कारोबार संवाददाता
बुधवार, असार १३, २०७५
757

नेपाल तथा भारतका लागि गणतन्त्र काजकिस्तानका राजदूत बुलट सार्सनबयेभ गत साता नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा, काठमाडौं तथा ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य तथा चिरिबाबु महर्जनलाई राजधानी आस्तानाको २० औं वार्षिकोत्सव तथा आस्तानास्थित फाइनान्सियल टावरको उद्घाटन समारोहमा निमन्त्रणा दिन काठमाडौं आएका थिए । गणतन्त्र काजकिस्तानका लागि दिल्लीमा रहेर नेपाल पनि हेर्ने सार्सनबयेभले नेपालका राष्ट्रपतिसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाइसकेका छैनन् । उनी आफ्नो देशबाट नेपालका लागि पहिलो राजदूत पनि हुन् । नेपालमा गएको महाविनाशकारी भूकम्पपछि नेपाल गणतन्त्र काजकिस्तानको प्राथमिकतामा परेको बताउने सार्सनबयेभसँग कारोबारका सम्पादक कुबेर चालिसे तथा संवाददाता भीम गौतमले गरेको कुराकानीको सार :

दुई देशका जनताबीच अन्तक्र्रिया अघि बढाएर व्यापारमा समेत आदानप्रदान गर्न चाहन्छौं । नेपालसँग गर्ने कामका बारेमा हाम्रा केही भिजन पनि छन् ।

नेपाल र काजकिस्तानलाई कसरी दाँज्न सकिन्छ ?
नेपाल एउटा असल राष्ट्र हो । नेपाल र काजकिस्तान दुवै राष्ट्रबीच धेरै साझा कुरा छन् । दुवै भूपरिवेष्टित देश पनि हुन् । संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न फोरमहरूका एजेन्डामा दुई देशबीच साझा अवधारणा पनि छ । यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशले एक–अर्कालाई समर्थन पनि गरेका छन् । नेपालमा भूकम्प गएपछि तत्कालीन अवस्थामा काजकिस्तानले केही सहायता पनि गरेको थियो । हामीले २ सय हजार डलर सहयोग पनि गरेका थियौं । भूकम्प गएको दुई महिनापछि म काठमाडौं आएको थिएँ । नेपालमा तत्कालीन अवस्थामा काजकिस्तानको एउटा ठूलो कम्पनी पनि कार्यरत थियो । यसका अतिरिक्त नेपालमा हाम्रा धेरै पर्यटक पनि आइरहेका छन् । त्यसैले पर्यटनमा पनि हाम्रो दुई देशबीच राम्रो सम्बन्ध हुन सक्छ । हाल पर्यटकहरूमा पनि विशेष सगरमाथा चढ्ने हाम्रा देशका नागरिक समय–समयमा आउँछन् । यस्तै, शिक्षामा पनि हामी एक–अर्का देशमा लगानीको सम्भावना छ । काजकिस्तानले ग्लोबल शिल्क रोडको परियोजना अघि बढाउन लागेको छ । यस्तै काजकिस्तानले अन्तर्राष्ट्रिय वित्तीय आयोजना अघि बढाउन गइरहेको छ । यो हाम्रो ठूूलो परियोजना हो । यसको शुभारम्म पनि गर्न गइरहेका छौं । यस कार्यक्रममा हामीले नेपालका अर्थमन्त्रीलाई पनि आमन्त्रण पनि गरेका छौं । त्यसैले हामी दुई देशबीचमा धेरै सहकार्यका कुरा अघि बढाउन सक्छौं । राजधानी आस्तानाका मेयरले अघि बढाउन लागेको यो परियोजनाका लागि काठमाडौं र ललितपुरका मेयरलाई समेत आमन्त्रण गर्न गइरहेका छौं । यसमा दुई देशका नगरपालिकाहरूबीच भगिनी सम्बन्ध स्थापना गर्न सकिन्छ । हामी जनता–जनताबीच सम्बन्ध स्थापना गर्न चाहन्छौं । दुई देशका जनताबीच अन्तक्र्रिया अघि बढाएर व्यापारमा समेत आदानप्रदान गर्न चाहन्छौं । नेपालसँग गर्ने कामका बारेमा हाम्रा केही भिजन पनि छन् । श्रीलंका, माल्दिभ्स, भुटान जस्तै नेपालसँग पनि हामी द्विपक्षीय सम्बन्ध विस्तार गर्न चाहन्छौं । नेपालले काजस्तिानलाई सुरक्षा परिषद्को सदस्य बन्नका लागि सहयोग गरेको पनि थियो । नेपालको सहयोगले हामी सुरक्षा परिषद्मा निर्वाचित पनि भएका थियौं ।

