कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
824

गोपाल कँडेल
एनआरएनए मध्यपूर्व उपसंयोजक

एनआरएनए अभियानमा खाडीमा रहेका नेपालीहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरिएको छ भन्ने आरोप लाग्ने गर्छ । यो आरोपलाई चिर्न के गरिरहनु भएको छ ?
न यूरोपमा बस्ने एकजना दाजुले खाडीमा बस्ने अर्को भाइलाई यस्तो रुपमा प्रयोग गरेको छ, न त्यसबापत उसलाई केही फाइदा नै छ । यो केवल अभियान हो । सामाजिक सेवामा लागेर बचतको समय र केही आर्थिक भागलाई समाजको सेवामा आफ्नो खल्ती आफैंले रित्तो गर्दै विदेशमा बस्ने नेपालीहरुलाई सहयोग गर्ने अभियानमात्रै हो ।

मध्यपूर्व एनआरएनएले कस्ताकस्ता सामाजिक कार्य गरेको छ ?
हामीले डोल्मा शेर्पा बचाउ अभियान, सिन्धुपाल्चोक बढीपीडितको लागि सहयोग अभियान, भूकम्प पीडितको लागि लाप्राक बस्ती अभियान, शंखमूल पार्क निर्माण, सिन्धुलीगढी निर्माण अभियानलगायतका सामाजिक क्षेत्रमा सहयोगका लागि काम गरेका छौ । यसरी नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमध्ये तोपबहादुर बचाउ अभियान, अनिश खालिङ राई बचाउ अभियान, टिकाराम सापकोटा बचाउ अभियान, नारायण पासवान बचाउ अभियानलगायतका अभियानमा सहकार्य गरेका छौं । यसरी नै अन्य थुप्रै छन् जुन व्यक्तिगत या संस्थागत रुपमा अभियान चलाएर उद्धार तथा सहयोग गरिएको छ ।

गल्फमा एनआरएनएलाई श्रमिकमैत्री बनाउने भाबी योजना के के आउँदैछन् ?
वैदेशिक रोजगारमा पीडितको लागि सहयोगको कोष निर्माण, हजारे अभियानलाई पूर्णता दिनुपर्ने, सहज रुपमा एनआरएनए कार्डको व्यवस्था आदि तत्काल रुपमा प्रभावकारी रुपमा लिइनुपर्दछ । जटिल समस्याका रुपमा देखिन आएका घरेलु महिला कामदारका समस्या होस् या मानव तस्करी रोक्नका लागि नेपाल सरकारको सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै समाधान खोजिनुपर्छ । तबमात्रै मध्यपूर्वमा एनआरएनए श्रममैत्री बन्न सक्छन् ।

एनआरएनएको चुनावमा जारी गरिएको घोषणापत्र कार्यान्वयन गर्नुभएको छ ?
वास्तवमा नै भन्ने हो भने हामीले समाजसेवा गर्ने हो । समाजको लागि बचत समय खर्चिने हो । त्यति ठूला घोषणापत्र हामीले जारी गर्नुपर्छ जस्तो लाग्दैन र गरिएन पनि । समाजलाई लाभ हुनका लागि आर्थिक रुपमा होस् या बौद्धिक रुपमा आफूलाई प्रस्तुत गरेको छु । बाँकी कागजमा लेखेर भन्दा काम गरेर देखाउनुपर्छ भन्ने कुरामा विश्वास राख्दछु । घोषणापत्रमा लेखेका घोषणाहरुलाई नैतिक रुपमा न्याय दिने प्रयास गरेको छु ।

एनआरएनएका सदस्य नै गलत कार्यका लागेको भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?
समाजप्रति उत्तरदायी छ एनआरएनए अभियान । गलत गर्नेलाई अभियानले बचाउ गर्ने कहिलै पनि गर्दैन र गरेको पनि छैन । अनुशासनको कारबाही गर्ने प्रकृया हाम्रो छ र त्यो अहिलेसम्म हामी सबै पालना गर्दै आएएका छौ । अभियान हो सबै राम्रा र सद्दे व्यक्तिहरु हुन्छ भन्ने कदापी हुँदैन । तर गल्तीलाई आवश्यक कारबाही गर्ने विधानमा उल्लेख छ ।

सरकारले तत्काल सम्बोधन गर्नुपर्ने मध्यपूर्वका समस्याहरु के के हुन् ?
भिजिट भिसाको समस्या, मानव तस्करीको समस्या, घरेलु महिला कामदारको श्रम स्वीकृतीको जटिल समस्या एवं स्वदेश फिर्ता भइसकेका नेपाली दक्ष कामदारको लगानीको सुरक्षा तथा सुहाउँदो कामको व्यवस्था रहेका छन् ।