कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५
574

ताप्लेजुङ-पूर्वी पहाडी क्षेत्रको मुख्य नगदेवाली अलैंचीको मूल्य निकै घटे पनि खेती विस्तार भने रोकिएको छ्रैन । धान, मकै तथा कोदोले दिने आम्दानीको तुलनामा अलैंचीले नै राम्रो आम्दानी दिने भएकाले खेती विस्तार नरोकिएको हो । धान फल्ने खेतदेखि बारीका कान्लासम्म, खोल्साखोल्सीदेखि करेसावारीसम्म अलैंचीले ढाकेको छ । असारदेखि साउन पहिलो सातासम्म अलैंचीको बिरुवा रोप्ने गरिन्छ ।
यसवर्ष अलैंचीको विरुवा उत्पादन भएजति सवैनै बिक्री भएको छ । फुङ्लिङ नगरपालिका–६ स्थित माउन्टेन मल्टी एग्रिकल्चर फर्मले ६० हजार अलैंचीको बिरुवा बिक्री गरेको छ । यद्यपि विगतमा प्रतिगोटा १५ रुपैयाँमा बिक्री भएको अलैंचीको विरुवा यस वर्ष प्रतिगोटा ४ देखि ८ रुपैयाँमा बिक्री भएको छ । भार्लाङ जातको अलैंचीका बिरुवा प्रतिगोटा ८ रुपैयाँ, गोलसाई ५ र रामसाई ४ रुपैयाँका दरले बिक्री गरेको फर्म सञ्चालक विमल भण्डारीले बताए । तीन वर्षअघि अलैंचीको दानाबाट विरुवा उत्पादन सुरु गरेका भण्डारीले आगामी वर्ष १ लाख बिरुवा उत्पादन गर्ने बताए । उनले करिब ४ लाख रुपैयाँ खर्चेर टनेलभित्र बिरुवा उत्पादन गरेका छन् ।

अर्का किसान भिङमारे लिम्बुले ५० हजार विरुवा बिक्री गरेका छन् । वार्षिक १ लाख ३४ हजार रुपैयाँमा जग्गा भाडामा लिएर विरुवा उत्पादन गर्दै आएका लिम्बूले गतवर्ष ११ लाख रुपैयाँको विरुवा बिक्री गरेका थिए । यद्यपि यसवर्ष रोग र कम हेरचाहका कारण उत्पादन घटेको उनले बताए । लिम्बुले भने, “गतवर्ष जति रुपैयाँको बिरुवा बेचें, उति नै मूल्यको विरुवा खेर गयो । त्यही भएर खेतीमा हेलचेक्र्याइँ गरेकाले कम उत्पादन भयो ।” बर्सेनि अलैंचीको मूल्य घट्दो रहेकाले विरुवा उत्पादन आगामी वर्ष कम गर्ने सोचमा पुगेको लिम्बूले बताए ।
आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्धन प्रसाईले यसवर्ष साढे ५ लाख रुपैयाँभन्दा बढीको अलैंचीका विरुवा बिक्री गरे । तर गतवर्षको तुलनामा डेढ लाख कमको बिरुवा बिक्री गरेको उनले जानकारी दिए । बिरुवा संख्या उतिनै भए पनि प्रतिगोटा सरदर गतवर्षको तुलनामा ७ रुपैयाँ कममा बिक्री गर्नुपरेको प्रसाईको भनाइ थियो । “नबेचौं लगानी डुब्छ, बेचौ पहिलेजस्तो मूल्य छैन्,” उनले भने, “२-४ पैसा थैथाप हुने भएकाले सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता भयो ।”
४ वर्षयता खुल्ला रुपमा अलैंची बिरुवा उत्पादन गर्दै आएको मादेन एग्रोभेटका अनुसार अलैंचीको मूल्य घटे पनि खेती गर्नेको संख्यामा कमी आएको छैन । एग्रोभेट सञ्चालक चन्द्र मादेनका अनुसार रोगकिरा नियन्त्रण गर्न सके अन्य वालीको तुलनामा हालकै मूल्य फाइदाजनक छ । व्यावसायिक विरुवा उत्पादन तथा बिक्री गर्नेभन्दा झ्याङबाटै बिरुवा निकालेर बिक्री गर्ने चलन बढी हुन्छ । यद्यपि झ्याङबाटै बिक्री गरिने अलैंची विक्रीको विश्वासिलो लेखाजोखा भने कसैले राखेको छैन । जिल्ला कृषि विकास कार्यालयका अनुसार ताप्लेजुङमा ४ हजार ५ सय हेक्टरमा अलैंची खेती गरिएको छ ।

देवराज गुरुङ