कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
590

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले निश्चित दिशा लिन सकेको छैन । कही समय उच्च अंकले बढ्ने र सोही अनुपातमा घट्ने पनि गरेको छ । सेयर बजारमा हकप्रद, बोनस तथा नयाँ निष्कासनका कारण धितोपत्रको आपूर्ति पनि बढेपछि नेप्से घट्दो क्रममा देखिएको हो । त्यसका साथै बैंक वित्तीय संस्थाको ब्याजदर घट्नुको सट्टा बढ्न थाले पनि लगानीकर्ता झन् त्रासमा छन् । वित्तीय क्षेत्रको ब्याजदर बढेको खण्डमा सेयर बजार झनै तल झर्ने करिब निश्चित छ । ब्याजदर बढेको खण्डमा सेयर बजारका लगानीकर्ता बजारमा लगानी गर्नभन्दा पनि बैंक तथा वित्तीय क्षेत्रा निक्षेप राख्न तर्फ जान्छन् । २०७३ साउन १२ गते हालसम्मकै उच्च अंक १८८१ अंकमा पुगेको नेप्से हाल १२१४ मा झरेको छ । यसभन्दा अघि सेयर बजार ११६३ सम्म झरेको थियो । त्यसपछि पुनः बढ्न थालेको बजार १२८० सम्म पुगेर पुन फर्केको हो । सेयर बजारको उतारचढावलाई लगानीकर्ताको मनोबल निर्धारण गर्छ । त्यसका साथै सेयर बजार भनेको लोभ र त्रासको खेल पनि भनेर भनिन्छ । बजार घट्न थालेपछि डराएर बिक्री गर्ने र बढ्न थाले पनि अझै बढ्छ कि भनेर होल्ड गर्ने स्वभाव लगानीकर्तामा हुन्छ । पछिल्लो समयमा सेयर बजारमा धितोपत्रको आपूर्ति बढी र खरिद गर्ने लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार अस्थिर भएको हो । त्यसका साथै नजिकिँदै गरेको विजया दशमीका लागि लगानीकर्ताले सेयर बिक्री गर्दा थप घटेको हुन सक्छ । हरेक दिन धितोपत्रको दोस्रो बजारको आकार पनि साघुरिँदै गएको छ । पछिल्लो समयमा देखिएको सेयर बजारको उतारचढाव तथा बजारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग कारोबारले गरेको काुराकानीको सार :

खर्च जुटाउने तयारीले गर्दा बजार घटेको हो
उत्तम अर्याल
अध्यक्ष
नेपाल सेयर लगानीकर्ता संघ
सेयर बजार परिसूचक बढ्दा र घट्दा कतिसम्म जान्छ भनेर हामीले निर्धारण गर्ने होइन । स्वतन्त्र रूपमा बजारले नै देखाउने विषय भएकाले कति घट्छ वा बढ्छ भन्न सकिने अवस्था रहेन । लगानीकर्ताले बजार गति अनुसार खरिद बा विक्रीको निर्णय गर्ने हो ।
पछिल्ला दिनहरूमा बजार घट्नुमा नजिकिँदै गरेको विजयादशमीका लागि खर्च जुटाउनुका साथै चालू आर्थिक वर्षको पहिलो त्रैमासको कर्जाको ब्याज भुक्तानी गर्नका लागि बिक्री चाप बढेको हुन सक्छ । यो साताको सुरुवातमा बजार घटे पनि पछिल्ला दिनहरूमा बजार बढ्ने देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको अनुपातमा प्रतिफल पाउने अपेक्षा गरेका लगानीकर्ताका लागि नतिजा पनि सोअनुसार नआएपछि समग्र वित्तीय प्रणालीमा समस्या आयो । पछिल्ला दिनहरूमा बैंकहरू कर्जा लगानीयोग्य रकम कसिलो हँुदै गएको बताएका छन् । नेपाल भित्रिने रेमिट्यान्स बढेको अवस्थामा पनि बैंकहरू निक्षेप छैन, कर्जा लगानी गर्न सकिने अवस्था नभएको बताउँछन् । त्यसका साथै सरकार पनि राजस्व संकलन राम्रो भएको बताइरहेका बेला बैंकहरूले कर्जा लगानीयोग्य रकम नभएको भनेर ब्याजदर बढाउने प्रयास गरेको हुन सक्छन् ।
