कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५
737

फारिस हदाद जर्वोस
नेपालका देशीय प्रबन्धक
विश्व बैंक
फारिस हदाद जर्वोस विश्व बैंकका लागि नेपालका देशीय प्रबन्धक हुन् । नेपालका लागि मुख्य विकास साझेदारका रूपमा रहेको विश्व बैंकले नेपालको नीतिगत क्षेत्रदेखि विभिन्न परियोजनामा सहायता गर्दै आएको छ । पछिल्ला वर्षहरूमा नेपालमा विश्व बैंकको विकास सहायता बढ्दै गएको छ । यस्तै, विश्व बैंक नेपालसँगको सहकार्यको ५० औं वर्षिकोत्सव मनाउने क्रममा पनि छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो डुईङ बिजनेस रिपोर्टले नेपालको लगानीको वातावरण खस्कँदै गएको देखाएकोमा सरकारले त्यसलाई सच्याउन आग्रह पनि गरेको थियो । विश्व बैंकले नेपालको आर्थिक क्षेत्रको सुधारका लागि पछिल्ला वर्ष धेरै लगानी गरेको छ । आर्थिक सुधारमार्फत नेपालमा लगानी भित्र्याउन सकिने विश्व बैंकको भनाइ छ । चैतमा सरकारले गर्न लागेको लगानी सम्मेलनको तयारीदेखि नै विश्व बैंकले आफ्नो पक्षबाट आर्थिक सुधारदेखि सक्रिय सहभागिताको लागि सहयोग गरिरहेको छ । नेपालको आर्थिक अवस्था, यसको सुधार र पुनर्संरचना, सरकारको गर्न लागेको लगानी सम्मेलन, नेपालमा रहेको लगानीको वातावरण लगायतबारे कारोबारका सम्पादक कुबेर चालिसे र संवाददाता भीम गौतमले विश्व बैंकका नेपालका लागि देशीय प्रबन्धक फारिससँग गरेको कुराकानीको सार :
हालै सार्वजनिक भएको नेपालमा विकास सहायता प्रतिवेदनले विश्व बैंकको लगानी नेपालको आर्थिक सुधारमा धेरै केन्द्रित रहेको देखिन्छ । विशेषतः आर्थिक सुधार तथा यसको प्रतिफललाई लिएर विश्व बैंकले यसलाई कसरी हेरेको छ ?
यो प्रतिवेदनले आफ्नो अध्ययनमा उपयुक्त तरिकाले विश्लेषण गरेको छ । यदि तपाँईले विश्व बैंकसँगको साझेदारीमा भएको कार्यक्रम हेर्नुभयो भने यसमा क्रमिक विकासको अवस्था देखिन्छ । यसले नेपालको नयाँ आर्थिक भाष्य र सुधारको महत्वका बारेमा जोड दिएको देखिन्छ । यसमा विकास साझेदारको नेपालमा लामो संलग्नता पनि देख्न सकिन्छ । नेपालको इतिहास हेर्ने हो भने अहिले नेपाल नयाँ अवस्थामा छ । लामो समयसम्म राजनीतिक अस्थिरता रह्यो । शान्ति प्रक्रियामा सम्झौता भइसकेपछि एउटा स्थिर वातावरण बनेको छ । नेपालको इतिहासमा अहिले स्थायी सरकार छ । नेपालका लागि यो सबैभन्दा ठूलो अवसर हो । नेपाल अहिले संक्रमणकालीन अवस्थाबाट संघीयताको अवस्था पुगेको छ । यो ठूलो ‘प्याराडाइम सिफ्ट’ हो । अर्को कुरा, सरकारसँग दीर्घकालीन दृष्टिकोण तथा क्षमताका साथ अघि बढ्ने अवस्था छ । यसका लागि सहयोग गर्न विश्व बैंकजस्ता धेरै विकास साझेदार नेपालमा छन् । विश्व बैंकले नेपालसँगको सहकार्यको ५० औं वार्षिकोत्सव पनि मनाउन लागेको छ । हामीले नेपालको पूर्वाधार विकासका परियोजनाहरूमा सहयोग पनि गर्दै आएका छौं । धेरै वर्षदेखि हामीले नेपालको शिक्षा र स्वाथ्यमा पनि सहयोग गर्दै आएका छौं । सरकारको नेतृत्वमा विश्व बैंकले अन्य साझेदारहरूसँगको सहकार्यमा पनि काम गर्दै आएको छ । नेपालको आर्थिक विकासका लागि सहकार्य गर्ने धेरै नयाँ सम्भावना पनि देखिएको छ ।
मुख्य त विकासका लागि योजना र नयाँ दृष्टिकोण आवश्यक हुन्छ । जुन सहस्राब्दी लक्ष्य (एसडीजी) जस्ता योजना तथा लक्ष्य हासिल गर्नका लागि पनि आवश्यक छ । हुन त शान्ति सम्झौता, राजनीतिक स्थिरतालगायतका कामले नेपालमा धेरै किसिमको वातावरण बन्दै गएको भए पनि नेपाल फेरि एकपटक भूकम्प, बाढीलगायतका समस्यामा प¥यो, तर ती सबैको सामना गरेर नेपालमा विकासका लागि पछिल्लो समयमा उचित वातावरण बन्दै गएको छ । यसले गरिबी निवारणमा धेरै सहयोग गरेको छ । यसमा ठूलो सफलता प्राप्त भएको छ । गरिबी निवारणमा नेसनल हेड काउन्ट घटेर २५ प्रतिशत झरेको छ भने वास्तविक गरिबी घटेर १५ प्रतिशतमा सीमित भएको छ । कठिन समयमा पनि विभिन्न सूचकांकहरूमा उल्लेखनीय परिवर्तन आएको छ । अहिले हामीले केही फरक अवस्था देखेका छौं । सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराअनुसार अघि बढेको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देश बनाउने योजनाका साथ अघि बढेको छ । यसले अचम्मको अनुभूति के दिइरहेको छ भने नेपालले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न लगानीमा वृद्धि हुनुपर्छ । यो लक्ष्य प्राप्त गर्न नेपाल संक्रमणकालीन अवस्थाबाट संघीयतामा प्रवेश गरेको अवस्थामा समग्र वातावरण सहज हुनुपर्छ । यसका लागि फराकिलो सार्वजनिक स्रोतको आवश्यकता पर्छ भने विकास साझेदारहरूको निरन्तर सहयोगको पनि आवश्यकता पर्छ । यसै सेरोफेरोमा विश्व बैंक नेपालमा निरन्तर सहयोग गर्नका लागि तयार छ । विकासका लागि निजी क्षेत्रमार्फत पूर्वाधार लगानी पनि आवश्यक छ । नेपालले अहिले पूर्वाधारमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३ प्रतिशत खर्च गरिरहेको छ । आर्थिक वृद्धिदर हासिल गर्नका लागि यसमा चार गुणा बढी लगानी आवश्यक हुन्छ । यसकारण सार्वजनिक निकाय र विकासका नीतिहरू लगानीमा तथा आर्थिक सुधारमा केन्द्रित हुनुपर्छ र विश्व बैंकले पनि आर्थिक सुधारमा आफ्नो ध्यान केन्द्रित गरेको हो ।

