कारोबार संवाददाता
आइतवार, आश्विन २८, २०७५
1024

‘नेपालीको हित अनि नेपालको समृद्धि र विकासका लागि केही गरौं’ भन्ने एक मात्र भावनाले सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा पहिलोपटक काठमाडौंमा विज्ञ सम्मेलन आयोजना गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा विश्वका विभिन्न देशमा रहेका नेपालीले आफ्नो ज्ञान तथा सीपलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे आइतबारसम्म घनिभूतरूपमा छलफल गर्दैछन् । गैरआवासीय नेपालीले नेपालका लागि पुँजी लगानीमात्रै नभएर आफूले विदेशमा आर्जन गरेको ज्ञान तथा सीप नेपालमा बाँडेर केही गर्न खोजेका छन् । उनीहरूको यो अति नै इमानदार प्रयासलाई सरकारले पनि साथ दिएको छ । विश्वका ७९ वटाभन्दा बढी देशमा नेसनल च्याप्टर रहेको एउटा ठूलो संस्था भइसकेको संघले अब नेपालमा सुरक्षा छैन, भ्रष्टाचार बढी भयो, नेपाल गरिब भयो भनेर मात्र कुरा काटिरहेका छैनन् । गैरआवासीय नेपालीहरू पछिल्ला वर्षमा नेपालका लागि के गर्न सकिन्छ भन्नेमा चिन्तित छन् । साँच्चै राष्ट्रले मलाई के दियो भनेर मात्रै होइन, मैले चाहिँ के दिएको छु त भनेर सोच्ने बेला आएको भन्दै उनीहरू नेपालमा केही गर्न जुर्मुराइरहेको अवस्थामा काठमाडौंमा भइरहेको सम्मेलनमा कृषिदेखि शिक्षा तथा नयाँ प्रविधि हस्तान्तरणदेखि सुशासन र पर्यटन तथा आर्थिक सामाजिक एवं सांस्कृतिक विकासमा नेपाललाई सघाउन तत्पर छन् । हिजोका दिनमा प्रशस्तै बहानाबाजी थिए, मुलुकको परिवेशलाई लिएर, अस्थिरतालाई लिएर । तर, आज राजनीतिक स्थिरता र चरम उर्जा संकटको समाधानपछि नेपालमा अनन्त सम्भावना देखिएको छ । त्यही सम्भावनाको आडमा विज्ञ, कानुन एवं न्याय क्षेत्र तथा विभिन्न देशमा बटुलेका अनुभवका आधारमा एनआरएनएले नेपालमा पहिलोपल्ट आयोजना गरेको विज्ञ सम्मेलनमा शुुक्रबार तथा शनिबार बहस तथा छलफल गरेका केही सत्रहरूमा व्यक्त विचारको सार :
जीडीपी बढाएर मात्र समृद्धि हुदैन

बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री
विकास र समृद्धि सबैको एजेन्डा बनेको छ । विश्वको राजनीतिको मुख्य एजेन्डा भनेकै विकास हो । नेपालमा पनि विभिन्न चरणमा विकासका कुरा भए र अहिले नेपाल राजनीतिक परिवर्तन पूरा गरेपछि मूलतः हाम्रो मुख्य एजेन्डा समृद्धि र विकास बन्न पुगेको छ । तसर्थ विकास र समृद्धि के हो ? यसरी नै नेपाल तत्काल विकास र समृद्धिका लागि जोड दिनुपर्ने विषय के हो ? यस्तो विषयमा हाम्रो प्रस्टता छैन । मेरो विचार के हो भने हामी आझै पनि अविकसित विश्वमै रहेका छौं । प्रतिव्याक्ति आयका हिसाबले, क्षेत्रगत विकासको आधारलगायतका सबै क्षेत्रमा भएको