कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५
428

नेपाली अर्थतन्त्र सिजनल भएकाले पर्यटक आगमनदेखि कृषि उत्पादनसम्म आ–आफ्नै सिजन भएझैं दसैंको सिजनको पनि ठूलो महत्व छ । त्यसैले दसैं आध्यात्मिक मात्र नभई अर्थतन्त्रका लागि पनि महत्वपूर्ण सिजन हो । वर्षैभरी व्यापार हुने कूल परिमाणको झन्डै ४० प्रतिशत यही सिजनमा कारोबार हुने भएकाले व्यापार व्यवसायका लागि यो सिजनलाई आर्थिकरूपमा पनि विश्लेषण गर्ने चलन सुरु भएको छ । यस्तै, आम्दानीका दृष्टिले पनि आम पेशाकर्मीसमेतका लागि यो सिजन अतिरिक्त आम्दानी अर्थात बोनसलगायतका कारणले ‘दसैं’कै रूपमा लिइन्छ भने विदेशबाट रेमिट्यान्स आप्रवाह पनि यसै समयमा बढी हुने भएकाले तथा आर्थिक गतिविधि वृद्धि भएपछि राज्यको ढुकुटीमा सबैभन्दा बढी राजस्व जम्मा हुने भएकाले पनि यस सिजनलाई धार्मिक र साँस्कृतिक रूपमा मात्र नभै समग्र राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि महत्वपूर्ण समयका रूपमा लिने गरिन्छ । आम नेपालीले दसैंमा सबैभन्दा बढी किनमेल गर्छन् । दसैंंमा खर्च गर्नकै लागि भनेर वर्षैभरीको कमाइ जोहो गर्ने नेपालीको संख्या कम छैन भने ऋण गरेरै भए पनि दसैंं मनाउनुपर्छ भन्ने मान्यता पनि नयाँ होइन । नयाँ लुगा लगाउने र मीठो खाने मात्र नभइ घर सजाउने र केही न केही नयाँ खरिद गर्ने प्रचलन भएकाले दसैंंलाई अर्थतन्त्रको उत्सव पनि भनिन्छ । आम सर्वसाधारणले एकैपटक ठूलो परिमाणमा वस्तु तथा सेवा खरिद गर्ने भएकाले व्यापार व्यवसाय पनि गुलजार हुने गरेको पाइन्छ । यस्तै, दसैंंका बेला अन्य पर्वमा भन्दा स्वदेशी वस्तुको पनि बढी नै खपत हुन्छ । आम किसानले पालेका खसीबोकादेखि उत्पादन गरेका खाद्यान्न र तरकारीको बढी प्रयोग हुने भएकाले यो पर्व स्वदेशी उत्पादकहरूका लागि पनि महत्वपूर्ण छ । यस्तै, दसैंं अर्थतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको खर्च मूलतः गाउँकेन्द्रित हुनु नै हो । अर्थतन्त्रको केन्द्रबिन्दु सामान्य अवस्थामा सहर र सहरोन्मुख क्षेत्र भए पनि यो बेला अर्थतन्त्र साँच्चै विकेन्द्रीत हुन्छ । तर, बिलासी गाडी, मोबाइल टिभीजस्ता इलेक्ट्रोनिक्स सामग्री तथा सुनलगायतका वस्तुको बिक्री पनि बढ्ने भएकाले स्वदेशी उत्पादनको बिक्री बढे पनि आयात झन् बढी हुने गरेको देखिएको छ । दसैंंमा अत्यधिक खपत हुने बस्तु स्वदेशी उत्पादनसमेत न्यून रहेकाले आयातमै भर पर्नुपर्ने अवस्था छ । नेपाली अर्थतन्त्रलाई नजिकबाट नियालेका अर्थशास्त्रीहरूका अनुसार दसैंंको दुई साताको अवधिमै नेपालीहरूले कुल उपभोगको करिब २० प्रतिशत उपभोगमा खर्च गर्छन् भने दसैंं र तिहारको खर्च जोड्ने हो भने करिब २५ प्रतिशत हुन आउँछ । ३० खर्ब रूपैयाँ बराबर रहेको नेपाली अर्थतन्त्रका लागि दसैंं र यसलगत्तै आउने दुई महत्वपूर्ण पर्वहरू तिहार एवं छठ निकै नै महत्वपूर्ण पनि छन् । दसैंंको १५ दिनमा हुने खर्च सामान्य अवस्थामा झन्डै तीन महिना हुने खर्चबराबर हुने अनुमान गरिन्छ । दसैंंमा अर्कोतर्फ मनोरन्जन र यात्रामा पनि ठूलो खर्च हुने गरेको छ । यसैको सेरोफेरोमा अर्थविद्हरूसँग कारोबारले गरेको दसैं अर्थतन्त्रको वहसको सार :

समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउँछ

डा. गोविन्द नेपाल
अर्थविद्
दसैं नेपालीको महान चाड हो । दसैंको समयमा नेपालमा सबैभन्दा बढी कारोबार हुने गर्दछ । त्यसैले पनि यो बेला मुलुकको समग्र अर्थतन्त्र चलायमान हुन्छ । किनभने दसैंको समयमा मान्यजन कहाँ जाने, आशिर्वाद लिने, आफन्त परिवारसँग भेटघाट गर्ने गरिन्छ । जसको प्रभाव उत्पादनमा मात्र नभएर विशेषगरी सेवा प्रदायक व्यवसायमा बढी लाभ पुग्ने देखिन्छ । जस्तो कि एउटा तथ्यांकलाई आधार मान्ने हो भने दसैंको समयमा करिब १८ लाख मानिसले काठमाडौं छोडेको आँकडा निकालिएको छ । यसले यातायात व्यवसायलाई बढी चलायमान बनाएको छ । त्यस्तै राजमार्गका होटलमा बढी चहल पहल हुने देखिन्छ भने मीठो खाने र राम्रो लगाउने पर्वका रूपमा लिइने भएकाले पनि दसैंको अर्थतन्त्रले मुलुुकको समग्र अर्थतन्त्रमा प्रभाव पारेको छ ।
अर्को भनेको नेपालको ४० लाख जनसंख्या वैदेशिक रोजगारी छ । विदेशमा रहेका नेपालीले पनि दसैंलाई लक्षित गरेर रेमिट्यान्स पठाउने गर्दछन् । तीनले पठाएको पैसा उपभोगमा खर्च हुन्छ । दसैंको बेला आयात अत्यधिक हुने र खपत पनि अत्यधिक हुने भएकाले अर्थतन्त्र चलायमान हुने गर्दछ । अनेक कामको सिलसिलामा नेपालीहरूले दसैं बिदाको सदुपयोग गरेर घुमफिर गर्ने प्रचलन पनि बढेको छ । त्यसले पनि अर्थतन्त्रलाई थप चलायमान बनाउन मद्दत पुग्छ ।
दसैं भनेको नेपालीका लागि सांस्कृतिक पर्व पनि हो । खानपानका लागि मात्र नभएर यो बेला अधिकांशले नयाँ लुगासमेत लगाउने गर्दछन् । यो पहिलेदेखि नै चलिआएको संस्कार पनि हो । यद्यपी दसैंको समयमा राम्रो लगाउने भन्ने निहुँमा देखासिखी गर्ने, भड्किलो लुगा लगाउने र ऋण काडेरै भए पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । मासु र मदिराको खपत पनि अत्यधिक हुने भएकाले यसले दुर्घटना बढ्ने, मानिसलाई अनावश्यक रोगले आक्रमण गर्ने गरेको देखिएको छ । उत्पादन नभई आयतमा आधारित अर्थतन्त्र भएकाले सम्पूर्ण नेपालीले महान चाड दसैंलाई उत्पादन वृद्धि हुने गरी खपत बढाउन तिर ध्यान दिनुपर्छ । किनकी यो समयमा आयात अत्यधिक हुने, खपत पनि अत्याधिक हुने र उपभोग पनि अत्याधिक हुने भएकाले दसैंले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरेको देखिन्छ ।