नेपालमा तत्काल दूतावास खोल्ने त कुनै योजना छैन ?
भारतमा रहेका धेरै दूतावासले भारतसहित अन्य देशहरूलाई हेर्ने गरेका छन् । नोभेम्बर २०१४ देखि म भारतमा छु । मलाई के महसुस भयो भने काजकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्छ । सन् २०१५ मा कूटनीतिक सम्बन्ध स्थापना पनि गर्येउ । त्यसकारण तीन वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध पनि छ । भौगोलिक रूपमा काजकिस्तान ठूलो देश भए पनि काजकिस्तान तुलनात्मक रूपमा नयाँ देश हो । सन् १९९१ देखि मात्र यो मुलुक स्वायत्त भएको हो । म नेपालका लागि काजकिस्तानको पहिलो राजदूत हुँ । अझै मैले ओहोदाको प्रमाणपत्र बुझाएको छैन । अझै आधिकारिक रूपमा हामीले सम्बन्धलाई अगाडि बढाइसकेका छैनौं । नेपाल हाम्रो लागि एउटा मित्र देश हो । दुई देशले एक–अर्कालाई सहयोग र सहकार्य गर्ने हो ।

प्राकृतिक स्रोत हुनु एउटा कुरा हो र त्यसलाई देशले आफ्नो हितमा प्रयोग गरेर आर्थिक उन्नति गर्नु अर्को गारो कुरा हो ।

पूर्वसोभियत संघबाट टुक्रिएका देशमध्ये काजकिस्तानको आर्थिक अवस्था अहिले कस्तो छ ?
हाम्रो देश दु्रत गतिको विकासोन्मुख राष्ट्र हो । हाम्रो हाल प्रतिव्यक्ति आय ३ हजार ४ सय डलर छ । यो हाम्रो क्षेत्रभरिका देशहरूमध्येकै सबैभन्दा बढी हो । खुला अर्थतन्त्रको अवधारणामा हाम्रो देश अघि बढेको छ । हामीले अन्तर्राष्ट्रिय बैंकिङ, वित्तीय तथा लेखा प्रणाली अपनाएका छौं । हामीसँग प्राकृतिक स्रोतहरू धेरै छन् । तर, प्राकृतिक स्रोत धेरै भएका देशहरू पनि विकास भने भएका छैनन् । किनकि प्राकृतिक स्रोत हुनु एउटा कुरा हो र त्यसलाई देशले आफ्नो हितमा प्रयोग गरेर आर्थिक उन्नति गर्नु अर्को गारो कुरा हो । काजकिस्तानमा विभिन्न धातुजन्य प्राकृतिक स्रोत छन्, जुन उत्पादन भइरहेका छन् । तेल तथा ग्यास उत्पादन पनि छ । हाम्रो देशमा तेल तथा खनिज उद्योगले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । यसले लगभग जीडीपीको ६० प्रतिशत ओगटेको छ । युरेनियम उत्पादन र निर्यातमा पनि विश्वकै पहिलो मुलुकभित्र हाम्रो देश पर्छ । हामीसँग कृषि उत्पादनका लागि पनि राम्रो जमिन छ । हामी विश्वका धेरै देशमा धेरै धातुजन्य प्राकृतिक वस्तु निर्यात गर्छौं । यस्तै हामी सबैभन्दा राम्रो फूलको उत्पादन गर्छौं । यसको उच्च गुणस्तर छ । उत्पादनका दृष्टिकोणले हेर्दा काजकिस्तान धेरै नै उत्पादनशील देश हो । यस्तै, हामीकहाँ मासुको उत्पादन पनि ठूलो छ । हाम्रा परम्परागत उत्पादनसँगै विश्वव्यापी रूपमा बिकाउ हुने उत्पादनहरू पनि हामीसँग छन् । औषधीजन्य उत्पादन पनि हाम्रो देशमा राम्रो छ ।