विकासले हामी अहिले पछि छौं । विश्व औसत प्रतिव्यक्ति आय जीडीपी १० हजार डलर भएको अवस्थामा हामी भर्खर त्यसको १० गुणा पछाडि १ हजार डलरमा मात्र रहेका छौं । त्यसलाई कसरी हामी विश्वको औसतसम्म पुराउन सक्छौं । छोटो अवधिमा त्यो बिन्दुमा पुराउनु एउटा पक्ष छ भने त्यसैगरी निर्वाहमुखी कृषि क्षेत्रमा दुईतिहाइ जनसंख्या क्रियाशील रहेर देशलाई खान नपुग्ने उत्पादन गरेर हुदैन ।
यसकारण नेपालको सन्दर्भमा विकास समृद्धि भनेको के हो भने हामी हाम्रो प्रतिव्यक्ति आयलाई कसरी विश्वको औसतमा कसरी पुराउने, छिटोभन्दा छिटो हाम्रै जीवनकालमा नेपालमा फस्ट वल्र्डमा पुराउने लक्ष्य हासिल गर्नुपर्छ । त्यसकारण अहिले के हो भने एसडीजीको लक्ष्यलाई अंगीकार गरेर नै हो, २०३० सम्म मध्यआयसम्म पुग्ने २०४० सम्म फस्ट वल्र्ड अर्थात् विकसित मुलुकका रूपमा पुग्ने हाम्रो लक्ष्य छ । यसर्थ मध्यआय भएको मुलुकका रूपमा स्थापित हुन प्रतिव्यक्ति आय ६÷७ हजार डलर पुराउने लक्ष्यतिर जानुपर्छ र उच्च आय भएको बनाउन मुलुक बनाउन १५÷२० हजार डलर आम्दानी हुने लक्ष्यसहित अघि बढ्नुपर्छ ।
के जीडीपी बढाएर मात्र समृद्धि हुन्छ ? हुदैन, अहिले नयाँ–नयाँ अवधारणा आएका छन् । हामी के भन्छौं भने पहिला सम्पूर्ण उत्पादन गर्नुपर्छ । दोस्रो कुरा भने वितरण हुनुपर्छ । यसको भनाइ के हो भने पहिला उत्पादन र अनि सबैलाई न्यायपूर्ण वितरण हुनुपर्यो । तेस्रो भनेको समृद्धि हामीभन्दा पछिको पुस्तालाई हुने गरी दिगो विकास गर्नुपर्छ । चौथो मानवीय भौतिक विकाससँगसँगै आत्मिक र शान्ति पनि विकास गर्नुपर्छ । त्यसैले अहिले हामीले ह्याप्पिनेस इन्डेक्सको कुरा गरिरहेका छौं । यसकारण उत्पादन, वितरण, दिगोपन र खुसीपन दिनु नै अहिले २१ औं शताब्दीको विकास र समृद्धिको लक्ष्य हो । यो त लक्ष्य भयो । अब त्यो ठाउँमा कसरी पुग्ने ? मेरो विचारमा त्यहाँसम्म पुग्न उत्पादन बढाउने हो भने कमसेकम आगामी २० दशक दोहोर अंकको आर्थिक वृद्धिदर हासिल गर्नुपर्छ । त्यो दोहोरो आर्थिक वृद्धिदर कसरी हासिल गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ ।
यसका लागि औद्योगिक कान्तिका पहिलो, दोस्रो, तेस्रो र चौथो सबै परिवेशलाई सँगै लैजानुपर्ने देखिन्छ । क्षेत्रगत रूपमा कृषि, औद्योगीकरण र सेवा क्षेत्रमा एकैपटक विकास गर्दै लैजानुपर्छ । नेपालले समृद्धि हासिल गर्न कुन क्षेत्रको विकास गरेर लैजानुपर्ने हो, त्यो विषयमा छलफल र अध्ययन गर्नु जरुरी छ । यो सबै हुन पुनः राजनीतिक नेतृत्वकै कुरा आउँछ । त्यसको सबै काम राजनीतिक नेतृत्व गर्नेले नै अघि बढाउने हो । डायनामिक र भिजन दिन सक्ने नेतृत्व भएन भने विकास सम्भव छैन । र, त्यो उत्पादन गर्ने प्रणाली र संस्था भएन भने विकास सम्भव छैन ।

