किरण आचार्य
शुक्रवार, श्रावण १८, २०७५
259

चिनिया टेलिकम्युनिकसेन कम्पनी हुवावे नयाँ नाम होइन । दूरसञ्चारसम्बन्धी उपकरण उत्पादन तथा बजारीकरणमा विश्वमै अग्रपंक्तिमा पर्ने कम्पनीका रूपमा यसको छुट्टै पहिचान छँदैछ । कम्पनीको नयाँ र छिटै उचाइ लिएको अर्को पहिचानको स्मार्टफोन उत्पादनको ।
यसो त विश्वभर स्र्माफोन विक्री गर्नेमा सामसुङ पहिलो नम्बरको कम्पनी रहँदै आएको छ । विक्रीको हिसाबमा दोस्रो भने निरन्तर एप्पल छ भने महँगो ब्रान्डको नामले भने एप्पल अगाडि छ । गत वर्षको अन्तिम त्रयमासमा सामसुङलाई एप्पलले उछिन्दा टेक जगतमा ठूलै चर्चाको विषय बनेको थियो । यसै साता आएको अर्को समाचारको चर्चाको शिखरमा भने हुवावे आएको छ । हुवावेले सन् २०१८ को दोस्रो त्रैमासमा विश्वमै सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनीको नाममा सामसुङपछि हुवावेले स्थान लिएको छ । यही समाचारलाई विश्वभर र नेपालका समाचार माध्यममा पनि खबर आएका छन्, हुवावेले एप्पललाई उछिन्यो ।
सन् २०१० देखि विश्व बजारमा स्मार्टफोन लिएर प्रवेश गरेको हुवावेको सफलता छलाङको गतिमा देखिन्छ । अर्थात् कम्पनीले हरेक वर्ष स्मार्टफोन उत्पादन विक्रीमा ठूलै फड्को मार्दै आजको अवस्थामा आएको देखिन्छ । सन् २०१० मा ३० लाख स्मार्ट फोन विक्री गरेको हुवावेले अर्को वर्ष २०११ मै २ करोड थान स्मार्टफोन विक्री गर्यो । सुरुका दिनमा निकै सस्तोदेखि मध्यम मूल्यका स्मार्टफोन विक्री उत्पादन गरेको कम्पनीको मोबाइललाई बलियो मोबाइलको रूपमा लिइन्थ्यो भने तुलनात्मक रूपमा ब्याट्री टिकाउ हुने मोबाइलका रूपमा ग्राहकले रुचाउन थाले । सुरु सुरुमा सामसुङ र अन्य केही ब्राण्डका स्मार्टफोनमा ब्याट्री कम टिक्ने समस्याबाट मुक्ती पाउनु पनि ग्राहकको लागि ठूलो कुरा रह्यो । यद्यपी हाल सबैजसो कम्पनीहरू ब्याट्री, क्यामरा, स्टोरेज र स्क्रीनको रिज्योलुसनमा बढी ध्यान दिन थालेका छन् ।
स्मार्टफोनमा आक्रामक देखिएको हुवावेको विक्रीको रेसियो हेर्दा सन् २०१२ मा ३ करोड २० लाख, २०१३ मा ५ करोड २० लाख, २०१४ मा १० करोड ८० लाख, २०१५ मा १५ करोड ३० लाख र गत वर्ष अर्थात् २०१७ मा मात्र विश्वभर १५ करोड ३० लाख थान स्र्माटफोन विक्री भइसकेका छन् । सुरुका वर्षमा मिडरेन्ज भन्दा माथि नउक्लेको हुवावेले पछिल्ला वर्षमा भने मिडरेन्ज भन्दा तल नजाने रणनीति लिएको देखिन्छ । कम्पनीले मिडरेन्जमा धेरै सुविधा र अझ धेरै सुविधा सहित फ्ल्यागशीप प्रडक्टमा ध्यान केन्द्रीत गरेको छ । सस्तो रेन्जको अनर सिरिजको साटो कम्पनीले मेट, पी र नोभा सिरिजलाई प्राथमिकता दिएको छ ।
एप्पललाई उछिन्दै विश्वकै दोस्रो धेरे मोबाइल विक्री गर्ने कम्पनीमा दरिनु पनि कम्पनीका यिनै सिरिजको योगदान बढी देखिन्छ । आईडीसीको प्रारम्भिक तथ्यांकअनुसार हुवावेले तेस्रो त्रैमासिक अवधिमा ५ करोड ४२ लाख ह्यान्डसेट आपूर्ति गरेको थियो । यो वार्षिक मापनका आधारमा ४०.९ प्रतिशतले बढी हो । एप्पलले गत वर्षको समान अवधिको तुलनामा यो अवधिमा ४ करोड १३ लाख फोन आपूर्ति गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशतले बढी हो । आईफोन निर्माताले वाल स्ट्रिटको ४ करोड १७ लाख ९० हजार संयन्त्र बिक्री गर्ने भनी गरेको अनुमान पूरा गर्न सकेको छैन । यो संख्याका आधारमा हुवावेको बजार हिस्सा १५.८ प्रतिशत छ भने एप्पलको १२.१ प्रतिशत भएको आईडीसीले जनाएको छ ।