हामीले आर्थिक सुधार सुरु गर्यौं र आज पूर्वी सोभियत संघबाट टुक्रिएका देशहरूबीच मात्र होइन, विश्वका अन्य सम्पन्न मुलुकसँग पनि धेरै कुरामा दाँजिन सक्ने सामथ्र्य राख्छौं ।

काजकिस्तानले कसरी विकासमा यस्तो चमत्कार गर्यो त ?
पूर्वसोभियत संघबाट छुट्टिएका अन्य धेरै राष्ट्रमा अझै राजनीतिक संक्रमणकाल सकिएको छैन । तर, काजकिस्तान पूर्वसोभियत संघ टुक्रिएर बनेका देशहरूमध्ये हाल आर्थिक रूपमा सबैभन्दा सम्पन्न तथा समृद्धिको शिखरमा रहेको छ । काजकिस्तानको प्रतिव्यक्ति आय करिब ३ हजार ४ सय अमेरिकी डलर छ । सोभियत संघबाट छुट्टिँदा काजकिस्तान आर्थिक रूपमा ध्वस्त थियो । म मेयर रहेको तत्कालीन नगरपरिषद् चारै महिनामा बजेट सकिएर टाट पल्टेको थियो । तर, हामीसँग देशलाई आर्थिक रूपमा विकास गर्ने अठोट थियो । पूर्वसोभियत संघबाट छुट्टिएका अन्य धेरै राष्ट्र अझै पनि राजनीतिक संक्रमणसँग लड्दै छन् । किनभने उनीहरूले राजनीतिमा ध्यान दिए । उनीहरूको राजनीतिक संक्रमणकाल अझै सकिएको छैन । तर, काजकिस्तानले आर्थिक सुधारमा ध्यान दियो । जो पहिला राजनीति ठीक पार्नुपर्छ भन्दै थिए ती अझै अस्तव्यस्त छन् । हामीले आर्थिक सुधार सुरु गर्यौं र आज पूर्वी सोभियत संघबाट टुक्रिएका देशहरूबीच मात्र होइन, विश्वका अन्य सम्पन्न मुलुकसँग पनि धेरै कुरामा दाँजिन सक्ने सामथ्र्य राख्छौं । त्यसैले आर्थिक सुधारबाट नै हामीले चमत्कार गरेको हो । हामीले काजकिस्तानमा रहेका धेरै प्राकृतिक स्रोतलाई उत्पादन तथा निर्यातसँग जोड्यौं । प्राकृतिक स्रोतकै कारण राष्ट्रहरू धनी भएका छन् । तर, यसका उदाहरणहरू धेरै छैनन् । वास्तवमा हामी धनी होइनौं । अमेरिका, अफ्रिका तथा केही एसियाली राष्ट्रहरू धनी हुनुको मुख्य कारण पनि प्राकृतिक स्रोत नै हो । तर मुख्य कुरा, राजनीतिक नेतृत्वमा विकासका लागि भिजन आवश्यक पर्छ । त्यसपछि विकासका लागि उपयुक्त शिक्षा प्रणलीसम्बन्धी भिजन पनि हुनुपर्छ । हामीले शिक्षामा धेरै जोड दिएका छौं । हाम्रो जनसंख्या शतप्रतिशत साक्षर छ । भविष्यको पुस्ताका लागि पनि हामीले शिक्षामा उच्च महत्व दिएका छौं । हाम्रा पुस्ताका कतिपयले विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा पढेर देश फर्केका छन् र तिनीहरू नै उच्च तहमा छन् । सरकारले नै अमेरिका, चाइना, अरब देशहरूमा विद्यार्थी अध्ययनका लागि पठाएको छ । पहिलो पुस्ताले बाहिरबाट पढेर आएको थियो भने हाल हामीले दोस्रो चरणमा देशमै विश्वस्तरीय शिक्षा दिने वातावरण बनाएका छौं । त्यसैले अहिले हाम्रो देशमा शिक्षित तथा युवा नेतृत्वको सरकार छ । विश्वकै युवाशक्तिले राज्य सञ्चालन गरेको मुलुकमा हामी पर्छाैं । हाम्रो उच्च राजनीतिक नेतृत्वले हाल देशमा धेरै कार्यक्रम र योजनाहरू सञ्चालन गरिरहेको छ । त्यसैले एउटा स्पष्ट भिजनका साथ देश अघि बढेको छ । देशलाई फाइदा हुने गरी धेरै अभियान सञ्चालन भइरहेका छन् । जुन बेला सोभियत संघबाट छुट्टिएर हाम्रो देश बन्यो, त्यो बेला धेरै कठिन समय थियो । बैंक, लेखा, वित्तीय प्रणाली केही थिएन । बजेट पनि थिएन । त्यो बेला कसरी अघि बढ्ने भन्ने अन्योल थियो । सोभियत संघको विघटनपछि नयाँ विश्व बजारमा कसरी अघि बढ्ने भनेर धेरै अन्योल थियो । सिस्टम नै थिएन । तर, अहिले त धेरै सुधार भइसकेको छ । हाम्रो बैंकिङ प्रणाली मात्र हेर्ने हो भने पनि अन्तर्राष्ट्रिय स्तरको भइसक्यो । हामीले सबै क्षेत्रमा सबै संस्थागत प्रणालीका रूपमा विकसित गरेका छौं ।