एनआरएनको ज्ञान र सीपलाई मुलुकको समृद्धिमा प्रयोग गरौं
डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघ
साढे एक दशक पहिलेसम्म विदेशमा बस्ने हामी नेपाली नेपालका लागि केही गर्नुपर्छ भनेर व्यक्तिगत रूपमा अलग अलग बसी चिन्तन–मनन गथ्र्याैं । तर, त्यस्ता कुनै पनि प्रयत्न गैरआवासीय नेपालीलाई जोड्ने कडी हुन सकेनन् । त्यसैले एउटा सामूहिक या संस्थागत अभियानको आवश्यकत्ता खड्किरह्यो । विदेशमा बसेर हामी जे जस्तो पौरख गरिरहेका छौं या दुःख पाइरहेका छौं । अब पनि देशलाई अगाडि बढाइएन या समृद्ध बनाइएन भने हामी मात्र होइन, हाम्रा सन्तान–दरसन्तानले सन्ततिले सधैंभरि दुःख पाइरहने भए । त्यही भावनालाई कसरी सही र मूर्त रूप दिने भनेर एकखाले छटपटी भइरह्यो । त्यसैले हामीले एउटा संस्था या एउटा अभियान जरूरी भन्ने महसुस गरेर सन् २००३ को अक्टोबरमा नेपालमा गैरआवासीय नेपालीहरूको पहिलो सम्मेलन गर्येउ ।
एनआरएनएमा लामो समयसम्म लगानी मात्रै बहसको विषय बन्यो । तर, नेपालको पछौटेपनमा पैसाको मात्र अभाव हो जस्तो मलाई लाग्दैन । हामीले आर्जन गरेका अथाह ज्ञान र सीपलाई अब मुलुकको समृद्धिका लागि प्रयोग गर्नु जरुरी छ । त्यसैले ज्ञान, सीप तथा प्रविधिबारे बहस सुरु गरौं भनेर यसपालि नयाँ अवधारणा अघि सारेका छौं, विज्ञ सम्मेलन । अहिले संसारमा दुईवटा कुराको अति नै महत्व छ, एउटा पैसा र अर्को इनोभेटिभ आइडिया । गैरआवासीय नेपालीहरू अहिले संसारका ठूल्ठूला इन्स्टिच्युट, मल्टिनेसनल कम्पनी र विश्वविद्यालयमा आबद्ध छन् । तिनीहरू विज्ञान र कृषिमा निकै अगाडि बढिसकेका छन् । तिनले नयाँ इनोभेसनलाई व्यावहारिक रूपमा कसरी ल्याउन सकिन्छ भनेर मुलुकलाई प्रशस्त योगदान गर्न सक्छन् ।
तिनको ज्ञान, सीप, अनुभवको लगानीलाई पैसासँग मात्र दाँजेर हेर्न मिल्दैन । त्यो ज्ञान, सीप र अनुभवको आधारमा हामीले केही कुरा दिन सक्यौं भने नेपाललाई धेरै ठूलो फाइदा हुन सक्छ । र, नेपालमा यसको ठूलो भविष्य छ भनेर नेपाली मित्र, गैरआवासीय मित्र र विदेशी मित्रहरू लगानी गर्न अगाडि बढ्नेछन् । विज्ञ सम्मेलनको महान् उद्देश्य यही हो ।
विभिन्न देशमा काम गरिरहेका प्राध्यापक, अनुसन्धाताका साथै विभिन्न क्षेत्रमा रहेका ठूला विज्ञका लागि एउटा ‘प्लेटफर्म’ हुनेछ, विज्ञ सम्मेलन । नेपालमा कुन कुरा छिटो सिक्न सकिन्छ ? कुन कुरा छिटो उत्पादन गर्न सकिन्छ र नेपालको माटो, हावापानी, यहाँको संस्कृति, आवश्यकता र बजार सुहाउँदो छ ? सम्मेलनमा हामीले विदेशमा पढेका, सिकेका, कमाएका र व्यावहारिक अनुभवका आधारमा विज्ञहरूबीच छलफल चलाउने जमर्को गरेका हौं ।