बदलिँदो परिस्थितिमा विश्व बैंकले नेपालको आर्थिक सुधारका विषयमा सहयोग गरे पनि विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस रिपोर्टले भने लगानीको वातावरण खस्कँदै गएको देखाएको छ । विश्व बैंकको प्रतिवेदनले आर्थिक सुधार भएको नदेखेको हो वा नेपालमा आर्थिक सुधार नभएकै हो ?
यसको उत्तर हो÷होइन भन्नेमा भन्दा पनि सरकारले लगानीलाई आकर्षण गर्नका लागि महत्वपूर्ण सुधारको काम अघि बढाएको छ । यसका लागि विभिन्न प्रयास पनि अघि बढाउन लागेको छ । लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । विभिन्न कानुन, नीति– निर्देशिकाहरू परिवर्तन गर्न लागेको छ । फिट्टा (वैदेशिक लगानी प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण ऐन), सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका कानुनमा सुधार हुँदैछ । यसले केही सुधारका संकेत देखाएको छ, तर एउटा कुरा के हेक्का राख्नुपर्छ भने नेपाल विकासका लागि एउटा उदाउँदो राष्ट्र हो । नेपालसँग नयाँ संविधान छ । नेपालमा ७ सय ६१ सरकार छन् । नयाँ संविधान कार्यान्वयनको चरणमा छ । त्यसैले यो सुधारका लागि समय लाग्छ, रातारात हुने कुरा होइन । यस्तै, नयाँ संरचनामा निजी क्षेत्रलाई सँगसँगै हिँडाउनका लागि यसमा प्रशस्त आधार छन् । यो रातारात भएको होइन । यो एउटा लामो समयको अभ्यास हो । हरेक देशका आ–आफ्ना परिदृश्यहरू छन् । कोही पनि एकैपटक उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा पुगेका होइनन् । नेपाल आफ्नो इतिहासकै प्याराडाइम सिफ्टमार्फत नयाँ परिणाम निर्माणको चरणमा छ । यसका लागि प्रयासहरू सुरु भएका छन् । कम्तीमा दुई वर्षमा यसका संकेतहरू देखा पर्न थाल्छन् । मेरो विचारमा आर्थिक सुधार नेपालको विकासका लागि आधारशिला हो । कानुन हुनुमात्र सबै कुरा होइन । जस्तै, लगानी आकर्षण गर्न विश्वका धेरै देशमा सही नीति र कानुन छन् । तर, त्यसको वास्तविक कार्यान्वयन र कार्य सम्पादनको खाँचो हुन्छ । सही कानुन र नीति दैनिक रूपमा कार्यान्वयन गर्न सके अपेक्षित आर्थिक वृद्धिदर टाढा छैन । यदि निजी क्षेत्र आउन सक्छ र उनीहरूको अभिरुचि छ भने यसका लागि आर्थिक सुधारको आधारशिला तयार हुनुपर्छ । लगानीको वातावरण बनाउन सके यसले सफलतातिर अघि बढाउँछ । मेरो विचारमा लगानी सम्मेलन नेपालका लागि एउटा कोसेढुंगा सावित हुनेछ । यसका लागि निजी क्षेत्रलाई सहभागी गराएर ‘क्राउड इन्भेस्टमेन्ट’ को वातावरण बनाउनु आवश्यक छ ।

