कारोबार संवाददाता
बुधवार, असार १३, २०७५
388

अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अबरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।
बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने भएको छ । तत्कालीन अवस्थाaमा युनिसेफ र नेपाल रेडक्रस सोसाइटी अछाम शाखाको पहलमा ९ लाख लागतमा स्थापना गरिएको वर्षा मापन केन्द्रमा रहेको सोलार प्यानल चोरी भएपछि अबरुद्ध भएको थियो ।

विशेष गरी अछाम क्षेत्रनम्बर २ र समग्रमा अछाम जिल्लाको तापक्रम मापन, वर्षामापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हँुदा तथा नदीहरुमा पानीको वहाब बढेर जोखिम अवस्था आउँदा यस यन्त्रले जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन सञ्चारमार्फत साइरन बज्ने र सूचना दिने गर्दछ ।
वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुने नेपाल रेडक्रस सोसाईटी अछामका कार्यक्रम संयोजक खेमप्रसाद भट्टराईले बताए । यो वर्ष कमलबजार नगरपालिकाले ४ लाख २६ हजार बजेट विनियोजन गरी सोलार प्यानल र अन्य ब्यावस्थापनलाई प्रभावकारी बनाएपछि यन्त्र सुचारु भएको उहाँले जानकारी दिए । यसबाट वर्षायामको समयमा बाढीलगायत प्रकोप न्यूनीकरण गर्न र सचेतना अपनाउन सहज हुने जनाइएको छ ।