कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
592

नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन र लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट (पर्यटन बजार मेला) शुक्रबार सुरु हुँदै छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस नाट्टा नेपालले आयोजना गरेको यो मार्ट आइतबारसम्म चल्नेछ । मुख्य रूपमा पर्यटनसम्बन्धी प्याकेजहरू खरिद बिक्री हुने यो ट्राभल मार्ट (पर्यटन बजार) मा चीन, भारतलगायत विभिन्न देशका ५० भन्दा बढी क्रेताहरू आउनेछन् भने त्यत्तिकै मात्रामा बिक्रेता, स्वदेशी पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय सञ्चारकर्मी, ब्लगरलगायत सहभागी हुँदै छन् । लुम्बिनीसहित नेपालका अन्य पर्यटकीय गन्तव्यहरूमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको बुद्धिष्ट ट्राभल मार्टको उद्घाटन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । शुक्रबारबाटै बीटुबी, पर्यटन प्रवद्र्धनका बारेमा विज्ञहरूको कार्यपत्र प्रस्तुत छलफलसमेत आयोजना हुनेछ । बिहीबार कार्यक्रममा सहभागी देश–विदेशका प्रतिनिधिहरूलाई लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम स्तूपको अवलोकन गराउँदै त्यहाँको ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका बारेमा जानकारी गराइएको थियो । तीन दिनसम्म सञ्चालन हुने बुद्धिष्ट ट्राभल मार्टका आयोजक तथा सरोकारवालाहरूसँग कारोबार दैनिकका रुपन्देही प्रतिनिधि मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :

लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य
दीपकराज जोशी
प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड
सगरमाथा (माउन्ट एभरेस्ट) र शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको देश भनेर नेपाल विश्वभर प्रख्यात छ । यसका अतिरिक्त नेपालमा पर्यटकहरूका लागि धेरै कुरा छन् । सांस्कृतिक तथा प्राकृतिक सम्पदा अपार छन् । त्यसैले पर्यटकहरूका लागि एकपटक मात्रै होइन, बारम्बार नेपाल भ्रमणका लागि इच्छा, चाहना राख्ने गरेका छन् । नेपालमा आउने पर्यटकको संख्या वर्ष २०१८ मा ११ लाख नाघ्यो । तीमध्ये १ लाख ७० हजारको हाराहारीमा विदेशी पर्यटक (भारतीयबाहेक) लुम्बिनी पुगे । यो तथ्यांकले पनि लुम्बिनी बिस्तारै देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गइरहेको प्रमाणित हुन्छ ।
पर्यटकको रोजाइको गन्तन्य बन्दै गरेको लुम्बिनी र वरपरका क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार अन्तर्राष्ट्रिय स्तरमा गर्ने उद्देश्यले सुरु भएको प्रथम बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट (बीटीआईएम) ले निश्चय पनि यो क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विश्व पर्यटन बजारमा यो मार्टको आफ्नै महत्व रहेको छ । लुम्बिनी एक आध्यात्मिक पर्यटन क्षेत्र भएकाले र विश्वमा बौद्ध धर्म मान्नेहरूको जनसंख्या पनि अर्बौ रहेकाले लुम्बिनीमा सुरु भएको बुद्धिष्ट ट्राभल मार्टमार्फत विश्वभरका बौद्धमार्गीहरूको ध्यान आकृष्ट गर्न यो मार्ट सफल हुनेछ ।
अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीसँगै आउने विदेशी सञ्चारकर्मी र ब्लगरहरूका कारण पनि यो इभेन्टको स्वतः अन्तर्राष्ट्रियकरण हुनेछ । यो ट्राभल मार्टले स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरू, बायरहरूलाई स्थापित गराउने, विदेशी बायर, सञ्चारकर्मीहरूलाई यहाँका आध्यात्मिक स्थलको प्रचार गर्न एउटा प्लेटफर्मको रूप दिनेछ र देशविदेशका सबै सहभागी प्रतिनिधिहरूबीच सम्बन्ध स्थापित (नेटवर्किङ) हुनेछ । त्यसैले यो बुद्धिष्ट ट्राभल मार्ट भनेको लुम्बिनी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनको राम्रो अवसर हो । ट्राभल मार्टमा सहभागीले प्रत्यक्षरूपमा यहाँका साइटहरूमा समेत पुगेर अवलोकन गर्ने अवसर पाएकाले यो पर्यटन बजारका लागि सकारात्मक सन्देश पनि हो । विश्वमा धेरै प्रकारका पर्यटन मार्टहरू हुने भए पनि बौद्ध क्षेत्रलाई लक्षित गरी आयोजना हुन गइरहेको बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको आफ्नै महत्व र विशेषता रहेको छ । बीआईटीएमले लुम्बिनीसहित समग्र देशको पर्यटन गतिविधि प्रवद्र्धन गर्न मद्दत पुग्छ । बीआईटीएम नेपाल भ्रमण वर्ष २०२० को एउटा कडी पनि हो ।

