मागअनुसार रगतको आपूर्ति हुन सकेको छैन
गोपाल संग्रौला
बिहिवार, जेठ ३१, २०७५
793

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ, सो अनुसार नेपाल सरकारको ध्यान जान सकेको छैन । तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ । रक्तदानसम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैन्न । कतिपयले भने कयौं पटक रक्तदान गरिसकेका छन् । अर्जुन मैनालीले हालसम्म १ सय ६३ पटक रक्तदान गरिसकेका छन् । काभे्र पलान्चोकमा जन्मिएका मैनाली रक्तदानको क्षेत्रमा नेपालमा मात्र होइन, विश्वभर नै रक्तदानको महत्व र आवश्यकताबारे जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । अमेरिकामा बसोबास गर्ने मैनाली रक्तदान र अन्य समाजसेवी काम गर्न नेपाल र विश्वभरका विभिन्न देश भम्रण गर्ने गरिहन्छन् । विगत १७ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका उनले जागिरबाट बचेको समय सदुपयोग गरेर रक्तदानका क्षेत्रमा काम गर्दै आइरहेका छन् । त्यसैगरी काठमाडौंमा माडबारी परिवारमा जन्मिएकी नीता घिराइया विश्वमै सबैभन्दा बढी रक्तदान गर्ने महिलाका रूपमा रहेको दाबी गरिएको छ । बी पोजेटिभ रगत समूहकी नीताले नेपालमा मात्र हैन, विश्वभर नै धेरै रक्तदान गर्ने महिलाको सूचीमा नाम लेखाएकी छन् । २०२२ सालमा जन्मिएकी घिराइयाले १५ वर्षको उमेरदेखि नै रक्तदान गर्दै आइरहेकी छन् । उनले २०३७ सालमा पहिलो पटक रक्तदान गरेकी थिइन् । उनले हालसम्म १ सय ४१ पटक रक्तदान गरिसकेकी छन् । विश्व रक्तदान दिवसका अवसरमा सर्वाधिक रक्तदान गर्ने अर्जुन मैनाली र नीता घिराइयासँग रक्तदानको महत्वबारे कारोबारकर्मी गोपाल संग्रौलाले गरेको कुराकानीको सार:

माध्यमिक तहमै रक्तदानबारेको पाठ समावेश गर्नुपर्छ
अर्जुन मैनाली
रक्तदाता

नेपालमा रक्तदानको अवस्था कस्तो छ ?
नेपालमा रगतको माग र आपूर्तिको अवस्था हेर्ने हो भने बर्सेनि सवा २ लाख युनिट रगत उत्पादन हुदै आएको छ, तर देशभर सवा ३ लाख युनिटको माग छ । यसरी हेर्दा अझै पनि नेपालमा मागअनुसार रगतको आपूर्ति हुन सकेको छैन ।
काठमाडौं उपत्यकामा एक दिनमा ४ सय ५० युनिट रगत चाहिने देखिन्छ, तर रक्तदाताबाट दैनिक करिब १ सय ५० युनिट मात्र संकलन हुने गरेको छ । यसरी हेर्दा अझै पनि ३ सय जनालाई मागअनुसारको रगत नपुग्ने देखिन्छ । अब यो अपुग रगतको माग पूरा गर्नका लागि धेरैभन्दा धेरै रक्तदान कार्यक्रम आयोजना गर्नुपर्छ ।

माध्यमिक तहको पाठ्यपुस्तकमा रक्तदानका विषयमा जानकारीमूलक पाठ राख्यो भने विद्यार्थीले अध्ययन गर्ने र वयस्क भएपछि रक्तदान गर्ने सोचको विकास हुने थियो ।

