कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५
520

वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । विशेष गरी यातायात (सवारी उत्सर्जन), खुला रूपमा बालिने फोहोर र इँटाभट्टालगायतका उद्योग आदि वायुको गुणस्तर घट्नुका मुख्य कारक हुन् । धूवाँ र धूलोका रूपमा हावामा लामो समयसम्म तैरिन सक्ने सूक्ष्म कणहरू काठमाडौँमा मापन गरिएका मुख्य प्रदूषकमध्ये एक हो । विभिन्न अनुसन्धानले काठमाडौं एसिया वा संसारमा पहिलो र तेस्रो सबैभन्दा बढी प्रदूषित सहरका रूपमा उद्धृत गर्ने गरेका छन् । काठमाडौं उपत्यकाको प्रदूषणबारे थुप्रै नीति निर्माण तथा बहसहरू भए पनि वायु गुणस्तरमा सुधार आउन सकेको छैन । नेपालमा तीन तहको संघीय संरचना लागू भइरहँदा नवनिर्वाचित अधिकारी तथा नवगठित निकायहरू वायु गुणस्तर सुधार गर्नका लागि विभिन्न रणनीति निर्माण र लागू गर्ने चरणमा रहेका छन् । केही स्थानीय निकायहरूले आफ्नो एकवर्षीय कार्ययोजना र वायु गुणस्तर प्रवद्र्धनका लागि नीति तथा कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् । वायु गुणस्तर व्यवस्थापनका लागि केही राम्रा पहल भए तापनि सहरी वायुको गुणस्तरमा सुधार आउन सकेको छैन । वायु गुणस्तर सुधार्नका लागि काठमाडौं उपत्यकाका नगरपालिकाहरूको योजनाहरूबीचमा समन्वयकारी वातावरण सिर्जना गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, स्वच्छ ऊर्जा नेपाल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दिएको प्रतिक्रियाको सार :

महानगरको प्रयासले मात्रै प्रदूषण हटाउन सकिदैन

विद्यासुन्दर शाक्य
मेयर, काठमाडौं महानगरपालिका
हामीले स्वीकार गर्नैपर्ने हुन्छ, उपत्यकामा वातावणीय प्रदूषण बढिरहेको छ । विशेष गरी सवारी साधनले निकाल्ने धूवाँधूलोका कारणले वायु प्रदूषण बढिरहेको छ । प्रदूषण नियन्त्रण गर्नका लागि विभिन्न प्रयास नभएको भन्ने होइन, तर पनि हामीले प्रदूषण हटाउनका लागि गरिएको प्रयासहरू प्रभावकावरी हुन सकेको अवस्था छैन । यसकारण महानगरपालिकाको एकल प्रयासले मात्रै प्रदूषणको समस्या समाधान नहुने भएकाले सहकार्य गरेर अगाडि बढ्नु आवश्यक थियो । त्यसैकारण हामीले १८ वटा नगरपालिकाको एउटा फोरम बनाएका छौं । वायु प्रदूषणको यो साझा समस्या पनि हो । साझा समस्या भएका कारण समाधानका लागि हामीबीचको सहकार्य बढाएर अगाडि बढ्नु आवश्यक पनि छ । वायु प्रदूषणको समस्या भनेको हामी सबैले भोगिरहेको समस्या हो । एउटाको मात्रै समस्या पनि होइन । हामीबीच आरोप–प्रत्यारोप गरेर उसले गरेन भन्छौं, तर अब आफूले के ग¥यौं भनेर सोच्नुपर्छ ।
वायु प्रदूषण नियन्त्रण गर्ने विषयमा साझा स्वामित्व लिने गरी अगाडि बढ्नु आवश्यक छ । अहिले धेरै नगरपालिकामा खानेपानी पनि छैन । खानेपानीको लाइन विस्तार गर्ने सन्दर्भमा होस् या अन्य कुनै पनि बहानामा सडक खन्नुपर्छ । समयमै सडक विस्तार नहुँदा धूलोहरूले प्रदूषण गराएको छ । सडक खन्नुपर्ने निकाय अर्कै छ । सबैसँग समन्वय गरेर काम गरी अगाडि बढ्नु आवश्यक छ । यातायातले प्रदूषण गराएको छ । यातायात व्यवस्थापन गर्नुपर्छ । फोहोर उठाउन नसकेर बालिएको छ, तर अब यो समस्या समाधान हुन्छ । चिम्नी भट्टा विस्थापित गर्न सकिन्छ । प्रदूषण नियन्त्रणका लागि प्रविधिमा सुधार ल्याउनु आवश्यक छ । फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरूसँग स्रोतसाधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।

