कारोबार संवाददाता
आइतवार, पुष १, २०७५
706

महाधिवेशन भएको वर्ष वाहेक प्रत्येक वर्ष हुनुपर्ने कांग्रेस महासमिति बैठक करिब ६ वर्षपछि बसेको छ । शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले गुटउपगुट भन्दा पार्टीलाई प्रधान बनाउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरबहादुर देउवाले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प गरेका छन् । सरकार असफल भइसकेको निष्कर्ष निकालेको कांग्रेसको महासमिति बैठकमा देशभरका र विदेशमा रहेका जनसम्पर्क समितिका तर्फबाट १६ सयभन्दा बढी महासमिति सदस्यहरू सहभागी छन् । पुस ३ गतेसम्म चल्ने बैठकमा आइतबारबाट विभिन्न प्रस्तावमाथी छलफल हुनेछ । आन्तरिक गुटउपगुटमा विभक्त कांग्रेसलाई एक ढिक्का भएको सन्देश महासमितिबाट दिनसक्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । बैठकमा सहभागी हुन आएका केही प्रतिनिधिहरूसँग महासमिति बैठकका अपेक्षा र लिनुपर्ने निर्णयका बारेमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीको सार :


जनविरोधी कामको पर्दाफास गर्नुपर्छ
नरेन्द्र केरुङ
जिल्ला सभापति, पाँचथर
नेपाली कांग्रेसजस्तो एउटा महान पार्टीको महासमिति बैठक सम्पन्न हुन लागिरहेको छ । देशभरका कांग्रेसमात्र होइन, प्रजातन्त्रवादीहरूले यो महासमिति बैठकलाई अत्यन्तै आशा र विश्वासका साथ हेरिरहेका छन् । त्यो जनताको विश्वासलाई कायम राख्नुपर्छ भनेर हामी महासमिति सदस्यहरू लागिरहेका छौं । राज्यको पुनर्संरचनासँगसँगै पार्टी विधानलाई पनि समयसापेक्षा परिमार्जन गरेर नयाँ शिराबाट प्रारम्भ गर्नुपर्छ । आम प्रजातन्त्रवादीहरूको आशा र अपेक्षा पूरा गर्न समयसामयिक राजनीतिकसँगै पार्टीको आन्तरिक जीवनलाई समेत व्यवस्थित गरेर कांग्रेसप्रति जनताको विश्वास खडा गर्नका निम्ति हामी बैठकमा उपस्थित भएका छौं ।
पार्टीको शीर्ष नेतृत्व पनि अत्यन्त गम्भीरताका साथ आफैं मनन् गर्दै हुनुहुन्छ । हामी महासमिति सदस्यहरू पार्टीलाई जिवन्त बनाएर आगामी दिनमा जनताको मनोबललाई बढाउनेतर्फ लागेका छौं । दुइतिहाइको वाम सरकारले जनतामा निराशा बढाएको छ । प्रजातन्त्रमाथी नै प्रश्न आउन सक्ने क्रियाकलाप सरकारले गर्दैछ । जनविरोधी जति काम सरकारले गरेको छ, ती कुरालाई पर्दाफास गर्दै जनताको माझमा महासमिति बैठक लगत्तै जाने संकल्पका साथ बैठकमा आएका छौं ।

