जगन्नाथ दुलाल
आइतवार, मंसिर १६, २०७५
2174

नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन्, चन्द्र भण्डारी । विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय समिति र गुल्मीबाट निर्वाचित हुँदै सांसदको भूमिका निर्वाह गरिसकेका उनले अघिल्लो महिना ‘राष्ट्र, राज्य निर्माण प्रक्रियामा विश्वव्यापीकरणको प्रभाव’ विषयमा विधावारिधी गरेका छन् । दोस्रो संविधानसभामा गुल्मीबाट निर्वाचित सांसद भइसकेका भण्डारी पछिल्लो निर्वाचनमा भने पराजित भए । कांग्रेसभित्र एक दर्जन युवाहरुको समूहमा रहेर अहिले उनी मूल नेतृत्वलाई ‘थ्रेट’ गर्ने र युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने अभियानमा लागिरहेका छन् । अहिलेको पार्टी नेतृत्वले जनताको नयाँ चाहना पुरा गर्न नसक्ने बताउने उनै नेता कांग्रेस केन्द्रीय सदस्य डा. भण्डारीसँग कांग्रेसको संशोधित विधान, आन्तरिक राजनीति र सरकारका पछिल्ला गतिविधिमा केन्द्रीत रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

नेपाली कांग्रेसको संशोधित मस्यौदामाथि अहिले केन्द्रीय समिति बैठकमा छलफल जारी छ । मस्यौदामाथि तपाईंको दृष्टिकोण के छ ?
महामन्त्री पूर्णबहादुर खड्काजीको संयोजकत्वमा मस्यौदा समिति बनाइएको छ । यो समितिले अत्यन्त मेहनत गरेर मस्यौदा बनाएको छ । मस्यौदामाथि छलफल सुरु भएको छ । सुरुवातमा कति कुरा कतिलाई मन पर्छन्, कतिलाई मन पर्दैनन् । राम्रो पक्ष के छ भने हामीभित्र रहेका गुटहरूलाई यसले अन्त्य गरेको छ । गुटका आधारमा होइन, आफ्नै स्वविवेकले आ–आफ्ना धारणा राखेका छन् । मस्यौदाले स्थानीयदेखि नगरपालिका, प्रदेशदेखि संघसम्मको अधिकार र दायित्व बोध गराएको छ । टिकट पाउँदा वा समानुपातिकबाट अवसर पाउँदा कसले पाउने र कसरी पाउने भन्ने कुरालाई यसले स्पष्ट पारेको छ । मस्यौदा समिति धन्यवादको पात्र छ । तथापि एउटा दिमाग भन्दा १० वटा दिमाग त बढी हुन्छ । बादे बादे जायते तत्वबोध अर्थात् मस्यौदामाथि हामीले छलफल गरेका छौं ।

मस्यौदामाथि बैठकमा तपाईंले आफ्नो धारणा राखिसक्नुभएको छ । के–के विषय उठाउनुभयो ?
केन्द्रीय समिति बैठकमा मैले मस्यौदामाथि धारणा राखिसकेको छु । अमेरिकामा ९२ प्रतिशत गोराहरू छन् । ८ प्रतिशत कालाहरू छन् । गोराहरूले भोट हालेर काला बाराक ओबामालाई दुई पटक राष्ट्रपति बनाए । पार्टीभित्र हामीले त्यो बाटो पनि रोक्न मिल्दैन । अल्पसंख्यक, कम भए पनि आउने बाटो बनाउनुपर्छ । क्षमता भएकाले आउने वातावरण बनाउनुपर्छ । दोस्रो कुरा, नेपालमा पद हासिल गरेपछि व्यक्ति धनी हुने, पार्टी गरिब हुने अवस्था छ । त्यसलाई हामीले कसरी पारदर्शी बनाउने ? पार्टी राम्रो भएन भने त देश बन्दो रहेनछ । तेस्रो कुरा, समानुपातिक प्रणाली हामीले स्थापना ग¥यौं । त्यो समान अवसर र न्यायका लागि हो ।

