कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५
776

विनोद मल्ल
नेपाल प्रतिनिधि, मेस्से फ्य्राङ्कफर्ट

नेपालको वैदेशिक व्यापार निराशाजनक अवस्थामा छ । नेपालमा उत्पादनको अवस्था नै कमजोर छ भने उत्पादित वस्तुले बजार पाउन सकेको पनि छैन । नेपालमा उत्पादन हुने निर्यातजन्य वस्तु एकदमै सीमित छन् । कृषिजन्य वस्तुमा क्वारेन्टाइनलगायतका अनेकौं समस्या छन् भने गलैंचा, पस्मिना, मूर्तिकला, हस्तकला, धातुजन्य सामग्री र तयारी पोसाकमा सीमित रहेको नेपाली उत्पादनलाई बजारीकरण गर्नेमा पनि नेपाली उत्पादक तथा बिक्रेता चुकेका छन् । नेपालका मौलिक उत्पादनलाई उपभोक्तासम्म जोड्ने प्रभावकारी प्लेटफर्म सीमित छन् र त्यसैमध्ये अग्रणी स्थानमा आउँछ— मेस्से फ्य्राङ्कफर्ट । जर्मनीबाट सुरु भएको मेस्सेको यात्रा यतिबेला संसारभर फैलिएको छ र नेपालबाट यसको नेतृत्व गरिरहेका छन् युवा उद्यमी विनोद मल्लले । भ्यालु एडेड नेपाली उत्पादनको अन्तर्राष्ट्रियकरणका लागि सहजीकरण गरिरहेका मल्ल अन्तर्राष्ट्रिय बजारमा अर्डर फेयरभन्दा सेल्स फेयरमा जाने नेपाली व्यवसायीका कारण नेपाली उत्पादनले मूल्य पाउन नसकेको अनुभव सुनाउँछन् । मल्लसँग नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका चुनौती तथा आगामी दिनका सम्भावनाका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

नेपालमा मेस्से फ्य्राङ्कफर्ट कार्यालय स्थापना भएपछि नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा लैजान के–कस्तो सहज भएको छ ?
मेस्से फ्य्राङ्कफर्ट संसारभरका वस्तुलाई प्रदर्शन गर्ने एउटा उचित प्लेटफर्म हो । नेपालमा मेस्से फ्य्राङ्कफर्टमा लैजान सकिने धेरै उत्पादन छन्, जस्तै— गलैंचा, पस्मिना, ह्यान्डिक्राफ्ट, अल्लो, फेल्ट आदि । अन्तर्राष्ट्रिय बजारमा यी सामानलाई प्रदर्शन गर्ने उचित प्लेटफर्म भनेको मेस्से फ्य्राङ्कफर्ट नै हो । जर्मनी भाषामा मेस्से भनेको मेला । फ्य्राङ्कफर्टमा हुने मेला भएकाले यसलाई फ्य्राङ्कफर्ट भनिएको हो । विगत ३८ वर्षदेखि नेपालीहरू उद्योगी व्यवसासीहरू मेस्से फ्य्राङ्कफर्टमा भाग लिँदै आउनुभएको छ । केही लाभ भएर नै व्यवसायी साथीहरू मेलामा जानुभएको छ, त्यत्तिकै त खर्च अवश्य पनि गर्नुभएको छैन । यो प्लेटफर्म भनेकै नेपाली वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहजीकरण गर्ने हो । जर्मनीमा मेला भयो भन्दैमा त्यहाँका मात्रै खरिदकर्ता हुन्छन् भन्ने होइन । त्यहाँ १ सय ७१ देशबाट एकै ठाउँमा जम्काभेट हुने ठाउँ हो । म मेरो सामान बेच्नका लागि १ सय ७१ देश जान त सक्दिनँ, यदि गएमा पनि बीसौँ वर्ष लाग्छ । यसले गर्दा नेपाली सामानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने, देशको व्यापार बढाउने, बिक्रेता र क्रेताबीचको सम्बन्ध बढाउने ठाउँ नै मेस्से फ्य्राङ्कफर्ट हो । मेस्से फ्य्राङ्कफर्ट ८ सय वर्षको इतिहास भएको संस्था हो । यो जर्मनीको सरकारी निकायबाट सञ्चालिन संस्था हो । मुख्य कार्यालय फ्य्राङ्कफर्टमा छ भने ५५ देशमा कार्यालय छन् ।