तपाँईले यी कुरा भनिरहँदा कार्यान्वयन तथा वातावरण निर्माणमा केही शंका रहेको देखिन्छ । अहिलेको सरकारले अघि बढाएका गतिविधि हेर्दा त्यस्तो शंका गर्नुपर्ने अवस्था केही देख्नुभएको छ र ?
नेपालमा धेरै वर्ष अस्थिर सरकार थियो । अहिले पाँच वर्षका लागि स्थिर सरकार छ । यो प्रारम्भिक योजनाको चरणमा छ । मैले नेपालको एक विकास साझेदारका रूपमा हेर्दा सरकार सकारात्मक दिशातिर अघि बढेको देखिन्छ । मेरो विचारमा निराशावादीभन्दा आशावादी हुने अवस्था सिर्जना हुँदैछ । विश्व बैंकको आँखाबाट हेर्दा हाल धेरै ऐन, कानुन, नीति, निर्देशिकाहरू अन्तर्राष्ट्रिय रूपमा तुलना गर्दा पनि सकारात्मक देखिने गरी सुधार हुँदैछन् । नेपालको भविष्य हेर्दा सकारात्मक देखिने अवस्था छ । यसकारण ममा सकारात्मक भावना जागृत भएको छ ।

बहुपक्षीय विकास साझेदारका हिसाबले तपाईंको भनाइ सकारात्मक छ, तर द्विपक्षीय विकास साझेदार देश अमेरिकाले केही दिनअघि लगानी सम्मेलनका लागि केही छिटो भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । यस्तो अवस्थामा विकास साझेदारहरूले यसलाई कसरी हेर्नुहुन्छ ?
मलाई लाग्छ, विश्व बैंक र अन्य विकास साझेदारहरूले सम्मेलनका लागि समन्वयको भूमिका खेलिरहेका छन् । यसका लागि हामीले सकारात्मक भूमिका खेलिरहेका छौं । हामी सबैबीच मुख्य मुद्दाहरूमा आम सहमति छ । एउटा प्रत्यक्ष निर्वाचनबाट आएको सरकार सक्रिय छ । यसले वास्तविक रूपमा फोकस गरेर निजी क्षेत्रको लगानी आकर्षण गर्न सक्दो काम गरिरहेको छ । सरकार, विकास साझेदार र स्थानीय लगानीकर्ताहरू एकीकृत छन् । यसले अन्ततोगत्वा आर्थिक विकासका लागि लगानीको वातावरण सुधार्न सहयोग पुग्छ । हामीले अहिले के आशा गरिरहेका छौं भने दिगो विकासका लागि नेपाल सकारात्मक बाटोतिर अघि बढिरहेको छ । म फेरि भन्छु, मेरो विचारमा लगानी सम्मेलन विकासका लागि एउटा कोसेढुंगा हुनेछ । तर, यो एउटा सुनौलो भविष्यको सुरुवात हो, अन्त्य होइन । लगानी सम्मेलनमा सरकारले आयोजनाहरू शोकेस गर्ने बताएको छ । यसका लागि प्रतिबद्धता पनि जनाएको छ । विश्व बैंक यसको प्रशंसा पनि गर्न चाहन्छ । यस्तै, नेपाल सरकार ऐन, कानुन संशोधन गरेर उचित वातावरण बनाउन पनि गम्भीर बनेको छ । यसकारण लगानी सम्मेलन सबै लगानीकर्ता एकसाथ जम्मा हुने थलो बन्दैछ ।