एउटै व्यक्ति एउटै समूहलाई पटक–पटक दिने होइन । एक पटक उसले क्षमता देखाओस्, छैन भने ऊ रिटायर्ड भएर अर्को आउँछ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीले चार पटक प्रधानमन्त्री बनायो । उहाँ अहिले पार्टी सभापति हुनुहुन्छ । नेपालको इतिहासमा उहाँले जति पद कसैले बाँडेको छैन । उहाँले प्रधानमन्त्री हुँदा गृहमन्त्री, अर्थमन्त्री, रक्षामन्त्री सबै दिन पाउनुभएको छ । यो सबैभन्दा सामथ्र्यवान् पद हो । बीपीले पनि आफ्नो मनखुसी यति धेरै पद बाँड्न पाउनुभएन । गिरिजाबाबुले पनि तीनवटा गृह, अर्र्थ र रक्षा मन्त्रालय बाँड्न पाउनुभएन । किसुनजीले पनि पाउनुभएन । तर, शेरबहादुर देउवाले पाउनुभयो । उहाँले त कांग्रेसलाई केही दिने हो नि । उहाँले गुट–उपगुट बनाउनुभयो । कांग्रेसले उहाँलाई सबै दिने, उहाँले के दिने त ? उहाँले राम्रो विधान दिने, राम्रो सोच, दृष्टिकोण दिने हो । भ्रातृ संस्थामा सधैं झगडा हुन्छ । भ्रातृ संस्थाको जो प्रमुख हुन्छ उसले अधिवेशन गरेन भने उसलाई अर्को अवसर नै नदिने भनेर विधानमा लेख्नुपर्छ । यस्ता कुरा हामीले उठाएका छौं । विधान शेरबहादुरजी र रामचन्द्र पौडेलजीका लागि बनाएको होइन । यो हामीले सिंगो पार्टीका लागि बनाएको हो ।

मंसिर २८ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकलाई महत्वका साथ हेरिएको छ । तपाईंलगायत केही युवाको जुन समूह छ त्यसले महासमिति बैठकमा के एजेन्डा लैजान्छ ?
विधानलाई हामी महासमिति बैठकमा सर्वसम्मत बनाएरै लैजान्छौं । यसमा धेरै विवाद हुन दिँदैनौं । आर्थिक, राजनीतिक, सांगठनिक तीनवटा कार्यपत्र महासमितिमा प्रस्तुत हुन्छ । उपसभापति विमलेन्द्र निधिज्यूले राजनीतिक कार्यपत्र, सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रस्ताव प्रस्तुत गर्नुहुन्छ र सांगठनिक प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुन्छ । यसलाई पनि सर्वसम्मत रूपमा लैजाने पक्षमा हामी छौं । पार्टीभित्र १२/१३ जनाको हाम्रो विचार समूह छ ।

जसरी हामीले नेपाल विद्यार्थी संघको विधान टुंगो लगाएका थियौं, त्यसैगरी कांग्रेसको आर्थिक, राजनीतिक, सामाजिक र सांगठनिक प्रस्तावलाई पनि अत्यन्तै सहमतिका साथ लैजान हामी प्रयास गर्छौं ।

सरकारको अहिलेको गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?
देशमा कम्युनिस्टहरूको दुईतिहाइको सरकार छ । मलाई त सबैभन्दा धेरै गुनासो प्रधानमन्त्री केपी ओलीसँग छ । रोगले उहाँलाई समात्यो । राष्ट्रले उहाँलाई बचाएको छ । कुनै एमालेले, राजनीतिक पार्टीले पैसा उठाए बचाएको त होइन ।

देशमा हत्या छ, हिंसा छ । भ्रष्टाचार छ, ठेकेदारहरूको मनपरी छ । न धर्म छ, न संस्कृति छ, न समाज छ यस्तो अस्तव्यस्त छ ।

उहाँले न त नेपाली जनताले जसरी जोगाएर राखेका छन्, त्यसका लागि उपहार दिने हो नि । उहाँ कहाँ अल्झिनुभएको छ ? भन्ने मेरो गुनासो छ । यो अवस्थामा कांग्रेस त आफ्नो स्पष्ट विचार, स्पष्ट दृष्टिकोण लिएर आउनुपर्ने हो । सामाजिक, राजनीतिक मुद्दाहरूलाई उठाउनुपर्ने हो । यत्रो महँगी बढेको छ । एउटा वाइडबडी किन्दा ६/७ अर्ब खाइदिएको छ । भ्रष्ट प्रवृत्ति बढेको छ । यस्ता कुरा उठाएर कांग्रेसले कारबाहीका लागि सरकारलाई बाध्य बनाउनुपर्ने हो, तर सकिरहेको छैन । हामी यी मुद्दा उठाएर पहिलेको भन्दा फरक दृष्टिकोण बनाउन चाहन्छौं ।

