खेलाडीको  बिमा
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५
202

पोखरा-पश्चिमाञ्चल क्षेत्रका राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य र दुर्घटना बिमा सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले राष्ट्रका लागि खेल्ने खेलाडीहरूको पहिलो चरणमा पश्चिमाञ्चलका राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य र दुर्घटना बिमा लागू गरिएको समितिका अध्यक्ष खगराज पौडेले बताए ।
खेलाडीलाई स्वास्थ्य बिमाबापत २५ हजार र दुर्घटना बिमाबापत २ लाखको प्रिमियम बापतको शुल्कः समितिले प्रदान गर्ने भएको समितिका अध्यक्ष पौडेलले बताए । पहिलो चरणमा समितिले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको बिमा गरिने भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा खेलाडीको बिमा गरिने भएको हो ।

राष्ट्रिय भलिबल टिमका उपकप्तान मन्जु गुरुङ र क्रिकेटका राष्ट्रिय खेलाडी करण केसीलाई एक कार्यक्रमकाबीच पोलिसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जीवन बिमा सुरुवात गरिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अध्यक्ष पौडेलले राष्ट्रका लागि पदक ल्याउने खेलाडीहरू पटक–पटक घाइते हुँदा परिवार गुर्हानुपर्ने समस्यालाई मध्यनजर गर्दै पहिलो चरणमा बिमाको सुरुवात गरेको बताए ।
राष्ट्रिय खेलाडीपछि क्षेत्रीय खेलाडी र जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाको जर्सीमा मैदानमा उत्रिका खेलाडीहरूको स्वास्थ्य र दुर्घटना बिमा लागू गर्ने तयारी भएको अध्यक्ष पौडेलले जनाए । नेपालमा नै पहिलो पटक खेलाडीहरूको स्वास्थ्य तथा दुर्घटना बिमा लागू भएको अध्यक्ष पौडेलले दाबी गरे । उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जर्नादन रिजालले आगामी आर्थिक वर्षबाट मन्त्रालयले खेलाडी बिमा र जीवनवृत्तिका कुरा लागू गर्ने तयारी गरेको जनाए ।