लगानी बोर्डले लगानी सम्मेलनका लागि केही आयोजना पनि प्रस्तुत गर्न लागेको छ । के यो सम्मेलनमा विश्व बैंकले केही नयाँ आयोजनाहरूमा लगानी गर्ने योजना बनाएको छ ? वा विश्व बैंकले आर्थिक सुधारलगायतका सफ्टवेयरमा मात्र सहयोग गरिरहन्छ ?
विश्व बैंक पनि नेपालका लागि एउटा लगानीकर्ता हो । हामीले सार्वजनिक र पूर्वाधार क्षेत्रमा सहायता गरिरहेका छौं । निजी क्षेत्रलाई पनि सहयोग गरिरहेका छौं । हामी थप लगानीका लागि पनि सकारात्मक छौं । हामीलाई बिनाचुनौती र समस्या लगानी हुन सक्दैन भन्ने थाहा छ । नेपाललाई आर्थिक नीतिका लागि हामी आवश्यक सल्लाह र वित्तीय सहयोग पनि गरिरहेका छौं । संक्रमणकालीन संघीय व्यवस्थापनका लागि पनि हामीले सहायता गरिरहेका छौं । हामीले नेपालमा खर्च गर्ने प्रत्येक डलर सार्वजनिक क्षेत्रका लागि सहयोग हुँदा यसको प्रभाव पनि सकारात्मक छ । फराकिलो आर्थिक नीति निर्माणमा सहयोग तथा यसलाई कार्यान्वयनमा लैजानका लागि पनि हाम्रो सहयोग निरन्तर छ । लगानी सम्मेलनमा विकास साझेदारहरू एकै ठाउँमा ल्याएर नेपालको आर्थिक विकासका लागि सहायता गर्न पनि हाम्रो सकारात्मक पहल रहन्छ ।

डुइङ बिजनेस प्रतिवेदनले नेपालमा लगानीका लागि त्यति सकारात्मक वातावरण देखाएको छैन । तपाईं लगानीका लागि माहोल बनाइरहेको भन्नुहुन्छ । के यसमा केही मिसम्याच छैन ?
म पूर्ण परिवर्तनमा अभिरुचि राख्छु । नेपाल व्यापारको सम्भावना छ, तर उत्कृष्ट वातावरण छ भन्ने अवस्था छैन । तर यहाँ स्पष्ट रूपमा उत्कृष्ट अवसर र चुनौती दुवै छ । प्रतिवेदनले पनि यो देखाएको छ । म के विश्वास गर्छु भने यो प्रतिवेदन नेपालमा लगानीको वातावरण निर्माणका लागि धेरै सहयोगी हुनेछ । र सैद्धान्तिक र व्यावहारिक रूपमा अर्को वर्ष यसमा ठूलो सुधार हुने अपेक्षा पनि छ । नेपालले विकास साझेदारहरूलाई तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आउनका लागि उचित वातावरण बनाउने छ भन्नेमा मलाई विश्वास छ । डुइङ बिजनेस रिपोर्ट विश्वकै लागि महत्वपूर्ण विवरण भएकाले यसमा आउने सुधारसँगै यसले धेरै सकारात्मक वातावरण पनि बन्छ । लगानीकर्ताले लगानी ल्याउनका लागि जहिले पनि आधारभूत आवश्यकताका रूपमा नीतिको स्थिरता तथा लगानीको वातावरण हेरेको हुन्छ । यो अत्यावश्यक सर्त पनि हो । यसका लागि लगानीकर्ताहरूलाई नीति, ऐनका साथै भएका समझदारीहरूको स्थिरता आवश्यक पर्छ । मलाई लाग्छ, लगानी गर्न चाहनेहरूका लागि नेपालमा सकारात्मक तथा पूर्ण परिवर्तनको वातावरण बन्दैछ । हामीले सँगसँगै बसेर सरकारसँग लगानी भित्र्याउनका लागि अवरोधहरू पहिचान गरेर आवश्यक सुधार गरी लगानीको सुरक्षाको कुरा अघि बढेका छन् ।