नेपालको व्यापारघाटा दिन–प्रतिदिन बढिरहेको अवस्था छ । निर्यात बढाउनु नै अहिलेको ठूलो चुनौती भएको छ, अन्तर्राष्ट्रिय बजारमा कत्तिको रिलायवल छन् नेपाली उत्पादन ?
बढ्दो व्यापारघाटा देशको ठूलो चुनौती हो । तर, व्यापारघाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जति ध्यान जानुपर्ने हो तर सो हुन सकेको छैन । हामीले नुनदेखि सुनसम्म आयात गरेका छौँ । हाम्रो व्यापार आयातमुखी भयो । अत्यावश्यक कुरा आयात नगरेर पनि हुँदैन, जस्तै— पेट्रोलियम पदार्थ, सवारी साधनजस्ता सामान । तर हामीसँग भएका सामान पनि त हामीले अन्तर्राष्ट्रिय बजारमा बेच्न पहल गर्नुपर्छ । हामीले आम्दानी गर्न सक्ने आधार छन् । निर्यात नै ठूलो कुरा हो जसले व्यापारघाटा कम गर्न सक्छ । मेस्से फ्य्राङ्कफर्टजस्तो ठूलो–ठूलो मेलामा गएर नेपाली उत्पादनको प्रदर्शनी गर्ने गरेर व्यापार गर्न सकिन्छ । नेपाली समान चिनाउनु र देखाउनुपर्छ । नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा मन पराउँछन् । कुनै दिन नेपालको गलैंचा सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पथ्र्याे, तर अहिले यो अवस्थामा आउनुका पछाडि गुणस्तर नै हो । त्यसैगरी तयारी पोसाक पनि कोटामा गयो । किन हामी कोटामा मात्रै सीमित हुने भन्ने मेरो प्रश्न हो । बंगलादेश कहाँबाट कहाँ पुगिसक्यो । बंगलादेश विकास भएको तयारी पोसाक निर्यातले नै हो । अहिले अन्तर्राष्ट्रिय बजारमा सबैजसो तयारी पोसाक ‘मेड इन बंगलादेश’ मात्रै देख्न सकिन्छ । नेपाली उत्पादन पनि कुनै दिन त्यस्तै थियो । १२-१५ वर्षअगाडि अमेरिकाबाट नेपाल आउने उपहारमा नेपाली सामान नै पाइथ्योे । त्यतिबेला मनैदेखि खुसी लाग्थ्यो । तर, आज त्यो अवस्था छैन । बंगादेशको सरकार त्यहाँको व्यवसाय प्रवद्र्धन गर्न निकै राम्रो सहयोग गरेको छ । ‘एक्जिविसन’ गर्ने कम्पनीलाई सब्सिडाइज गर्ने, व्यापार मेलामा जानेलाई पनि राम्रो सहयोग गरेको छ । मैले पाँच वर्षअगाडि जर्मनीको एम्बिआन्टे मेलामा बंगलादेशको एक जना गलैंचा व्यवसायीलाई भेटेको थिएँ । मेलाको आउने, जाने, बस्ने लगायतका कुरा के कसरी व्यवस्थापना भएको छ भन्ने जिज्ञासामा ती व्यवसायीले होटल, हवाई भाडा सरकारी भएको बताएका थिए । त्यो सुन्दा पनि निकै रमाइलो र उत्साहित भएको थिएँ । यदि सरकारले मलाई ८–१० हजार डलर खर्च गरेको छ भने भोलि मैले गर्ने १ लाख डलरको व्यवसायको रकम त देशकै बैंकमा जान्छ । व्यवसायीले त प्रत्यक्ष लाभ पाउँछ नै, त्योभन्दा बढी लाभ त देशले पाउँछ । हामीसँग सामान छ भन्दैमा यहाँ कोही पनि किन्न आउँदैन । त्यसका लागि बजारमा जानै पर्छ । नयाँ जेनेरेसनले इन्टरनेटको जमानमा व्यापार मेलामा जान पर्दैन भन्छन् । यो सँगसँगै मान्छेले ‘फेस टु फेस’ वास्तविक कुरा बुझेर मात्र सामान अर्डर गर्न चाहन्छ । विश्वासको वातावरण भनेको फेस टु फेस हेरेर मात्रै गर्न मिल्छ । अनलाइनमा हेरेको भरमा हजारांै डलरको सामान कसरी अर्डर गर्न सकिन्छ ? कम्पनी कस्तो भन्न जान्न खोज्नुका साथै प्रडक्टको फील गर्न चाहन्छ । यो सबै कुरा त इन्टरनेटले दिँदैन । इन्टरनेटले दिने भनेको कम्युनिकेसन मात्रै हो । अनलाइनमा अर्डर गर्दा भने जस्तो सामान पाइन्छ नै भन्ने ग्यारेन्टी पनि हुँदैन । व्यापार मेलामा जाँदा उत्पादक, डिजाइनर, प्रडक्ट फिल गर्न पाउने भयो । एउटा प्रडक्टमा केही थप परिमार्जनसहितको उत्पादन पाउन परेमा डिजाइनरसमेत त्यहिं हुनाले आफ्नो इच्छाअनुसारको सामान पाउन सकिन्छ । नेपाली वस्तु कसैलाई मन पर्छ, तर तिनीहरू नेपालसम्म आएर आफ्नो व्यापार गर्न खोज्दैन । मेलामा एकैठाउँ भेट्दा प्रतिस्पर्धाले गुणस्तरीय सामान पाउन सकिन्छ ।

