कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५
607

नेपाली अर्थतन्त्रका लागि बढ्दो व्यापारघाटा सबैभन्दा ठूलो चुनौती बनेको छ । बर्सेनि आयात–निर्यातको ग्याप बढेसँगै नेपालमा व्यापारघाटाको आकार बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा देशको व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५३ प्रतिशतले व्यापारघाटा बढेको छ । आयातको भार बढ्दै जाने तर निर्यात बढ्न नसक्दा महिनैपिच्छे व्यापारघाटा चुलिँदै आएको छ । आयातका तुलनामा निकै कम मात्र निर्यात गर्न सकेको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । गत वर्ष १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको व्यापार भएकोमा १२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । मात्रै ८१ अर्ब १९ करोड रुपैयाँबराबरका नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा जान सफल भएको छ । निर्यात गर्न सक्ने सम्भावना पर्याप्त भए पनि नीतिगत तथा भौगोलिक कठिनाइका कारण निर्यात वृद्धिदर सन्तोषजनक छैन । व्यापारघाटा कसरी कम गर्न सकिएला भन्ने सम्बन्धमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानीको सार :

पारवहन लागत घटाउनुपर्छ
पुरुषोत्तम ओझा
पूर्वसचिव एवम् व्यापार विज्ञ
देशको व्यापारघाटा बर्सेनि बढ्दै छ भन्ने कुरा तथ्याङ्कले हामीलाई देखाइरहेको छ । व्यापारघाटा कम गर्न निकासी बढाउनुका साथै पारवहन लागत घटाउनुकोे विकल्प छैन । भारतीय बजारमा नेपाली वस्तु प्रवेश गर्दा धेरै अवरोध छन् । भन्सार शुल्क नलागे पनि गैरभन्सार अवरोध धेरै हुँदा निकासी बढ्न नसकेको हो । बिनाकारण समय–समयमा नेपाली वस्तुको निकासीमा रोक लगाउने गरिन्छ । यसले उत्पादक तथा कृषकसम्म नराम्रो असर पर्छ । निकासी व्यापारमा संलग्न हाम्रा उत्पादनमूलक उद्योगको उत्पादन क्षमता निकै कम छ । वस्तुको मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सके मात्रै निकासी बढाउन सकिन्छ । कृषि, अप्रशोधित सामग्री, प्राकृतिक सामग्रीहरू निकासी हुँदा मूल्य निकै कम पर्छ । हामीले परिमाण धेरै हुने तर मूल्य कम पर्ने सामग्री निर्यात गर्दै आएका छौँ । निर्यात बढाउनका लागि नेपालमा औद्योगीकरण बढाउनुको जरुरी छ ।
उत्पादनमूलक उद्योगहरूको क्षमता विस्तार र लगानी वृद्धि अहिलेको आवश्यकता हो । स्वदेशी मात्रै नभएर प्रत्यक्ष वैदेशिक लगानी बढाउनु आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण कदम हो । जुस, स्टिल सामग्रीलगायतका कृषी सामग्री नेपालबाट भारत निकासी हुन्छन् । निकासीमा स्वदेशी उद्योग मात्र नभएर नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीको योगदान ठूलो छ । हामीले उत्पादनमूलक क्षेत्र मात्र नभएर व्यापारघाटा कम गर्न सेवा व्यापारमा पनि ध्यान दिनुपर्छ । हाइड्रोपावर सबैभन्दा प्रचुर सम्भावना भएको क्षेत्र हो । बिजुली निकासी गरेर आम्दानी बढाउन सक्ने पर्याप्त आधार छन् । पछिल्लो एक दशकयता नेपालमा भारतीय तथा चिनियाँ पर्यटक आउने क्रम बढेको छ । यसलाई लक्षित गरी पर्यटनमा नयाँ रणनीति बनाउनुपर्छ । नेपाल आउने पर्यटकको समय बढाउने, तिनलाई दिइने सेवा–सुविधा बढाउनेतर्फ ध्यान दिन सके पर्यटक आगमन बढाउन सकिन्छ । शिक्षा र स्वास्थ्य अर्काे सम्भावनाको क्षेत्र हो । पूर्वाधारको विकासका साथसाथै निर्यात व्यापारमा जोड दिनुपर्छ । आयातको तुलनामा निकासी बढाउन नसक्दा ‘ग्याप’ बढेको हो । पारवहन लागत धेरै हुँदा हामी व्यापारमा कमजोर भएका छौ । पारवहन लागत घटाउन जोड दिनुपर्छ ।

