कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५
536

नेपाली बजारमा नयाँ मोबाइल ब्रान्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्रान्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरू सार्वजनिक गरेको थियो ।
टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिक रूपमा आयात तथा बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरू बजारमा ल्याउने जनाएको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरू र २ मोडलका स्मार्टफोनहरू ल्याउनेछ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ । टम्बो ब्रान्डका फिचर फोनहरू १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछन् ।

टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरूमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिइने रहेको विक्रेता कम्पनीले जनाएको छ ।
“हामीले हाम्रा ग्राहकहरूलाई २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रिन रिप्लेसमेन्ट दिइका छौं र यस्तो अफर अन्य कुनै पनि ब्रान्डमा उपलब्ध छैन । आगामी दिनमा पनि हामी ग्राहकहरूको रुचिअनुसारका टम्बो ब्रान्डका फोनहरू नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्छाैं,” टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधीर कुमारले भने । टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरूमा प्रिमियम स्मार्टफोनहरूमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचरहरू राखिएका छन् । यी फोनहरूमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन् ।