कुनै समय नेपाली पस्मिना र गलैंचाले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो पहिचान बनाएका थिए, तर अहिले बजार निकै खस्किएको छ । अन्तर्राष्ट्रिय मेलाको अनुभव कस्तो छ, अबका दिनमा नेपाली पस्मिना र गलैंचा पुरानै लयमा फर्काउन सकिएला ?
पस्मिनातर्फ नेपाली व्यवसायीहरू अहिले सेल्स फेयरमा जाने प्रचलन बढेर आयो । क्यास अन क्यारीको एउटा समस्या के हो भने त्यहाँ स्थानीय क्रेता आउने भयो । यसले प्रडक्टको गुडवील बिगार्छ । एम्बिआन्टेको मेलामा एउटा कम्पनीले स्यान्डल बेच्थ्यो । १० वर्षसम्म त्यो सेन्डलले निकै बजार लिएको थियो, तर अहिले त्यही प्रडक्ट क्यास अन क्यारीमा देखिन थाले । पस्मिनाका सामानहरूको चार्म घटेकै कारण सेल्स फेयरमा जाने अन्तिममा जतिमा पायो त्यति नै सस्तोमा बेचेर हिँड्ने गर्दा नै हो । हस्तकला, पस्मिना सबै महासंघलाई के भन्न चाहन्छु भने हामीले क्यान अन क्यारीमा जाने व्यवसायीलाई निरुत्साहित गर्नुपर्छ । यदि तपाईं दीर्घकालीन रूपमा फाइदा हेर्न चाहनुहुन्छ भने अर्डर फेयरमा जानुपर्छ । ५० डलरको सामान सुरुमा ५० डलरमा बेच्छन् तर अन्तिम दिनमा आएर २० डलरमा बेचेर हिँड्ने गर्छन् । अर्काे वर्ष हुने मेलामा वायरले त वास्तविक मूल्य २० डलर रहेछ भन्छ र अर्काे वर्ष फेरि घटेर १० डलर हुँदै कतिपय त ५ डलरमा पनि बेचेर हिँडेको अवस्था छ । यो परम्परालाई निरुत्साहित गर्नैपर्छ । व्यापार बढाउने हो, देशको व्यापारघाटालाई टेवा पुर्याउने हो भने अवश्य पनि अर्डर फेयरमा जानुपर्छ । अर्डर फेयरमा १-२ दुई पिस बेच्ने होइन । अर्डर फेयरमा जाँदा गुणस्तरीय वायर पाइन्छ भने एकै डिलमा वर्षौंसम्मको कारोवार पनि गर्न सकिन्छ । चेन स्टोरको वायर भेट्न सके त्यसले व्यवसायको स्थिति नै परिवर्तन गराउँछ । १-२ वटा सामान किन्न ग्राहक नभएर १ लाख ५० हजार, ४० हजार पिस अर्डर गर्ने ग्राहकमा जोड दिनुपर्छ । क्यास अन क्यारी भन्दा अर्डर फेयरलाई फोकस गर्न सकिएमा अवश्य पनि केही होला भन्नेमा आशावादी छु ।