केही महिनाअघि मात्र सेयर बजार दिन्छौं भन्दै ब्रोकरकहाँ पुग्ने बैंकहरूले आज पैसा छैन भनेका छन् । बैंकहरूले पैसा बढी भयो भने सेयर बजारमा लगानी गर्ने, नभए लगानी नगर्ने अवस्था भएपछि सेयर बजारमा आउने पैसा रोकियो । कर्जा नपाएपछि पुँजीबजार पनि केही साँघुरो अवश्य हुन्छ नै । बैंकहरूको निक्षेपको ब्याजदर बढ्ने अवस्था आएको खण्डमा बजारमा केही नकारात्मक असर पर्न सक्छ । धेरै प्रतिफल बिनाजोखिम पाउने भएपछि सेयर बजारको पैसा बैंकको निक्षेपमा जानु स्वाभाविक हो ।
नेपाल राष्ट्र बैंक वित्तीय बजारमा पर्याप्त तरलता भएको हुनाले आफूले खिचेको बताउँछ । तर, बैंकहरू भने कर्जाको माग धेरै भएकाले लगानी गर्ने रकम नभएको बताउँँछन् । वित्तीय प्रणाली बुझ्न धेरै जटिल भएको छ । बैंकहरूले वित्तीय बजारको अवस्थालाई १५ दिनका लागि पनि प्रक्षेपण गर्न सकेको अवस्था छैन । यस विषयमा सम्बन्धित नियामक निकायले पनि ध्यान दिएर समाधान तर्फ जानु आवश्यक छ ।

सर्वसाधारणलाई सेयरबारे बुझाएर मात्र बजारमा ल्याउनुपर्छ
भरत रानाभाट
अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन नेपाल
पुँजीबजार अर्थतन्त्रको एक महत्वपूर्ण सूचक भएकाले यसमा लगानी गरिरहेका सर्वसाधारण बजारको प्रवृत्तिबारे जानकार हुनुपर्छ । आफूले किनेको सेयरको मूल्यमा तलमाथि हुनु बजारको सामान्य र नियमित प्रक्रिया हो । सेयरको भाउ घट्दा आत्तिने र बढ्दा अनावश्यक प्रतिक्रिया दिनु सबै हिसाबले उचित होइन ।
पुँजीबजारका लगानीकर्ताले सेयरको भाउ कुरेर बस्ने भन्दा पनि आफूले लगानी गर्न चाहेको कम्पनीले दिने प्रतिफलबारे जानकारी राख्नुपर्छ । प्रतिफललाई नै आधार मानेर लगानी गर्नुपर्छ र बजारमा आफूलाई सुरक्षित बनाउन सक्नुपर्छ । तर, हामीकहाँ लगानीकर्ताले आफूसँग भएको रकमको आकारका आधारमा कम्पनीको विश्लेषणबिना नै लगानी गर्ने जुन प्रवृत्ति छ, यसलाई सुधार्नुपर्छ । धेरै रकम हालेर सेयर बजारबाट प्रतिफल लिन सकिँदैन, बरु थोरै रकम भए पनि राम्रा र उचित प्रतिफल दिइरहेका र दिन सक्ने कम्पनीमा लगानी गर्दा लगानीकर्ताले पर्याप्त फाइदा लिन सक्छन् ।
पछिल्लो समय नेपालको पुँजीबजारमा आधुनिकीकरणको प्रक्रिया सुरु भएको छ । अनलाइनबाटै सेयर कारोबार सुरु हुँदैछ । नियामकहरूले नियमनका कामलाई प्रभावकारी बनाएका छन् र सर्वसाधारण नागरिकसम्म सेयर बजारको पहुँच विस्तार गर्न विभिन्न योजना ल्याइरहेका छन् । सरकारले लिएको लक्ष्य पूरा गर्न हामी स्टक ब्रोकरहरूले पनि आफूलाई परिष्कृत गरिरहेका छौं । अनलाइन ट्रेडिङ प्रविधिमा आधारित संवेदनशील कारोबारको विषय भएकाले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न केही समय लाग्ला, तर नेप्सेले यसबारे सर्वसाधारण लगानीकर्तालाई मोक ट्रेडिङ सिकाइरहेको छ । सम्भावित त्रुटि हुन नदिन पर्याप्त पूर्वतयारी गरेर अनलाइन कारोबार सुरु गर्दा हाम्रो पुँजीबजार थप सुरक्षित बन्छ, अर्थात सर्वसाधारणले व्यवस्थित र छिटोछरितो रूपमा सेयरमा लगानी गर्ने वातावरण सिर्जना हुन्छ ।
नेपालमा अहिले सूचना–प्रविधिको पहुँच निकै विस्तार भएको छ । ग्रामीण क्षेत्रहरूमा समेत स्मार्टफोन प्रयोगकर्ता ह्वात्तै बढेका छन् । प्रविधिमा पहुँच राख्ने नागरिकलाई पुँजीबजारमा लगानीका लागि सरोकारवाला सबैले प्रोत्साहित गर्नुपर्छ । नागरिकलाई सेयरधनी बनाउने नाममा तानेर वा प्रलोभन दिएर लगानी गर्न लगाउनु भने हुँदैन । बरु पुँजीबजार, लगानी तथा प्रतिफलबारे पर्याप्त ज्ञान दिएर बजारमा आउन प्रोत्साहन गर्नुपर्छ ।
