रासस
आइतवार, असार १७, २०७५
401

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुवै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इन्जिनियर सुधीरकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार तीन ठाउँमा प्राइमरी केवल चुँडिदा १ हजार २०० सय लाण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ’, उहाँले भने, “मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौं ।”

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताए ।
यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताए । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उनले भबताए, “टेलिकमसँग सहकार्य गरेर चुँडिएको तार मर्मत गरिनेछ ।” यसअघि पनि बिर्तामोड–५ को बजार क्षेत्रको फुटपाथ खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि लामो समयसम्म मर्मत भएन । हाल यहाँको सडकको दुबै किनारबाटै ढल बगिरहेको छ, भने फुटपाथ हिलाम्मे भएको छ । भत्काइएको फुटपाथ र ढल निर्माण भएको छैन ।