कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
413

नयाँ निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् बिहीबारबाट कम्पनीको कर्पाेरेट कार्यालय सिटिसी मल, सुन्धाराबाट सबै संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा यस कम्पनीका अध्यक्ष विनोद बिष्टबाट सेवा शुभारम्भ गरिएको कम्पनीले जनायो ।
२०६४ साल चैत २० मा कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता भई स्थापना भएको कम्पनीले वैशाख १५ गते बसेको विशेष साधारणसभाको बैठकको निर्णय मुताविक कम्पनीको अधिकृत पुँजी र चुक्ता पुँजी १ अर्बमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्वसाधारणको रहने गरी पुँजी वृद्धि गरिएको पनि जनाएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना, वाणिज्य बैंक, इन्भेस्मेन्ट कम्पनी, घरजग्गा निर्माण व्यवसायी, जल विद्युत् आयोजना प्रबद्र्धक, पर्यटन व्यवसायीका साथै विभिन्न सरकारी, गैरसरकारी संस्थाको उच्चपदमा रहि सेवाबाट अवकाश प्राप्त व्यक्तिहरू समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा सेयर जारी गर्ने योजना बनाएको छ ।

हाल कम्पनीको संस्थापक सेयरधनी समूहमा १ सय ४ जना संस्थापक सेयरधनीहरू रहेका छन् भने यस कम्पनीको प्रथम सञ्चालक समितिमा विनोदप्रसाद बिष्ट अध्यक्ष, मीनबहादुर गुरुङ सञ्चालक, आजाद श्रेष्ठ, सञ्चालक, राजेन्द्रप्रसाद कायस्थ सञ्चालक र सागर गुरुङ सञ्चालक छन् ।
वैद्यनाथप्रसाद उपाध्याय कम्पनी सचिव छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा विगत दुई दशकभन्दा बढीको अनुभव प्राप्त कुमारबहादुर खत्रीले यस कम्पनीको उच्च व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । कम्पनीले नेपाली बिमा बजारमा प्रचलनमा रहेका विभिन्न प्रकारका निर्जीवन बिमा सेवासहित निकट भविष्यमा ग्राहकको आवश्यक्ता पहिचान गरी नयाँ बिमा योजनाहरू लिएर देशैभर शाखा सञ्जालमार्फत आफ्नो सेवा विस्तार गर्दै जाने योजना रहेको पनि जनाएको छ ।