प्रदूषणका कारण गाली खानुपरेको छ

चिरिबाबु महर्जन
मेयर, ललितपुर महानगरपालिका
पछिल्लो समय काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणका कारण मानवीय जीवन कष्टकर बन्दै गइरहेको छ । उपत्यकामा प्रदूषणका विभिन्न कारकतत्व छन् । विभिन्न समयमा सार्वजनिक भएको तथ्याङ्कअनुसार मुख्य कारकतत्व भनेकै सवारी साधन हो । पछिल्लो पटक बढ्दो प्रदूषणका कारण सवारी साधनको चाप नै हो भन्ने तथ्यहरू आइरहँदा सवारी साधन नियन्त्रण गर्न सकिएको छैन । अझै चाप बढिरहेको अवस्था छ ।
वातावरणीय प्रदूषण बढिरहेको छ । अब चाँडोभन्दा चाँडो नियन्त्रण गर्नु आवश्यक छ । प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले केही पहल गरेन भन्ने कुरा पनि आइरहेको छ, तर कुनै पनि महानगरपालिका तथा नगरपालिकाले एकल प्रयासले मात्रै पनि सम्भव छैन । सबै क्षेत्रबाट सहकार्य गर्नु आवश्यक छ । वातावरण प्रदूषणका कारण हामीले धेरै गाली खानुपरेको छ । वातावरण प्रदूषणका कारण नै जतिसुकै राम्रो काम गरे पनि देखिएको छैन । एकैपटक यसको नतिजा देखाउन त गाह्रो होला, तर इच्छाशक्ति चाहिँ राख्नुपर्छ । बिस्तारै प्रदूषण हट्नेछ र हामी स्वच्छ र सफा वातावरणमा बाँच्न पाउँछौं । यसका लागि बिस्तारै हामीले विदेशका सहरहरूमा भएका राम्रा कामहरू अथवा वातावरणको पक्षमा भएका राम्रा प्रयासहरूलाई अनुसरण गर्नु आवश्यक छ । समयमै यसको वातावरणीय प्रदूषण हटाएर अगाडि बढ्नुपर्छ । प्रदूषणका कारण वातावरणीय समस्या बढिरहेका छन् । सहकार्यबाटै वातावरणीय प्रदूषण हटाउनु जरुरी छ । अब प्रदूषण नियन्त्रण गर्न केही चाहिँ गर्नैपर्छ ।
प्रदूषणले वातावरणीय रूपमा मात्रै होइन, मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर पु-याएको छ । वायु प्रदूषण न्यूनीकरण नगर्ने हो भने भोलिको पुस्ताको भविष्यमा पनि असर पुग्न सक्छ । समस्या छ, तर समाधानका लागि हामीले पहल गर्दै अगाडि बढाउनु आवश्यक छ ।
नीतिगत निर्णयहरू गर्नु आवश्यक छ, अनि मात्रै वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सकिन्छ । केन्द्रीय स्तरबाट नीतिमा सुधार आउन जरुरी छ । १८ वटा नगरपालिकाको युनिटी बनाइएको छ । रूख काट्ने काम मात्रै भएको छ, लगाउने काम भएको छैन । खाली भएको जमिनमा वृक्षारोपण गर्नु आवश्यक छ । फोहोरबाट मोहोर कमाउनु आवश्यक छ । कार्यान्वयनको पक्षमा फितलो रहनु हुँदैन । बाटो समयमै निर्माण नहुँदा प्रदूषण बढ्दै छन् । केन्द्रीय र स्थानीय सरकारबीच समन्वयकारी भूमिका हुनु जरुरी छ ।

