सानिमा लाइफ इन्स्योरेन्स पोखरामा
कारोबार संवाददाता
सोमवार, असार १८, २०७५
158

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखराको न्युरोडमा शाखा स्थापना भएको छ । पोखरामा बिमाको धेरै सम्भावन देखेर कम्पनीले १८ आंै शाखाका रूपमा शाखा विस्तार गरेको कम्पनीका मुख्य व्यवस्थापक गणेश चौलागाईंले बताए ।
सानिमा बैंक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीद्वारा कम्पनीको प्रवद्र्धन गरिएको छ । कम्पनीले हालसम्म सानिमा सरल, सानिमा दीर्घायु, सानिमा धनपति, सानिमा बालसौगात र सानिमा म्यादी गरी पाँच योजनाहरु बजारमा ल्याएको पोखरा शाखा प्रमुख सुदीपराज ढुंगानाले बताए ।
हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब रुपैयाँ तथा चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनिले जनाएको छ । छिट्टै ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । नेपालमा जीवन बिमाको धेरै सम्भावना भएको बताउँदै उनले प्रदेश ४ अन्तर्गतका विभिन्न जिल्लाहरुमा शाखा स्थापनाको तयारी भइरहेको जनाए ।
यसैबीच, उक्त शाखाको सुक्रबार एक समारोहकाबीच प्रदेश नं. ४ का सांसद विन्दुकुमार थापा, कलाकार एवं कम्पनीमा सद्भावना दूत जितु नेपाल र कम्पनीका मुख्य व्यवस्थापक चौलागाईंले संयुक्त रूपमा उद्धघाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद थापाले बिमा गर्ने र बिमा प्राप्त गर्ने प्रक्रियालाई सरल र सहज बनाउन सुझाव दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले उद्योगी व्यवसायीका लागि जीवन बिमा अनिवार्य गर्नका लागि आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समुदायमा बिमा सचेतना आवश्यक भएको बताए ।