कारोबार संवाददाता
बुधवार, असार २०, २०७५
758

मेरो सेयर नामको मोबाइल एप अवैधानिक भएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जानकारी बताएको छ । सीडीएससीले सम्पूर्ण लगानीकर्तालाई यस एपको प्रयोग नगर्न पनि ध्यानाकर्षण गर्दै सिडिएससी आफैंले तयार पारेको मेरो सेयरको सफ्टवेयरलाई अरु नै कसैले अनाधिकृत रुपमा मोबाइल एप बनाएको जनाएको छ । प्लेस्टोरमा ‘लिटिल डि बिजनेस’ को नामबाट मेरो सेयरको नाम राखी अवैधानिक रूपमा प्रयोग गरेको भन्दै सीडीएसीले उक्त एप बन्द गराउनका लागि आवश्यक कदम अघि बढाएको भन्दै लगानीकर्ताले यस्तो एप डाउनलोड गरेर आफ्नो हितग्राही खाता राख्दा लगानीकर्ताको सुरक्षामा प्रभाव पर्ने जनाएको छ ।
सीडीएससी आफैंले आधिकारिक रूपमा एप ल्याउने तयारी गरेको हुँदा अहिले चलाइरहेको मोबाइल एप तुरुन्त बन्द गर्न समेत सीडीएससीले अनुरोध पनि गरेको छ । यसैबीच सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो सेयरको नक्कली एप बनाउनेविरुद्ध साइबर अपराधअन्तर्गत मुद्दा दायर गर्ने तयारी गरेको छ । अनुमति बिना नै आफ्नो नाम र लोगो प्रयोग गरी अनधिकृत रूपमा एप निर्माण गरेकाले सीडीएससीले साइबर अपराधको मुद्दा दायर गर्न लागेको हो । सीडीएससीले मंगलबार नै मुद्दा दायर गर्न लागिएको जनाएको छ ।