पछिल्लो पटक भेन्चर क्यापिटल र इक्विटी जारी गर्ने विषयमा पनि नियामकले काम गरिरहेको छ । पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग कुराकानी हुँदा केही विषयहरू मात्र टुंग्याउन बाँकी रहेको र राष्ट्र बैंकलगायत अन्य नियामकहरूसँग परामर्श भइरहेको हामीलाई जानकारी प्राप्त भएको छ । यसको सञ्चालन, नियमन, क्षेत्राधिकार, कम्पनीको प्रकृति आदिबारे समग्र विषय टुंग्याएरै कार्यान्वयन गर्न उपयुक्त हुन्छ ।
मार्जिन ल्यान्डिङ पनि नेपालको पुँजीबजारमा आउन लागेको अर्को प्रडक्ट हो । पछि समस्या नआउने गरी यसलाई कार्यान्वयन गर्न खोजिएको छ । सम्भवतः नेपालको पुँजीबजारमा अब आउने पहिलो प्रडक्ट नै मार्जिन ल्यान्डिङ हुनेछ ।
पुँजीबजारबारे विश्लेषण गर्दा यहाँनेर हामीले ब्याजदरबारे पनि कुरा गर्नुपर्छ । ब्याजदरका कारण बजार प्रभावित भएको भन्ने तर्कमा अहिलेको अवस्थामा पूर्णतः सहमत हुन सकिँदैन । ब्याजदरले पुँजीबजार मात्र होइन, समग्र अर्थतन्त्रलाई नै प्रभावित गरिरहेको हुन्छ । पुँजीबजारमा लगानी गर्दा अहिले प्रतिफल नआएकाले त्यो पैसा बैंकमै फर्किएको भन्ने अनुमानित धारणा राख्नेहरू पनि छन्, तर १/२ प्रतिशत बढी ब्याजदरका लागि पुँजीबजारमा गरेको लगानी बैंकमा सार्न आवश्यक नै हुँदैन ।

सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर
हेमन्त बस्याल
सीएफए
विगत ६/८ महिनादेखि सेयर बजार नै अन्डर भ्यालुड देखिएको छ । नेप्से निरन्तर घट्नुदेखि कारोबार रकममा समेत उत्तिकै कमी आएको छ । अहिलेको समयमा सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर हो ।
लगानीकर्ता मनोविज्ञान बजार बढ्दा घट्छ भन्ने सोच थिएन । तर, घट्दा अझै तल जान्छ भन्ने त्रास हुन्छ । सेयर बजार घट्ने र बढ्ने आफ्नै चक्र हुन्छ । बजारमा लगानी गर्ने लगानीकर्ताले बुझेका छन् होला । तर, पछिल्लो समयमा समग्र अर्थतन्त्रका आधारभूत तत्वहरू सुधारको गति देखिएका छन् । आगामी केही दिनमै त्यसको प्रभाव पनि अर्थतन्त्रमा देखिन थाल्छ । त्यसका सेयर बजार नबढेपछि घट्ने क्रम रोकिने सम्भावना छ ।
पछिल्लो समयमा ब्यालेन्स अफ पेमेन्ट नकारात्मक भएको हुनाले मनी सप्लाई कम भएको छ । सरकारले पनि खर्च गर्न नसकेर पैसा होल्ड भएर बसेको छ । पछिल्लो समयमा प्रत्यक्ष वैदेशिक लगानी आउने क्रम जारी छ । त्यति मात्र होइन, विगतको तुलनामा बढ्ने पनि देखिन्छ ।
त्यसका साथै अहिले नेपाल सरकारको करेन्ट अकाउन्ट नोक्सानीमा छ । तर, क्यापीटल अकाउन्ट एउटा तहमा छ । त्यो भनेको नकारात्मक नै होइन । त्यसका साथै नेपाल पछिल्लो समयमा भएका आयातमध्ये अर्थतन्त्रका लागि आवश्यक ठूला औजारहरू रहेका छन् । औजारहरूको खरिद पनि पुँजीगत खर्चबाट भएको छ ।
नेपाल धितोपत्र बोर्डले पनि वैकल्पिक लगानीको कुरा गरेको छ । त्यसका ठूला–ठूला प्राइभेट इक्युटी आउन खोजिरहेका छन् । त्यसका साथै अहिलेसम्म हामीले सिमेन्ट लगानी ग¥यौ । तर, आगामी दिनमा हामी सिमेन्ट आत्मनिर्भर हुने भएका छौं । अहिले हाम्रो सानो अर्थतन्त्रमा सानो आर्थिक क्रियाकलापले पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
सेयर बजारमा चलखेल सामान्य हो । बजारमा चलखेल गर्नेहरूलाई साधारण लगानीकर्ता चनाखो भएर हेर्नुपर्छ । सेयर बजार जहिले पनि अपेक्षामा आधारित हुन्छ । त्यसैले अगामी दिनमा बजार वढ्ने भएकाले अहिलेको न्यून मूल्यमा सेयर खरिद गर्ने उपयुक्त अवसर हो । चलखेल गरेर बजारलाई केही तलमाथि गरेको पनि देखियो । तर, त्यो दीर्घकालीन हुन सकेन ।