लगानीमा अवसर र चुनौतीको कुरा गर्दा नेपालमा विकासका धेरै सम्भावना छन् । अबको पाँच वर्षपछि धेरै लगानीकर्ता नेपालमा प्रतिस्पर्धा गर्न सक्छन् । तर, हाल धेरै लगानीकर्ता नभएकाले यस अवसरबाट लगानीकर्ताले फाइदा लिन सक्ने अवस्था पनि छ नि ?
अवसरकै कुरा गर्दा नेपालका लागि विभिन्न निकायहरूले लगानी ल्याउनका लागि ठूलो प्रतिबद्धता जनाइरहेका छन् । नीतिहरू परिवर्तन भइरहेका छन् । यसलाई सतर्कतापूर्वक अभ्यासमा लैजानुपर्छ । मलाई लाग्छ, नेपालमा लगानी गर्ने अहिले उचित समय छ । यहाँ वातावरण छ, युवा जोससहितको निजी क्षेत्र छ । यसलाई उचित उपयोग गर्ने बेला आएको छ । तर विगतको अवस्था हेर्दा र भविष्यलाई विश्लेषण गर्दा यसमा अझ सकारात्मक वातावरण बनाउँदै जानुपर्ने अवस्था छ । यसका लागि सरकार र विकास साझेदारहरूसँगै हिँडेका छौं । यसमा विश्वासयोग्य वातावरणको सिर्जना गर्नु जरुरी छ । आधारभूत रूपमा नै यसको सुधार जरुरी छ । यसमा म आशावादी छु ।

छिमेकी राष्ट्र भारतको गुजरातले यस्ता लगानी सम्मेलन धेरैपल्ट गरेपछि मात्रै लगानी आएको भनिन्छ । नेपालले पनि दोस्रो पटक लगानी सम्मेलन गर्दैछ । अहिले नेपालमा राजनीतिमा स्थायित्व छ । धेरै ऐन, कानुन पनि लगानीमैत्री बनाइँदैछ । यस्तो अवस्थामा हुने लगानी सम्मेलनले लगानीका लागि नयाँ भाष्य तयार गर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ?
यसले नेपालको विकासका लागि पुँजी संकलन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसलाई आलोचनात्मक रूपमा हेर्दा यसले एउटा सकारात्मक वातावरण बनाउने हो । योजनाहरू कार्यान्वयनमा जानका लागि एउटा पूर्वतयारी पनि हो यो । ब्रिलियन्ट इन्भेस्टर ल्याउनका लागि हामीले लगानीमैत्री वातावरण र आधारभूत तहमा नै सोअनुसार कार्यान्वयनमा ध्यान दिनुपर्छ । यो समग्र विकासको वातावरण सिर्जनाको कुरा पनि हो । लगानी सम्मेलनका प्रस्तुतिकरणले समग्र रूपमा परिवर्तन हुन सक्छ । हाल नेपालमा गरिबी निवारणमा आएको सुधार, नयाँ संविधान, राजनीतिक स्थिरतालगायतका कारणले सकारात्मक वातावरण बन्दै गएको छ । आधारभूत कानुनहरू परिवर्तन हुँदैछन् । निजी क्षेत्रमैत्री बन्दैछन् । लगानीकर्ताहरू कुनै देशमा आएपछि त्यसको प्रतिफल खोज्छन्, यो स्वाभाविक हो । यसमा रहेका जोखिम न्यूनीकरण गरेर सरकारले यसको वातावरण बनाउनुपर्छ ।