क्वारेन्टाइन प्रक्रिया सहज बनाउनुपर्छ
राजन शर्मा
पूर्वअध्यक्ष, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन
नेपाल भूपरिवेष्टित मुलुक भएका कारण पेट्रोलियम पदार्थमा भएको उच्च आयातले व्यापारघाटा बढाएको हो । १ खर्ब रुपैयाँभन्दा धेरैको पेट्रोलियम आयात हुन्छ, जुन भारतसँग मात्रै छ । निकासीमा क्वारेनटाइनको मुद्दा सबैभन्दा गम्भीर बन्दै गएको छ । कृषि, खाद्यान्न, छालाजन्य सामग्रीलगायतमा क्यारेनटाइन सहज बनाउन सकिए निर्यात बढाउन सहज हुन्छ । निर्यातका लागि वस्तुमा प्रतिस्पर्धी बजारमा जानुपर्छ, तर हाम्रो ढुवानी खर्च धेरै छ । ढुवानी खर्च उच्च भएका कारण पनि हामीले प्रतिस्पर्धा कठिन भएको हो । ढुवानीका लागि रेलमार्ग सबैभन्दा उचित विकल्प हो । अहिलेसम्म रक्सौलसम्म मात्रै रेल आएको अवस्था छ । ठूलो परिमाणमा आउने सामान रेलमार्गबाट ल्याउन सकिए मूल्यमा समानता ल्याउन सकिन्छ । अरू देशले रेलबाट सामान आयात–निर्यात गर्छन्, तिनका तुलनामा हामीले गर्न सकेका छैनौँ । प्रतिस्पर्धामा हामीले अरू समान सुविधा दिन सकिएन भने हाम्रा वस्तु तथा सेवा रोजाइमा पर्दैनन् । त्यसैले रेल सेवामा ध्यान दिनुपर्छ । डेडिकेट लाइन भएमा आयात–निर्यात दुवैका लागि सहज हुन्छ । त्यसले वस्तुको मूल्यमा एकरूपता ल्याउनुका साथै वातावरण सहज बन्छ । वीरगन्ज सुक्खा बन्दरगाहसम्म मात्रै अहिले रेलसेवा छ । रेल सुविधा भएमा दुई देशबीचको मात्र नभएर बहुराष्ट्रिय व्यापारमा पनि सहज हुन्छ । निकासीजन्य उद्योगलाई प्राथमिकतामा राखेर सरकारले व्यापारघाटा कम गर्नेतर्फ ध्यान दिनुपर्छ । अहिले क्षमता हुँदाहुँदै पनि निर्यातजन्य उद्योगहरूले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको अवस्था छैन । निर्यातका लागि सम्भावना भएका क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले सुविधा दिएमा निकासी बढाउन प्रेरणा मिल्छ । निकासी उद्योगले पनि ढुवानीमा ठूलो समस्या भोग्दै आएका छन्, ढुवानीमा भएको समस्या र अतिरिक्त शुल्कले गर्दा नेपाली वस्तुहरू प्रतिस्पर्धामा जान सकेका छैनन् । प्रतिस्पर्धी बजारअनुरूप सरकारले पनि सोहीअनुसारको रणनीति लिनुपर्छ ।