मागअनुसार रगत संकलन हुन सकेको छैन भन्नुभयो । नेपालमा रगत संकलन बढाउनु के गर्नुपर्छ ?
नेपालमा धेरैभन्दा धेरै रक्तदान कार्यक्रम आयोजना गर्नका लागि रक्तदान गर्ने संंस्थालाई केही सहयोग गर्नुपर्छ । विभिन्न विद्यालय, क्याम्पसमा गएर रक्तदान कार्यक्रम राख्नुपर्यो भनेर उत्पे्ररणा गर्नुपर्छ । यो काम रेडक्रस र रक्तसञ्चार केन्द्रको हो । यसैगरी रक्तदान गराउने संस्थालाई सहयोग गर्ने, धेरै पटक रक्तदान गर्ने व्यक्तिलाई राष्ट्रपति तथा प्रधानमन्त्री तहबाट पुरस्कार र हौसला दिने परिपाटीको विकास गरेर रक्तदान गर्न प्रेरित गर्नुपर्छ । माध्यमिक तहको पाठ्यपुस्तकमा रक्तदानका विषयमा जानकारीमूलक पाठ राख्यो भने विद्यार्थीले अध्ययन गर्ने र वयस्क भएपछि रक्तदान गर्ने सोचको विकास हुने थियो । भविष्यमा धेरै भन्दा धेरै रक्तदाता बढाउन अहिलेदेखि नै उनीहरूलाई यसको महत्वबारे जानकारी दिन सक्नुपर्छ ।

रक्तदान गर्ने प्रेरणा कहाँ मिलेर १ सय ६३ पटकसम्म रक्तदान गर्नुभयो ?
मेरो कुरा नै गर्ने हो भने सन् १९८५ मा कलेजमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दा ‘द ब्लड डोनर’ भन्ने पाठमा एक व्यक्तिले धेरै पटक रक्तदान गरेर धेरै मानिसलाई बचाएको कथाबाट म प्रभावित भएको थिएँ । यही पाठको प्रेरणाले मैले रक्तदान गर्न थालें र पछि मैले राम्रो काम गरेको देखेर साथीहरूले पनि रक्तदान गर्न सुरु गरे, तर अहिले पाठ्यक्रममा त्यो पाठ छैन । अहिले नयाँ रक्तदाता बढ्न नसक्नुमा पनि रक्तदान शिक्षाको कमी हो जस्तो लाग्छ । नयाँ पुस्ताका रक्तदाता बढाउनका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकमा रक्तदानको पाठ राख्नु जरुरी छ । यसै गरी हामी एनआरएनले रक्तसञ्चार प्रविधि हस्तान्तरण भनेर यस कार्यक्रमका लागि करिब २ करोड रुपैयाँ खर्च गरेर रक्तसञ्चार संस्थालाई आधुनिक तरिकाले सञ्चालन गर्ने योजना चलाइरहेका छौं ।

कहिलेदेखि रक्तदान गर्दै आउनुभएको छ ?
१९८७ अगस्ट २० बाट पहिलो पटक रक्तदान गरेर यो अभियान सुरु गरेको हुँ । यसरी नै पछिल्लो पटक २०१८ मे २३ मा थाइल्यान्डमा गरेको थिएँ । यो मेरो १ सय ६३ औं पटकको रक्तदान हो । मैले पहिलो पटक कलेजमा पढेको पाठले रक्तदान गर्न प्रेरणा मिल्यो भने पछि विशालबजारमा रक्तदान कार्यक्रम भएको देखेर त्यहाँ पहिलो पटक रक्तदान गरे । यसपछि रक्तदाता कार्ड बन्यो र रक्तसञ्चार केन्द्रमा आइजाइ भइरह्यो । त्यसबेला रगतका किसिम, यसको बारेमा जान्ने कोसिस गरे । आफ्नै श्रीमतीका लागि रगत दान गर्न डराउने एक श्रीमान्लाई भेटेपछि मलाई रगत दान गर्ने प्रेरणा अझ मिल्यो । त्यसपछि रक्तदान कार्यक्रम र अभियानमा लागेको थिएँ ।