अर्डर फेयरमा जाँदा पनि केही शो पिस त लिएर जानुपर्छ । ती सामान पनि मेलाको अन्तिम दिन व्यवसायीहरूले निकै कम मूल्यमा बेचेर हिँड्छन् भनिन्छ नि ?
मेलामा जाँदा एउटा कम्पनीको एक जना वा दुई जनासम्म जान्छन् । दुई जनामा जाँदा सामान्यतया ५० देखि ६० किलो समान लैजान मिल्छ । अर्डर फेयरका लागि काफी हुन्छ । तर, सेल्स फेयर हो भने ५ सय किलो सामान लिएर जानुपर्ने हुन्छ । त्यसका लागि यो हवाई सुविधाले पुग्दैन । यदि मेलामा सही तरिकाले सामान बिक्री हुन सके ५ सय किलो नै बिक्री हुन सक्ला, तर उचित वातावरण नमिल्न पनि सक्छ । त्यस्तो अवस्थामा १० किलो मात्रै बिक्ने अवस्था आउन सक्छ । त्यतिबेला ४ सय ९० किलो समान के गर्ने भन्ने गम्भीर कुरा आउँछ । अर्डर फेयरमा जाँदा स्याम्पल मात्रै लिएर जाने हो । धातुजन्य सामान छ भने त्यसलाई कार्गाे गनुपर्छ भने अन्य सामग्री भए आफैंले ह्यान्डक्यारी, ब्यागेजबाट लैजान पनि सकिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) बाट एक्जिविसनमा जाँदा एउटा पत्र बनाएर गएमा त्यसलाई फिर्ता ल्याउन पनि कुनै समस्या हुँदैन । अर्डर फेयर आफ्ना प्रडक्टहरू देखाउनका लागि एक-एक पिस मात्रै लिएर जाने हो ।

आगामी जनवरी पहिलो साता अमेरिकाको न्युयोर्कमा हुने मेलामा नेपाली व्यवसायीहरू पनि सहभागी हुँदैछन्, तयारी कहाँ पुग्यो ?
हो, आउने जनवरीमा अमेरिकाको न्युयोर्कमा मेला हुँदैछ । यसमा कटन, ऊनी, सिल्कलगायतका तयारी पोसादेखि सबै वस्तुहरू पर्छ । पछिल्लो समय नेपालका ८-१० वटा कम्पनीले जिन्स निर्यात गरिरहनुभएको छ । त्यस्ता कम्पनीका लागि यो मेला उचित प्लेटफर्म हो । निर्यात बढाउन चाहने र व्यापारको दायरा फराकिलो पार्न चाहनेका लागि यो राम्रो अवसर हो । यही मेलामा जान एक जना जिन्स व्यवसायीले रुचि राख्नुभएको छ । उहाँले अमेरिकाको लगायत त्यस क्षेत्रको राम्रो अध्ययन गरेर जान चाहनु भएको छ । हामीले मेलाका सम्बन्धमा जानकारी दिनका लागि एउटा कार्यक्रम पनि गएको हप्ता राखेका थियौँ । त्यसपछि व्यवसायीहरू निकै उत्साहित भएको पाएको छु । अमेरिकाको यो फेयरमा न्यूनतम १० देखि १५ जना व्यवसायी सहभागी हुने हाम्रो अनुमान छ । हामीले यो फेयरमा सहभागी हुने सबै व्यवसायीलाई गुणस्तरीय सामानको स्याम्पल लिएर जान अनुरोध गरेका छौँ । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई अब्बल बनाउनु जरुरी छ । कतिपय फेयरमा डिस्प्ले राम्रोसँग गर्न नसक्दा पनि हामीले अपेक्षाकृत अर्डर लिन सकेनौँ । फेयरमा जाँदा गुणस्तरीय उत्पादनसँगै डिस्प्ले, व्यवहार, प्रस्तुति, भाषालगायतका विविध पक्षमा ध्यान दिनुपर्छ । जहाँ पनि राम्रो डिस्प्ले भएको ठाउँमा ग्राहकको अवश्य आँखा पर्छ । यो फेयरका सम्बन्धमा दसैं अगाडि नै हामी कम्पनीहरूलाई कन्फर्म गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।