हुवावेले आफ्नो फ्ल्यागसिप स्मार्टफोनमा टप इन्ड विशेषता भएका फोनलाई समावेश गरेको विश्लेषकहरूले बताएका छन् । कम्पनीले आफ्नो पी–२० प्रो फोनमा तीनवटा क्यामेरा समावेश गरेको छ । परिणामस्वरूप हुवावेले युरोप र एसियामा आफ्नो ब्रान्डलाई विस्तार गर्न सफल भएको छ । यसले कम्पनीलाई सामसङलाई समेत चुनौती दिनका लागि सक्षम बनाएको आईएचएस मार्किटका स्मार्टफोनका वरिष्ठ विश्लेषक गेरिट सिनिम्यानले बताएका छन् । अनुसन्धानमूलक फर्म कानालिसले हुवावेको भूमिकामा पी–२० को मजबुत बिक्रीले सघाएको जनाएको छ ।
उपभोक्ताको रुचाइलाई मध्यनजर गरेर मोबाइलका फिचरहरू सकेसम्म छिटै नै परिवर्तन गरेर बजारमा ल्याउने गरकोले आफूहरू विश्वमै अग्रणी स्मार्टफोन बन्ने बाटोमा सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । “हामीले हाम्रा ग्राहकको रुचीलाई नै केन्द्रविन्दुमा राखेर काम गरिरहेका छौं, उपभोक्ताको चाहना अनुरूप डिभाइहरूमा नयाँ नयाँ फिचर लिएर आएकाले हामी नम्बर वान स्र्माफोन ब्राण्ड बन्ने उद्देश्यपूर्तिका लागि अगाडि बढीरहेका छौं,” गत सुक्रबार हुवावेका नयाँ स्र्माटफोन नोभा थ्री र नोभा थ्रीआइ सार्वजनिक गर्दै हुवावे नेपालका नेपाल प्रमुख जोयस झुले भने । उनले या वर्षको जुलाइसम्म १० करोड थान हुवावेका मोबाइल विक्री भैसकेको र यो वर्ष भर २० करोड मोबाइल विक्री हुने लक्ष्य रहेको बताए ।
हुवावेको पछिल्ला प्राथमिकताका सिरिज हुन् पी र नोभा सिरिज, जसले स्र्माफोन विक्रीमा नेपाल लगाएत विश्वभर सफलता हासिल गरेको कम्पनीको भनाइ छ । नेपाल प्रमुख झुका अनुसार एसिया प्यासेफिक क्षेत्रमा मात्र यो वर्ष १४० प्रतिशतले हुवावेको विक्री बढेको छ । पी र नोभा सिरिजकै बलमा नेपालको हुवावेको मार्केट गत वर्षको तुलनामा १७५ प्रतिशले बढेको उनले बताए । मध्यपूर्वी अमेरिकामा सत प्रतिशत, युरोपमा २० प्रतिशत, ल्याटिन अमेरिकी मुुलुकमा १५० प्रतिशत हुदै विश्वभर हुवावेको बजार तिब्रताको साथ अगाडि बढीरहेको तथ्यांक छ ।
हाल बजारमा रहेका हुवावेका बढी विक्री भैरहेका मोडेलहरूमा नोभा, नोभा टु, नोभा टु प्लस, नोभा टु आइ र नोभा थ्री आइ नोभा सिरिजका मोबाइल हुन् । यही सिरिजको नयाँ दुई डिभाइस नोभा थ्रि र नोभा थ्रि आइ नेपालमा पनि सार्वजनिक गरिएको छ । युवापुस्ताको रुचीलाई मध्यनजर गरेर कम्पनीले मोबाइलको रंग, क्यामरा र अन्य फिचर थपिदै आएको हुवावे स्मार्टफोनको नेपालका लागि आधिकारिक विक्रेता कल मोबिलिटीका निर्देशक पुलकित भिमसेरियाले बताए । “हामले विश्वमै उत्कृष्ट फिचर भएको हुवावेका ग्याजेटहरू नेपाली बजारमा भित्र्याएका छौं, नेपाली युवाको मन पनि हुवावेले जितिरहेको छ अझै जित्नेछ भन्नेमा हामी विश्वस्त छौं,” उनले भने । यद्यपी अहिलेलाई १२ अगष्टसम्म नेपालमा प्रिबुकिङको व्यवस्था गरिएको उनले बताए ।
१५ अगष्टदेखि नोभा थ्रि आइलाई ३८ हजार ९ सय र नोभा थ्रिलाई ५९ हजार ९ सय रूपैया नेपालमा अधिकतम मूल्य छ । एआइ क्यामरा, २४ मेगापिक्सेल क्यामरा, किरिन ९७० प्रोसेसर, वाइड अपर्चर क्यामरा सहित नच स्क्रीन, ४ जीबी र ६ जीवीको -याम अप्सनका साथ १२८ जीबी आन्तरिक स्टोरेज जस्ता सुविधाले पछिल्ला दुई डिभाइसले कम्पनीको विश्वास थप दरिलो बनाएको छ । पछिल्लो समयमा नयाँ नयाँ ग्याजेटका फिचर, तुलनात्मक विशेषताहरू अनलाइनहरू र युट्युवमा पनि प्रसस्त उपलब्ध हुन थालेका छन् । यसले गर्दा उपभोक्तालाई ग्याजेट छनोट तथा तुलना गर्न सहज बन्दै गएको छ ।