कहिलेदेखि रक्तदान कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्नुभयो ?
मैले सुरुमा १६ पटक रक्तदान गरिसकेपछि सन् १९९० डिसेम्बर ५ मा रक्तदान गर्दा कुनै असर हुँदैन भन्ने जनचेतना जगाउन रक्तदान गरेको १ घण्टापछि देशव्यापी रक्तदान अभियान साइकल यात्रा सुरु गरेको थिएँ । सन् २००८ मा नेपालीको सहयोग र सहभागितामा अमेरिकामा संस्थागत रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरेर ८ हजारभन्दा बढीलाई सहभागी गराएका छौं । मैले विश्वका विभिन्न देश गरेर १४ वटामा रक्तदान गरिसकेको छु । यसै कारण अमेरिकाको पे्रन्सिडेन्सियल भोलेन्टरी अवार्ड पाएको छु । अमेरिकामा रक्तदान अभियान सफल भएपछि क्यानडा, बेलायत, अस्ट्रेलिया, युरोपियन देश, अफ्रिकालगायतका देशमा रहेका नेपालीलाई रक्तदान गर्न उत्प्रेरणा गरेको छु ।

कुनै संस्थासँग मिलेर रक्तदान अभियान गर्दै हुनुहुन्छ कि ?
मैले १९८७ मा जब रक्तदान गरें, त्यसपछि १९८८ तिर अब यसरी रक्तदान गर्ने मानिसहरू र संस्थालाई एकढिक्का गरेर राख्ने संस्थाको आवश्यकता पर्छ भनेर नेपालमा नेपाल ब्लड डोनर क्लब भनेर बनायौं । पछि काम गर्न अझ सजिलो होस् भनेर ब्लड डोनर एसोसिएसन अफ नेपाल भनेर संस्थाको नाम परिवर्तन गर्येउ । अहिले यो संस्था नेपालको ठूलो संस्थाका रूपमा रहेको छ । त्यसपछि मैले अमेरिकामा धेरै नेपालीले रक्तदान गरिरहेको अवस्थामा सन् २००९ मा ‘ब्लग डोनर संघ अमेरिका’ स्थापना गर्येउ । यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा सबैलाई समेट्ने उद्देश्यले २०१४ मा ‘इन्टरनेसनल ब्लड डोनर्स’ स्थापना गरियो । एनआरएनएमा एकेडेमीअन्तर्गत पाँच–सातवटा संस्था छन् । यसमध्ये रक्तसञ्चार प्रविधि हस्तान्तरण भन्ने एक समिति छ, म त्यसको सदस्य पनि हुँ ।

३१ वर्षको अवधिमा म आफैले पनि १ सय ६३ पटक रक्तदान गरिसकें । यसरी हेर्दा रक्तदानले स्वास्थ्यमा हानि गर्दैन ।

एउटा व्यक्तिले कति समयमा कति रगत दान गर्न सक्छ ?
१८ वर्ष पूरा भएको स्वस्थ पुरुषमा प्रतिकिलो ७६ एमएल रगत हुन्छ । यसरी नै महिलामा प्रतिकिलो ६६ एमएल रगत हुन्छ, जब कि हामीलाई दैनिक रूपमा काम गर्न ५० एमएल रगत चाहिन्छ । केटा मान्छेमा २६ एमएल रगत अतिरिक्त देखिन्छ भने महिलामा १६ एमएल अतिरिक्त हुने गरेको छ । यसरी बाँकी रहेको मध्ये पनि हामीले ९ एमएल मात्र रगत दान गर्ने हो । यसरी हेर्दा मानिसको शरीरबाट ९ एमएल रगत दान गर्दा असर पर्दैन । दोस्रो कुरा, रगतको आयु १ सय २० दिन मात्र हुन्छ । हामीले रक्तदान गरे पनि नगरे पनि रगतको आयु १ सय २० दिनसम्म हुन्छ । अर्को कुरा, ३१ वर्षको अवधिमा म आफैले पनि १ सय ६३ पटक रक्तदान गरिसकें । यसरी हेर्दा रक्तदानले स्वास्थ्यमा हानि गर्दैन ।