प्रतिपक्षी दलको भूमिकालाई लिएर पनि प्रश्न उठेका छन् नि ?
प्रतिपक्षीले उठाएको कुरालाई औषधिका रूपमा ग्रहण गर्यो भने सत्तापक्ष बन्दो रहेछ । आलोचनाका रूपले लियो भने प्रतिशोध हुँदो रहेछ । प्रजातान्त्रिक प्रणालीमा प्रतिपक्षीले उठाएका कुरालाई औषधिका रूपमा लिइने रहेछ । नेपालमा लोकतान्त्रिक संस्कारको विकास भएकै रहेनछ । जो सत्तामा पुगे पनि कमाउने नै रहेछन् । ‘अल आर द करप्ट’ । कांग्रेसभित्र कमी–कमजोरी नै छैन, केही नेताले बद्मासी नै गरेनन् भनेर म भन्दिनँ । त्यस्तो गर्नेहरूलाई कारबाहीको घेराभित्र ल्याउन सकिन्छ । तर, कम्युनिस्टहरूकोे तलदेखि माथिसम्म संरचना नै भ्रष्ट छ । लाजै नमान्ने ।

एनजीओको कार्यक्रममा सरकार सहआयोजक बन्ने, संसद्लाई सहआयोजक बनाउने भनेको त राष्ट्रको पहिचानमाथिको प्रहार हो ।

कांग्रेसले त्यसो गरेको भए आज काठमाडौंमा रेलिङ तोडिन्थे, आगो लाग्थ्यो । त्यस्तो गैरजिम्मेवार सरकार छ । यस्ता गलत कार्य नगर्ने गरी सरकारलाई चेतावनी पनि दिनुप¥यो । कम्युनिस्टहरूले गर्न सकेनन् भने त्यसलाई सम्हाल्ने गरी कांग्रेस जानुपर्छ । सामाजिक, राजनीतिक मुद्दाहरूलाई संसद्मा सशक्त ढंगले उठाएर सरकारलाई थ्रेट गर्न र गलत गर्नबाट रोक्न सक्नुपथ्र्यो । त्यसका लागि संसद्मा जस्तो भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यति हुन सकेन । कांग्रेसले सामाजिक, राजनीतिक मुद्दाहरूलाई संसद्मा पनि र जनताको बीचमा पनि अब सशक्त ढंगले लैजानुपर्छ ।

तपाईंहरू अहिले सभापति शेरबहादुर देउवाविरुद्ध अलि कडा रूपमा प्रस्तुत भइरहनुभएको छ, किन ?
कांग्रेसको नेतृत्व इतिहासमै सबैभन्दा कमजोर देखियो । कांग्रेसको दर्शन भनेकै ‘बादे बादे जायते तत्व बोध’ हो । गुट बनाउने, गिरोह बनाउने, के फाइदा हुन्छ आफ्ना लागि त्यही गर्ने । सिंगो पार्टीको नेता हुँ भन्ने भावना दिन सक्नुपर्छ । दुईतिहाइको सरकार बनेपछि केपी ओली नेपाल वायु सेवा निगमको जहाज नचढेर हिमालय एयरलाइन्स चढेर जानुभयो । उहाँले मेरो देश, हाम्रो ध्वजावाहक भनेर चिनाउनुपथ्र्यो नि । हाम्रोमा पनि नेतृत्वले सिंगो पार्टीको हुँ है भन्ने सन्देश दिनै सकेन । गुट बनाउने, गिरोह बनाउने, त्यसैका आधारमा लाभ लिनेमै नेतृत्व केन्द्रित देखियो । वास्तवमा नेपाली नेतृत्व लोकतान्त्रिक नै हुन सकेको छैन ।

अहिलेको मूल नेतृत्वबाट कांग्रेस चल्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?

वर्तमान नेतृत्वबाट नयाँ चुनौतीहरूको सामना गर्न सकिँदैन । जनताको नयाँ चाहना पूरा गर्न सकिँदैन ।