लुम्बिनी प्रवद्र्धन मुख्य उद्देश्य
सी.एन. पाण्डे
अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)
गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सुरु भएको प्रथम बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको मुख्य उद्देश्य भनेको लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार र प्रवद्र्धन गर्नु मात्रै होइन, विश्वभर भएका बौद्ध धर्मावलम्बीहरूको ध्यान लुम्बिनी र नेपालमा आकृष्ट गराउनु पनि हो ।
विश्वका विभिन्न देशका, त्यसमा पनि छिमेकी मुलुक चीन, भारतसँगै अन्य मुलुकका पर्यटन व्यवसायीहरूलाई प्रत्यक्ष रूपमा लुम्बिनी र बुद्धिष्ट सर्किटको भ्रमण गराई उनीहरूलाई यहाँको पर्यटन प्याकेजबारे पूर्ण रूपमा जानकारी दिनेछौं । यसले गर्दा नेपाल र लुम्बिनीको प्याकेज खरिद गर्न चाहनेहरूलाई कस्तो ठाउँमा पर्यटक जाँदैछन् भन्ने पूर्वजानकारीसमेत हुन्छ ।
ट्राभल मार्टमा विश्वका ३० मुुलुकका टुर अपरेटर, त्यहाँका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिहरू, पर्यटन व्यवसायीहरू, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि तथा ब्लगरहरू गरी सय जनाभन्दा बढी उपस्थित हुनेछन् । यसले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ । यसअघि नेपालमा अन्य ट्राभल मार्टहरू हुने भए पनि बुद्ध र लुम्बिनीसँग जोडिएर आयोजना हुन थालेको पहिलो मार्ट भएकाले यसको अन्तर्राष्ट्रिय स्तरमै महत्व छ ।
नेपाल सरकारले वर्ष २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरीसकेकाले पनि उक्त वर्ष बढीभन्दा बढी बुद्धिष्ट मुलुकबाट पर्यटक भित्र्याउनका लागि पनि यो बुद्धिष्ट ट्राभल मार्ट महत्वपूर्ण बन्नेछ । मार्टमा पर्यटन क्षेत्रको विकासलगायतका विषयमा अन्तक्र्रिया र छलफलसमेत हुनेछ ।
बुद्धिष्ट सर्किटलाई लुम्बिनीबाट सुरु गरेर कसरी अन्तर्राष्ट्रिय स्तरमा वजारीकरण गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । विश्वभरका टुर अपरेटरहरूलाई लुम्बिनीको महत्वका विषयमा जानकारी दिइनेछ । बीटीआईएमको समापनपछि लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछौं ।

