एजेन्सी
शुक्रवार, श्रावण १८, २०७५
326

गुगलले चीनका लागि कठोर नियन्त्रणमुखी कानुन (सेन्सरसीप)अनुरूपको सर्च इन्जिनको निर्माण गरिरहेको छ ।तर गुगलको यो कार्यको मानवअधिकावादीहरूले कडा आलोचना गरेका छन् ।८ वर्ष अघि गुगलले चीनबाट आफ्नो सर्च इन्जिन फिर्ता गरेको थियो । सर्चन इन्जिन फिर्ता गर्नुको कारण सेन्सरसीप र ह्याकिंग रहेको थियो ।
तर गुगलले भने त्यही अनुरूपको सर्च इन्जिन बनाउन लागेको सम्बद्ध स्रोतले जनाएको हो । यो सर्च इन्जिनको निर्माण भएपछि यसको परीक्षण आन्तरिक नेटवर्कमा गरिनेछ ।
यो समाचारले कम्पनीमा चिन्ता बढाएको छ । यसका कामदारहरू चिन्तित छन् । अमेरिकी सेनासँग मिलेर गरेको १ करोड अमेरिकी डलर बराबरको प्रोजेक्टको बारेमा कम्पनीका कामदारहरूले उजुरी हाल्ने भएपछि कम्पनीको चिन्ता बढाएको थियो ।कामदारको विरोध भएपछि सेनासँग गरिएको सो सम्झौता नवीकरण गरिएको थिएन् । गुगलले सेन्सरसीपमा आधारित सर्च इन्जिन बनाइरहेको विषयमा गुगलका प्रवक्ताले केही बताउन अस्वीकार गरे ।
गुगलका प्रवक्ता ताज मिडोले भने“ हामीले गुगल ट्रान्सलेट र फाइल्स जो जस्ता मोबाइल एप चीनमा उपलब्ध गराइरहेका छौं । हामीले चिनियाँ कम्पनीमा महत्वपूर्ण लगानी लगाएका छौं ।”
तर चीनका लागि बनाउन लागेको यो सर्च इन्जिन मानवअधिकार, लोकतन्त्र, धर्म र शान्तिपूर्ण विरोधको अधिकारको विरूद्धमा भएको भन्दै मानवअधिकारकर्मीहरूले विरोध गरिरहेका छन् । चीनको ग्रेट फायरवालबाट एप स्वचालितरूपमा पहिचान गरी वेबसाइटलाई फिल्टर गर्न सकिन्छ ।
एम्नेस्टि इन्टरनेशनलले गुगललाई यसो नगर्न आग्रह गरेको छ । बजार पाउनका लागि गुगलले चीनकोि कठोर नियमलाई पालना गरे यसले इन्टरनेटको स्वतन्त्रता हरण हुने एम्नेस्टीले जनाएको छ ।ट्विटर, फेसबुक, युट्युब र न्युयोर्क टाइम्सका वेबसाइटहरू चीनमा रोकिएको छ । तर माइक्रोसफ्टको बिंग सर्च इन्जिन चीनमा सञ्चालित छन ।
सन्२०१०मा गुगलले चीनको मुख्यभूमिका लागि आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तर गुगलको कम्पनीमा अझ ७सय मानिस काम गरिरहेका छन् । उनीहरू चिनियाँ परियोजनामा काम गरिरहेका छन् ।
गएको डिसेम्बरमा गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान केन्द्र बेइजिङमा स्थापना गर्ने घोषणा गरेको थियो ।गत वर्षको सुरूमा चीनको इन्टरनेट नियामक निकायहरूले गुगल ट्रान्सलेट एपलाई समार्टफोनका लागि अनुमति दिएका थिए ।गुगलको यो सर्च इन्जिनको परियोजना त्यतिखेर आएको छ जतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिन व्यापार युद्धमा भिडेका छन् । ट्रम्पले चीनले अमेरिकी टेक्नोलोजीसम्बन्धी ज्ञान चोरेको आरोप लगाएका छन् ।