कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५
1604

नेपाली बजारमा स्मार्टफोन खरिद गर्दा सोधिने एउटा प्रश्न यो पनि हो, फोनमा ड्युअल सिम लाग्छ ? पसलेले उत्तर मा लाग्छ भन्यो भने बल्ल किन्न राजि हुने उपभोक्ता नेपाली बजारमा अधिक नै पाइने गरेको छ । एन्ड्रोइडमा ड्युअल सिम सामान्यजस्तो भए पनि आइपोन किन्ने ग्राहकले भने ड्युअल सिम सोध्दैनन्, किनकी एप्पलको पहिचन नै सिंगल सिम छ ।
अब एप्पलले पनि एन्ड्रोइडमा जस्तै ड्युअल सिम लाग्ने आइफोन बजारमा ल्याउने भएको छ । नेपालका ग्राहकका लागि पनि उपयोगी हुने नयाँ फिचर विश्व बजारका ग्राहकलाई लक्षित गरेर ल्याउन थालिएको हो । दुइ वटा सिम लाग्ने एन्ड्रोइड फोन रुचाएका कारण एप्पलले पनि ड्युअल सिममा जान लागेको हो । यसअघि एप्पलको उत्पादन महंगो भएको भन्ने ग्राहकको विचारलाई मध्यजनर गरेर एप्पलले एसइ ब्राण्डमा एप्पलको सस्तो रेन्जको फोन बजारमा ल्याइरहेको छ । आइफोनमा एउटा सिम मात्र प्रयोग गर्न सकिने हुँदा अधिकांशले अर्को फोन बोक्नुपर्ने बाध्यता हुन्छ भने कतिपयले त्यसैको लागि एन्ड्रोयड फोनहरू प्रयोग गर्ने बाध्यता छ ।
विश्वभर अधिकांश मोबाइल उत्पादकहरूले दुई सिम प्रयोग गर्न सक्ने अप्सन ल्याईसकेको भएपनि आइफोन भने त्यसमा अपवाद रहँदै आएको छ । कम्पनीले यहि वर्षदेखि नै आइफोनमा दुई सिम थप गर्ने तयारीमा रहेको हो । कम्पनीले सार्वजनिक गरेको आइओएस १२ को डेभलपर बेटा ५ भर्सनमा ड्यूल सिम अप्सनको कोड देखिएको छ । यो भर्सन अहिलेसम्म परिक्षणको क्रममा छ ।
आइओएस सफ्टवेयरमा सेकेण्ड सिम स्ट्याटस र सेकेण्ड सिम ट्रे स्ट्याटस को कोड देखिएको हो । यसको आधारमा कम्पनीले दुई सिम भएको आइफोनको लागि तयारी गरिरहेको भन्ने विश्लेषकहरूको अनुमान छ । यसअघि आइफोनमा दुई सिम आउने वा ई सिम आउने भन्ने चर्चा भईरहँदा कम्पनीले सन् २०१८ को अन्त्यमा सार्वजनिक गर्ने तीन आइफोन मोडलमध्ये सबैभन्दा महंगोमा यो सुविधा दिनसक्नेछ । यस्तो मोडल सिमित बजारमा मात्र उपलब्ध हुनसक्ने संभावना पनि रहेको छ ।
ड्यूल सिम भएको आइफोन विशेषगरि यूरोप र एशियाली मुलुकमा प्रयोग हुनसक्ने र सिम क्यारियरको अप्सन प्रयोग गर्न सकिनेछ । एटलसकाअनुसार सन् २०१७ मा ड्यूल सिम डिभाइसहरू नाइजेरिया, ब्राजिल र ईजिप्टमा निकै लोकप्रिय छ भने अमेरिका, क्यानाडा र अष्ट्रेलियामा यूजरका लागि यस्तो सुविधा अनौठो हुन्छ । नेपाल, भारत लगाएतका मुलुकका उपभोक्तालाई ड्युअल सिम नयाँ विषय होइन तर एप्पलमा ड्युअल सिम लाग्ने भए पछि कतिपयले यही कारणले पनि एप्पलको डिभाइस किन्ने सम्भावना भने छ । यद्यपी ब्राण्ड भन्दा पनि सुविधालाई प्राथमिकता दिने प्रकृतिका ग्राहक भएका दक्षिण एसियामा एप्पलको बजार रणनीतिमा नै यसको व्यापार निर्भर हुने देखिन्छ ।