कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
418

विश्व बजारमा चिनियाँ कम्पनीहरुको बोलवाला चलिरहँदा क्षेत्रीय ब्रान्ड पनि बजारमा आफ्नो अस्तित्वलाई फरक ढंगले प्रस्तुत गर्न थालेका छन् । यस्तै कम्पनीमध्येको भारतीय मोबाइल फोन ब्रान्ड टम्बोले नेपालमा पनि आफ्ना उत्पादन भित्र्याएको छ ।
नेपालमा औपचारिक रुपमा कारोबार सुरु गरिसकेको कम्पनीले मार्केटिङमा अपनाएको नयाँ रणनीति स्क्रीन रिप्लेसमेन्ट र वारेन्टी सुविधा सबैभन्दा धेरै रहेको दाबी गरेको छ । “६ वटा फिचर फोन र दुई वटा स्मार्टफोन गरि सबै फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट सुविधा उपलब्ध गराएका छौं । ग्राहकलाई यति धेरै सुविधा दिने हामी नै पहिलो कम्पनी हौं,” नेपालमा टम्बो मोबाइलको आधिकारिक आयात तथा बिक्री गर्ने कम्पनी शंकराचार्य मोबाइल प्रालिका सेल्स मेनेजर अशोक गौतमले भने ।
कम्पनीले बजारमा पाइने अन्य फोनहरुकै हाराहारीमा मूल्य तय गरेको छ भने रिप्लेसमेन्ट र वारेन्टी भने ग्राहकका लागि उपहार सरह नै उपलब्ध गराएको बताएको हो । स्मार्टफोनका दुई भेराइटीमध्ये एक जीवी -याम र ८ जीवी स्टोरेजको उपलब्ध टिए टु फोरजीको मूल्य ९ हजार ४९९ र टिए थ्री फोरजीको मूल्य १० हजार ३४९ निर्धारण गरिएको छ । डिउल सिम लाग्ने दुबै फोन फोरजी हुन् भने दुबैको स्टोरेज ६४ जीवीसम्म बढाउन मिल्नेछ । दुबै फोनमा डिउल फ्ल्यास, फेस ब्युटि, पानोरोमा, अटोफोकस ५ मेगापिक्सेल क्यामरा जडित छन् । एन्ड्रोइडको नुगट अपरेटिङ सिस्टम रहेको फोनमा फिंगर प्रिन्ट स्क्यानर पनि छ ।
सस्तोमा राम्रो सुविधाको अवधारणाले इन्ट्री लेभलमा स्मार्टफोन चलाउने ग्राहकलाई लक्षित गरि फोन बजारमा ल्याइएको हो । कम्पनीका फिचर फोनहरु एक हजारदेखि साढे २ हजार तीन सयसम्म पर्नेछन् । टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले पनि मोबाइल सार्वजनिक गर्ने कार्यक्रमम ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट अफर अन्य कुनै पनि ब्राण्डमा उपलब्ध नभएको दाबी गरेका थिए । यो सुविधा स्मार्ट र फिचर दुबै फोनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो । कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । टम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनीअन्तर्गत रहेको छ ।