वातावरणमैत्री भौतिक विकासको सुरुवात गरौँ

झलकराम अधिकारी
महानिर्देशक, वातावरण विभाग
वातावरण प्रदूषण नियन्त्रण गर्नु सबैको साझा दायित्व पनि हो । वातावरण विभागले, वातावरणीय अपराधलाई न्यायको दायरामा राख्ने योजना बनाएको छ । वातावरण प्रदूषण गर्नेले कानुनअनुसार कारबाही गर्ने नियम छ । यसलाई प्रभावकारी कार्यान्वयन गर्न ढिला भएको छ ।
स्थानीय सरकारमा कानुनको अभाव छ भन्ने पनि कुरा आइरहेको छ । कानुन निर्माणमा केन्द्रीय सरकारले केही गरेन भन्ने कुरा पनि उचित होइन । वातावरणीय स्वच्छता कायम गर्न नियम–कानुनहरू आवश्यक पर्छ भन्ने होइन, साधारणतया सफा गर्नका लागि नियम नभए पनि हुन्छ । सफाइका काम जोसुकै स्थानीय सरकारले पनि गर्न सक्छ ।
हामीले विकासमा धेरै बजेट विनियोजन गर्दै आइरहेका पनि छौं । विकास मात्रै हुने वातावरण, विनाश गर्ने काम गर्नु हुँदैन । अब वातावरणमैत्री भौतिक विकासको सुरुवात गर्न सकिन्छ । निःसर्त अनुदानलाई वातावारणको स्वच्छता कायम राख्न खर्च गर्नु आवश्यक छ । हामी वातावरण नीतिको खाका बनाउनेछौं । केन्द्रीय सरकारको भूमिका के हुने ? प्रदेश सरकारको भूमिका के हुने ? र स्थानीय सरकारको भूमिका के रहने ? भन्ने विषयमा हामीले छलफल गर्न सक्छौं । हामीले विकासलाई वातावरणमैत्री गर्न सकेनौं भने भावी पुस्तालाई न्याय दिन सक्दैनौं । यसका लागि सबैको सहकार्य हुनु आवश्यक छ ।
अहिले प्रदूषणका तथ्याङ्कहरूलाई सर्वसाधारणहरूसम्म पु-याउन पहल भइरहेको छ । उपत्यकाका मेयरहरूले वातावरणीय प्रदूषण न्यूनीकरण गर्नका लागि साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरणीय मुद्दाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक छ । वातारणीय मुद्दा सम्बोधन गर्न वातावरणीय प्राधिकरण बनाउनु आवश्यक छ । हामीले प्रयास गरेर अगाडि बढिरहेका छौं । स्वस्थ संस्थाहरूले संक्रमणकालीन फोहोरहरू जहाँतही फोलेको छ । यसलाई नियन्त्रण गर्नका लागि पनि वातावरण विभागले पहल गरिरहेको अवस्था छ । इँटाभट्टालाई नयाँ प्रविधिमा लैजानुपर्छ । कुनै पनि बेला वातावरण विभाग सहयोग गर्न तयार छ । यहाँहरूसँग समन्वयन गरेर हामी अगाडि बढाउन सक्छौं ।

उपत्यकामा बिहान र बेलुका प्रदूषण बढी हुन्छ

डा. अरनिको पाण्डे
वायुमण्डल विज्ञ
पछिल्लो समय काठमाडौं उपत्यकामा धूलोको मात्रा बढिरहेको छ । धूलोका सूक्ष्म कण (पिम २.५) हाम्रो फोक्सोसम्म पुग्छ । इँटाभट्टाबाट निस्कने कालो धूवाँले पनि मानवीय स्वास्थ्यमा नकारात्मक असर पु-याइरहेको छ । यस्तो धूवाँले क्यान्सर बढाउने जस्ता रोग लाग्छ । कालो धूवाँका कारण हाम्रा हिमालको हिउँ पग्लने जस्ता समस्याहरू उत्पन्न हुन्छ । काठमाडौं मात्रै वायु प्रदूषण भएको क्षेत्र होइन, अन्य सहरहरूमा पनि प्रदूषण छ । विश्वका ३ हजार सहरमा काठमाडौं २ सय ६१ औं सहरमा पर्छ । प्रदूषणको मात्रा दिउँसो र राति कम र बिहान–बेलुकी बढी हुन्छ ।
धादिङमा इँटाभट्टा बढेन भने स्वच्छ हावा उपत्यकामा रहिरहन्छ । हामी बिहान–बेलुका आगो बाल्छौं । माथि हावा जान सक्दैन, अनि वायुमण्डलमा प्रदूषणको मात्रा बढ्छ । उपत्यकाबाहिर दाउरा र गुइँठा बालिन्छ । डडेलो पनि लाग्छ । उपत्यकामा पनि यसको असर पर्छ । हाम्रो फोक्सोभित्र धूलो–धूवाँ जान्छ । काठमाडौंको समस्या त बढिरहेको छ, तर हामी पहिलो होइनौं । मेक्सिको पनि १० गुणा क्षेत्रफल र ६ गुणा जनसंख्या ठूलो भएको क्षेत्र हो । त्यहाँ भएको वातावरणीय न्यूनीकरणका प्रयासहरूबाट हामी सिक्न सक्छौं ।