समुन्नत देश बनाउने अठोट जरुरी
हरिबोल भण्डारी
महासमिति सदस्य, काठमाडौं
नेपाली कांग्रेसको महासमिति बैठकलाई यतिबेला देश र विदेशमा रहेका नेपालीले अत्यन्तै चासोका साथ हेरेको पाएको छु । देशलाई राणाहरूको अन्धकार युगबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गराउन होस् वा राजाको प्रत्यक्ष शासनको मारबाट मुक्त गर्दै गणतान्त्रिक नेपालको नागरिक बनाउन कांग्रेसको भूमिका निर्णायक थियो । पछिल्लो गणतन्त्रपछि कै सन्दर्भमा कुरा गर्ने हो भने पनि पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई कम्युनिष्ट पार्टीका नेताहरू प्रधानमन्त्री हुँदा देशले निकास पाउन सकेन । ४ जना कम्युनिष्ट प्रधानमन्त्री फेल भएको विषयमा कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला सफल हुनुभयो र देशले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पायो । देशको राजनीतिक रूपान्तरणमा पटक–पटक योगदान दिएको कांग्रेसलाई अब आन्तरिक रूपमा थप मजबुत बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
महासमिति बैठकमा आधुनिक नेपालको सशक्त र सुदृढ कांग्रेस बनाउने विषयमा वृहत छलफल हुनेछ । महासमिति बैठकले पार्टीभित्र आन्तरिक एकताको सन्देश प्रवाहित गर्नेछ । पार्टीको संगठनात्मक संरचनालाई संविधानको भावनअनुकूल संघीय ढाँचामा लगिनेछ । देशभित्र र बाहिर रहेका नेपालीको भावनालाई समेट्न सक्नुपर्छ । देशमा केपी ओली नेतृत्वको सरकार एक पछि अर्को बद्नामीको बाटोमा छ । यो सरकारबाट जनता आजित हुन लागि सकेका छन् । फेरि पनि ती नागरिकको आशा कांग्रेससँगै छ । तसर्थ सांगठनिक रूपमा चुस्त दुरुस्त र वैचारिक रूपमा थप सशक्त बनाउनुपर्छ कांग्रेसलाई । समृद्ध नेपाल बनाउने अठोट यो सरकारले हावादारी गफ गरेर पुरा हुँदैन भन्ने देखिइसकेको छ । अब देश बनाउने प्रष्ट खाका पनि कांग्रेसले अघि सार्नुपर्छ । पहिला सशक्त कांग्रेस बनाएर समृद्ध, समुन्नत देश बनाउने अभियानका लागि यो महासमिति बैठकले अठोट गर्नुपर्छ ।

स्वतः महासमिति सदस्य हुने व्यवस्था खारेज गर्नुपर्छ
विकास लामा
जिल्ला सभापति, सिन्धुपाल्चोक
हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला भयो । त्यस्तै हालसालै ककनी बैठकले ३८ बुँदे राजनीतिक प्रस्ताव र विधानका सन्दर्भमा सुझाव दिएको छ । त्यसैलाई समेटेर ७७ वटै जिल्ला सभापतिले ९ बुँदा बनाएका छौं । त्यो ९ बुँदामा विशेष जोड लाभको पद लिँदा १ पटक भन्दा लिन नपाउने व्यवस्था गरिनुपर्छ भन्ने छ । केन्द्रीय नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति हुने व्यवस्था छ । अब त्यसलाई खारेज गर्नुपर्छ र उहाँहरू पनि तल्लो तहमा जानुपर्छ भन्ने हाम्रो माग छ । हामी महासमिति बैठकमा यो एजेन्डालाई जोडदार रूपमा उठाउँछौं ।
देश संघीयतामा गइसकेको छ । हाम्रो विधानको संरचनामा तत्काल संघीय संरचनाको व्यवस्थाअनुसार बनाएर जानुपर्नेछ । राजनीतिक प्रस्तावको विषयमा पुनः छलफल गरेर परिमार्जन गर्नुपर्छ । ७७ जिल्लाकै सभापतिहरूको विधानका सन्दर्भमा एउटै मत छ । केन्द्रीय समितिले ल्याएका राजनीतिक, आर्थिक र विधानको प्रस्ताव हुबहु पारित हुँदैन । कसरी कांग्रेसको हित हुन्छ भन्ने विषयमा हामी आफ्ना धारणा राखेर पार्टीलाई सशक्त बनाउने दिशामा लैजान्छौं । गुट उपगुटको अन्त्यका लागि पनि पार्टीका नेताहरूलाई गाउँगाउँ जाने वातावरण बनाउनुपर्छ ।