तर, व्यवसायीहरूले फेयरमा सहभागी हुन लागत धेरै लाग्यो भन्ने गुनासो छ नि ?
अरू फेयरको तुलनामा मेस्से फ्य्राङ्कफर्ट अलि महँगो नै छ । समग्रमा यो फेयरको लागत ६ हजार डलर हो तर नेपालका लागि २५ प्रतिशत डिस्काउन्ट उपलव्ध छ । यसपटक नेपाली व्यवसायीहरूलाई सहभागी गराउने उद्देश्यले निकै मेहनतपछि मात्रै यो छुट उपलब्ध भएको हो । मेस्से फ्य्राङ्कफर्टले कुनै पनि फेयरमा छुट कुनै पनि देशलाई दिने गरेको छैन । अमेरिकाको लागि यदि खोज्ने हो भने ५ सय डलरको ४–५ दिनको पनि मेला पाइन्छ, तर त्यहाँ कस्ता ग्राहक आउने ? लक्षित उत्पादन के हो ? भन्ने कुरा महत्वपूर्ण हो । मेस्से फ्य्राङ्कफर्टले आफैंमा सहभागी गराउने कम्पनीको प्रोफाइल राम्रोसँग हेरेर गुणस्तरीय भएमात्रै छनोट गर्छ । मेस्से फ्य्राङ्कफर्ट भनेको नै गुणस्तरीय ग्राहक आउने ठाउँ हो । हाम्रो यस फेयरमा ४-५ हजार डलर किन तिर्ने भन्ने कुरा कहाँ, कस्तो ठाउँ आयोजक को, व्यवस्थापन कस्तो हुने, वायर कस्तो आउने भन्ने सम्बन्धमा ब्राण्ड स्थापित भइसकेको छ । बाग्मती पेपर एभरेस्ट फेसन कम्पनीले एम्बिआन्टे फेयरबाट नै निर्यात निकै बढाउनु भएको छ । उहाँहरूले मेस्से फ्य्राङ्कफर्टबाट नै राम्रो वायरहरू पाउनुभएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा धेरै यस्ता फेयरहरू हुन्छन् तर मेस्से फ्य्राङ्कफर्ट कसरी फरक छ ?
म त सबै कुरामा नै फरक छ भन्छु । यसको प्रमुख फरकपना भनेकै गुणस्तरीय ग्राहक हुन् । व्यापार व्यवसाय अन्तर्राष्ट्रिय बजारमा चिनाउने उचित प्लेटफर्म हो । आफूसँग पहिले नै सम्पर्कमा आइसकेका ग्राहकलाई निरन्तरता दिनका लागि पनि मेस्से फ्य्राङ्कफर्ट उचित ठाउँ हो ।

