काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताए ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताए । आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ भने । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको पनि उनले जनकारी दिए । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर तिराउने सन्दर्भमा सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “एनसेललाई नेपाल सरकारले कुनै पनि उन्मुक्ति दिएको छैन र दिँदैन, म यो विश्वास दिलाउन चाहन्छु ।”
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार श्रमजीवी पत्रकारको बीमालगायतका विषयमा सरकारको ध्यान पुगेको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले नेपाली सञ्चारमाध्यममा बज्ने विज्ञापनमा नेपाली कलाकार रहने बताउनुभयो र ‘क्लिन फिड’को कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वाइफाइ जोन सञ्चालनका लागि एप्स बनाइसकेकाले देशभर फ्रि वाइफाइको सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
रेडियो नेपालको प्रशारण ८७ प्रतिशत भूभागमा पुगेको जानकारी दिँदै उहाँले आगामी आवमा ५०० विद्यालयमा कम्प्युटर ल्याब बनाउने र प्रत्येक प्रदेशमा एक स्मार्ट विद्यालय बनाउने बताए ।
उहाँका अनुसार नेपाल टेलिभिजनको प्रशारण कूल जनसंख्याको ७२ प्रतिशत तथा कुल भूभागको ५२ प्रतिशत भूभागमा पुगेको छ र ११६ देशबाट यसको प्रशारण हेर्न सकिने भएको छ । उहाँले सबै भूभाग र जनतामा सेवा पुराउने लक्ष्यका साथ काम अगाडि बढाइएको जानकारी पनि सदनलाई दिए ।
दुई वर्षभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुराउने र त्यस कार्यका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले भने, “युवा लक्ष्यित डिजिटल शिक्षा दिने सरकारको योजना छ ।” सामुदायिक रेडियोका लागि नीतिगत व्यवस्था गर्दै लगिने वचनबद्धता प्रकट गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक र व्यापारिक रेडियो छुट्याएर सरकार सचेततापूर्वक अगाडि बढेको बताए । समावेशी भाषाका कार्यक्रमका लागि रेडियो नेपाललाई थप बजेट उपलब्ध गराइएको स्पष्ट पार्दै उहाँले भने,“प्रदेशमा सञ्चार ग्राम निर्माणका लागि बजेट अपुग भए थप गर्न सकिन्छ ।”
पत्रकारको कल्याणकारी कोष बढाउँदै लैजाने र त्यसका लागि सञ्चालन कार्यविधि बनाएको जानकारी उहाँले दिनुभयो । मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनको कोहलपुरबाट प्रशारण सुरु भइसकेको र इटहरीबाट सुरु हुने क्रममा रहेको जानकारी दिँदै त्यसका लागि बजेट अभाव हुन नदिने वचनबद्धता प्रकट गरे ।