८
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
303

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले असार ३ र ४ गते दुई दिने अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ आयोजना गर्ने भएको छ । क्यान महासंघले यसअघिका सत्रौं संस्करणसम्म आईसीटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रूपमा अघि बढाइरहेकोमा यस वर्षदेखि विशेष प्राथमिकतासाथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञ समेतको उपस्थितिमा छुट्टै कार्यक्रमका रूपमा आयोजना गर्न लागेको जनाएको छ । स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारा दिइएको आईसीटी कन्फ्रेन्समा नेपाल सरकारको पनि उच्चस्तरीय सहभागिता रहने क्यान महासंघका महासचिव रञ्जित पोदारले जनाए ।
सोहीअनुसार कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगतर्फ सरकारकातर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरू कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिने उनले बताए ।
चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)का विषयगत विशेषज्ञहरूले पनि कार्यपत्र प्रस्तुत गर्ने उक्त कार्यक्रममा विशेषज्ञहरूले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचनाप्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।
समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीयतह) निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिने पनि उनले जनाए । कार्यक्रमको मुख्य प्रायोजक सुबिसु केबल नेट छ भने सह–प्रायोजकमा मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफ कम प्रालि रहेको छ भने सम्मेलनलाई योमरी, ईसेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट प्रालि, डिजिकम, इन्फो डेभलपर्स, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी), शास्त्र नेटवर्क, एक्सेस वल्र्ड, लर्डबुद्ध एजुकसेन फाउन्डेसन र सारथीको प्रत्यक्ष सहयोग रहने उनले बताए ।