पक्कै पनि वृहत् छलफलपश्चात् नयाँ कुरा, नयाँ आविष्कार र नयाँ क्षेत्रका कुरा पाइनेछ । विस्तृत अध्ययनका रूपमा आउने निश्चित कार्ययोजनालाई हामी नेपाल सरकार, नेपालमा भएका विभिन्न संघसंस्था र नेपाली लगानीकर्तालाई दिने छौं । यो अभियानमा गैरआवासीय नेपाली मित्रहरूलाई पनि आह्वान गर्नेर्छौं । त्यसले आर्थिक रूपमा दीर्घकालीन सोच पैदा गरी अगाडि बढाउन सघाउ पुग्नेछ साथै नेपालको समृद्धिमा ठूलो भूमिका खेल्नेछ ।

नेपालले कोरिया तथा कम्बोडियाबाट सिक्न सक्छ
बिन्दुनाथ लोहनी
पूर्वउपाध्यक्ष, एसियाली विकास बैंक (एडीबी)
आर्थिक वृद्धिदरको हिसाबले एसियामा नेपाल कमजोर रहेको छ । नेपालको पछिल्ला वर्षहरूको औसत आर्थिक वृद्धिदर ४.४ प्रतिशतको हाराहारी रहेको छ । आर्थिक वृद्धिदर बढाउने एउटा चुनौती हो भने त्यसलाई कायम राख्नु अर्को चुनौती हो । जस्तै, तत्कालीन अवस्थामा समृद्ध रहेको फिलिपिन्सपछि कुशासनका कारण गरिब भयो र अहिले फेरि विकास गर्दै छ । नेपालले कोरिया तथा कम्बोडियाबाट पनि सिक्न सक्छ । त्यसैले आर्थिक नीतिको पुनरावलोकन गरी समृद्धिको पथमा अघि बढ्नका लागि सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालको औद्योगिक विकासले गति लिन सकेको छैन । लगानी भिœयाउनका लागि आर्थिक नीतिको उदारीकरणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । विकासका लागि अनुसन्धान र यसको आधारमा मोडल विकास गर्नुपर्ने पनि हुन्छ । यसको लागि गुणस्तरीय शिक्षा र क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, सरकारी नीति निर्माणको प्रभावकारिता, उत्पादनमूलक क्षेत्रको पहिचान र विकास नेपालका लागि महत्वपूर्ण हुन्छ । साथै, नेपालले आफ्नो तुलनात्मक लाभ तथा विशेष लाभका क्षेत्र पहिचान गरी प्राथमिकता तोकेर अगाडि बढ्नु आवश्यक छ । नेपालजस्ता अल्पविकसित राष्ट्रलाई सबै क्षेत्रमा विकास चाहिएको हुन्छ, तर प्राथमिकता तोकेर अगाडि नबढ्दा देश फेरि अलमलिइरहने हुन्छ । त्यसैले नेपालले हालको अतिकम आर्थिक वृद्धिदर भएको मुलुकको स्थानबाट माथि उक्लने हो भने तुरुन्त प्राथमिकता तोकेर अगाडि बढ्नु अत्यावश्यक छ ।
नेपालजस्ता अल्पविकसित देशले आफैले सबै विकास तथा प्रविधिको आविष्कार गर्न नसक्ने हुनाले विभिन्न देशले आफ्नै प्रकारले विकास गरेको हुनाले नेपालले पहिले अन्य विकसित मुलुकका विकास वा प्रविधि सिक्ने, त्यसलाई नेपालीकरण गर्नुका साथै प्रयोगात्मक परीक्षण गर्न आवश्यक छ ।

८ देखि १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्छ
स्वर्णिम वाग्ले
पूर्वउपध्यक्ष
राष्ट्रिय योजना आयोजना