प्रदूषणको मुख्य कारकतत्व सवारी साधन हो

भूषण तुुलाधार
वातावरणविद्
तपाईं मेयरहरू पनि हामी जनतालाई केही आश्वासन दिएर आउनुभएको छ । प्रदूषण हटाउन अब यहाँहरूले केही गर्नुपर्छ । सन् २००२ मा इँटाभट्टाले प्रदूषण ग-यो भनेर आन्दोलन भएको थयो । पहिलो वर्ष दर्ता नभएको इँटाभट्टा खारेज पनि भयो र नयाँ प्रविधि जडान गर्न प्रोत्साहन ग-यो । यसपछि २६ प्रतिशत प्रदूषण घट्यो । जनताले आवाज उठाउँछ, सरकारले जनताको आवाज सुन्ने र निजी क्षेत्रले पनि सुुधार गर्दै लैजानुपर्ने हुन्छ । यहाँको मुख्य प्रदूषणको स्रोत भनेको गाडी हो । प्राविधिक सुधार गर्नुपर्छ । यातायातबाट प्रदूषण घटाउन इन्धन र इन्जिन हेर्ने हो । इन्धन सफा हुने हो भने पनि धेरै सफा हुन सक्छ । सवारी साधनबाट हुने प्रदूषण कम गर्न अब सफा गाडी ल्याउनुपर्छ । बिजुली गाडी पनि हामीकहाँ सम्भव छ । कस्ता खालका यातायातको प्रयोग गर्ने भन्ने भन्ने पनि हुन्छ । यसका लागि अझै व्यापक छलफल हुनु जरुरी छ । सकेसम्म हिँड्ने बानी बसाल्नुपर्छ । साइकल चढ्ने र सार्वजनिक यातायात प्रणाली लागू गर्नुपर्छ, तर यहाँ साइकलको छुट्टै लेन छैन ।
सवारी साधनको प्रदूषण मापन २० वर्षअघि सुरु भएको थियो । तर, अहिले पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । सवारी साधनको प्रदूषण मापनलाई प्रभावकारी बनाउँदै हरियो इस्टिकर सिस्टम लागू गर्नुपर्ने हुन्छ । हामी सडक चौडा गर्छौं, तर गाडीका लागि मात्रै । खै त फुटपाथको व्यवस्था ? यसकारण पैदल यात्रु असुरक्षित छन् । अहिले पैदलयात्रुहरू घटिरहेका छौं ।
मेक्सिकोमा हप्तामा कम्तीमा एक दिन गाडी चलाइँदैन । हामी पनि त्यसै गर्न सक्छौं नि ! सडक किनाराका रूखले पनि २४ प्रतिशत प्रदूषण घटाउन सक्छ । साइकलका लागि लेन आवश्यक छ । २० प्रतिशत गाडीले ५० प्रतिशत प्रदूषण गराउन सक्छ । वातावरण प्रदूषण कोषको रकम नगरविकास कोषमा लैजानु आवश्यक छ । प्रदूषण कोषबाट वार्षिक १ अर्ब रुपैयाँ उठ्छ । यसका लागि सबै स्थानीय तहले पहल थाल्नेछन् भन्ने विश्वास छ ।