राष्ट्रपति र सरकारको भिजनकै कारण काजकिस्तानको आर्थिक रूपान्तरण सम्भव भयो । सरकारले समाजको विकासलाई बढी महत्व दिएर योजनाहरू अघि बढायो ।

भर्खर सोभियत संघबाट छुट्टिँदा काजकिस्तानको अवस्था कस्तो थियो ?
त्यो बेला हामीसँग धेरै समस्या थिए । हामी संक्रमणकालीन अवस्थामा थियौं । आर्थिक रूपमा पनि त्यो धेरै कठिन अवस्था थियो । कसरी देशलाई सफल बनाउने भन्ने नै प्रमुख समस्या थियो । तर, हामीले दृढ अठोटका साथ दुई÷तीन वर्षमै धेरै कुरामा परिवर्तन गर्येउ र विकासमा फड्को मा¥यौं । हामीले सही र दक्ष नेतृत्व पायौं । राष्ट्रपति र सरकारको भिजनकै कारण काजकिस्तानको आर्थिक रूपान्तरण सम्भव भयो । सरकारले समाजको विकासलाई बढी महत्व दिएर योजनाहरू अघि बढायो । राजनीति तथा समाजलाई स्थायित्व दिनमा बढी जोड दिइयो । यो सबै प्रक्रिया सुरु गर्ने राष्ट्रपति अहिले पनि हुनुहुन्छ, जसले काजकिस्तानलाई यहाँसम्म ल्याउनुभयो । काजकिस्तानले राजनीतिक तथा आर्थिकलगायत सबै क्षेत्रमा पूर्ण सुधारको काम अघि बढायो । यही सुधारका कारण हामी सोभियत संघबाट छुट्टिएका अन्य देशभन्दा अगाडि बढ्न सक्षम भयौं ।

आर्थिक सुधारको काम कसरी अघि बढ्यो ?
काजकिस्तानले सिंगापुरबाट पाठ सिकेर आर्थिक क्षेत्रमा सुधारका धेरै काम गरेको छ । त्यस्तै हामीले धेरै विकासका योजनाहरूमा सिंगापुरलाई पछ्यायौं । सिंगापुरका जस्तै केही ठूला कम्पनी पनि स्थापना गर्येउ, काजकिस्तानमा लगानी गर्न हामीले सबैलाई आह्वान गर्यौं । यसरी विश्वकै उत्कृष्ट अभ्यासलाई पछ्याएर हामी आर्थिक रूपमा विकासको बाटोमा अघि बढ्यौं । हाल काजकिस्तानमा निजी क्षेत्रको पनि लगानी धेरै छ । अन्य विदेशी लगानीकर्ताहरू पनि आएका छन् । धेरै उद्योग सञ्चालनमा आएका छन् । पहिलो चरणको सुधारपछि अब हामी दोस्रो चरणमा ठूला अस्पताल, विश्वविद्यालयहरू स्थापना गर्नका लागि अघि बढेका छौं । केही नयाँ कम्पनीहरू पनि स्थापनाको चरणमा छन् । उनीहरूका लागि पूवार्धार निर्माणमा सरकारले जोड दिइरहेको छ । असल कानुन, असर तथा विश्वस्तरीय बैंकिङ प्रणालीजस्ता कुरामा हाम्रो ध्यान गएको छ । हामी निजी क्षेत्रलाई धेरै हस्तक्षेप पनि गर्दैनौं । काम गर्ने स्वतन्त्रता दिन्छौं । सरकारले एकदम कम र आवश्यकता परेको ठाउँमा मात्र हस्तक्षेप गर्छ । पहिला–पहिला उद्योगहरूमा हरेक कुराको अनुगमन हुन्थ्यो— भ्रष्टाचार छ कि भनेर, तर अहिले कर, भ्याटजस्ता अत्यावश्यक कुरामा मात्र अनुगमन हुन्छ । निजी क्षेत्रहरूलाई कानुनबारे थाहा छ । उनीहरूले यसलाई मान्छन् भन्ने विश्वास छ । गलत प्रयोग गर्दैनन् भन्ने विश्वास पनि छ । सबै क्षेत्र उत्तिकै सक्रिय छन् । हाम्रो सरकार पनि चौबीसै घण्टा सक्रिय रहिरहेको हुन्छ । जापान तथा सिंगापुरमा जस्तै समयको ख्याल नगरी राष्ट्र निर्माणमा हाम्रो सरकार सक्रियतापूर्वक लागिरहेको छ ।