मेस्से फ्य्राङ्कफर्टद्वारा आयोजित कति मेलामा नेपाली व्यवसायीहरू सहभागी भएका छन् ?
मेस्से फ्य्राङ्कफर्टका मेलामध्ये अलि धेरै चर्चामा रहेको आम्बिआन्टे फेयर हो जुन जर्मनीमा हुने गर्छ । आम्बिआन्टेमा जाने कम्पनी सुरुमा ८-१० वटा मात्रै थिए भने अहिले त्यसको संख्या बढेर १७-१८ पुगेको छ । अरु पनि कम्पनी वेटिङमा छन् तर तिनीहरूलाई स्पेसको अभावका कारण सहभागी गराउन सकिएको छैन । जर्मनीको फ्य्राङ्कफर्ट, जापान, भारत, फ्रान्स सहभागिता भइसकेको छ भने अब अमेरिकामा लैजाने तयारी छ । फ्य्राङ्कफर्ट, जापान, फ्रान्समा निरन्तता पाएजस्तै आगामी दिनमा अमेरिकामा पनि निरन्तरता हुनेछ भन्ने अपेक्षा छ ।

तपाईंहरूले देशको व्यापार बढाउने भन्दा पनि व्यवसायीहरूलाई घुम्ने, भिसा लगाइदिने कामको सहयोगी बन्नुभयो भन्ने आरोप छ नि ?
१०-१२ वर्ष अगाडि म एउटा कामले वाणिज्य विभागमा गएको थिएँ । एक जना महिला पनि कम्पनी दर्ताको लाइनमा थिइनँ । के कम्पनी खोल्न लाग्नुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो यसो कम्पनी दर्ता गरु विदेश जान भिसा लगाउन सजिलो हुन्छ घुम्न पाइन्छ । व्यवसाय गरेर आम्दानी गरूँ, रोजगारी सिर्जना गरौँ भन्दा पनि विदेश घुम्न जाऊँ भन्ने प्रवृत्ति हावी नभएको होइनछ । हामीले त्यसरी घुम्न जाने मनसाय भएका कम्पनीलाई रोकेका छौँ । जर्मनी एम्बेसीमा पनि अस्ति मात्रै एउटा मिटिङमा फेयर भनेर जाने उतै बस्ने गरेको विषयलाई गम्भीर रूपमा लिइएको थियो । नेपालबाट तीन किसिमको मान्छे विदेश जान्छन्, पहिलो काम गर्न, दोस्रो विद्यार्थी र तेस्रो व्यापार गर्न । आफ्नो भन्दा फरक व्यवसाय देखाएर पनि विदेश घुम्न जाने गरेको पाइएको छ । यसले गर्दा नै नेपाली बजार घट्दो क्रममा छ । ट्राभल एजेन्सीको मान्छेले फेल्टको फेयरमा गएर के गर्नुहुन्छ ? उहाँको मुख्य उद्देश्य नै घुम्ने हो । हामीले कसैलाई पनि नघुमौँ भन्दिनँ तर मेलाको ईमेज बिगार्ने काम गर्नु भएन मेरो अनुरोध छ । हामी व्यक्ति प्रमोशन गर्न नभई उत्पादन प्रमोसन गर्न लागेका छौं । हामीले व्यवसाय हेरेर, ६ महिनाको बैंक ट्रान्जेक्सन, निर्यातको विवरण हेरेर मात्रै स्वीकार गर्छाैं, तर मापदण्ड पूरा नगर्नेलाई हामी कडाइका साथ रोक्छौं ।

नेपाली सामानलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने, देशको व्यापार बढाउने, बिक्रेता र क्रेताबीचको सम्बन्ध बढाउने ठाउँ नै मेस्से फ्य्राङ्कफर्ट हो ।

हामीले आम्दानी गर्न सक्ने आधार छन् । निर्यात नै ठूलो कुरा हो जसले व्यापारघाटा कम गर्न सक्छ ।

क्यास अन क्यारी भन्दा अर्डर फेयरलाई फोकस गर्न सकिएमा अवश्य पनि केही होला भन्नेमा आशावादी छु ।

आफ्नो भन्दा फरक व्यवसाय देखाएर पनि विदेश घुम्न जाने गरेको पाइएको छ । यसले गर्दा नै नेपाली बजार घट्दो क्रममा छ ।