कारोबार संवाददाता
सोमवार, असार ११, २०७५
613

ओयो र इसेवाबीच होटल बुकिङ तथा भुक्तानी सम्बन्धमा सम्झौता

काठमाडौं र पोखराका होटलका रुम अब ई–सेवामार्फत बुकिङ गर्न मिल्ने भएको छ । होटल सेवा प्रदान गर्दै आएको भारतीय मूलको ओयो कम्पनी र ई–सेवाबीच होटल बुकिङ तथा भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । ओयोका उपाध्यक्ष प्रसुन चौधरी र ई–सेवाका अध्यक्ष अस्गर अलीले सहकार्यसम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ई–सेवाका ग्राहकले अक काठमाडौं र पोखराका स्तरीय होटलका रुम अब मोबाइलबाटै बुकिङ गर्न सक्नेछन् । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने उद्देश्यले ई–सेवामार्फत होटल बुकिङको सेवा सुरु गरिएको ई–सेवाका अध्यक्ष अलिले बताए । ई–सेवाले तत्कालका लागि काठमाडौं र पोखराका ३५ भन्दा बढी होटलका ६ सय रुम ई–सेवामार्फत बुकिङ गर्न सकिने बताएको छ । ई–सेवामार्फत रुम बुकिङ गर्ने ग्राहकलाई काठमाडौंका होटलमा ७ र पोखराका होटलमा १५ प्रतिशत क्यास ब्याक दिइने भएको छ । ओयोले ६ महिनाभित्र १ सय ५० वटा होटलका ३ हजारभन्दा बढी कोठा आफ्नो नेटवर्कमा ल्याउने उपाध्यक्ष चौधरीले बताएका छन् । नेपालमा एक वर्षदेखि सेवा दिन सुरु गरेको ओयोले भारत चीन र मलेसियामा भने सेवा दिन थालेको पाँच वर्ष भइसकेको छ ।