विश्व बैंकको निजी क्षेत्रलाई लगानी गर्ने संस्था आईएफसीले नेपालमा लगानी सम्मेलनको अवसर पारेर नयाँ परियोजनाहरूमा लगानीको घोषणा गर्न सक्ने कत्तिको सम्भावना छ ?
मलाई लाग्छ, आईएफसीलगायतका केही विकास साझेदारले लगानी सम्मेलनमा केही नयाँ परियोजनाहरूमा लगानी गर्ने घोषणा गर्न सक्छन् । यस लगानी सम्मेलनमा विश्व बैंक समूहका तीन उपाध्यक्ष आउँदै हुनुहुन्छ । विश्व बैंक, आईडीए र आईएफसीका उपाध्यक्ष आउँदै हुनुहुन्छ । निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि पनि विश्व बैंकका अन्य कार्यक्रमहरू पनि छन् । उहाँहरू आएपछि यसले लगानी क्षेत्रलाई समेत थप उत्साहित बनाउनेछ । सम्मेलनको अवसर पारेर नेपालमा लगानी गर्नका लागि उत्साहित बनाउने वातावरण बन्नेछ । उहाँहरूले नेपालको लगानी गर्नका लागि सरकार र निजी क्षेत्रसँग पनि सल्लाह गर्नुहुनेछ ।

विगतमा विश्व बैंकले लगानी गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विविध कारणले हात झिक्नुप¥यो । के विश्व बैंकले फेरि त्यस्ता ठूला परियोजनाहरूमा लगानी गर्ने योजना बनाएको छ ?
अहिले विश्व बैंकले नेपालमा विभिन्न २५ आयोजनाहरू अघि बढाइरहेको छ । थप लगानीका लागि सरकारसँग छलफल पनि गरिरहेका छौं । पूर्वाधार क्षेत्रमा लगानीका लागि कुरा भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग निर्माणका लागि पनि कुरा भइरहेको छ । जलविद्युत् आयोजनाहरूमा पनि लगानीका लागि छलफल भइरहेको छ । नयाँ संघीय संरचनामा सार्वजनिक लगानी र फराकिलो नीति निर्माणमा समेत हाम्रो सहायता निरन्तर रहन्छ । निजी क्षेत्रलाई लगानीका लागि सहायता दिने काम पनि अघि बढाएका छौं ।

बेला–बेलामा नेपालमा विकास साझेदारहरूका बारेमा अन्योलता देखिन्छ । सायद स्कुल अफ थटका कारण पनि होला । विकास साझेदारहरूले नेपालको स्रोतको शोषणा गरेको आरोप पनि लाग्ने गरेको छ । तर, नेपालका विकास लक्ष्य हासिल गर्न विदेशी लगानीकर्तालगायत विकास साझेदार चाहिन्छ पनि भनिन्छ । सरकारको आफ्नो राजनीतिक दर्शनका कारण विकास साझेदारसँगको सम्बन्धमा तथा विकासका आयोजनामा समस्या आएका पनि देखिन्छ । हालको अवस्थामा नेपालमा काम गर्न विकास साझेदारहरूलाई कत्तिको सहज अवस्था देख्नुहुन्छ ?
म नेपाल आउनुअघि मलेसियाको देशीय प्रबन्धक थिए । सन् १९८० को दशकमा त्यहाँको विकासका लागि ठूला–ठूला नीतिगत परिवर्तन भए । यसको कारण लगानी धेरै भित्रियो र देशको विकास पनि भयो । आर्थिक रूपमा देश विकास भएकोमा विश्व बैंक धेरै खुसी पनि भयो । अहिले पनि नेपालको विकासका लागि विश्व बैंकले योगदान दिन खोजेको छ । धेरै–धेरै सहयोग गर्न खोजेको छ । संस्थागत संरचनाहरूको निर्माण, सार्वजनिक स्रोतमा पारदर्शिता, परियोजनामार्फत रोजगारीको अवसर, भरपर्दो र दिगो निर्माण लगायतमा जोड दिँदै जोखिम न्यूनीकरण गर्ने गरी सरकार अघि बढेको छ । हामी पनि त्यहीअनुरूप सहयोग गरिरहेका छौं । अहिलेको अवस्थामा उचित वातावरण बनाउनका लागि र लगानीका लागि आउने वातावरण बनाउन सरकार लाग्नेछ र लगानी सम्मेलनमा आउने लगानीकर्ताहरूले एउटा ढुक्क हुने वातावरण बन्नेछ भन्नेमा विश्व बैंक विश्वस्त छ । त्यसैले अवस्था एकदम सहज छ ।