कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५
428

सन् २००९ बाट हरेक वर्ष संसारभरिबाट २५ जना अनुसन्धानकर्तालाई सम्मानित गर्दै आएको ‘ग्रिन ट्यालेन्ट अवार्ड’बाट यो वर्ष दुई नेपाली सम्मानित भएका छन् । जर्मन संघीय सरकारको शिक्षा तथा अनुसन्धान मन्त्री एञ्जा कर्लिच्जÞेकको संरक्षणमा यो अवार्ड युवा अनुसन्धानकर्तालाई प्रदान गर्दै आइएको छ । करिब १ सय देशबाट ७ सय ३६ आवेदन परेको मध्यबाट जम्मा २५ जना छानिएकोमा, सागर काफ्ले तथा निरिना खड्गी यो वर्ष सम्मानित भएका हुन् । पूर्वाञ्चल क्याम्पस धरानमा उपप्राध्यापकमा कार्यरत सागर लामो समयदेखि नवीकरणीय ऊर्जामा अनुसन्धान गर्दै आएका छन् । विशेष गरेर बायोमास सम्भावना अध्ययन, बायोमास प्यालेट उत्पादन तथा ऊर्जानीति तथा राजनीतिमा रुचि राख्ने सागर, नेपालमा ठूलोमात्रामा सिमेन्ट तथा इँटा उद्योगमा प्रयोग हुने कोइला विस्थापन कसरी गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएका छन् ।