रक्तदान मेरो जीवनी बनिसक्यो
गोपाल संग्रौला
बिहिवार, जेठ ३१, २०७५
495

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ, सो अनुसार नेपाल सरकारको ध्यान जान सकेको छैन । तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ । रक्तदानसम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैन्न । कतिपयले भने कयौं पटक रक्तदान गरिसकेका छन् । अर्जुन मैनालीले हालसम्म १ सय ६३ पटक रक्तदान गरिसकेका छन् । काभे्र पलान्चोकमा जन्मिएका मैनाली रक्तदानको क्षेत्रमा नेपालमा मात्र होइन, विश्वभर नै रक्तदानको महत्व र आवश्यकताबारे जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । अमेरिकामा बसोबास गर्ने मैनाली रक्तदान र अन्य समाजसेवी काम गर्न नेपाल र विश्वभरका विभिन्न देश भम्रण गर्ने गरिहन्छन् । विगत १७ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका उनले जागिरबाट बचेको समय सदुपयोग गरेर रक्तदानका क्षेत्रमा काम गर्दै आइरहेका छन् । त्यसैगरी काठमाडौंमा माडबारी परिवारमा जन्मिएकी नीता घिराइया विश्वमै सबैभन्दा बढी रक्तदान गर्ने महिलाका रूपमा रहेको दाबी गरिएको छ । बी पोजेटिभ रगत समूहकी नीताले नेपालमा मात्र हैन, विश्वभर नै धेरै रक्तदान गर्ने महिलाको सूचीमा नाम लेखाएकी छन् । २०२२ सालमा जन्मिएकी घिराइयाले १५ वर्षको उमेरदेखि नै रक्तदान गर्दै आइरहेकी छन् । उनले २०३७ सालमा पहिलो पटक रक्तदान गरेकी थिइन् । उनले हालसम्म १ सय ४१ पटक रक्तदान गरिसकेकी छन् । विश्व रक्तदान दिवसका अवसरमा सर्वाधिक रक्तदान गर्ने अर्जुन मैनाली र नीता घिराइयासँग रक्तदानको महत्वबारे कारोबारकर्मी गोपाल संग्रौलाले गरेको कुराकानीको सार:

रक्तदान मेरो जीवनी बनिसक्यो
नीता घिराइया
रक्तदाता

नेपाल मात्र होइन, विश्वमै धेरै रक्तदान गर्ने महिलाका रूपमा परिचित हुँदै जानुभएको छ ? कहिलेदेखि रक्तदान गर्दै आउनुभएको छ ?
सुरुमा मैले रक्तदान गरेका बेला नेपालमा रगत दान गर्नुपर्छ भन्ने चलन नै थिएन । पहिला रगत दान गर्ने कुरालाई कानुनी रूपमा खुला गरिएको पनि थिएन । त्यसबेला कति मनिस रगत नपाएरनै मर्ने अवस्था थियो । सुरुमा मैले लुकेर रक्तदान गर्नुपर्ने अवस्था थियो । महिला, त्यसमा पनि माडवारी परिवारमा त रक्तदान गर्ने कल्पना पनि गरिँदैनथ्यो । महिला–पुरुष समान भनिरहेका बेला यस्ता सामाजिक काममा महिला पनि सहभागी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
मेरो बुबा समाजसेवी हुनुभएकाले सानै उमेरदेखि रक्तदान गर्ने प्रेरणा मिलेको हो । ममा १४ वर्षको हुँदादेखि नै रक्तदान गरेर कसैको जीवन जोगाउनुपर्छ भन्ने सोच विकास भइसकेको थियो । यही कारणले पनि समाज र परिवारको स्वीकृतिबिना धेरै पटक रक्तदान गर्दै आइरहेको छु । मलाई समाजसेवालगायत गाडी चलाउने कुरा धेरै मन पर्छ । मैले सुरुमा १४ वर्षको उमेरमा रक्तदान गरेको हुँ । सामान्यतया १८ वर्ष पूरा भएपछि मात्र रक्तदान गर्नुपर्छ भन्ने मान्यता छ । लामो समयदेखि रक्तदान गर्दै आइरहेको हुनाले यस्ता कार्यक्रममा अझैँ पनि मलाई बोलाउने गरिएको छ । यदि कतै रक्तदान गरिरहेका छन् भने त्यो कार्यक्रममा जाने गरेको छु । मेरो लक्ष्य नै बाँचुन्जेल रक्तदान गर्ने भन्ने छ । मैले रक्तदान मात्र होइन, आँखा दान पनि गरेको छु ।

धेरै वर्षपहिले छतबाट लडेर एक छिमेकी महिलाको वीर अस्पतालमा उपचार गराउँदा–गराउँदै रगत नपाएर मृत्यु भयो । यो घटनाले मलाई रक्तदान गर्ने प्रेरणा मिलेको हो ।