नेपालमा रगत आवश्यक पर्ने रोगीको अवस्था र आपूर्ति कस्तो छ ?
दुर्घटना, प्रसूति सेवा, रगत कम भएका बिरामी र क्यान्सर रोगीलाई धेरै रगत आवश्यकता हुने गर्छ । नेपालमा यस्ता रोगीका लागि इमरजेन्सी अवस्थामा रगत पाइँदैन । यस्तो बेला तपाईं हामीजस्ता स्वस्थ व्यक्तिले गरेको रगत दानले उनीको जीवन बचाउन सकिन्छ । यसले गर्दा बिरामीको जीवन बचाउन हाम्रो शरीरमा भएको खेर जाने रगत दिँदा केही फरक पर्दैन । रगत दिँदा दुईवटा कुरालाई ध्यान दिने गरिन्छ । एउटा भनेको रगत दान गर्ने स्वस्थता हो । एक स्वस्थ व्यक्तिलाई अस्वस्थ बनाएर रक्तदान गर्ने कुरा आउँदैन । रक्तदान गर्ने नियम देशअनुसार फरक–फरक छ । अमेरिकामा १ वर्षमा ६ पटक रक्तदान गर्न सकिन्छ । यसै गरी नेपालमा हरेक तीन–तीन महिनामा रगत दिन मिल्छ ।

म रगतको मूल्य बढी छ र धेरैमा बेचिन्छ भन्ने कुरामा सहमत छैन । साधारण बिरामीले किन्ने सक्ने नै मूल्य राखिएको हुन्छ ।

निःशुल्क रगतको पनि धेरै मूल्य तिर्नुपर्ने गुनासो आएको छ नि ? वास्तवमा पैसा नलिँदा हुँदैन ?
रक्तदान गर्नेले निःशुल्क दिने गरेका छन् । यसरी हेर्दा रगत लिनेले पनि निःशुल्क नै पाउनुपर्छ भन्ने मान्यता राख्लान्, तर हामीले दिएको निःशुल्क रगतलाई स्टोरेज, परीक्षण, ब्लडब्याग खरिद गर्नुपर्छ, यी सबै कुराले संकलित रगतको लागत बढ्ने देखिन्छ । यो मूल्य रगत संकलन गर्ने संस्थाले ओभरहेड कस्ट जोडेर राखेको मूल्य हो । यसरी हेर्दा रगतको मूल्य धेरै लिएकोे पाइन्छ । अब यसमा विवादको कुरा ल्याउनु हुदैन । बिरामीलाई उपचार गर्न न्यूनतम रूपमा १ लाखभन्दा धेरै खर्च हुन्छ । सो तुलनामा रगतको मूल्य धेरै राखिएको हुदैन । म रगतको मूल्य बढी छ र धेरैमा बेचिन्छ भन्ने कुरामा सहमत छैन । साधारण बिरामीले किन्ने सक्ने नै मूल्य राखिएको हुन्छ ।
सम्मानका लागि समाजसेवा गरिँदैन, तर तपाईंको योगदानलाई समाजले कसरी हेरेको जस्तो लाग्छ ?
कसैले कुनै पनि सामाजिक काम पैसा, सम्मानका लागि गरेको हुदैन । समाजसेवा आत्मादेखि नै सक्नेले नसक्नेलाई गर्ने हो । रगत पनि त्यस्तै हो । कसैले आफ्नो शरीरबाट अलिकति रगत दिनु दाताको महानता हो । यस्ता दातालाई कसैले सम्मान गर्छ भने आउने पुस्तालाई पनि रक्तदानप्रति प्रेरणा मिल्छ । सम्मान पाउने व्यक्तिले सम्मान पाइहाल्छ तर उसले पाएको सम्मानले अरूलाई प्रेरणा मिल्नुचाहिँ ठूलो कुरा हो । यसैले गर्दा सम्मानको आस गर्नु हुँदैन र गरेको सम्मानलाई अपमान पनि गर्नु हुँदैन ।