नेपालको आर्थिक विकास हेर्दा मैले पाँचवटा विषयमा टुत्र्mयाएर हेर्ने गरेको छु । हामी साधन र साध्यको कुरा गर्ने गर्छाैं । अहिले नेपाली समाज र अर्थतन्त्रमा भइरहेका ठूला टे«नहरू के–के हुन् । आर्थिक समृद्धि हासिल गर्ने चलायमान वस्तु के–के हुन्, त्यो पनि बुझ्न जरुरी छ । साधन, गन्तव्य र खुड्किला के हुन्, त्यो बुझ्न जरुरी देखिन्छ । यस्ता विषय विकास र समृद्धिको कुरा गर्दा धेरै उठाएको पाइँदैन । विकासको बाटोमा अघि बढ्दा खतराहरू के हुन् भन्ने बारेमा समेत सचेत हुन जरुरी छ । विकासक्रममा देखिने खतरा र ती खतरालाई घटाउन सक्ने विधिहरूका बारेमा समेत समयमै अध्ययन गर्नुपर्छ ।
विकासको कुरा गर्दा उत्पत्ति, सञ्चालन र प्राप्तिको पनि अध्ययन गर्नु आवश्यक छ जस्तो लाग्छ । अहिले समृद्धि भन्ने शब्द सबैले प्रयोग गर्न थालेका छन् । समृद्धि भन्नाले जीडीपी, परक्यापिटा इनकम मात्र होइन भन्ने कुरा मात्र आएका छन । विकासका सूचकहरू २ सयवटाभन्दा बढी भए पनि सबैभन्दा पहिला जीडीपीको कुरा आउने गरेको छ । जीडीपी भन्ने शब्दको धेरै प्रयोग भएपछि विश्वमा मानव विकास सूचकांक (एचडीआई) पनि आएको छ । जीडीपीचाहिँ समृद्धिका लागि आवश्यक छ तर पर्याप्त छैन भन्ने धारणा पनि रहँदै आएको छ । विकास र समृद्धिको कुरा मानव विकास सूचकांकका ७÷८ वटा बाहेकका मुख्य सिद्धान्त जीडीपीमा रहेको पाइन्छ ।
हाल नेपालको ३० बिलियन डलरको इकोनोमी रहेको छ । यसलाई १२ वर्षमा ३० बिलियनलाई १ सय बिलियन पुुराउन ८ देखि १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नुपर्छ । हाम्रो जनसंख्या र अहिलेको डलरको मूल्यअनुसार १ सय बिलियनसम्मको अर्थतन्त्र पुराउन सकियो भने प्रतिव्यक्ति आर्य ३ हजार ५ सय पुराउन सकिन्छ । यो भनेको आजको श्रीलंका जस्तै मध्यम आय भएको मुलुक जस्तो हुन सक्छ । यो भनेको अपर मिडिल इनकम र लोअर मिडिल इनकमको थ्रेसहोल्डमा पुग्छौं । हामीले विगत २५ देखि २८ वर्षको बीचमा खासै आर्थिक वृद्धि गर्न सकिएको छैन । यस अवधिमा एकपटक मात्र ७ प्रतिशत बढी वृद्धिदर देखिएको छ । यसबीचमा ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गर्न सकिएको छैन । औसत हाम्रो आर्थिक वृद्धिदर २ देखि ५ प्रतिशत मात्र छ, जुन देशको नक्कल गरेर आर्थिक वृद्धि गर्न खोजिएको छ, त्यो ८/९ प्रतिशत रहेको छ ।
नेपालको आधा जनसंख्या २३/२४ वर्षभन्दा कम रहेको छ । आर्थिक विकासका लागि जनसंख्या पनि मुख्य आधार हो । आर्थिक विकासका लागि यो जनसंख्याको उमेर समूह उपयुक्त छैन भनिन्छ । यो सँगसँगै आर्थिक विकासका लागि आवश्यक पर्ने ठूलो जनसंख्या देशबाहिर रहेको छ । यसले नेपालको पूर्वाधार क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव रहेको देखाउँछ ।