आयातमा राजस्वको लक्ष्य भेट्ने नीति लिएसम्म व्यापारघाटा
हरिभक्त शर्मा
अध्यक्ष, नेपाल उद्योग परिसंघ
बर्सेनि देशमा व्यापारघाटा थपिँदै जानुमा हामीले लिएको नीति नै गलत छ । देशमा उत्पादन बढाएर उत्पादनमुखी हुने भन्दा सजिलो तरिकाले आयात गरेर खाने आयातमुखी भएसम्म यो टे«न्ड चलि नै रहन्छ । आगामी दिनमा पनि व्यापारघाटा थपिन्छ । देशमा उद्योगधन्दा विकास र विस्तार जबसम्म हुँदैन तबसम्म हामीले यसरी व्यापारघाटाको तथ्याङ्कहरू हेरेर डराउनुपर्ने अवस्था आउँछ । विश्व व्यापार संगठन (डब्लूटीओमा) व्यापारघाटा कम गर्न अवलम्बन गर्न सक्ने प्रावधान हामीले कार्यान्वयन गर्न सकेनौँ । नेपालमा उद्योगधन्दालाई सहजीकरण गर्नेभन्दा पनि कसरी बढी कन्ट्रोल गर्ने नीति छ । उद्योगधन्दालाई नीतिगत रूपबाटै संरक्षण गर्नुपर्नेमा उद्योगी–व्यवसायीलाई बदमासको संज्ञा दिइएको छ । यस्तो अवस्थामा कुन उद्योगी लगानी गर्न तयार हुन्छ ? एउटा लगानीकर्ताले आफ्नो लगानी गर्नुभन्दा पनि सुरक्षा, नीतिगत व्यवस्था, संरक्षण, उचित वातावरण खोज्छ । त्यो हामीले दिन सकेका छैनौँ । यसकै कारण आयात उच्च र निराशजनक निर्यातले गत आर्थिक वर्ष १ सय २८ मुलुकसँग व्यापारघाटा भएको छ । भन्सार विभागका अनुसार १ सय ५५ मुलुकसँग नेपालले आयात र निर्यात व्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ । आयातभन्दा बढी निर्यात बढी भएका मुलुकहरू २८ मात्रै छन् । तर, त्यस्तो निर्यात रकम भने निकै सानो अंकमा छ । सबैभन्दा बढी आयात र व्यापारघाटा भारत र चीनसँगको हो । आयातमा उच्च वृद्धि तथा निर्यातमा कमीका कारण नेपालको आर्थिक व्यापारघाटा बढेको छ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्नु नेपालका लागि व्यापारघाटाको मूल कारण बनेको छ । भारतबाट मात्रै ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँको सामान आयात भएको छ भने नेपालबाट भारततर्फ ४६ अर्ब ६० करोड ४८ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ । चीनबाट १ खर्ब ५९ अर्ब ९८ करोड ३ लाख १६ हजार रुपैयाँको सामान आयात र नेपालबाट चीनतर्फ २ अर्ब ४३ करोड ७७ लाख ४४ हजार रुपैयाँको सामान निर्यात हुँदै आएको छ । नेपालबाट विश्वबजारमा भएको व्यापारमध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११.३ प्रतिशत छ । यसबाट हामीले अब भारतसँगको व्यापारमा भारतलगायत धेरै आयात हुने देशको आयात प्रतिस्थापनमा ध्यान दिनु जरुरी देखिएको छ ।

आन्तरिक उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ
चन्द्र ढकाल
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपालको औद्योगिक उत्पादन कम हुँदा नै आयातले प्रश्रय पाएको छ । देशमा उद्योगधन्दाको स्थापना गरी बढीभन्दा बढी रोजगारी सिर्जना गर्न नसक्दा हामी दिनानुदिन व्यापारघाटाको चपेटामा परिरहेका छौ । पछिल्लो तथ्याङ्क हेर्दा पनि गत आर्थिक वर्ष २०७४/७५ मा देशको व्यापारघाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ ।
सरकारले आन्तरिक उत्पादन कसरी बढाउने भन्ने विषयमा कार्ययोजना प्रस्ट पार्नु जरुरी हुन्छ । यसरी नै आयात गरेर राजस्व मात्रै बढाउने हो भने भोलिका दिनमा पनि राजस्व बढ्छ, तर भएका उद्योग पनि मरेर जान्छन् । यदि साँच्चिकै सरकारले उद्योगको विकास चाहेको हो उत्पादनलाई बढावा दिनुको विकल्प छैन । सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । दुईतिहाइ बहुमतप्राप्त सरकारबाट हामी निजी क्षेत्रले धेरै अपेक्षा गरेका छौँ । देशमा उद्योग, कलकारखाना नखुलेसम्म जति नै समृद्धिको नारा अगाडि सारे पनि त्यसले सार्थकता पाउन सक्दैन । हामी धेरै वर्ष पुराना ऐन–कानुन र नियममा चलेका छौँ, यसले आर्थिक समृद्धि दिन सक्दैन । युवा जनशक्तिहरू विदेश जान बाध्य छन्, त्यसका लागि देशमै काम गर्ने वातावरण हुनुपर्छ । हामीले रेमिट्यान्सबाट आर्जन गरेको रकमले इन्धनसमेत खरिद गर्न पुगेको छैन । खासगरी हामीले कफी, कच्चा धागो, कार्पेट, तयारी पोसाकलगायतका सामग्री निर्यात गरेका छौं । हामीले गर्ने निर्यात परिमाणका आधारमा धेरै देखिए पनि रकमका आधारमा निकै कम छ । व्यापारघाटा कम गर्ने संयन्त्र व्यवस्थापनमा हामी ढिला भइसकेका छौँ । अब पनि ध्यान दिन सकिएन भने विकराल रूप लिने निश्चित छ ।