पहिला काजकिस्तानले जे–जे सामान आयात गथ्र्यो, आज त्यही त्यही उत्पादनमा विशेष जोड दिइएको छ, जसका कारण हामी आज आयातकर्ता मुलुकबाट निर्यातकर्ता मुलुक भएका छौं ।

वैदेशिक लगानी र स्रोतको उपयोग कसरी गर्नुभएको छ ?
विदेशी व्यक्ति र लगानी दुवैलाई काजकिस्तानले स्वागत गरेको छ । काजकिस्तानले वैदेशिक लगानीको पूर्ण सुरक्षा गरेको छ । उनीहरूलाई विभिन्न कुरामा विशेष सहुलियत दिएका छौं । ट्याक्स होलिडेज छ । राम्रा र ठूला परियोजनाहरूमा विदेशी लगानी ल्याउने गरी सरकारले सम्झौता गरेको छ । ती परियोजनाहरू समयमै सम्पन्न गर्नका लागि पनि सरकारले सहजीकरण गर्छ । पहिला काजकिस्तानले जे–जे सामान आयात गथ्र्यो, आज त्यही त्यही उत्पादनमा विशेष जोड दिइएको छ, जसका कारण हामी आज आयातकर्ता मुलुकबाट निर्यातकर्ता मुलुक भएका छौं ।

हामी निजी क्षेत्रलाई धेरै हस्तक्षेप पनि गर्दैनौं । काम गर्ने स्वतन्त्रता दिन्छौं । सरकारले एकदम कम र आवश्यकता परेको ठाउँमा मात्र हस्तक्षेप गर्छ ।

नेपालले काजकिस्तानमा के–के वस्तु निर्यात गर्न सक्छ ?
यसका बारेमा हामीले छलफल गर्नुपर्ने छ; तर गार्मेट, पस्मिनाका सामानहरू निर्यात गर्न सक्ने अवस्था देखेको छु । यसमा सहकार्य गरेर अघि बढ्न सक्छौं । हाम्रो देशले भारत, चीनलगायतका मुलुकमा छाला निर्यात गरिरहेको छ । नेपालले पनि काजकिस्तानमा गएर कुनै पनि कम्पनी शतप्रतिशत विदेशी लगानीमा खोल्न सक्छ । यसमार्फत बजारका आधारमा पनि धेरै वस्तु निर्यात गर्न सकिन्छ । आन्तरिक तथा बाह्य कम्पनी तथा अन्य विदेशी कम्पनीहरूमा कुनै भेदभाव छैन । सबैलाई समान रूपमा हेर्ने गरिएको छ । काजकिस्तानमा गएर कुनै कम्पनी खडा गर्न सजिलो छ । बैंकिङ प्रणाली पनि सहज छ । हाम्रो बजेट प्रणाली पनि अन्तर्राष्ट्रिय स्तरको छ । विदेशीले पनि बुझ्ने किसिमको छ । अन्तर्राष्ट्रिय कानुनमा जस्तै काजकिस्तानमा स्वतन्त्र रूपमा काम गर्न पाइन्छ । त्यसैले धेरैको आकर्षण हामीप्रति छ । यसबाट नेपालले पनि फाइदा लिन सक्छ ।