रक्तदान गर्ने प्रेरणा कहाँबाट मिल्यो ?
धेरै वर्षपहिले छतबाट लडेर एक छिमेकी महिलाको वीर अस्पतालमा उपचार गराउँदा–गराउँदै रगत नपाएर मृत्यु भयो । यो घटनाले मलाई रक्तदान गर्ने प्रेरणा मिलेको हो । त्यसबेला म १४ वर्षकी मात्र थिएँ । त्यसबेला मैले रगत त दान गर्न सकिनँ, तर रक्तदान गर्नुपर्छ भन्ने प्रेरणा त्यही बेलादेखि सुरु भएको हो । यदि रक्तदान गर्ने चलन भएको भए ती महिलाको मुत्यु हुने थिएन ।

गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक नाम दर्ताका लागि पत्र आएको छ । मैले हालसम्म १ सय ४१ पटक रक्तदान गरिसकेको छु ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा धेरै रक्तदान गर्नेमध्ये तपाईंका नाम आएको हो ?
हो, पहिला रक्तदान गर्नेमध्ये पनि महिला र पुरुष छुट्ट्याउने चलन रहेनछ । अब भने धेरै रक्तदान गर्ने महिलामा मेरो नाम आउने भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक नाम दर्ताका लागि पत्र आएको छ । मैले हालसम्म १ सय ४१ पटक रक्तदान गरिसकेको छु । मैले धेरैजसो ब्लडबैंक तथा रक्तदान कार्यक्रममा रगत दान गरेको छु । पछि त रगत अभाव हुने बिरामीका आफन्तले नै फोन गरेर पनि रगत माग्ने गरेका छन् । त्यो बेला मैले दिन सक्ने अवस्था भए आफै गएर दिने र दिन नसक्ने अवस्था भए खोजेर पनि उपलब्ध गराई सहयोग गर्दै आइरहेको छु । रगत दान गर्ने त अहिले मेरो जीवनी बनिसकेको छ । भूकम्पले गर्दा मैले गरेका कतिपय रत्तदानका प्रमाणपत्रसमेत हराइसकेका छन् ।

रक्तदानका विषयमा भविष्यमा के गर्ने योजना बनाउनुभएको छ ?
यति लामो समय त रक्तदान गरेर बिताएँ भने अब नमरेसम्म र दिन मिल्ने अवस्था भएसम्म रक्तदान नै गर्ने योजना छ । रक्तदानका साथै रगत अभाव भएर भौंतारिएका बिरामीका परिवार तथा आफन्तलाई थाहा भएसम्म रगतको व्यवस्था गरिदिने लक्ष्य लिएको छु । सबैभन्दा ठूलो कुरा भनेको धर्म हो । म मरेर गए पनि मेरो रक्तदानले जीवन पाएकाहरूले सम्झनेछन् भन्ने लागेको छ ।

पुरस्कार र सम्मानभन्दा पनि यसलाई समाजसेवाको दृष्टिकोणले हेर्नुपर्छ जस्तो लाग्छ । तर, रक्तदान गर्न प्रोत्साहन गर्ने कार्यक्रम भने सरकारले नै ल्याउनुपर्छ ।

सम्मानका लागि समाजसेवा गरिँदैन, तर तपाईंको योगदानलाई समाजले कसरी हेरेको जस्तो लाग्छ ?
सम्मान र सम्झना आफ्नै ठाउँमा छन् । जसले बुझेको छ, उसले सम्मान गरिरहेका छन् । राजाको पालामा गोर्खा दक्षिणबाहु पुरस्कार पाएँ भने अखिल नेपाल भारतीय समाजले पनि नवरक्त पुरस्कार दिइसकेको छ । रक्तदान गर्नेलाई प्रोत्साहन गर्न ठूला कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । पुरस्कार र सम्मानभन्दा पनि यसलाई समाजसेवाको दृष्टिकोणले हेर्नुपर्छ जस्तो लाग्छ । तर, रक्तदान गर्न प्रोत्साहन गर्ने कार्यक्रम भने सरकारले नै ल्याउनुपर्छ ।

रगत नियमित दान गर्नुभयो, अनुभव नै हुने गरी यसको फाइदा के–के रहेछन् ?
मलाई पहिला धेरै डन्डिफोर आउँथ्यो, तर नियमित रक्तदान गरेपछि यो सबै हराएर गयो । पछि मलाई आआफै महसुस भयो कि नियमित रक्तदान गर्नुपर्ने रहेछ । अर्को फाइला भनेको दान हो । दान गर्दा धर्म हुन्छ, त्यसबाट सन्तुष्टि प्राप्त गर्नु पनि भावनात्मक फाइदा नै हो । कसैको जीवन बच्नु नै सबै भन्दा ठूलो कुरा हो । पहिला–पहिला त म रक्तदान गर्न सोध्दै जाने गरेको थिएँ । नियमित रक्तदान गरे रोग पनि नलाग्ने अनुभव गरेको छु । निरोगी बन्न रक्तदानले सहयोग गर्छ ।