दसैंको अर्थतन्त्र आयातमा निर्भर

डा. चन्द्रमणी अधिकारी
अर्थविद्
दसैंको अर्थतन्त्र तरल अर्थतन्त्र हो । दसैंका बेला आर्थिक क्रियाकलाप अत्यधिक हुने गर्दछन् । उत्पादन, खपत, उपभोग सबै यो बेला मै अत्यधिक हुने गरेको छ । विशेषगरी मासु र मदिराजन्य पदार्थको पनि आयात अत्यधिक हुने गरेको पाइन्छ । एक तथ्यांकअनुसार औषतमा मुलुकको समग्र अर्थतन्त्रको करिब २६ प्रतिशत उपभोग दसैंको समयमा हुने गरेको पाइन्छ । यही समगमा विप्रेषण आय बढी हुन्छ । ब्यापारघाटा अन्य समयमा भन्दा दसैं तिहारको समयमा बढी हुने गरेको छ । मीठो खाने राम्रो लगाउने पर्वका रूपमा दसैंलाई हेरिन्छ । सोही आधारमा मानिसहरू सकीनसकी ऋण गरेर भए पनि खर्च गर्न हिच्किचाउँदैनन् । यद्यपी हाम्रो अर्थतन्त्र आयातमा आधारित छ ।
नेपालमा घरेलु उत्पादन कम हुने भएकाले हामीमा विदेशी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । त्यसको सोझो असर ब्यापारघाटामा देखिन्छ । अर्को भनेको वैदेशिक रोजगारीमा गएका युवाले दसैंका बेलामा बढी पैसा पठाउने गर्दछन् । त्यो पैसा उत्पादनमा भन्दा उपभोगमै बढी खर्च हुने गर्दछ । त्यसले वैदेशिक अर्थतन्त्रमा पनि प्रभाव पार्ने भयो । दसैंका बेला रमाइलो गर्ने नाउँमा अत्याधिक मदिरा सेवन गर्ने प्रचलन छ । त्यसले दुर्घटना बढी हुने भएकाले आर्थिक हिसाबले झन् बोझ बढाउने समय पनि दसैं हो । अर्कोतिर दसैंको समयमा गरिने खर्च बैंकिङ च्यानलबाट आउँदैन । यसले बैंकिङ क्षेत्रमा तरलता अभाव हुने गर्दछ । उदाहरणकै लागि दसैंका लागि राष्ट्र बैंकले ३० अर्बका नयाँ नोट ल्याएको थियो । ती नोट बैंकिङ च्यानलबाट आउन कठिन छ । नेपालमा उत्पादन छैन, दसैंको बेला आर्थिक भन्दा पनि सामाजिक र सांस्कृतिक लाभ बढी हुने गर्दछ । सामाजिक सद्भावमा राम्रो प्रभाव पारे पनि दसैंको अर्थतन्त्रले नेपालीको आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने बाध्यताका कारण कतिपय अवस्थामा बिचलन ल्याउने पनि देखिन्छ । यद्यपी समग्र अर्थतन्त्रलाई भने चलायमान नै बनाउँछ ।

दसैंमा मात्रै एक तिहाई अर्थतन्त्र

डा. दिपेन्द्रबहादुर क्षेत्री
अर्थविद्
दसैं अर्थतन्त्रले समग्र अर्थतन्त्रलाई नै क्षणिक प्रभाव पार्ने देखिन्छ । यद्यपि घरको मुलीले त्यसको व्यवस्थापन गर्छन भन्ने कुरा हो । दसैंलाई परापूर्व समयदेखि नै राम्रो लगाउने मीठो खाने, मान्यजनसँग आशिर्वाद लिने, सानालाई आशिर्वाद दिने पर्वका रूपमा लिने गरिन्छ । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै हिसाबले दसैंलाई हामीले महत्वपूर्ण पर्वका रूपमा लिने भएकाले पनि नेपालीहरूको एउटा उत्साह उमंग उल्लास बोक्ने समय पनि हो यो ।
तथापि हामीकहाँ दसैंलाई अलि भड्किलो बनाउने, अरुको नक्कल गर्ने र ऋण गरेरै भए पनि छिमेकीले भन्दा कम खर्च नगर्ने परिपाटीको विकास भएको छ । यसले तत्कालिन अवस्थामा राम्रो देखिए पनि दीर्घकालीन अवस्थामा परिवारलाई बोझ बोकाएर जान्छ । दसैंका कारणले कतिको घरबास नै उडिसकेको हुन्छ त्यसतर्फ हामी कुनै परवाह नै गर्दैैनौं । राष्ट्रकोे हिसावले पनि हामीलाई दसैंले कहीँ भारी बोकाएर जाने गर्दछ जस्तो कि हामीले आफैंले उत्पादन गरेर धान्न सक्ने अवस्था न्यून छ । अत्यधिक खर्च हुने भएकाले बचत गर्ने क्षमतामा ह्रास आउने नै भयो । कूल अर्थतन्त्रको एक तिहाई अर्थतन्त्रको हिस्सालाई आधार मान्दा करिब १० खर्बको अर्थतन्त्र दसैंले धानेको छ ।
दसैंमा दक्षिणाका रूपमा प्रयोग हुने नयाँ नोट मात्रै राष्ट्र बैंकले अर्बौंका साटेको छ । त्यसले करोडौंको भार राज्यलाई थोपरेको छ अर्को भनेको लत्ता कपडा गहना, मासु तथा खाद्यान्नमा अत्यधिक खर्च हुने गरेको पाइन्छ । जसले अर्थतन्त्रलाई चलायमान बनाए पनि त्यसबाट पर्ने आर्थिक भारले भने केही असर पर्ने देखिन्छ । विशेषगरी न्यून आम्दानी भएकालाई बिहान दिन भरी काम गरेर बिहान बेलुका छाक टार्ने नेपालीका लागि दसैं दशा नै हो । पहिले पहिले एक दिन मनाउने दसैं पछिल्ला दिनमा ५ दिनसम्म मनाउने प्रचलन बढेको छ । त्यसले आर्थिक भार बढ्ने नै भयो । त्यसैले म भन्ने गर्छु कि आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाई ।