पर्यटन विकासमा कोसेढुंगा
चन्द्रप्रकाश श्रेष्ठ (सीपी)
अध्यक्ष, सिद्धार्थ होटल एसोसिएसन, लुम्बिनी
नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल टुरिजम बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको आयोजनामा सुरु भएको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । पर्यटन विकासमा यो कोसेढुंगा साबित हुनेमा हामी विश्वस्त छौं । यस किसिमको पर्यटन लक्षित कार्यक्रम निजी क्षेत्रको अग्रसरतामा हुन लागेको छ । निश्चय पनि यसले सम्भावनाको ढोका खुल्नेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुनेतर्फ गैरहेको लगायतका विषयले पनि पछिल्लो समय लुम्बिनी, भैरहवा क्षेत्रमा होटल निर्माण गर्ने क्रम अत्यधिक बढेको छ ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए पछि यहाँ पर्यटक अझै बढ्ने निश्चित छ । हामी विश्वस्त छौं, भविष्यमा पर्यटक अधिक आउनेछन् । पर्यटन क्षेत्रमा सम्भावना देखेरै लगानी बढेको छ । नयाँ–नयाँ होटलहरू खुल्ने क्रम बढेको छ । सामान्य पर्यटकीय सुविधादेखि पाँचतारे होटलहरू खुलेका छन् । धेरै पाँचतारे होटल निर्माण हुने क्रममा छन् । लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थलका कारणले नेपालकै महत्वपूर्ण क्षेत्र बनेको छ यो । त्यसमा अहिले सुरु भएको बुद्धिष्ट पर्यटन मार्टले सम्भावनाको ढोका खोलेको छ । यो सुरुवात हो । सबैको सहयोगमा सफल हुने हो । अब प्रत्येक वर्ष लुम्बिनीमा निरन्तर यो मार्ट आयोजना हुनुपर्छ । लुम्बिनीमा बुद्धिष्ट पर्यटन मार्ट आयोजना गर्नु भनेको विश्वभरका बौद्धमार्गीको ध्यान आकृष्ट गराउनु हो ।

सम्भावनाका ढोका खोल्ने विश्वास
विष्णुप्रसाद शर्मा
अध्यक्ष, नाट्टा प्रदेश ५
काठमाडांैमा विभिन्न पर्यटन मेला हुने गरेको थियो । काठमाडौंबाहिर ट्राभल मार्ट पहिलो पटक आयोजना सुरु भएको हो । हामी पर्यटन व्यवसायी र निजी क्षेत्र धेरै उत्साहित छौं । लुम्बिनी र बुद्धलाई केन्द्रित गरेर यो ट्राभल मार्टको आयोजना सुरु भएकाले अहिले धेरैको ध्यान खिच्न सफल भएको छ । सरकार र निजी क्षेत्र मिलेर यो ट्राभल मार्टको आयोजना सुरु भएको छ । यसले सम्भावनाका ढोकाहरू खोल्नेछ । पहिलो पटकको प्रयास हो । अब निरन्तर आयोजना हुनु पर्छ भन्ने हामी सबैको एकमत भइसकेको छ । भिन्दै प्रकृतिको यो कार्यक्रमले भविष्यमा विश्वको पर्यटन बजारमा अवश्य पनि स्थान बनाउनेछ । यस्ता कार्यक्रमहरू सरकारी स्तरबाटै पुर्ण रुपमा सञ्चालन गर्नुपर्छ ।
तीन दिनसम्म जारी रहने पर्यटन बजारमा मुख्य रूपमा पर्यटनसम्बन्धी प्याकेजहरू खरिद बिक्री हुने र विभिन्न मुलुकका पर्यटन सम्बद्ध व्यवसायी, सञ्चारकर्मी, ब्लगर सहभागी छन् । लुम्बिनीका साथै मुलुकको पर्यटन प्रवद्र्धनका लागि बढीभन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउन के गर्नु जरुरी छ भन्ने विषयमा पनि छलफल र अन्तक्र्रिया हुनेछ । साथै यो कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचारात्मक रूपमा सहयोग पु¥याउँछ ।

लुम्बिनीको प्रवद्र्धन र प्रचार
अच्युत शर्मा गुरागाईं
सदस्य सचिव, बीआईटीएम
बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको मुख्य उद्देश्य भनेको लुम्बिनीको प्रवद्र्धन र प्रचार हो । निश्चय पनि पोखरा, चितवन र काठमाडांैको पर्यटन बजारभन्दा लुम्बिनीको आफ्नै भिन्नै महत्व रहेको छ । लुम्बिनीमा आउने पर्यटकहरू आध्यात्मिक पर्यटकका रूपमा केही बढी हुने गरेका छन् । विश्वमा अर्र्बाैंको संख्यामा बौद्धमार्गीहरू रहे पनि विश्वभरबाट मुस्किलले १ लाख ७० हजार (वर्ष २०१८) मा भ्रमणका लागी लुम्बिनी पुगेका थिए । विश्वका बौद्ध जनसंख्याको १ प्रतिशतको चार भाग मात्र पर्यटक लुम्बिनी ल्याउन सकियो भने पनि ठूलो उपलब्धि हुन्छ । त्यसैले लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरूको ध्यान आकृष्ट गर्न लुम्बिनी क्षेत्रमा बुद्धिष्ट ट्राभल मार्ट आयोजना सुरु भएको हो । यो कार्यक्रमले तत्काल नभए पनि निश्चित रूपमा भविष्यमा बाह्य पर्यटक आगमन वृद्धि हुन्छ । यो कार्यक्रममा चीन, ताइवानका सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायतबाट ब्लगरहरू, माल्दिभ्स, श्रीलंका, भुटानलगायत १७ वटा मुलुकबाट टुर अपरेटर, पर्यटन व्यवसायी उद्यमी सहभागी छन् । कम्तीमा अब यी १७ वटा देशमा लुम्बिनीलगायत नेपालको बौद्ध सर्किट क्षेत्रको थप प्रचार हुनेछ । यो मार्टको उद्देश्य नै लुम्बिनी प्रवद्र्धन हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा छ । यसको सञ्चालनपछि पर्यटकहरू बढ्ने निश्चित छ । यो बुद्धिष्ट ट्राभल मार्ट निरन्तर आयोजना हुनुपर्छ भन्ने हाम्रो धारणा हो । हामी निजी क्षेत्र जहिले पनि सरकारसँग मिलेर काम गर्न तयार छौं । यो मार्ट पनि मिलेरै आयोजना भएको हो ।

पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि
कृष्णप्रसाद देवकोटा
सचिव, पर्यटन मन्त्रालय
गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न ट्राभल मार्ट आयोजना गरिएको हो । विदेशका पर्यटन व्यवसायी, टुर अपरेटर, सञ्चारकर्मी, ब्लगरहरूको उपस्थिति बुद्धिष्ट ट्राभल मार्टमा हुने भएकाले यो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धिका रूपमा लिनुपर्छ । यसले लुम्बिनी क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारमा मद्दत पुग्नेछ ।
यो मार्टमा यस क्षेत्रसँगै अन्य क्षेत्रका पनि पर्यटन प्याकेजहरूको सेवा तथा ब्यापारको समेत खरिद बिक्री हुने भएकाले पर्यटन व्यवसायीहरूलाई आफ्नो व्यवसायसँगै पर्यटकीय स्थलहरू स्थापित गराउने यो सुनौलो अवसर हो । यो बुद्धिष्ट ट्राभल मार्टले नेपालको लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्राम समेटी बुद्धिष्ट प्याकेजसमेत घोषणा गर्नेछ । बुद्ध जन्मस्थलबाट बुद्धिष्ट सर्किट प्याकेज सुरुवात हुनुपर्छ र यो हामी जसरी पनि गछौं ।


ट्राभल मार्टमार्फत हट एयर बेलुन सुरु
सञ्जय बजिमय
उपाध्यक्ष, नाट्टा प्रदेश ५
लुम्बिनीमा आयोजना हुने प्रथम बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको अवलोकन हट एयर बेलुनबाट गर्न सकिने व्यवस्था मिलाएका छौं ।
ट्राभल मार्टमा सहभागी हुन आउने तथा अन्य पर्यटकहरूलाई लक्षित गरी कम्तीमा तीन दिनसम्म हट एयर बेलुन सञ्चालनमा ल्याउन लागिएको हो । ५ दिन सम्मका लागी पोखराबाट बेलुन ल्याएका छौं ।
जनवरीको १०, ११ र १२ तीन दिनसम्म ट्राभल मार्ट आयोजना हुँदैछ र सोही क्रममा हट एअर बेलुन उडाउन थालिएको हो ।
लुम्बिनी क्षेत्रको अवलोकन ठूलो बेलुनमा चढेर गर्न पाइनेछ र त्यसका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतिउडान १० देखि १५ मिनेटको हुने व्यवस्था मिलाएका छौं । त्यस्तै गरी समूहले बुक गरी आधा घण्टा र एक घण्टासम्म उडान भर्न सकिने व्यवस्थासमेत छ । पर्यटकको आकर्षण बढे निरन्तर सञ्चालनका लागि पहल गर्नेछौं ।
ट्राभल मार्टमा आउने स्वदेशी तथा विदेशी सहभागी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, ब्लगरहरूलाई समेत हट एयर बेलुनबाट लुम्बिनीको अवलोकन भ्रमण गर्न पाउने व्यवस्था मिलाइएको र यसले लुम्बिनीको प्रवद्र्धनमा मद्दत पुग्नेछ ।