पार्टीका कार्यकर्ताहरूको चाहनालाई पनि पूरा गर्न सकिँदैन । त्यसकारण हाम्रो अभियान नेतृत्व परिवर्तन पनि हो । नयाँ विचार र दृष्टिकोणसहित अगाडि बढ्ने हो । गलत गर्दै गइरहेको यो सरकारलाई सजग र सचेत गराउने पनि हो । अर्को कुरा, सरकार डिजल्ब हुन्छ । सर्वसदलीय सरकार बन्छ भनेर पनि केही कम्युनिस्ट नेताहरूले गैरजिम्मेवार कुरा गर्ने गर्छन् । प्रतिपक्षी कमजोर छ । यत्रो दुईतिहाइको सरकार छ । । म यो सरकार जाँदा खुसी हुन्थें होला यदि कांग्रेसको हातमा आउने हो भने । दुईतिहाइको सरकार जाने भनेको कांग्रेसको हातमा आउने होइन, फरक ठाउँमा जाने हो । त्यो ठाउँमा जाने भनेको अहिलेसम्मका उपलब्धिहरू हाम्रो हातबाट जाने हो । अर्को आउने भनेको कि कू नै हुने हो । यो ०१७ साल त होइन कू हुनलाई । त्यसकारण गम्भीर नभएको नेतृत्वका कारण यो भएको हो । कांग्रेसको पाठशाला त सिक्ने र सिकाउने न हो । कांग्रेसको पाठशाला नभएको भए मदन भण्डारी कहाँ बहुदलीय जनवादमा आउनुहुन्थ्यो ? बीपी कोइराला, गणेशमान सिंह, किसुनजी, सुवर्णशमशेर नभएको भए कसरी मदन भण्डारी ‘रिभाइभ’ हुनुहुन्थ्यो । सिक्ने, सिकाउने, कमी–कमजोरी सुधार्नुपर्छ । सुधारेर जानुपर्छ ।

अहिलेको नेतृत्वविरुद्धमा तपाईंहरूको विचार समूह कडा रूपमा प्रस्तुत भएको देखिन्छ । उहाँहरूको विकल्प दिने गरी आउँदो महाधिवेशनमा तपाईंहरू आउन सक्नुहुन्छ ?
अध्यक्ष नै हामीले जितिहाल्छौं भनेर म अहिले नै भन्न सक्दिनँ । तर, अरू पदहरूमा नयाँ पुस्तालाई ल्याउने वातावरण हामी बनाउँछौं र ल्याउँछौं । त्यसैले हामी सबै पदमा चुनाव हुनुपर्छ भन्ने पक्षमा पनि छौं ।

नेताहरूले म नै सबै बन्छु भनेर हुँदैन । सबै युवालाई समेटेर उनीहरूको सहयोगी बन्न पनि सक्छु ।

आफैं उठ्न पनि सक्छु । कांग्रेसलाई परिवर्तन गर्नु छ । कांग्रेस नबन्दाखेरि देश बन्दो रहेनछ । कांग्रेस बलियो नभई कम्युनिस्टहरू पनि सचेत नहुँदा रहेछन् । धेरै बहुमत भएर कम्युनिस्टहरू मात्तिएका न हुन् अहिले । त्यसकारण अत्यन्त गम्भीरतापूर्व म भन्छु नयाँ नेतृत्व, नयाँ विचार, नयाँ दृष्टिकोणका लागि म लाग्छु । नेतृत्वको कुरामा हाम्रो समूहको हामीमध्ये जो पनि हुन सक्छ । म नै हुनुपर्छ भन्ने छैन ।
गिरिजाप्रसादले आफ्ना दाजुका साथीहरूसँग झगडा नगरेको भए पनि नेतृत्वको पालो आउँथ्यो । गिरिजाबाबु र शेरबहादुरजी पार्टीभित्र झगडा नगरेको भए पनि हुन्थ्यो । पालो त आउने रहेछ नि । ७५ वर्ष पुगेका नेताहरू हुनुहुन्छ । उहाँहरूले चाहेर नचाहेर पनि म १७ वर्ष कान्छो छु । मभन्दा पछाडिका साथीहरू २५–३० वर्ष कान्छो हुनुहुन्छ । उहाँहरूले नचाहेर पनि नेता त यिनीहरू नै हुने हो । त्यसकारण देउवाजी प्रधानमन्त्री हुने कुरालाई म केही भन्दिनँ । तर, संसदीय दलको नेता नभइदिएको भए । २/३ घण्टा बोल्न सक्ने मान्छेलाई दिएको भए आज यो हविगत हुने थिएन । केपी ओली पनि सुध्रन बाध्य हुनुहुन्थ्यो । तर, उहाँहरू संसद्मा जानुहुन्न । बोल्नुहुन्न । हामी कमजोर देखियौं नि एउटा नेताको कारणले ।

