कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
1560

विश्वकै सबैभन्दा बढी मोबाइल फोन बिक्री गर्ने कम्पनी सामसङले आफ्नो नोट सिरिजको स्मार्टफोन ग्यालेक्सी नोटनाइन सार्वजनिक गर्दैछ । नोट नाइन स्टोरेज लगाएतका थप विशेषतासहित कम्पनीले बजारमा ल्याउन थालेको हो ।
हालसम्म सञ्चारमाध्यममा आएका जानकारी अनुसार नोट नाइन ५१२ सम्मको स्टोरेज भेरिएन्टमा आएको छ । आधिकारिक रुपमा विश्व बजारको मूल्य सार्वजनिक गरिएको छैन, तर युकेमा यसको मूल्यका बारेमा भने फोन सार्वजनिक गर्नुपूर्व नै लिक भएको छ । जस अनुसार नोट नाइनको तीन भेराइटीमध्ये १२८ जीवी वालाको ८९९ पाउन्ड र ५१२ स्टोरेज वालाको १०९९ पाउन्ड पर्नेछ । यसको २५६ जीवी भर्सन समेत रहे पनि मूल्य बाहिर आएको छैन । यद्यपी देश अनुसार मूल्य भने फरक फरक हुने गर्छ ।

नोट नाइनमा ६.४ इन्चको क्यूएचडी प्लस सूपर एमोलेड डिस्प्ले दिईएको छ, जुन १८ः५ः९ एस्पेक्ट रेशियो छ । स्मार्टफोनमा अमेरिका र यूरोपका केहि देशहरुमा स्न्यापड्रागन ८४५ चीपसेटका साथ सार्वजनिक हुनेछ भने एसियाली र अन्य मुलुकहरुमा भने सामसङको आफ्नै एक्सनोज ९८१० प्रोसेसरका साथ उपलब्ध हुनेछ । फोनमा ६ जीवी -याम हुनेछ ।
सामसङले अगस्ट ९ तारिखमा न्यूयोर्कको बार्क्लेज सेन्टरमा आयोजना गर्ने कार्यक्रममा यो स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रम यसअघि नै तय भइसकेको थियो । सामसङले आफ्नो यूट्यूब पेजबाट पनि यो इभेन्ट लाइभ गर्दैछ । एउटै स्मार्टफोन सार्वजनिक गर्न सामसङले ठूलो कार्यक्रम राखेको भन्दै प्रविधि विज्ञहरुले विशेष चासो दिएर आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् ।
ग्यालेक्सी नोट नाइनको डिजाइन लुक यसअघिको नोट ८ सँग निकै नै मिल्दो छ । तर नयाँ फोनमा केहि परिवर्तन हुने अनुमान गरिएको छ । यसको फ्रन्ट प्यानल नोट ८ जस्तै देखिएपनि नोट नाइनको ब्याक डिजाइन भने निकै फरक रहेको छ । ग्यालेक्सी नोट नाइन मा क्यामरा होरिजन्टल सेटअपमा आउनेछ भने यसको फिंगरप्रिन्ट सेन्सर क्यामरा मोड्यूलको ठिक मुनी हुनेछ ।
सामसङको नोट नाइनका साथमा कम्पनीले दिने एस पेन निकै महत्वपूर्ण रहेको छ । हालै एफसिसिको सर्टिफिकेशनमा एस पेनका लागि ब्लूटूथ सपोर्ट राखिने संकेत दिएको थियो । यदि यो सहि हो भने स्टाइलसमा यो ठूलो अपग्रेड हुनेछ । ब्लूटूथ कनेक्टिभिटीका साथ तपाईंले तस्वीरहरुमा क्लिक गर्नका लागि रिमोट शटरका रुपमा एस पेनको उपयोग गर्न सकिनेछ । यसले स्मार्टफोनमा म्यूजिक प्लेब्याकलाई रिमोटली कन्ट्रोल गर्न समेत प्रयोग गर्न सकिन्छ । नोट नाइन मा कम्पनीले ३,३०० एमएएचको ब्याट्री प्याक दिनसक्ने अनुमान गरिएको छ ।
यसमा ग्यालेक्सी एस नाइन प्लसको जस्तै ड्यूल एपेर्चर क्यामरा हुनेछ । यसको प्राइमरी सेन्सर १२ मेगापिक्सेल र अर्को सेन्सर पनि १२ मेगापिक्सेलको हुनेछ । क्यामरा २ एक्स जूम तथा आईओएसका लागि एउटा टेलीफोटो लेन्स हुनेछ । नोट नाइनमा एचडी रिजोल्यूशनमा ९६० फ्रेम प्रति सेकेण्डमा ४ सेकेन्डको स्लो मोशन भिडियो रेकर्ड गर्न सकिनेछ । फोनमा ८ मेगापिक्सेलको सिंगल फ्रन्ट क्यामरा हुनेछ जसले एआर इमोजी सपोर्ट गर्नेछ ।
गुगलले अगस्ट २० तारिखमा आफ्नो मोबाइल ओएसको नयाँ भर्सन एन्ड्रोयड पी रिलीज गर्दैछ । नोट नाइन पनि एन्ड्रोयड पीका साथमा आउने संभावना निकै कम छ । स्मार्टफोनमा एन्ड्रोयडको ओरियो भर्सन राखिने र पछि त्यसलाई एन्ड्रोयड पीमा अपडेट गर्न सकिने सम्भावना रहेको छ । आइरिस स्क्यानरका साथ आइपी ६८ वाटर एण्ड डस्ट प्रोटेक्सन हुनेछ भने सामसङ पे पनि उपलब्ध हुनु यसको अर्को विशेषता हो । पछिल्ला समयमा चाइनिज ब्रान्डहरुले धमाधम आफ्ना फ्ल्यागशीप मोबाइल फोन सार्वजनिक गरिरहको सन्दर्भमा भारत र नेपालमा पनि कम्पनीले विशेष कार्यक्रम आयोजना गरेर मोबाइल सार्वजनिक गर्ने योजना रहेको बुझिएको छ ।