महाधिवेशनमा गएर नयाँ नेतृत्व चयन गर्नुपर्छ
रामकुमार चौधरी
महासमिति सदस्य एवम् पूर्व केन्द्रीय सदस्य
महासमितिको बैठक करिब ६ वर्षपछि भइरहेको छ । नेपाली कांग्रेसमा विभिन्न गुटउपगुट देखा परेका छन् । हुनत हरेक पार्टीमा गुटउपगुट छन् । पार्टी विधानले चल्छ । देश संविधानले चल्छ । पार्टी विधानलाई मिचेर आफ्नो गुटलाई बढाउने काम पार्टीमा भइरहेको छ । अर्कोतिर सबै अधिकार केन्द्रीतकृत गर्ने काम सरकारले गर्दैछ । देशमा पृथकतावादी शक्ति देशलाई नै कमजोर बनाउने दिशामा गइरहेका छन् । यस्तो अवस्थामा इतिहास बोकेको कांग्रेसले निर्वाचनमा ठूलो पराजय बेहोरेको छ । संसद्मा प्रतिपक्षी दलका रूपमा जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो त्यो त्यो शून्य प्रायः देखिएको छ ।
जनताका अपेक्षा अहिलेको नेतृत्वबाट पूरा हुन सकेको छैन । गुटउपगुट र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित हुँदा पार्टी कमजोर हुन पुगेको छ । राष्ट्रियतामाथी पनि विदेशी शक्तिले चलखेल गर्न खोजिरहेका छन् । महासमिति बैठकले वैधानिक बाटोमा ठोस निर्णय लिनुपर्छ । त्यसो गर्न सकेन भने कांग्रेस त जान्छ जान्छ, देश पनि अप्ठ्यारोमा पर्छ । त्यसकारण ठूलो चुनौती र अवसर दुवै कांग्रेसलाई छ । एकतावद्ध भएर पार्टीलाई विधानतः नीतिगत रूपमा हाँक्न सक्यो भने कांग्रेस पनि बन्छ । देश पनि सही बाटोमा अगाडि बढ्छ । अहिलेको नेतृत्वले कुनै ठाउँमा राजपालाई मत देउ भन्यो । कुनै ठाउँमा संघीय फोरमलाई मत दिन भन्यो । यो पार्टीको के नीति भयो ? पार्टीको सिद्धान्त र नीति विपरित त्यस्तो गरियो र पार्टी धरासायी भयो । अविलम्ब पार्टीको अधिवेशन गर्नुपर्छ । १ वर्ष समय थप गर्नुहुँदैन । यो नेतृत्वलाई छिटो बिदा गर्न सकिएन भने पार्टी र देश दुवैलाई डुबाउँछ । महासमिति बैठकमा यो विषय जोडदार रूपमा उठाउनेछु ।

एकता सन्देश दिनुपर्छ
जस्मिन मण्डल
महासमिति सदस्य, मोरङ
हामीले महासमितिको बैठकबाट धेरै अपेक्षा गरेका छौं । महासमिति बैठक कांग्रेसका लागि अत्यन्तै महत्वपूर्ण क्षणमा हुँदैछ । देशमा कम्युनिष्टहरूको बलियो सरकार छ । कांंग्रेस विधान संशोधन गर्दैछ । विधानका विषयमा क्षेत्रगत रूपमा सुझाव संकलन गरिएको थियो । त्यहाँ पनि धेरै राम्रा सुझाव आएका छन् । आम जनताको भावना र राष्ट्रिय आवश्यकतालाई बोध गरेर अगाडि बढ्न जरुरी छ । त्यो विषयलाई हामी बैठकमा उठाउनेछौं ।
टिकट सिफारिसका सम्बन्धमा तल्लो तह वडाबाटै सिफारिस भएर, क्षेत्र हुँदै जिल्लामा आउने व्यवस्था विधानमा गरिएको छ । यसले पक्कै पनि संगठनलाई थप सशक्त बनाउन मद्दत गर्ने विश्वास लिएको छु । लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएको छ । त्यही एकताको भावनाअनुसार म महासमिति सदस्यका रूपमा बैठकमा सहभागी भएको छु । पार्टीभित्र आन्तरिक एकताको सन्देश यो बैठकले दिने छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र देशलाई सधैं अप्ठ्यारो अवस्थाबाट निकास दिन भूमिका खेलेको कांग्रेस पार्टीसँग यतिबेला सिँगै देशले अपेक्षा गरेको छ । त्यस्तै, ७० वर्ष नाघेकाहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । युवाहरूलाई भूमिका दिनुपर्छ भनेर पनि कुरा उठेको छ । महिला, मधेसी, जनजाती, आदिवासी, हिमाल, पहाड, तराई सबैको भावना समेट्ने गरी सुदृढ कांग्रेस बनाउनुपर्ने आवश्यकता छ । महासमिति बैठकपछि हामी त्यो दिशामा अग्रसर हुनेछौं भन्ने विश्वास लिएको छु ।