बजारीकरणका लागि उपयुक्त समय हो

डा. पुण्यप्रसाद रेग्मी
अर्थविद्
दसैं हिन्दुहरूको महान चाड भएकाले यो समयमा मीठो खाने र राम्र्रो लगाउने गरिन्छ । दसैंको बेला मासुको खपत अत्याधिक हुने गर्दछ । यस्तै लत्ता कपडाका साथै विभिन्न साजसज्जाका सामान दसैंको समयमा बढी किन्ने भएकाले पनि यो समयमा अर्थतन्त्र चलायामान हुने गर्दछ । यस्तै दसैंको समयमा यातायात, पर्यटनलगायतका धार्मिक स्थलमा बढी चाप पर्ने देखिन्छ । जसको प्रभाव अर्थतन्त्रमै पुगेर जोडिन्छ । दसैंलाई कृषि, उद्योग, उत्पादन बजार उपभोग सबै हिसाबले उपयुक्त समय मानिन्छ । दसैंको समयमा उपभोग्य सामानको अत्यधिक खपत हुने भएकाले आयात उच्च हुन्छ भने भएको उत्पादनले पनि उपयुक्त बजार पाउँछन् । जसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ । अर्कोतिर अरु समयमा भन्दा दसैंको समयमा रेमिट्यान्स बढी आउँछ । दसैंलाई लक्षित गरेर आफ्ना श्रमिकलाई दिने अतिरिक्त सुविधाले पनि अर्थतन्त्रलाई बढावा दिने गरेको पाइन्छ ।
यस्तै दसैंका लागि भनेर टाढा टाढाबाट आफ्ना आफन्तहरू मान्यजनकहाँ आउने गर्दछन् । उनीहरूले ल्याउने सरसामानको खरिदमा पनि अर्थतन्त्र जोडिन्छ । दसैंको समयमा उत्पादनमा पनि केही वृद्धि हुने गर्दछ । किनकी दसैंका लागि भनेर घरेलु उत्पादन बढाउने बर्षौंदेखि वस्तुहरू पालेर राख्ने, आयआम्दानी बढाउने हुनाले पनि दसैंको समयमा आर्थिक क्रियाकलाप बढी हुने गर्दछन् । दसैं मनाउनका लागि धन नहुनेहरूले ऋण गरेरै भए पनि उल्लासमय बनाउने प्रचलन बढी छ । दसैंलाई सत्यको विजय हुने पर्वका रूपमा लिने भएकाले यो समयमा आर्थिक क्रियाकलाप अध्यधिक हुने गर्दछन् । औद्योगिक प्रदर्शनी, हाटबजार जस्तो अवसरका रूपमा दसैंलाई लिइँदैन । तर, वर्षमा एक पटक आउने पर्व भएकाले दसैंले अरु चाडवाडको तुलनामा हरेक नेपालीको मुहारमा खुसी र उमंग ल्याउने गर्दछ । त्यसलै पनि दसैंलाई पर्वका रूपमा नहेरी सामाजिक सद्भाव, मेलमिलाप, आफ्ना प्रियजनसँग गरिने भेटघाटको महत्वपूर्ण अवसरका रूपमा पनि लिने गरिन्छ ।