समृद्ध नेपालको नारा देशमा जोडतोडले लागेको छ । तर, समृद्धि, सुशासन नारामै सीमित हुने हो कि भन्ने चिन्ता पनि व्याप्त छ । कहिले समृद्ध बन्ला यो देश ?
नेपाल त्यसै बनेको देश छ । ५ वर्ष घूस नखाइदेऊ । राम्रोसँग काम गर । त्यति गरे मात्र पनि देश बन्छ, खाडी जानु पर्दैन ।

मलाई भित्रैबाट के लाग्छ भने यो देश बन्न १० वर्ष, १५ वर्ष लाग्दैन । ५ वर्षमै गर्न सकिन्छ, नेपाल विकास हुन्छ ।

एकीकृत बस्तीको विकास गर्ने, पूर्वाधार निर्माण गर्ने हो भने देश विकास हुन समय लाग्दैन । कुल राजस्वको ८० प्रतिशत भ्रष्टाचार गएपछि देश बन्छ र ? सबैले इमानदारीपूर्वक, भ्रष्टाचार नगर्ने कसम खाएर काम गर्ने हो भने यो आफैं सुन्दर देश छ । बन्न समय लाग्दैन ।

सडकका पोलहरूमा प्रधानमन्त्रीको फोटो झुन्ड्याएर सरकारले ‘नयाँ युग’ सुरु भएको घोषणा गरेको छ । त्यसमा प्रतिपक्षी दल कांग्रेसको आलोचना किन ?
सरकारमा बसेका सबै मन्त्रीलाई म आलोचना गर्न चाहन्नँ । प्रदीप ज्ञवालीजी र म एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेको हुँ । तर, उहाँहरूले गर्न खोजेका राम्रा कामलाई म सम्मान नै गर्छु । तर, एउटा अभियानका निम्ति पोल–पोलमा फोटो टाँस्नु एकदमै नराम्रो कुरा हो । राजनीति गर्ने मान्छेले त राम्रो काम गरेर जनताले टाँस्दिने हो । ठूलो खर्च गरेर सरकार आफैंले फोटो झुन्ड्याउनु दु:खद पक्ष हो । अल्पज्ञान भनौं कि मूर्ख काम भनौं ? मलाई पनि मन परेको छैन ।
सरकारले विदेशी सम्बन्ध बढाउन गरेको प्रयास राम्रो छ । भारतका प्रधानमन्त्री तीन पटक नेपाल आउनुभयो । अरू देशका पनि प्रधानमन्त्रीहरू आएका छन् । यसले पर्यटन प्रवद्र्धनमा करोडौं खर्च गरेर पनि नहुने काम भएको छ । तर, सरकारले आफ्नो दैनिकी नै चलाउन सकेन । अहिले ५/१० जना भ्रष्टाचारीहरूलाई थुन्दिनुपर्ने हो । तस्करहरूलाई थुन्नुपर्ने, बेथिति मच्चाउनेहरूलाई थुन्नुपर्ने हो । ५ वर्षसम्म नचाहिँदो काम गर्दिनँ भनेर जनतालाई आश्वस्त गर्नुपर्ने हो अहिले सरकारले । तर, अहिले उहाँहरु ठेकेदारको तकिया, एनजीओको विछ्यौना र भ्रष्टहरुको विद्युतीय फिजियोथेरापीमा आनन्दमा रुमल्लिएर फोटो टाँस्नुहुन्छ । यो अवस्था छ देशको ।

राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरा र राष्ट्रपति, उपराष्ट्रपतिको भवन विस्तारलाई लिएर पनि असन्तुष्टि देखिएको छ । त्यसमा तपाईंहरुको धारणा के छ ?
ठीक छ भवन पनि चाहिएला । गाडी पनि किनौंला । यसमा मलाई धेरै भन्नुछैन । तर, अहिले के हाम्रो अवस्था ती सब गर्नका लागि पुग्ने छ त ? त्यो अवस्थामा हामी छौं कि छैनौं । हाम्रा पढेलेखेका बच्चाहरु युरोप, अमेरिकातिर बिक्री हुने । अलि अलि बलियाहरु अरबतिर बिक्री हुने । देशमा कोही नबस्ने । तर, हामीले सुविधा मात्रै लिने ? अहिले मलाई केही चाहिँदैन । ५/१० वर्षमा देश पनि बनाउँला त्यसपछि राम्रो महलमा बसौंला । गाडी पनि किनौंला भन्नुपर्ने हो नी । कम्युनिष्ट भन्ने नेताहरु त अझ अलग हुनुपर्ने हो नि अरुभन्दा । एकदम गलत बाटोमा सरकार हिँडिरहेको छ ।